पुराना पुस्तक
कृति :अनामिका
विधा : कथासंग्रह
कथाकार :दिव्य गिरी
विभिन्न किसिमका सामाजिक विषयवस्तुहरु बोकेर आएको छ अनामिका । चौध वटा कथाहरु संगालिएको यस कृतिभित्र समाजका अवयवहरु उजागर भएका छन् । समसामयिक विषयवस्तुमा कथा बुनिएका छन् । कुनैपनि कुराको गहिराईमा नपुगी यथार्थ थाहा नहुने कथाहरु बोल्छन् । द्धन्दकालीन परिवेशको कथा पनि यसमा छ । समय पीडामा परेको मान्छेको मनोदशा कस्तो हुन्छ कथाहरुमा देखाइएको छ । तल्लो तहमा काम गर्ने कर्मचारीको व्यथा पनि कथाको विषय बनेको छ । पत्रशैलीमा पनि कथा बुनिएको छ । यसैले भन्न सकियो गिरीको फरक कथा फरक स्वाद संग्रहको विशेषता हो । आमभुँइमान्छेका मनोदशाहरुले भरिएका कथाहरु पठनीय छन् । कथाहरुले यथार्थवादी धार पक्डेका छन् ।
सरल भाषाशैली,मर्मस्पर्शी भाव,आयतनका हिसावले मध्यम खालका कथाहरुको प्रधानता रहेको अनामिकालाई पहिलो पटक विवेक सिर्जनशील प्रकाशनले वि.सं.२०६१ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : सिर्जनाका लहरहरु
विधा : विविध
लेखक : छविरमण सिलवाल
कवि,समीक्षक छविरमण सिलवालले विभिन्न साहित्यकार र उनीहरुको कृतिको बारेमा गरेका समीक्षा,परिचय र टिप्पणीहरुको संगालो हो सिर्जनाका लहरहरु । यसमा उनले नजिकबाट स्रष्टा सर्जक र उनीहरुका कृतिहरुमाथि नियालेर आफ्नो विचार समेत पस्केका छन् । ३३ जना स्रष्टा एवं कृतिहरुले यसमा स्थान पाएका छन् । कृतिकारको परिचय,कृतिमाथिको विवेचना अत्यन्तै सरल भाषामा तर मिहिन ढंगले गरिएको छ । कोमल भावले लेखिएको छ । कृतिमा भन्दा बढी स्रष्टामा ध्यान दिइएको छ ।
सिर्जनाका लहरहरुलाई जनमत प्रकाशनले पहिलो पटक वि.सं.२०६४ मा प्रकाशनमा ल्याएको हो ।
कृति : मृत सागरमा म
विधा :कवितासंग्रह
कवि :भगवती बस्नेत
जीवनका अनेकौं अवयवहरुलाई कविताको माध्यम बनाएर व्यक्त गर्दा सुन्दर कविता जन्मिन्छ । कविमन द्रवित हुँदा सुन्दर बिम्ब र प्रतिकहरु कवितामा प्रयोग भएर आउँछनु । भगवती बस्नेतका यस्तै जीवनका अभाव,पीडा,हाँसो,दुख,छटपटी,उकुसमुकुसयुक्त भावनाहरुले सिर्जना भएका कविताहरु मृत सागरमा म मा समावेश छन् । जीवन संघर्षहरुका विताउँदा मज्जा हुन्छ।कविताहरुमा यस्तै भाव छ । अधिकारका कुरा छन् । नारीका समस्या र उल्झनहरु कोरिएका छन् । भन्न सकिन्छ नारीस्वर छ । अझै भन्न सकिन्छ मानवताको पक्षधर हुन् कवि बस्नेत । डायस्पोरा जीवन व्यतित गर्दा मातृभूमिको यादमा कविता लेखएिको छ । मृत सागरमा म भित्र विभिन्न शिर्षकका एकाउन्न वटा कविता समावेश छन् ।
अनेक बिम्ब,सरल भाषाशैली,गहिरो भाव प्रधान कविताले कृति पठनीय लाग्छ ।
मृत सागरमा म लाई नइ प्रकाशनले पहिलो पटक वि.सं.२०७३ सालमा प्रकाशित गरेको हो ।