
निबन्ध
साँझको सौन्दर्य
ज्ञानेन्द्र विवश
दिनभरिको कोलाहल, दौडधुप र थकानपछि जब पश्चिमको क्षितिजमा सूर्यले विश्रामको तयारी गर्छ, तब धर्तीमा एउटा जादुमयी सुनौलो समयको सुरुवात हुन्छ– त्यो हो साँझ। साँझ केवल एउटा समयको चक्र मात्र होइन; यो त भावनाहरूको संगम, रङहरूको उत्सव र मानव मनको ऐना हो । प्रत्येक व्यक्तिका लागि यसको परिभाषा र अनुभूति फरक हुन सक्छ, तर यसको सौन्दर्य अद्वितीय र सार्वभौमिक छ ।
कसैका लागि साँझको सौन्दर्य भन्नु अस्ताउन लागेको सूर्यलाई हेरेर मोहित हुनु हो । दिनभरि ताप फालेर थाकेको सूर्य जब मत्थर हुँदै क्षितिजबाट ओर्लिन्छ, तब आकाशमा सुनौलो र बैजनी रङका लहरहरू पौडिन थाल्छन् । यही बेला टाढाका चाँदी जस्ता हिमालहरू राताम्मे भएर ‘सुनमा सुगन्ध’ थप्दै मन्द मुस्कान पस्किरहेका देखिन्छन् । प्रकृतिको यो रूप यति जीवन्त हुन्छ कि जसले मानव मनका सारा कौतुहललाई एकैछिनका लागि शान्त पारिदिन्छ ।
यो दृश्य हेर्नका लागि मात्र होइन, अनुभूति सम्प्रेषणको एउटा अनौठो र ऊर्जामय पल हो । साँझको यो सौन्दर्य दैलोमा उभिएर मुस्कानभरि खुशी बोकी कसैलाई पर्खिरहे जस्तो भान हुन्छ । वैशालु रङका उमङ्गहरू छचल्काउँदै सिर्जनाका नविनतम खजानाहरू साँझका तिनै रङहरूमा प्रतिबिम्बित भइरहेका हुन्छन् । लेखक, कवि र कलाकारका लागि त यो समय प्रेरणाको महासागर नै हो; सिर्जनाका बुट्टाहरू कोर्न कतै टाढा खोज्न जानै पर्दैन, प्रकृतिले आफैँ शब्द र रङहरू उपहार दिइरहेकी हुन्छिन् ।
साँझको सौन्दर्य प्रकृति र प्राणी जगत्को सुमधुर सम्बन्धमा पनि झल्किन्छ । कसैका लागि दिनभरिको आहाराको खोजीपछि आफ्नो गुँडतर्फ फर्किँदै गरेका चराचुरुङ्गीहरूको चिरविर आवाजमा आनन्दित हुनु नै वास्तविक साँझ हो । नीलो आकाशमा ताँती बाँधेर पखेटा फ्याँक्दै गरेका ती पंक्षीहरूले घर फर्कनुको आनन्द र विश्रामको महत्वलाई दर्शाउँछन् । यो चिरविर आवाजले मानव हृदयमा एक किसिमको गहिरो शान्ति र सन्तोषको सञ्चार गराउँछ । प्रकृतिको यस किसिमको लयसँगै त्यहाँ जीवनले भोलिका निम्ति ऊर्जा निर्माण गर्न विश्राम लिन्छ ।
अपितु, मानव स्वभाव र रुचि अनेक छन् । त्यसैले त, कसैका लागि साँझको सौन्दर्य एक कप तातो चियाको चुस्कीमा मस्त हुँदै चुरोटको एक सर्को धूवाँसँगै आफ्ना सोचहरू उडाउनुमा हुन्छ । गफिएर पुराना दिनतिर फर्किनु र भविष्यको सुन्दर संसारको परिकल्पनातिर फड्को मार्ने पनि हुन्छ । यसरी चियाको बाफ र चुरोटको धूवाँमा कतिपयले दिनभरिको तनावलाई विसर्जन गरिरहेका हुन्छन् ।
त्यस्तै, कसैका लागि यो समय अलिकति रक्सीको मातमा रम–रम भएर आफैँलाई बिर्सिने माध्यम बनिदिन्छ । त्यो हल्का मातमा लठ्ठिँदै, संसारका सारा नियम र बन्धनहरूबाट मुक्त भएर, कतै गन्तव्यहीन बाटोतिर लम्किनुमा पनि एक प्रकारको गहिरो सुख र आत्मिक स्वतन्त्रता लुकेको हुन्छ । यो साँझले मानिसलाई आफ्नै संसारमा हराउने छुट दिन्छ । यति नभए त जीवनको सार र सौन्दर्य नै जीवित रहिरहन सक्दैन ।
साँझ जति सुन्दर र शान्त हुन्छ, यसले मनभित्र जगाउने तरङ्गहरू त्यति नै गहिरो र भावुक हुन्छन् । कसैका लागि यो क्षण कुनै पुराना, पीडादायी घटनाको याद बल्झाउने एउटा निष्ठुरी समय बनिदिन्छ । अस्ताउँदो सूर्य र घट्दो उज्यालोले मनभित्र लुकेका विछोडका घाउहरूलाई पुनः ताजा गराइदिन्छ र आँखाका परेलीसमेत भिजाइदिन्छन् । वास्तवमा अँध्यारोसँगै रातको अनिदो र छटपटीले हैरान मन साँझको सौन्दर्य सम्झेर एकछिन आफैँलाई बिर्सिन पुग्छ ।
तर, ठीक यसको विपरित, कसैका लागि यही सौन्दर्य कहिल्यै बिर्सन नसकिने कुनै सुन्दर ‘मिलन–महोत्सव’ को पल बनिदिन्छ । अतीतका तिता–मिठा पलहरू, आत्मीय भलाकुसारी र प्रियजनको सामिप्यलाई सम्झाउने यो एउटा भावनात्मक पुल पनि हुन्छ ।
अन्ततः, साँझको सौन्दर्य निरपेक्ष छैन, यो त हेर्ने लोभी नयनले र भोग्ने मनको भावनामा निर्भर गर्छ । यसले कसैलाई खुशीको ऊर्जा दिन्छ, कसैलाई सिर्जनाको खजाना मिल्छ, कसैलाई एकान्तको आनन्द प्रदान गरिदिन्छ त कसैलाई यादहरूको गहिरो सागरमा डुबाउँछ । रूप र अनुभूति जस्तोसुकै भए पनि, साँझ सधैँ शान्त, शीतल र सुन्दर रहन्छ, जसले हरेक मानव हृदयलाई कुनै न कुनै रूपमा स्पर्श गरेरै छाड्छ । आरामको आनन्दले दिनभरिको कामको थकाइलाई बिर्साइदिन्छ ।
साँझको यो बहुरङ्गी क्यानभास बिस्तारै क्षितिजको ओझेलमा पर्दै जाँदा, धर्तीमा रातको नीरवता छाउन थाल्छ । साँझको सौन्दर्यसँगै दिन ढल्दै जान्छ र उज्यालो बिस्तारै अन्धकारमा परिणत हुन्छ । यो अन्धकार कुनै शून्यता होइन, प्रकृतिको एउटा सुन्दर उपहार हो । दिनभरिको दौडधुप र कोलाहलबाट थाकेको जीवनले आराम र विश्राम पाउने क्षण नै यही हो ।
साँझको रङमा रमाउँदै प्रकृति जसरी सौन्दर्यमय आभामा देखापर्छ चुच्चामा चारो च्यापेर चराका बथान पनि आफ्नो गुँड फर्किन थाल्छन् । घर नजिकैको बाँसघारीमा तिनको दिनभरिको विश्रामले ओत पाउँछ । अनि त्यहाँ चिरिबिरीको सांगीतिक गुञ्जनले उत्सवको रूप वरण गर्छ । त्यही बेला खेतका कुनाकाप्चाबाट बाहिर चियाउँदै भ्यागुताको एकोहोरो ट्वार–ट्वार प्रारम्भ हुन थाल्छ । यी आलापसँगै जूनकिरीको उडान मिसिँदा साँझको सौन्दर्य झन् रोमाञ्चक बन्न थाल्छ ।
विपनाको क्रूर र उराठिलो यथार्थमा कतिपय इच्छाहरू अपूरा रहन्छन्, कतिपय आकांक्षाहरू अधुरा रहन्छन् । तर, जब रातले आफ्नो शीतल आवरणले धर्तीलाई ढाक्छ, तब मानिस विपना हुन नसकेका तिनै कुराहरूलाई भुल्न, तिनै अधुरा चाहनाहरूमा रमाउन र तिनलाई पुनर्जीवित तुल्याउन सपनाको एउटा अनौठो संसारमा हराउँछ । सपना, जहाँ हरेक असम्भवहरू सम्भव भइदिन्छन् र पीडाका रेखाहरू मेटिएर जान्छन् ।
मलाई लाग्छ साँझको सौन्दर्यले निम्त्याएको रातको यो आगमन आफैँमा एउटा गहिरो र शाश्वत जीवन दर्शन हो । यो रात प्रकाशको अनुपस्थिति मात्र होइन, मानव चेतना र भोगाइको एउटा महाकाव्य पनि हो । साँझको अन्तिम बिन्दुबाट सुरु हुने यो रातको यात्रा सबैका लागि एकैनास कहाँ हुन्छ र ? कसैका लागि यो रात मिठोे र सुमधुर सपनाको आनन्ददायी संसार बनिदिन्छ, जहाँ उनीहरू आफैँभित्रका सुखद स्मृतिहरूसँग एकाकार हुन्छन् । तर, कसैका लागि भने यही रात अनिदो संसारको कारुणिक छटपटी र ब्याकुलताको एउटा लामो र पट्यारलाग्दो कालखण्ड बनिदिन्छ, जहाँ अतीतका यादहरूले मनको शान्ति खोसिदिन्छन् । कलिलो कोमल मुटु–कलेजो चिथोरेर घाइते पारिदिन्छ ।
तथापि, मेरा लागि यो रात अतीतको छटपटी, काल्पनिक सपनाहरूको संग्रह आदि केही होइन । मेरा लागि त यो रात महान् आशा, अदम्य उत्साह र उमङ्गले भरिएको एउटा नयाँ, उज्यालो बिहान ल्याउने स्वर्णिम गर्भ हो । अँध्यारो जतिसुकै प्रगाढ र लामो किन नहोस्, त्यसको अन्त्य निश्चित छ र त्यसले बोकेर ल्याउने भनेको भोलिको सिर्जनशील सूर्य नै हो ।
त्यसैले, साँझको सौन्दर्यले मलाई जहिल्यै पनि एउटा सुन्दर विश्राम र त्यो विश्रामभित्र भोलिको उज्यालो बिहानको मिठो सपना बुन्ने प्रेरणा दिइरहन्छ । म त्यही प्रेरणाले प्रेरित हुँदै निराशालाई किचिलिघान पार्छु । साँझको सौन्दर्यमा मन डुबाउँदै सुन्दर परिकल्पनाको जग खन्छु । अनि आशाको बिहान पर्खिन थाल्छु ।




