
काठमाडौँ। यो पटकको विश्वकपमा मेस्सी मज्जैले जमेका छन् ।
यही कारण थुप्रै कीर्तिमान पनि राखेका छन् । फिफा विश्वकपको ९६ वर्षको यो दौरानमा मेस्सीले सर्बाधिक गोलकर्ता खेलाडीको रुपमा कीर्तिमान कायम गरेका छन् ।
सोमबार राती डालास स्टेडियममा अस्ट्रिया विरुद्ध दुई गोल गर्दै मेसी विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडी बने ।
हिलो खेलमा अल्जेरिया विरुद्ध ह्याट्रिक गर्दे जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका मेसीले लगत्तै अर्को खेलमा क्लोजको कीर्तिमान भंग गर्दे एकल कीर्तिमान बनाए ।
अस्ट्रिया विरुद्ध आठौं मिनेटमै पेनाल्टी मिस गरेका मेसीले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इन्जुरी टाइममा दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका मेसीले छैटौं विश्वकपमा आएर सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन् ।
मेसीले गर्ने हरेक गोल अहिले कीर्तिमान जस्ते बनेको छ ।
अल्जेरिया विरुद्ध उनले आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक गरे । त्यही खेलमा गोल गरेपछि उनी पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी समेत बने । यस्तै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी समेत बने । यसअघि क्रिस्टियानो रोनाल्डोले ३३ वर्षको उमेरमा ह्याट्रिक गरेका थिए भने मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने कीर्तिमान बनाए ।
अस्ट्रिया विरुद्ध गोलपछि उनी विश्वकपको सर्वाधिक गोलकर्ता मात्र बनेनन् विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत बने ।
उनले सन् २०२२ को कतार विश्वकपमा लगातार चार र २०२६ को विश्वकपमा लगातार दुई गरी लगातार ६ खेलमा गोल गरेका छन् ।
मेसीले विश्वकपमा समूह चरण देखि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म सबै चरणमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।
मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा विश्वकपमा गोल गर्ने पनि पहिलो खेलाडी हुन् । उनी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाको सबैभन्दा कान्छो र सबैभन्दा पाका खेलाडी समेत बनेका छन् ।
सबैभन्दा धेरै खेल खेल्ने र जित्ने कीर्तिमानमा पनि मेस्सी देखिएका छन् । उनको विश्वकपमा खेलसँख्या २८ पुगेको छ ।उनले १८ खेल जितेका छन् ।
विश्वकपमा लगातार पाँच विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन् । यस विश्वकपमा गोलका लागि असिस्ट गरे उनी लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी हुनेछन् ।
विश्वकपमा सर्वाधिक असिस्ट गर्नेमा पनि मेसी संयुक्त रुपमा शीर्ष स्थानमा छन् । अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोना र मेस्सीले सर्वाधिक ८ असिस्ट गरेका छन् ।
साथे उनले व्यक्तिगत अवार्डमा पनि कीर्तिमान राखेका छन् । मेस्सी विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने एक्ला खेलाडी समेत हुन् ।
विश्वकप जितिसकेका मेस्सीले विश्वकपमा सर्वाधिक १२ प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका छन् ।
मेसीले २३औं संस्करणको विश्वकपमा दुई खेलमै ५ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा अघि छन् ।
