
(विष्णुप्रसाद शर्मा पराजुली नेपाली साहित्यमा सुपरिचित नाम हो । उनका तिब्बत यात्रा,डोल्पोः विश्वको जीवित सङ्ग्रहालय,श्वेत पर्वत गरी तीन नियात्राकृति,कर्णालीमा प्रचलित दर्शन परम्परा,आधा बाँचेको मान्छे (कविताकृति) प्रकाशित भैसकेका छन् । ‘हिमलुङमा पलाएको माया’ हालै प्रकाशित उनको कथासङ्ग्रह हो । कथाहरु मार्फत हिमाली सभ्यता र संस्कृतिलाई जोडेर उनले पाठकसम्म पुर्याउने उनको प्रयास स्तुत्य छ । उनका कथाहरुले मनाङ,मुस्ताङ,डोल्पो,काठमाडौँको काँठहुँदै अमेरिकाको परिवेशलाई समावेश गरेका छन् । हालै उनको नविनतम कथाकृति लोकार्पणको अवसरमा अग्रज सञ्चारकर्मी एवं लेखक राजेश खनालले उनीसङ्ग गरेको सम्वादलाई संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।)
१.नयाँ कथाकृतिका लागि बधाइ छ ।
धन्यवाद यहाँलाई ।
२.आजमात्र यहाँको कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण भएको छ । यहाँलाई कथा के हो भन्ने लाग्छ ?
यो मेरो लागि गाह्रो प्रश्न हो भन्ने लाग्छ । औपचारिक परिभाषा त जान्दिन । तर मलाई कथा पढ्दा परिवेश,भूगोल,जनजीवन,मौसम,संस्कृति र संस्कार आउनुपर्छ भन्ने चाहिँ लाग्छ ।
३.तपाईँ त नियात्राकार कथातिर किन आउनु भयो ?नियात्राकारलाई कथा लेख्न के ले प्रेरित गर्र्यो ?
मैले यात्रा गर्ने क्रममा भेटेका पात्र,परिवेश र तिनका कथाहरुले मलाई कथा लेख्न उक्साए भनुँ । यात्रा गर्दा जहाँ जहाँ बास बसियो,खाना जहाँ खाइयो त्यहाँको परिवेश थाहा पाइहालिन्थ्यो । अथवा भनुँ चासो राखिन्थ्यो । खास गरेर डोल्पा र मनाङमा यस्तो भयो । सोचें यसलाई कथा बनाउन पाए १ यहि भावनाले प्रेरित भएर कथा लेखें । प्रकाशित पनि भयो पत्रिकामा । त्यसलाई केहि साहित्यका अग्रजहरुले पढेपछि कहाँ हो,के हो ?कसरी आयो ? परिवेश ? लगायतका कुराहरुमा जिज्ञासा राख्नुभयो । मैलें बताएँ । उहाँहरुले कथाहरु राम्रा छन् भनेर मलाई सुर्याउनु भयो । यसले पनि म कथा लेख्न प्रेरित भएँ ।
४. तपाईँ नियात्राकार कि कथाकार ? या दुबै ?
यो मैले भन्ने कुरा होइन जस्तो लाग्छ । पाठक,टिप्पणीकार,साहित्यकार,समीक्षक र समालोचकहरुले बोल्ने कुरा हो । म नियात्राकार हुँ कि कथाकार वा दुबै भनेर ।
५.कथा आख्यान हो,यसमा स्वैरकल्पना बढी हुन्छ । नियात्रामा तथ्य बढी चल्छ । यसबारे यहाँ के भन्नुहुन्छ ?
यो यथार्थ कुरा हो । मेरो बुझाइ पनि यहि हो । कथालाई सुरुचीकर र आकर्षक बनाउँन स्वैरकल्पना भरिन्छ । यति हुँदाहुँदै पनि तथ्यहरु भए राम्रो । कथाका विषयबस्तु यथार्थ भए राम्रै होला । नियात्रामा चाहिँ जानकारीमूलक हुँदा तथ्यको सन्निकट भएर लेखिन्छ । यो नै हो सत्य ।
६. तपाईँका कथाहरुमा स्वैरकल्पना धेरै छ कि ?
मेरा कथाका विषयवस्तु यथार्थमा आधारित छन् । कथानक यथार्थ नै छ बेसी । तर अलिअलि स्वैरकल्पना थपेर कथालाई पठनीय बनाउने प्रयास गरेको छु ।
७.अब के लेख्नुहुन्छ ?
मेरो नियात्रा र कथा लेखन जारी नै रहन्छ । कञ्चनजंघादेखि हिलसारसम्मका २ ३ वटा पुस्तक लेख्न थालेको छु । कथा पनि लेख्छु ।
८.. मधेशका कथा पनि आउँछन् कि ?
म मधेश घुमेको छु । तर कथा लेखन गर्ने हिसावले भने घुम्न पाएको छैन् । घुम्न सकियो भने लेखिनेछ ।
९.भर्खरै अग्रज समालोचक प्रमोद प्रधानले रुन परे रुन्छु तर कथा लेख्न नछोड्नुस भनेर समालोचनाको क्रममा भन्नुभएको छ । यसमा के भन्नुहुन्छ ?
मैले आम हिमाली मान्छेका जनजीवन,तिनका दुःख,पीडा र अभावका कुराहरु नजिकबाट देखेको छु । अनुभूत गरेको छु ।मैले कथाको विषयवस्तुमा तिनैलाई टपक्क कथामा टिपेर कथानक बुनेको छु । मानवीय संवेदनाको सन्निकट छन् मेरा कथाहरु । उहाँले तिनलाई पढ्दा आफुमा अनुदित गरेर पढ्नु भएको होला । निश्चय नै मेरा कथाहरुले हाम्रा देशका हिमाली भेगका कष्टकर जीवनशैली उधिनेको छ । यसैले पाठकहरुको मन संवेदित हुनसक्छ । सायद प्रधान सरको पनि त्यहि भएको होला ।
१०. तपाईँका नियात्राहरु थुप्रै छन् । यात्राको क्रममा लेखिएका कथाहरुको सङ्ग्रह हो भन्नुहुन्छ । यस कृतिका कथाहरुमा नियात्रा लेखन हावी भएको छ कि छैन् ?
नियात्रा लेखन हावी भएको छैन् । तर यात्राकै क्रममा भेटिएका पात्र,परिवेश र स्थानहरुबाट कथा बुनोट भएको भने साँचो हो । भूगोल,संस्कृति,नदीनाला,मौसम परिवेश सबै आएको छ ।
११. समयको लागि धन्यवाद ।






