
काठमाडौं, असार । वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाको चौथो संस्करण शनिबार कोटेश्वरमा सम्पन्न भएको छ। वरिष्ठ कवि तथा नेपाली साहित्यमा सचेततापूर्वक पर्या (पर्यावरण) कविता लेखनको प्रारम्भ गर्ने अग्रणी स्रष्टा अविनाश श्रेष्ठको सान्निध्यमा सम्पन्न उक्त कार्यक्रमले पुस्तान्तरण, साहित्यिक संवाद र अनुभव आदान–प्रदानको महत्त्वलाई उजागर गरेको छ। अग्रज पुस्ताको ज्ञान, अनुभव, संघर्ष र सिर्जनात्मक यात्रालाई अनुज पुस्तासम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शृंखलाको यस संस्करणमा कवि श्रेष्ठको जीवनदर्शन, साहित्यिक योगदान र सृजनात्मक यात्रामाथि केन्द्रित अन्तरक्रियात्मक संवाद गरिएको थियो।
कार्यक्रमको आरम्भमा वर्तमान कविता समूहका विश्व सिग्देलले यस्ता अन्तरपुस्ता संवादले साहित्यिक संस्कार, अनुभव र ज्ञानको हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले अग्रज स्रष्टाहरूको संघर्ष र उपलब्धिबाट नयाँ पुस्ताले प्रेरणा तथा मार्गदर्शन प्राप्त गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले पुस्ताबीचको दूरी घटाउन र साहित्यिक सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्याउने धारणा राखे। यसअघि उक्त शृंखलामा स्नेह सायमी, श्यामल र लक्ष्मी माली सहभागी भइसकेका छन्। समसामयिक समाज, श्रमिक वर्गको जीवन, मानवीय पीडा र सामाजिक यथार्थलाई आफ्नो लेखनको केन्द्रमा राख्दै आएका कवि श्रेष्ठ नेपाली साहित्यका प्रगतिशील तथा यथार्थवादी धाराका सशक्त प्रतिनिधि मानिन्छन्। नेपाली साहित्यमा सचेततापूर्वक पर्या कविता लेखनको सुरुवात गर्ने स्रष्टाका रूपमा परिचित श्रेष्ठले वातावरणीय चेतना र प्रकृतिप्रतिको संवेदनालाई कवितामार्फत स्थापित गर्न उल्लेखनीय योगदान दिएका छन्।
उनका ‘करोडौँ सूर्यहरूको अन्धकार’, ‘परेवा : सेता–काला’, ‘संवेदना/ओ संवेदना !’ तथा ‘अनुभूति यात्रामा’ लगायतका कृतिहरू नेपाली कवितामा नवीन भाषिक संवेदना, बिम्बात्मकता र सामाजिक चेतनाका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्। कार्यक्रममा कवि श्रेष्ठले असमको गुवाहाटीमा बिताएका साहित्यिक जीवनका प्रारम्भिक दिनहरू, वरिष्ठ कवि हरिभक्त कटुवालसँगको भेट, भारतीय भूमिमा नेपाली भाषी समुदायले भोग्नुपरेका चुनौती तथा नेपाल आगमनपछि विष्णुविभू घिमिरेलगायत साहित्यिक सहयात्रीहरूसँगको सम्बन्धबारे रोचक संस्मरण सुनाए। उनले आफ्नो साहित्यिक यात्राको समीक्षा गर्दै समकालीन नेपाली साहित्य, अनुज पुस्ताका सम्भावना तथा नेपाली समालोचनामा देखिएका सीमाहरूमाथि पनि विचार व्यक्त गरे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा कवि श्रेष्ठले आफ्ना चर्चित कविता ‘फर्क’ तथा ‘कुन्नी कुन अपरिचित गाउँकी नैनतारा बरुवा’ वाचन गरेका थिए। उनका कविताले उपस्थित साहित्यप्रेमीहरूलाई गहिरो भावानुभूति प्रदान गरेको थियो। संवाद सत्रपछि आयोजित कवितावाचन कार्यक्रममा विष्णुविभू घिमिरे, सुरज पराजुली, केशव भट्टराई, उमेश अकिञ्चन, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, प्रेमिला राई, प्रज्वल अधिकारी, विश्व सिग्देल, रमी प्रिया तथा शकुन्तला जोशीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा बंगलादेशबाट नेपाल भ्रमणमा रहेकी समकालीन बंगाली कवि तथा कथाकार सेँजुती बरुवाको समेत उपस्थिति रहेको थियो। उनले नेपाली अनुवादमा ‘महासागर’ कविता वाचन गर्नुका साथै बङ्गाली र अंग्रेजी भाषामा आफ्ना अन्य रचना प्रस्तुत गरेकी थिइन्। उनको उपस्थितिले कार्यक्रममा अन्तरदेशीय साहित्यिक संवादको आयाम थपेको सहभागीहरूले बताएका थिए। साहित्य केवल पुस्तकका पानामा सीमित विषय नभई अनुभव, संवाद र निरन्तर हस्तान्तरणको जीवित परम्परा भएको सन्देश कार्यक्रमले दिएको सहभागीहरूको भनाइ थियो।
अग्रज र अनुज पुस्ताबीच रचनात्मक सेतु निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाले नेपाली साहित्यिक वृत्तमा सम्मान, संवाद र ज्ञान–सीप हस्तान्तरणको संस्कृति विकास गर्न योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।







