
एउटै लिपि जुन नेवारले बोल्ने भाषामा प्रयोग भएको देखियो भने त्यो लिपि नेवार लिपि रे । त्यही लिपि संस्कृत भाषा लेख्न प्रयोग गरियो भने त्यो नेवार लिपि नभई नेपालाक्षर कहलिने भनेपछि यहाँ प्रथमतः भाष्यमा सुधार हुन जरुरी देखिएको कुरा औंल्याउन सकिन्छ । त्यसतै गरी एउटै शिलालेखमा संस्कृत भाषा पनि छ र नेवारले बोलिने भाषा पनि छ , यो उदाहरण यदाकदामा मात्रै होइन हज्जारौंहज्जारको संख्यामा छन् । ती हज्जारौं शिलालेख ताम्रपत्रहरु मध्ये संस्कृतमा नेपालसंवत् अंकित भए त्यो नेपालसंवत् कहलिन जायज हुने यदि नेवार समुदायले बोलिने भाषामा नेपालसंवत् अंकित भए त्यो नेवारसंवत् भनी हेय दृष्टिले हेरिनु पर्ने कारण किन ? त्यही भएर यहाँ मुख्यतः भाष्यमा सुधार ल्याउन नितान्त जरुरी छ ।
यहाँ त्यस प्रकारका गलत भाष्यका पुजारी पंडितदेखि लिएर तमाम त्यसका अनुयायीहरुले व्यक्त गर्दै समर्थन जनाई आएको भनाई यस प्रकार छ “नेपाली भाषालाई हटाई अन्त कतै नचलेको, नेवारी लिपिमा लेखिएको, नामै नेपालभाषा भएको नेवारी भाषालाई राष्ट्रभाषा मान्नुपर्छ भन्ने माग भोलि अवश्य गर्नेछन्”
“विक्रमसंवत्को विरोध विक्रमसंवत्को मात्र विरोध होइन, राष्ट्रिय अखण्डताको विरोध हो;चार वर्ण ३६ जातको साझा फुलवारीको विरोध हो;अल्पसङ्ख्यकले बहुसङ्ख्यकमाथि आफनो संवत् मात्र होइन, लिपि र भाषा पनि लादने कुचक्रको शुरुवात हो ”
यो भनाई आजभन्दा ४४ वर्ष अघि प्रकाशित पुस्तक मै आएको कुरा हो । यो भनाई कसको थियो ? भनेर नामै काटेर भनीरहनु नपर्ला । माथि उठान गरिएको भाष्य पनि यी नै भ्रामक भनाइका कारण कै उपज भन्न सकिन्छ । प्राचीन अभिलेखमा ज्ञान नभएकाहरुले ती भनाइलाई हूबहू आत्मसात् गर्दै आइरहेका देखिनुमा आश्चर्य मान्नु परेन तर स्वयंले त्यस्ता प्राचीन अभिलेख पढेर प्रकाशित गर्दै पढ्दै त्यसैलाई आफनो वृत्तिको जोहो गर्दै आउनेहरुले नै त्यस्तो निकृष्ट भनाई राख्दै आएको देखिनु भनेको साँच्चै आश्चर्यको विषय हो ।
त्यस्तै गरी विदेशी लेखकहरु नेपाल आएर नेपालको इतिहास संस्कृति भाषा लिपि,संवत् बारे अध्ययन गर्न आए भने पनि पहिले ती नै पंडितहरुसित सम्पर्क गर्ने गरिने हुँदा उनीहरुले नेवारले बोलिने भाषा नेवार भाषा, उनीहरुले प्रयोग गर्दै आएको लिपि नेवार लिपि र उनीहरुले प्रयोग गर्दै आएको संवत् नेवार संवत् भनेर सिकाएर पठाइने भएर नै विदेशीहरुले पनि त्यसरी नै लेख्ने गरेको छ्याप्छ्याप्ती हामी पाउँछौं । यसरी विदेशीहरुले पनि लेखियो भन्दैमा त्यो सत्य ठहरिने होइनन् ।
भारतीय इतिहासकार रायबहादुर पं गौरीशंकर हीराचंद ओझाको भारतीय प्राचीन लिपिमाला तृतीय संस्करण इ.सं १९९३ लाई पल्टायौं भने नेपालसंवत्लाई नेवारसंवत् भनिएको छ । नेवारसंवत् ९ हुँदा शक ८११ भएको हिसावले शक र नेवारसंवत् बीच ८०२ फरक,नवरत्नम्मा शक१६०७ र नेवारसंवतु ८०६ भएको हिसावले शक र नेवारसंवत् बीच ८०१ फरक र कीलहर्न अनुसार विक्रमसंवत् र नेवारसंवत् बीच ९३५—९३६ फरक देखिन्छ भनेर दिइयो । आखीर कुन ठीक हो त त्यो भने बताइएको छैन ।
भारतीय इतिहासकार इश्वर चन्द्र राहीको लेखनकलाका इतिहास प्रथम खण्ड, १९८३ मा जसमा रञ्जना लिपि १० औं शताव्दी,भुजिंमोेल १४ औं शताव्दी र नेवारी लिपि १७ औं शताव्दीको भनेर लेखिएको छ । के प्रमाणको आधारमा नेपाललिपिलाई नेवारी लिपि भनिएको भन्ने बारे केही बोलेको छैन ।
अतः स्वदेशी होस् या विदेशी सबैसित एउटै प्रश्न सोझिन्छ कि नेपाल भन्ने शव्द सबैभन्दा पहिले कसले प्रयोग गरेको हो ? के नेपाल शव्द प्रयोग गर्ने पनि नेवार नै थिए ? त्यो सिद्ध गर्ने ल्याकत उनीहरु सित हुनुप¥यो । होइन भने कुनै पनि विद्वानलाई यस्तो हावादारी कुरा लेखेको सुहाउँदैन र लेख्न छूट पनि छैन ।
कौटिल्य अर्थशास्त्रमा “नेपाल” शब्दको प्रयोग भइरहेको पाइन्छ , के कौटिल्य नेवार थिए ? त्यस्तै गरी समुद्रगुप्तको अभिलेखमा “नेपाल” शब्दको उल्लेख मात्र होइन नेपालको सीमाना कहाँदेखि कहाँसम्म भन्ने समेत संकेत गरिएको छ । कुन चाहिँ नेवारले गएर समुद्रगुप्तलाई अभिलेखमा समेत नेपाल जनाउन लगाए ? त्यसकारण नेपालसंवत्लाई नेवारसंवत् भन्ने अधिकार पनि कसैलाई छैन भने नेपाल लिपिलाई पनि नेवार लिपि भन्ने अधिकार कसैलाई छैन ।
नेपालको राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित मध्यकालीन हस्तलिखित ग्रन्थहरु अधिकाँश नेपाल लिपिमा लेखिएका छन् । के ती सबै हस्तलिखित ग्रन्थ नेवार भाषा बोल्ने नेवार मात्रैले लेखेका हुन् त? यसमा खस भाषा बोल्ने संस्कृत भाषा प्रयोग गर्ने कुनै एक जनाको पनि संलग्नता छैन त? यदि छैन भन्ने हो भने सर्बप्रथम त्यो कुरा सकार्नु प¥यो । यदि सकार्दैनौं भने नेपाल लिपिलाई नेवार लिपि भन्ने किन ? होइन भने नेपाल लिपिलाई नेवार लिपि भनेर यस्तो हावादारी कुरा लेखेको स्वदेशी हुन् या विदेशी विद्वान हुन् कसैलाई पनि सुहाउने कुरा होइन ।
नेपाल मै पनि कतिपय पुरालेखन र अभिलेखबारे जानकार भनाउँदा व्यक्तित्वहरुले पनि एकातिर नेपाललिपिलाई नेवार लिपि पनि भन्ने अर्को तिर नेवारीलिपि नेवारी भाषा लेख्न भनी सिर्जना गरिएको लेखन होइन । “नेवाः वा नेवार राष्ट्रियताको नाम हो । नेवारीलिपि नेपालको राष्ट्रिय लेखन हो , नेपाली लिपि हो” पनि भन्दै दोहोरो चरित्र देखाउँदै आएका छन् वास्तवमा यस्ता चापलुसीपूर्ण भाषाको कुनै औचित्य छैन । उनीहरु नेवार समुदायको सामु आउँदा यस्तो मीठो चापलुसीपूर्ण कुरा गर्ने पछाडि गएर नेवारलिपि नेवारसंवत् भनेर होच्याएर लेख्नेहरुलाई कसैले विश्वास गर्दैनन् र गर्नु पनि हुँदैन ।
नेपालको इतिहास पल्टायौं भने भूमिसुधार र बिर्ता उन्मूलन नभएसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न सामन्ती रजौटाहरुको रजगज थियो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको शुभारम्म गरे त्यसलाई पूरा गर्न बहादुर शाहले मुख्य भूमिका निभाए तर त्यस पश्चाद् पनि केन्द्रमा राजा हुन्थे भने केन्द्र भन्दा बाहिर तिनै सामन्ती रजौटा सकृय हुने गरेको बुझेकै हो । यही क्रम मध्यकालमा पनि थियो भने प्राचीन लिच्छविकालमा पनि थियो । लिच्छविकालमा केन्द्रमा मानदेव प्रथम कलिलो उमेरको राजा भनेर पूर्व र पश्चिमका सामन्तहरुले टेरेनन् भनेर त्यतातिर आक्रमण गरेको घटना चाँगुनारायणको स्तम्भलेखमा पढेका हौं भने मध्यकालमा आएर पनि राज्यको केन्द्र उपत्यका कमजोर भएपछि नेपाल पचासौं राज्यमा टुक्रिएको घटना बारे इतिहास पढ्दा यही कुरा त आउने गर्दथ्यो ।
काठमाडौं उपत्यकालाई मध्यकालीन स्रोतहरुमा नेपालभुक्ति र नेपालमण्डल भनेर प्रष्ट उल्लेख हुने गर्दथ्यो यसको मतलव नेपालको राजधानी केन्द्र काठमाडौं उपत्यका थिए । काठमाडौं उपत्यकाभन्दा बाहिरको नेपालको भूमिलाई केन्द्रले आफनो अधिनमा राखीराख्न नसक्दा सबै सामन्तहरुले आफु स्वतन्त्र भएको घोषणा गरे । त्यसो भएतापनि सबै भूरे टाकुरेहरु समेत नेपाल अन्तर्गतको ससाना राज्य कहलिएर बसे यो यथार्थ हो । त्यस्तै अर्को यथार्थ भनेको काठमाडौ उपत्यकामात्र नेपाल, उपत्यकाभन्दा बाहिर नेपाल होइन भन्ने किसिमको भाष्य जुन बुन्दै आएको हो त्यो सर्बात्मना गलत हो । नेपालको इतिहास बुझ्नेले पनि यही भाष्य फलाक्छ भने उसलाई इतिहास मर्मज्ञ भनिंदैन ।
यथार्थ इतिहासमा प्रवेश गर्ने हो भने हज्जारौंको संख्यामा रहेका नेपाल लिपिमा लेखिएका अभिलेख तथा हस्तलिखित ग्रन्थहरुलाई साक्षीको रुपमा उपस्थित नगरी सुखै छैन । ती अभिलेखहरुमा शुरुमा कुनै भगवानको नामलाई सम्बोधन गरिएको हुन्छ त्यसपछि संस्कृतमा श्लोकबद्ध गरिएको पाठ आउँछ । त्यसपछि नेवार भाषाभाषीले बुझ्ने भाषामा लेख्न प्रारम्भमा अतःपर नेपाल भाषा या अतःपर देशभाषा भनेर लेखिएको हुन्छ भन्ने कुरा थाहानपाउने सायद कोही छैनन् । यहाँ भन्न खोजेको कुरा यही हि माथिल्लो संस्कृत पाठ पनि नेपाल लिपिमा र तल नेपाल भाषा खण्ड पनि नेपाल लिपिमा नै हुने गर्दछ ।
माथिल्लो संस्कृत पाठमा प्रायः नेपालसंवत्लाई शव्दमा व्यक्त गरिएको हुन्छन् भने तल नेपाल भाषा खण्डमा अंकमा व्यक्त गरिएको हुन्छ । तब संस्कृतमा लेखिएको त्यही लिपि र संवत् नेपालाक्षर र नेपालसंवत् मान्नु पर्ने , नेपालभाषामा प्रयोग भएको त्यही लिपि नेवार लिपि र त्यही संवत् नेवार संवत् मान्नेहरुलाई के भनेर संज्ञा दिनु उपयुक्त होला ? प्रश्न उब्जेको छ ।
चाहे ती स्वदेशी हुन् या चाहे विदेशी नाम चलेका विद्वानहरु नै किन नहोउन् यस्ता हावादारी कुरा फैलाइ आउनेहरुको पछि लाग्नु हाम्रो मूख्र्याईं हुनेहो ।
अर्को कुरा नेपाल भाषा , नेपाल लिपि र नेपाल संवत्को विषयमा व्यापक रुपले भ्रम छर्दै आएको कुरा यस प्रकार छन्
१.नेपाल शब्द हुँदैमा त्यस संवत्ले राष्ट्रिय मान्यता पाउनुपर्छ र एकथरी अल्पसङ्ख्यक र एकै ठाउँमा गुचमुचिएर रहेका भाषाभाषीहरुको स्वत्व कायम राख्न बहुसङ्ख्यक नेपालीहरुले परम्परादेखि चलेर आएको, नेपाली जनजीवनमा भिजेको विक्रमसंवत् छोडेर नेपालसंवत् चलनचलतीमा ल्याउन कति पनि आवश्यक छैन ।
२.नेपालसंवत् नेवारसमुदायमा मात्र चलेको संवत् हो;विक्रमसंवत् भने नेपालमा जताततै चलेको व्यापक संवत् हो ।
३. नेपालखाल्डोमा राजधानी भएका तीन नेवार राज्यलाई छोडेरअन्त नेपालसंवत्को चलनचलती थिएन
४. नेवारबाहेक अरु नेपालीले नेपालसंवत् मान्दैनन्,……नेवारहरुको नेवारी भाषासँग जस्तो सम्बन्ध छ, त्यस्तै त्यस्तै सम्बन्ध नेवारहरुको नेपालसंवत्सँग पनि छ ।
यी भनाइहरुमा कतिको सहमत छ साथै कुवामा बस्ने भ्यागुतोले समुद्र यो भन्दा ठूलो हुनै सक्दैन भन्ने कथा हामीले सुनेका थियौं । यहाँ पनि ठीक त्यस्तै त्यस्तै प्रकारान्तर रुपमा देखिन आएको आभास मिल्छ किनभने उहाँको भनाइअनुसार काठमाडौं उपत्यका भन्दा बाहिर नेपालसंवत् उल्लेख भएका अभिलेखीय स्रोतहरु देखापर्नु नपर्ने हो । साँच्चै भन्नु पर्दा काठमाडौं उपत्यका भन्दा बाहिर नेपालसंवत् उल्लेख भएका अभिलेखीय स्रोतहरु पनि प्रशस्त देखा परेको रहेछ र स्वयंले समेत थपथाप गरेर काठमाडौं उपत्यका बाहिर नेपालसंवत् उल्लेख भएका ऐतिहासिक स्रोतहरु यसरी दिइएका रहेछन् । जस्तै :
१.राजा नरेन्द्रदेव र उदयदेवको राज्यकालमा गण्डी गुल्म(वर्तमान गुल्मी)मा लेखिएको नेपाल सम्बत् ११९ को अष्टसाहस्रिका प्रज्ञापारमिता
२.राजा हर्षदेवको राज्यकालमा लेखिएको ने.सं २१६ को गण्डी गुल्म विषयमा लेखिएको पुस्तक
३. राजा उदयदेव राज्यकालको जिग्लोदगम विषय(वर्तमान पश्चिमाञ्चल)मा तामाको मूर्तिको पादपीठमा कुंदिएको ने.सं १२४ को अभिलेख
४.वर्तमान उदयपुरमा लेखिएको ने.सं १८६ को सदधर्म पुण्डरीक नामक ग्रन्थ
५. ने.सं १८९ मा लमजुङ्गमा लेखिएको एक ग्रन्थ
६.मंग्वर विषय(वर्तमान मगरात) मा कुंदिएको ने.सं २२१ शिवदेवको पालाको ताम्रपत्र
७. उदयपुरमा लेखिएको ने.सं २४८को नक्षत्रजातक पुस्तक
८.ने.सं २७०मा पन्नग विषय मा कुँदिएको ताम्रपत्र
९.नेसं २८२ मा पन्नग विषय मा लेखिएको ग्रन्थ
१०. धवलस्रोतपुर(वर्तमान धवलागिरी अञ्चल) मा लेखिएको ने.सं २२०,३०३,३०४ का हस्तलिखित ग्रन्थहरु
११. ने.सं ३२१ मा लेखिएका पञ्चावत देशविषय ग्रन्थ
१२. ने.सं २०० चानचुनमा वामदेवको पालामा उदयपुरमा सारिएका सेकनिर्देशपञ्जिका
१३.ने.सं २८५ मा आनन्ददेवको पालामा गण्डीगुल्ममा सारिएको अष्टसाहस्रिका प्रज्ञापारमिता
१४. ने.सं ८१५ को प्यूठान शिवमन्दिरको अभिलेख
१५. ने.सं ८३४ को लमजुङ्गमा प्राप्त अभिलेख
१६. ने.सं ८२४ को गुल्मीमा प्राप्त अभिलेख
१७. ने.सं ८७९ को प्यूठान लक्ष्मीनारायण स्थानको एक सालिकमा अंकित अभिलेख
१८.ने.सं ८८६ को प्यूठान भिमसेन स्थानको एक सालिकको अभिलेख
१९.ने.सं ५३५ मा मिनवंशी चिनियाँ बादशाहले सामान्त शक्तिसिंहलाई लेखेको परवाना पत्र
२०. लमजुङ्गमा ने.सं ८३५ को नेवारी लिपि नेवारी भाषामा लेखिएको अभिलेख प्राप्त भएको छ
२१.ने.सं ८९५ मा राजा प्रतापसिंहको राज्यकालमा नेपाल भोट वीच भएको सन्धी पत्र
२२.गोरखा दरबारको हनुमान स्थानमा ने.सं ९३७ उल्लेखित अभिलेख
२३.धरान, विजयपुरमा प्राप्त ने.सं ९०० को अभिलेख
२४.यस्तै भोजपुर दबुली धनकुटाको पाटी,दोलखा,नुवाकोट आदि स्थानमा नेपालसंवत् अंकति शाहकालीन अभिलेख आदि
(नेपालसंवत्को राष्ट्रिय मान्यताको अनौचित्य;वि.सं २०३९,पृष्ठ २२ देखि २९ सम्म)
यसरी यत्ति धेरै दृष्टान्त प्रमाण हुँदाहुँदै पनि काठमाडौं उपत्यका नेपालखाल्डोमा भएका तीन नेवार राज्यलाई छोडेरअन्त नेपालसंवत्को चलनचलती थिएन भन्न सक्यो कसरी ? नेवारहरु एकै ठाउँमा गुचमुचिएर रहेका भाषाभाषीहरु भनेर होच्याउन सक्यो कसरी ?अचम्म यो छ भने नेवारबाहेक अरु नेपालीले नेपालसंवत् मान्दैनन् भने नेपाल भाषा, नेपाल लिपि र नेपालसंवत् प्रयोग गर्ने तथा ती नेपालभाषा भनेर प्रयोग गर्ने जति सबै नेवार भाषाभाषी मात्रै ठहरिने भए । त्यसो भएदेखि ग्रन्थहरु लेख्ने विद्वानहरु पनि केवल नेवार भाषाभाषी मात्रै हुन् ; त्यसमा खस भाषाभाषी कोही पनि छैनन् भनेर वाक्य फोडेर भन्न नसकेको किन? त । यो पनि परम आश्चर्यका कुरा देखिन आयो । यस अतिरिक्त अर्को तर्क यो पनि गर्न थालियो कि ।
व्यापार आदि व्यवसायको निमित्त नेपाल खाल्डोबाट बाहिर लागेका नेवारहरुले राखेका अभिलेखमा नै नेपालसंवत्को प्रयोग भएको हो भन्ने कुरा पाटन उकुबहिबाट गइ भोजपुरमा बसोबास गरेका नेवारले भोजपुरमा आफुले राखेको अभिलेखमा नेपालसंवत्को प्रयोग गरेकाले बुझिन्छ । (ऐजनको पृष्ठ २८)
नेवारहरु व्यापार व्यवसाय गर्न उपत्यका छोडेर गए पनि ठाउँ ठाउँमा अभिलेख लेखेर राख्न भ्याउने र सक्ने त्यति मात्र होइन व्यापार व्यवसाय गर्न हिंडेका अल्पसङ्ख्यक नेवारहरुले ठूलठूला ग्रन्थहरु समेत लेख्न भ्याउने तर बहुसङ्ख्यक खस ब्राह्मणहरु एक जनाले पनि ग्रन्थ लेख्न नसक्ने हुनु त अत्यन्त लाजमर्दो कुरा भएन त?किनभने माथि उल्लेखित अभिलेख प्रमाणहरु उहाँका भनाइअनुसार सबै नेवार कै हुन भनेको छ । त्यसकारण अरुलाई खसाल्न खनाइएका खाल्डोमा आफु पहिले खस्छ भन्ने उखान पनि यहाँ चरितार्थ भएको यो अनुपम उदाहरण होकि जस्तो लागेको छ ।
नेपालसंवत् नेवारसमुदायमा मात्र चलेको संवत् , विक्रमसंवत् भने नेपालमा जताततै चलेको व्यापक संवत् भनिएको तिर नियालेर हेरौं ।
नेपालसंवत् नेवारसमुदायमा मात्र चलेको संवत भनिएतापनि नेपालसंवत्मा कुनै गणितीय खराबी औंल्याउन सकेको छैन । विक्रमसंवत् नेपालमा जताततै चलेको संवत् भन्न खोजिएतापनि विक्रमसंवत् काठमाडौं उपत्यकाभित्र भित्रिएदेखि गणितमा खराबी सिवाय अरु भेटिएको छैन । जस्तैः
१. धनवज्र वज्राचार्यको पूर्व मध्यकालका अभिलेखको पृष्ठ १८२ पल्टाएर हेरियो भने त्यहाँ ललितपुर उवावहीको ने.सं ५११ को अभिलेख प्रकाशित छ । त्यस अभिलेखमा ने.सं ५११ हुँदा विक्रमसंवत् १४४४ भएको दिइएको छ । अहिलेसम्ममा उपत्यकामा विक्रमसंवत् उल्लेख भएको पहिलो अभिलेख नै यही हो । पहिलो गाँसमै ढुंगा भने जस्तो विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर कति हुनु पर्ने भन्ने कुरा गणितमा खराबी प्रत्यक्ष भएर रहेको छ ।
२ भपु दरवार भित्र सुनधारा चोकमा सुनधाराको अभिलेखमा नेसं ८०८ अंकित छ र त्यही सुनधारा माथिको पाटीमा पनि नेसं ८०८ नै अंकित भएको अर्को ठूलो शिलालेख रहेको छ । त्यहाँ रहेको दुईवटै अभिलेखमा नेपालसंवत् भने ८०८ छ भने विक्रमसंवत् भने धारामा १७४५ उल्लेख छ र शिलालेखमा १७८९ अंकित छ । यो पनि गणितको खराबी औंल्याउनको लागि ज्वलन्त उदाहरण हो ।
३. भरखरै राष्ट्रिय अभिलेखालयले शाहकालको एक शिलालेखको फोटो उपलव्ध गराई लिप्यान्तर गरी दिनु भनी अनुरोध आयो र फोटो हेरी लिप्यान्तर गर्दा त्यस अभिलेखमा विक्रमसंवत् चाहिँ १९०९ भनेर दिइएको छ भने शाकेसंवत् १७७७ दिइएको छ । यो पनि गणितको खराबी औंल्याउनको लागि ज्वलन्त उदाहरण बनेको छ किनभने शाकेसंवत् र विक्रमसंवत् बीचको अन्तर कति हुनु पर्ने त्यति छैन । अभिलेखको संवत् प्रकरण यस प्रकार छ : “ॐ अद्य व्रह्मणोद्वियेत्यादि श्रीशाके १७७७ विक्रमादित्य सम्वत १९०९ साल चैत्र मासे चन्द्रमानेन चैत्र शुक्ल पुण्र्यमापुण्यतिथौ चित्रा नक्षत्रे वज्रयोगे जथाकरण मुहुतके शनिश्चरवासरे”
यसरी गणितमा खराबी देखिने विक्रमसंवत्को उदाहरण यही एक दुई वटा मात्र होइनन् असंख्य मात्रामा छन् । विक्रमसंवत् नेपालमा जताततै प्रचलन भएको भनेर कसैले नाक फुलाउछन् भने भ्यागुताले पेट फुलाउँदा फुलाउँदा आफनो पेट नै फुट्यो भने जस्तै मात्र हो ।
निष्कर्ष :
जुनवेला नेपालभाषा, नेपाललिपि र नेपालसंवत् राष्ट्रिय भाषा, राष्ट्रियलिपि, राष्ट्रिय संवत्को रुपमा व्यवहृत थियो , त्यतिवेला नेपालमा केवल नेवारहरु मात्रै बस्तथे भन्न सक्ने र सिद्ध गर्न सक्ने कोही पनि छैनन् । तब ती सबै नेपालीको साझा भाषा साझालिपि र साझासंवत् थियो भन्ने सिद्ध छ । पछिगएर खस भाषाभाषीले खसभाषा, देवनागरी लिपि र विक्रमसंवत्को बाटो रोजे । पछि शासन सत्तामा उनीहरु कै बोलवाला हुन गए पछि खसभाषा,देवनागरी लिपि र विक्रमसंवत्लाई उनीहरुले राष्ट्रिय रुपमा मान्न लगाइयो । यता पहिलेको साझा भाषा, साझा लिपि र साझासंवत् अंगालेर बस्ने जतिलाई नेवारको संज्ञा दिइयो ।
त्यसरी नेवारको संज्ञा दिइए पछि भाष्यमा पनि जवरजस्ति परिवर्तन गराइयो । फलस्वरुप नेपालको मौलिक भाषालाई नेपालभाषा भन्नु पर्नेलाई नेवार भाषा, नेपालको मौलिक लिपिलाई नेपाललिपि भन्नु पर्नेमा नेवारी लिपि र नेपालको मौलिक संवत् नेपालसंवत् भन्नु पर्नेमा यसलाई पनि नेवारसंवत् भन्न लगाइयो । यसरी भाष्य बिगार्नमा स्वदेशी तथा विदेशी अपरिपक्व इतिहासकारहरु र अपरिपक्व संस्कृतिविद्हरु नै मुख्य जिम्मेवार छन् भन्न सकिन्छ ।
दूर्भाग्य नै भन्नु पर्दछ कि स्वयं खसवादी केही लेखकहरुले समेत संस्कृत लेख्न आवश्यक पर्ने सबै अक्षरका वर्णहरु नेपाललिपिमा मात्रै छन् । तसर्थ नेपाललिपिलाई पूर्ण वर्णमाला भएको लिपि भनी उनीहरुले स्वीकार गरिरहेका छन् र यो नेपाललिपि केवल नेवारी भाषा लेख्न भनी सिर्जना गरिएको लिपि होइनन् भनिरहेका र लेखिरहेका छन् । साथै देवनागरीलिपिको प्रेसको व्यापक चलन डेढसयवर्ष अघि भयो । यो भन्दा अघि नेपाल भाषा र नेपाल लिपि नै लेखिन्थ्यो भनेर सकारी रहेकै छन् । अहिले आएर यहाँ नेपालभाषा नेपाललिपि र नेपालसंवत् प्रयोग गर्दै आउनेहरुले समेत अनेकौं विचलनहरु निम्त्याई रहेका छन् । त्यसैले अपरिपक्व इतिहासकार ,अपरिपक्व संस्कृतिविद्हरु मात्रै जिम्मेवार होइनन् नेपालभाषा आन्दोलनका अगुवाहरु, अभियन्ताहरुले समेत अहिले नेपालभाषा नेपाललिपि र नेपालसंवत््लाई नराम्रोसँग कुठाराघात गर्ने तत्व बनेर अगाडि बढी रहेका छन् । यो राम्रो लक्षण बिल्कुलै होइनन् ।





