भगवान् बुद्धले राजसी सुख सयल मात्र होइन राजमहल र आफ्नी अर्धाङ्गिनी तथा भर्खर जन्मेको छोरालाई समेत छोडी सन्यासी जीवन बिताउनु भयो । ६ वर्षसम्म कठोर तपस्या गर्दा पनि वहाँले मनुष्यका दुःखहरू बुढो हुनु, मर्नु, रोगी हुनुको कारण पत्ता लगाउन सक्नु भएन । अनि यसरी कठोर तपस्याले मात्र सच्चा ज्ञान नहुने रहेछ भनी विस्तारै जिउनलाई चाहिने जत्ति मुगको रस र केही मुठी अन्न खाई मध्यम मार्ग अर्थात् धेरै खाने पनि होइन, केही नखाइ भोकै बसी ध्यान गर्ने पनि होइन एकदम संयममा बसी ध्यान गर्दा वहाँलाई पहिलेका सिद्ध महात्माहरूले पत्ता नलगाएको दुःख, दुःखको कारण, दुःखको निरोध, दुःख निरोध, मार्गसत्य (दुःख रोक्ने उपाय) को छर्लङ्ग ज्ञान भयो । त्यस पछि वहाँले आफूले लाभ गरेको यो ज्ञान चतुःआर्य सत्यलाई आफूमा मात्र सीमित नगरी समस्त प्राणीलाई दुःखबाट कसरी छुट्कारा दिलाउने भन्ने सोची ज्ञान प्रसार प्रचार गर्ने निर्णय गर्नुभयो । यसरी बहुजन हिताय, बहुजन सुखायको लागि धर्म उपदेश दिने क्रममा भगवान् बुद्धले मनुष्यको बौद्धिक स्तर र चित्तवृत्ति चौरासी हजार प्रकारकार पाउनु भयो र यिनीहरूलाई चौरासि हजारै प्रकारले धर्मदेशना गरी सन्तुष्ट पार्नुभयो । खुशी पार्नुभयो भन्ने कुरा विविध बौद्ध ग्रन्थमा उल्लेख छ । नामसङ्गीति भन्ने स्तोत्र ग्रन्थमा भगवान्लाई त्रियानोत्तमदेशक भनी तारिफ गरेको पाइन्छ । अर्थात् यो विविध बौद्धिक र मानसिक क्षमता भएका विभिन्न व्यक्तिहरूलाई उनीहरूको दुःख हटाइ निर्वाण (मोक्ष) लाभ गराउन विशेषत तीन प्रकारका बोधि ज्ञानको उपदेश भगवान् बुद्धले दिनु भएकाले नै उहाँलाई त्रियानोत्तमदेशक१ भनिएको हो जुन कुरा विविध बौद्ध ग्रन्थहरूबाट स्पष्ट हुन आउँछ ।
तीन प्रकारका बोधिज्ञानहरू –
श्रावक बोधि – यो संसार अनित्य छ, कुनै कुरा सधैं एकैनाश छैन, आज बच्चा छ भने भोलि विस्तारै जवान र बुढा बुढी भई मर्नु छ । फेरि यो संसार दुःखै दुःखमय छ । मन पर्नेसँग बस्न नपाउनु पनि दुःख हो । मन नपर्नेसँग बसी राख्नु पनि दुःख हो । म, मेरो भन्ने कुरा यहाँ केही पनि छैन, यो अनात्म हो भन्ने ज्ञान गरी वैरागी जीवन अपनाई घर, गृहस्थी त्यागी बहुजन हिताय, बहुजन सुखायका लागि धर्मदेशना गर्दै भिक्षाटनबाट जे जति र जस्तोसुकै लाभ भए पनि त्यसैमा सन्तुष्ट रही जीवन बिताउनु नै श्रावकमार्गीहरूको चर्या हो । यस्तो चर्याबाट ध्यान विपश्यना लाभ गरी मोक्ष तथा अर्हत्व लाभ गर्ने बोधि ज्ञानलाई श्रावक बोधि भनिन्छ । वहाँहरूको प्रमुख उद्देश्य आफ्नो निर्वाण (मोक्ष) र अर्हत्व मात्रै हो । वहाँहरूले धर्मदेशना आदि गरे पनि “बुद्धोभवेयम् जगतो हिताय” भन्ने बोधिचित्त उत्पन्न गर्नुहुन्न ।
प्रत्येकबुद्ध बोधि – यस प्रत्येक बोधिमा रमाउने मनुष्यले पनि गृहत्याग गरी आफै प्रव्रजित भई एकान्तमा बसी मोक्षका लागि अनित्य, दुःख, अनात्मको विपश्यना गर्छन् । उनीहरू कुनै गुरु वा स्थविर भिक्षुकहाँ गई उपदेश नलिने हुन्छन् । केवल एकान्तमा बसी ध्यान भावना गर्ने हुन्छन् । भीडभाड र जनसम्पर्कमा आउन नचाहने यिनीहरूले कसैलाई धर्म उपदेश पनि नदिने हुन्छन् । तर वहाँको शरीरको ज्योति भनु वा उहाँका विशुद्ध शील आचरण जसबाट मनुष्यहरूले स्वतः ज्ञान एवं उपदेश पाउँछन् भन्ने अवधारणा रहिआएको छ । अतः प्रत्येकबुद्ध बोधिलाभ गरेका गृहत्यागी भिक्षुको उद्देश्य पनि केवल आफ्नै मोक्ष, निर्वाण र अर्हत्व मात्रै हो । “बुद्धो भवेयम् जगतो हिताय” भन्ने बोधिचित्त उत्पन्न गर्नु नपर्ने चर्या नै श्रावक बोधि र प्रत्येकबुद्ध बोधि हुन् ।
सम्यक् सम्बोधि – यस बोधि ज्ञानको लक्ष्य अर्हत्व र निर्वाण भन्दा एकदमै बेग्लै छ । गृहस्थी अवस्थामै पनि हरबखत “बुद्धो भवेयम् जगतो हिताय” अर्थात् प्राणी मात्रको हित सुख गरिदिनका लागि नै म बुद्ध हुन सकूँ भन्ने करुणाले ओतप्रोत भई बोधिचित्त भावना गर्छन् । अरूहरूको हितको लागि आफ्नो जीवन उपयोग होस् भन्ने बृहत्तर चोहना र उदात्त भावनापूर्ण उद्देश्य सम्यक् सम्बोधि ज्ञानमा लाग्ने बोधिसत्वहरूले लिएका हुन्छन् ।
भगवान् बुद्धले पनि पूर्वजन्ममा यही प्रार्थना एवं मनोकांक्षा पूरा गर्न यो दुःखमय संसारमा जगत् कल्याणकै लागि बोधिचित्त उत्पन्न गरी बारम्बार जन्म लिएको कुरा जातक, अवदान कथाहरूमा उल्लेख भएको पाइन्छ । यति मात्र होइन, भगवान् बुद्धले मनुष्य एवं वानर आदि पशु योनिबाट समेत जन्म लिई जगतसत्व उद्धार गर्न आफ्नो जीवन र घर परिवार समेत त्यागेका कुराहरू शिवी जातक, वेस्वन्तर जातक, महासत्व जातक आदिमा उल्लेखित छ । यसरी “बुद्धोभवेयम जगतो हिताय” भनी प्रणिधान (प्रार्थना) गर्नुलाई बुद्धदर्शनमा बोधिचित्तोत्पाद भनिन्छ । यसरी बोधिचित्त उत्पन्न गर्ने व्यक्तिलाई बोधिसत्व भनिन्छ भने उनले गर्ने यो महान चर्यालाई बोधिसत्व चर्या भनिन्छ । महान उद्देश्यले युक्त भएका महान चर्या हुनाले यस चर्यालाई महायान÷बोधिसत्वयान भनिन्छ । “महान्तः बहवः सत्वा येन बुद्धत्वं यान्ति स महायुनः” भनेर पनि व्यक्त गरेको पाइन्छ ।
(गुह्य समाज तन्त्र पृष्ठ १६९)
यही बोधिचर्यामा रही जगत सत्वलाई उद्धार गर्न पूर्व जन्ममा बुद्ध पनि बोधिचित्त उत्पन्न गरी दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञा यी ६ वटा पारमिता पूर्ण गरी कैयौं जन्मपछि बुद्धत्व प्राप्त गर्न सफल हुनु भएको हो भन्ने कुरा स्थविरवादी तथा महायानी जातक कथाहरूमा उल्लेखित छन् । अतः यी जातक कथाहरूको आधारमा बुद्ध हुने मार्ग र अर्हत् हुने मार्ग एवं बोधिज्ञान पनि भिन्ना भिन्नै रहेछ भन्ने तथ्य स्पष्ट हुन आउँछ । आज विश्वमा स्थविरवाद (श्रावकयान) पुरानो र बुद्ध धर्मको आधारभूत बोधि ज्ञान पनि यही श्रावकबोधि हो भन्ने धारणा बुद्धलाई महामानवका रूपमा मात्र हेर्न चाहने जन समुदायको रहि आएको छ । उनीहरूको विचारमा यो महायान (बोधिसत्वयान) बुद्धको परिनिर्वाणपछि मात्रै उदाएको सिद्धान्त हो । वस्तुतः भगवान् बुद्ध त्यस्तो महामानव हुनु हुन्छ जसले अर्हत्व र बुद्धत्व दुवै ज्ञान साक्षात्कार गरी “अर्हतः सम्यक् सम्बुद्धः” भन्ने महान पदवीले विभूषित हुनु भयो । यदि यस्तो नभएको भए अरू कयौं अर्हत्व प्राप्त स्थविरहरूलाई पनि बुद्ध पदले विभूषित गरिनु पर्ने हो । तर अरू अर्हत्हरूलाई बुद्धत्व शब्दले विभूषित गरेको कहीँ पनि पाईदैन ।
षट्पारमिताको अभ्यास
वस्तुतः महायान (बोधिसत्वयन) मा पनि बोधिचित्तोत्पादका साथसाथै चतुः आर्य सत्य, द्वादशाङ्ग प्रतीत्यसमुत्पाद, चतुः ब्रह्मविहार, चतुसंग्रह वस्तु, त्रिविमोक्ष, चतुः वैशारद्य आदि र ध्यान, समापत्ति भावना पश्चात् दशभूमिको तहगत अभ्यासका क्रममा षट्पारमिता (दान, शील, क्षान्ति, ध्यान, वीर्य र प्रज्ञा) को क्रमशः अभ्यास हुन्छ । स्थविरवादमा गृहत्याग गरी भिक्षाबाट आएको अन्नबाट जीवन निर्वाह गर्ने कुरा छ भने महायान दर्शनमा दान नै सम्यक् सम्बोधि मार्गको पहिलो खुट्किला मानिन्छ । गृहस्थ अवस्थामा दानबाट शुरू भएको बोधिचित्तोत्पाद र षटपारमिता भावनाद्वारा क्रमशः शील सदाचारमा बसी, जस्तोसुकै कठिन परिस्थिति आए पनि क्षान्ति (सहने क्षमता) बढाई वीर्य (उत्साह र जांगर) का साथ बढ्दै बोधिसत्व ध्यान र समाधिमा सफल हुनेहुन्छ ।
सर्व शून्यताको अभ्यास
तदनन्तर षट् पारमिताको अन्तिम प्रज्ञापारमितामा पुगेपछि सम्पूर्ण चल–अचल वस्तु संवृति सत्य (व्यवहारिक दृष्टि) ले हेर्दा सबै विद्यमान भए पनि परमार्थ सत्यका दृष्टि (ज्ञानगम्य दृष्टि) ले हेर्दा सबै शून्य (निःस्वभाव) हुन् भन्ने बुभ्mने हुन्छ । अर्थात् दुई भन्दा बढी वस्तु मिली बनेको पदार्थ जस्तै कि हामी मान्छे आमाको रज र बाबुको वीर्यका संयोगले बनेका हुन्छौं । हामीले यो देहमा निर्वाणगम्य दृष्टि (परमार्थ सत्य) ले हेर्दा म, मेरो भन्ने कतै पाइँदैन । यो त केवल बाबुको वीर्य (बीज) र आमाको रज (रगत) को संयोग र संमिश्रणको डल्लो मात्र हो । यस्तो स्वभाव (आफ्नो मौलिकता) नभएको वस्तु यो शरीरमा के म, मेरो भन्ने घमण्ड गर्ने भनी अहंकार हटाउने उपाय शून्यता दर्शनका अभियन्ता आचार्य शान्तिदेव र परमार्थ सत्यको दृष्टिले सम्पूर्ण अपेक्षिक कुरा सबै शून्य, निःस्वभाव हुन् । कार्य कारणले बनेका सबै कुराहरू व्यवहारमा विद्यमान भए पनि परमार्थ दृष्टिले हेर्दा शून्य मान्ने आचार्य नागार्जुनले संसारका सम्पूर्ण चल अचल वस्तु निःस्वभाव (शून्य) हुन् भनी आफ्नो विचार व्यक्त गरे ।
वस्तुत यो कुरा बोधगम्य सत्य हो किनभने लामोको अपेक्षाले मात्र छोटोको अभिव्यक्ति हुन्छ भने शुद्धको हिसावले अर्थात् अपेक्षाले अशुद्ध भन्ने पहिचान हुन्छ । म भन्ने आत्ममोहले पराइ भन्ने विभेद हुन्छ । यही विभेद यानी द्वय भन्ने भावले नै संसारमा झै–झगडा उत्पत्ति भइरहेको छ भन्ने शून्यतावादी महायानीहरूको विचारधारा हो । त्यसैले अष्टसाहसिका प्रज्ञापारमितामा२ सुगतकीर्ति भन्ने विद्वान्का भनाइ यसरी उद्धृत गरिएको छ–
आत्मनि सति परसंज्ञा स्वपर विभागात्परिग्रह दोषौः ।
अनयो संप्रतिवद्धा सर्वे क्लेशा प्रजायेत ।
भावार्थः म, मेरो भन्ने मान्नासाथ पराइ भन्ने भाव स्वतः उत्पत्ति भई हाल्छ । यसरी स्व, परको विभेद र द्वय भावले नै तेरो, मेरो भन्ने परिग्रह, दोष, झगडा उत्पन्न हुन्छ । अनि यहि विभेद (द्वय) भावले समस्त क्लेश दुःख, पाप, पीडा उत्पत्ति हुन थाल्छ भन्ने शून्यतावादीहरूको विचार हो । स्थविरवादले आत्मा मात्र निःस्वभाव मानेकोमा महायानले संसारमा दुःख र झै–झगडाका कारण आफू र पराइ, मेरो, तेरो भन्ने द्वय भाव नै हुन् तथा समस्त चल अचल वस्तु समेत निःस्वभाव हुन् भनी सिद्ध गरे । यसरी समस्त वस्तु निःस्वभाव मान्ने महायानीहरूलाई माध्यमिकवादी महायानी भनिन्छ । यिनीहरूले पनि बुद्ध वचनकै आधारमा “यः प्रतीत्यसमुत्पाद सर्व शून्यता मताः” भनी कार्य कारणले, हेतु प्रत्ययले बनेका समस्त कुरा शून्य मानेका हुन् ।
चित्तको उपस्थिति मान्ने विज्ञानवादी (योगाचार)
यसरी सम्यक् सम्बोधि चर्यामा माध्यमिक (सर्व शून्यता) वादी महायानीको प्रादुर्भावका साथ साथै यी चल अचल समस्त वस्तु शून्य भन्ने ज्ञान गर्ने को हुन् त ? भन्ने प्रश्न खडा गरी यी सम्पूर्ण वस्तु शून्य भनी ज्ञान गर्ने यो हाम्रो चित्त नै हो । अत यो चित्तलाई शून्य मान्नु हुँदैन, किनभने यो चित्त एउटा निर्वाण (मोक्ष) लाभ नगरेसम्म खोलाको प्रवाह एवं बली रहेको बत्ती जस्तै निरन्तर प्रवाहित भइरहेको हुन्छ । चित्तको यस अवस्थालाई आलय विज्ञान भनिन्छ भन्ने कुरा प्रस्तुत गरी समस्त चल अचल वस्तु शून्य भए पनि आलय विज्ञान (चित्त) एउटा विद्यमान छ भन्ने विज्ञानवादीहरूको दर्शन प्रसार प्रचारमा आए । यी चित्त (आलय विज्ञान) को उपस्थिति मान्ने महायानीहरूलाई योगाचारवादी महायानी पनि भनिन्छ । साँच्चै भनु भने योगाचारवादीले सम्पूर्ण चल अचल वस्तु शून्य माने पनि मन एउटा छ भनी मान्नुको आधार “मनो पुव्वङ्गमा धम्म”३ भन्ने भगवान्को वचन र “चित्त मात्रं भो जिन पुत्राः”४ भनी चित्तको उपस्थितिलाई अतीशय प्राथमिकता दिई मनलाई सदा सर्वदा निग्रह (नियन्त्रण) मा राख्ने उपदेश भगवान्ले दिनु नै हो । भगवान् बुद्धले यही उपदेश दिनुबाट पनि अरू सम्पूर्ण चल अचल वस्तु शून्य (निःस्वभाव) माने पनि चित्त (मन) एउटा छ भन्ने कुराको बलियो आधार हो भन्ने सिद्ध गर्न योगाचारवादीहरू सफल भएका हुन् । यो कुरा वज्रयान अध्ययन गर्ने व्यक्तिले बुझ्नु अत्यन्त आवश्यक छ । यसरी हेत्वात्मक पारमितायानमा सर्व शून्यतावादी माध्यमिक महायानी र विज्ञान
(चित्त) एउटा विद्यमान छ अरू समस्त चल अचल शून्य भए पनि भनी मन मान्ने योगाचारवादी महायानी गरी दुई थरी मत सिर्जना भए ।
योगाचारवादी महायानीहरू यो संसार हेतु प्रत्यय (कार्य, कारण) लाई मान्दैनन् । हेतुप्रत्ययले बनेका हुनाले पञ्चस्कन्ध, द्वादशायतन धातु, आयतन पनि नमान्ने हुन्छन् । किनकि उनीहरू यो समस्त संसारका चल अचल वस्तु मनकै परिकल्पना मात्र हुन भनी मान्दछन् । मनैले मेरो, तेरो भन्ने कल्पना गरेका हुन् । परमार्थका दृष्टिले यी सांसारिक वस्तु नियालेर हेरेमा यी मेरा घर, जग्गा, छोरा, छोरी, मेरो, तेरो भन्ने केही छैनन् भन्ने दृष्टि अपनाउन लगाई यस्तो निःस्वभाव वस्तुमा के मोह गर्ने ? के राग द्वेष गर्ने ? भन्ने सत्यज्ञान त्यसपछि हुने हुन्छ । पछि यो मन कुनै वस्तुमा न अल्झी विस्तारै कल्पना रहित भई जगत् सत्य प्राणी र आफूमा समता भावना गर्दै गएमा स्वतः निर्वाण एव बुद्धत्व लाभ हुन्छ भन्ने यिनीहरूको अवधारणा हो । त्यसैले अष्टसाहस्रिका प्रज्ञापारमिता सूत्रमा भनेको छ “समाधि र विकल्पना”५ अर्थात् कुनै वस्तु पनि छ भनी कल्पना नगर्नु नै समाधि हो ।
तर सर्वशून्यतावादी माध्यमिक महायानी बौद्धहरूले भने हेतु प्रत्ययबाट बनेका समस्त पदार्थ संवृतिसत्यका हिसाबले सबै वस्तु आफ्नै आँखा अगाडि विद्यमान भए पनि परमार्थ सत्यको दृष्टिले शून्य मान्दछन् । त्यसैले माध्यमिक दर्शनका आचार्य नागार्जुनले “य.प्रतीत्यसमुत्पाद सर्वशून्यता मता” भनी हेतु प्रत्यय (कार्य कारण) ले बनेका कुराहरू शून्य (निःस्वभाव) सिद्ध गरेको हो भनी नितान्त बुझ्नु आवश्यक छ । यस्तो निःस्वभाव वस्तुमा के प्रेम गर्नु र के राग, द्वेष, मोह गर्नु भनी दुई दिनको जीवनमा शान्तिले बाँच र बचाउ भन्ने बोधिचित्तको सन्देश यिनीहरूले पनि छरेको अनुभूति हुन्छ । यिनीहरूलाई सर्व शून्यतावादी पारमितायानी वा हेत्वात्मक महायानी भनिन्छ ।
मन्त्रयानको प्रादुर्भाव –
हेत्वात्मक परमितायन, अर्थात् सर्व शून्यवादी र विज्ञान (मन) वादीहरूले आ–आफ्ना सिद्धान्त प्रसार प्रचार गर्न धेरै ग्रन्थ रत्नहरू जनसमुदाय समक्ष अघि सारे । लंकावतारसूत्र, अष्टसाहसिक प्रज्ञापारमितासूत्र, लंकावतारसूत्र, चतुस्तव, विज्ञप्तिमात्रातासिद्धि अन्तर्गत विंशतिका, आदि धेरै ग्रन्थहरूको पनि प्रचार प्रसार यिनीहरूले गरे । यसरी “बुद्धोभवेयम् जगतो हिताय” को लक्ष्यलाई फलिभूत गर्न बोधिसत्वयान महायानमा दुईवटा महत्वपूर्ण सिद्धान्तको प्रवाहले सम्यक् सम्बोधि चार्य महायान दर्शन दू्रततर गतिले प्रसार प्रचार भइरहेकै बेला बुद्धत्वकै लक्ष्य लिएको मन्त्रयान यानि फलात्मक महायान सिद्धान्तको पनि प्रादुर्भाव यो मन्त्रयानीहरू यही जीवनमा लघु बद्धत्व लाभ गर्न सकिन्छ भन्ने अवधारण प्रचार गर्दथे । त्यसैले यसलाई फलात्मक महायान भनिन्छ भने बुद्धत्वको हेतु षट्पारमिता अनुसरण गर्ने महायानीहरूलाई हेत्वात्मक महायानी भनिन्छ ।
यो मन्त्रयानको सिद्धान्त (फलात्मक मन्त्रनयलाई) विज्ञान (मनवादी) योगाचार दर्शनले अत्यन्त महत्वपूर्ण ढंगले मलजलयुक्त वातावरण तयार गरी मन्त्रयान अंकुरित पारी हुर्काउन ठूलो योगदान एवं भूमिका प्रस्तुत हुन पुगेको कुरालाई नितान्त स्पष्ट बुझ्नु आवश्यक छ । किनभने मन्त्रयानले मन्त्रको निरुक्ती अर्थ स्पष्ट्याउने क्रममा मन (चित्त) लाई संत्राण (रक्षा) गर्ने एवं मनलाई बहलाई भरोसा दिने सम्पूर्ण सांसारिक वस्तुहरू मन्त्र हुन् भनी सर्वप्रथम “मनः संत्राणात् मन्त्र” भन्ने निरुक्ति अर्थ अघि सारी महायान चर्यामा मन्त्रवादीहरूले आफ्नो सिद्धान्त प्रस्तुत गरे । यसकारण विशेषत मनवादी (योगाचारवादी) महायानी दर्शनकै आधारमा मन्त्रयान दर्शनको सूत्रपात भएको मान्न सकिन्छ ।
एवं प्रकारले स्थविरवादले पुद्गल नैरात्म्य (म भन्ने आत्मा छैन) भन्ने भावना गर्न सिकायो भने महायान दर्शनले पुद्गल नैरात्म्य मात्र होइन सर्वधर्म सम्पूर्ण चल, अचल वस्तु पनि निःस्वभाव, शून्य भन्ने माध्यमिक महायानी र मनवादी (सम्पूर्ण वस्तु शून्य भए पनि मन एउटा विद्यमान छ) भन्ने योगाचारवादी यी दुई शून्यतावादी महायानी विचारकै आधारमा धर्म नैरात्म्यको पनि व्याख्या गरे । यसरी आ–आफ्नो विचार अघि सार्दै “बुद्धो भवेयम् जगतो हिताय” को लक्ष्य प्राप्तिका लागि शान्ति, सह–अस्तित्व, समन्वय अपनाई, संघर्ष हटाइ एकाग्र भई निःस्वभाव (शून्यता) को भावना (विपश्यना) अभ्यास गर्न सकेमा बुद्धत्व एवं निर्वाण लाभ हुन्छ भन्ने कुरामा दुवै पक्षले जोड दिएको पाइन्छ । साँच्चै भनु भने जहाँसम्म यो मनले देखेका सुनेका बाहिरी वस्तुहरू केवल मनकै कल्पना मात्र हुन् भनी दृढ विश्वास गरिंदैन तबसम्म मेरो तेरो भन्ने अहंकार र वर्ग संघर्ष रहिरहन्छ र फलस्वरूप चित्त एकाग्र हुन पाउँदैन र बुद्धत्व दुर्लभ मात्र होइन असम्भव हुन्छ भन्ने विज्ञान (मन) वादीको एकदम मजबूत अवधारणा हो । यही धारणालाई अष्टसाहसिका प्रज्ञापारमिता सूत्रमा “प्रज्ञापारमिता ज्ञान मद्वयं सा तथागत”६ भनी अद्धय ज्ञान नै प्रज्ञापारमिता ज्ञान हो, प्रज्ञापारमिता नै तथागत बुद्ध हुनु हुन्छ भनी व्यक्त गरेको हुनुपर्छ । अतः यस प्रज्ञापारमिता ज्ञानले छ–छैन, सानो–ठूलो, लामो छोटो, शुद्ध अशुद्ध, नित्य–अनित्य आदि द्वय भावलाई सापेक्षिक र काल्पनिक हुन् भनी भावना गर्न सिकाएको छ भन्ने कुरा स्पष्ट हुन्छ । परमार्थः सत्य (निर्वाणको) दृष्टिले द्वय भन्ने कुरा सबै काल्पनिक हुन् । काल्पनिक कुरा सच्चा होइनन् निःस्वभाव (शून्य) हुन् भन्ने धारणामा माध्यमिक महायानी र मनवादि महायानी दुवैको दृष्टिकोण एउटै रहि आएको कुरा हामी समक्ष स्पष्ट नै छ ।
मन्त्रयान र पारमितायान –
वास्तवमा विज्ञानवादले व्यक्त गरेको मन (चित्त) को महत्वपूर्ण उपस्थितिलाई मन्त्रयानले आफ्नो दर्शन एवं सिद्धान्तको बलियो आधारस्तम्भ (जग) बनाइ मन्त्र शब्दको निरुक्ति “मनः संत्राण भूतत्वात् मन्त्रं सुखमुदाहृत” अर्थात् मनुष्यको मनलाई संत्राण रक्षा गरी राख्ने संसारका समस्त चल अचल वस्तुहरू नै मन्त्र हुन्, यही मन्त्र नै मनुष्यको सुखका कारण पनि हुन् । किन भने संसारमा देखिने, सुनिने, सुँधिने, छोइने, स्वाद लिइने, मनन गरिने वस्तुहरू नभएका भए मनुष्यको मन एक्लो भई जड भएर मरेर जाने होला वा मनमा, जडता, निष्क्रियता आउने थिए होला भन्ने उनीहरूको रोचक तर्क रहिआएको छ । अतः मन्त्रयानीहरूले “इदानीं स्थावरजङ्गमत्रैधातुकस्य मन्त्रा उच्यन्ते सुरनर फणिनो भूतयोनिश्च मन्त्रा” अर्थात् देवता, मनुष्य, नाग, आदि प्राणीहरू र स्थावर जङ्गम (चल अचल) समस्त वस्तुहरू मन्त्र हुन् भनी प्राणी एवं वस्तुको नामको पहिलो अक्षरलाई बीजाक्षर र वस्तुको एक ढिक्को नामलाई बागवज्र भनी व्याख्या गरे । मामकी, लोचनी, पद्मीनी, तारा आदि देवीको नामहरूलाई बाग्बज्र भनिन्छ भने यी नामका पहिला अक्षर ला, मां, पां तां लाई बीजाक्षर भनी प्रस्तुत गरे । यी बीजाक्षर र वाक्वज्र ध्यान समाधि लाभ गर्न प्रयोग गरिन्छ । यो बीजाक्षर र वाक्वज्रमन्त्र अद्यापि जप, तप र पूजा, समाधि गर्न प्रयोग भइरहेकै छ ।
७ मन्त्रयानले यस तरिकाले मन्त्र संकेतको आविष्कारद्वारा मनुष्यको जीवनमा वैराग जीवन होइन, रंगीन र सुखमय जीवनको आवश्यकता छ भन्ने विचारलाई प्रत्याभूत गराई मनुष्यको मनलाई नौलो दिशा दिन प्रयास गरेको स्पष्ट छ । द्वादशाङ्ग प्रतीत्यसमुत्पाद, चतुः आर्यसत्य, चतुः संग्रह वस्तु, चतुः ब्रम्हविहार आदिलाई नित्य भावना गर्न सजिलो पार्न यी उपर्युक्त सम्पूर्ण बुद्धधर्मका आधारभूत दार्शनिक एवं प्रमुख सिद्धान्तलाई मण्डलमा उतार्ने प्रयास पनि यिनीहरूले गरे । त्यस्तै पञ्चस्कन्ध (रूप, वेदना, संज्ञा, संस्कार, विज्ञान) लाई पनि क्रमशः पञ्चरङ्गी पञ्च तथागत बुद्धको रूपमा परिकल्पना गरी मण्डलको माध्यमले नै नित्य दर्शन गराई चित्त एकाग्र पार्ने कोशिस पनि गरियो । गुह्यसमाज तन्त्र अनुसार मण्डलको चार पाटा चतुः आर्य सत्यका प्रतीक हुन्, मण्डलको चार कुना चतुब्र्रम्हविहारका प्रतीक, मण्डलको चारद्वार चतुः संग्रह वस्तुका प्रतीक हुन् भन्ने तर्क प्रस्तुत गरी प्रत्येक चार चार हुने हुँदा मण्डललाई द्वादशाङ्ग प्रतीत्य समुत्पादका प्रतीक भनी व्याख्या गरे ।८ यसरी पञ्चरङ्गी सूत्रले ग्राफका आधारमा जस्तै बनाइएका यी मण्डलको बीचको भागमा पञ्चस्कन्धका प्रतीक पञ्च बुद्ध समावेश गर्ने प्रचलन पनि चलाए । जस्तै कि चित्तमण्डल निर्माण गर्ने भए विज्ञान स्कन्धका प्रतीक भूस्पर्शमुद्राको अक्षोभ्य बुद्धलाई मण्डलका बीचमा राखिन्छ वा वहाँको प्रतीक चिन्ह “वज्र” राख्ने गरिन्छ ।
अक्षोभ्य तथागतको ध्यान भावना गराउन वहाँको वर्ण नीलो, मुद्रा भूस्पर्श, कुल मन्त्रविद्याधर, चिन्ह वज्र, द्वेषचरित अर्थात् द्वेष स्वभावको हो भनी व्याख्या गरी हामी मनुष्य पनि यी नै पञ्चबुद्धकै वर्ग मध्ये एक वर्गमा पर्छन् भनी व्याख्या गरेको पाइन्छ । त्यस्तो चरित र स्वभाव भएका व्यक्तिले कस्तो भावना गर्नुपर्छ भनेर द्वेष चरितका व्यक्तिले सधैं मैत्री भावना गर्न पनि सिकाएका हुन्छन् । एवं रितले मात्सर्य चरितका मनुष्यले रत्नसम्भव तथागत बुद्धकुल अनुसारको भावना गरी मात्सर्य (कंजूस स्वभाव) हटाउन मनमनै भए पनि सधैं यो दान दिए, त्यो दान दिए भनी नित्य त्याग भावना गरेमा कंजुसी स्वभाव हटी बोधिचित्त स्थिर गर्न सफल हुने हुन्छ भन्ने लक्ष्यले पञ्चबुद्ध (पञ्चस्कन्ध) द्वादश आयतन, अष्टादश धातु आदिलाई पनि मण्डलमा समावेश गर्ने अद्भुत परिपाटी चलाए जुन अद्यापि महायानी वज्रयानीहरूले नित्य भने जस्तो पूजा आजामा भावना गरी आएका छन् । तसर्थ पञ्चबुद्ध एवं पञ्च तथागत भनेको मानव बुद्ध नभई केवल चरित अनुसार व्यक्तिको कुल र चरित (स्वभाव) चिनाउने एउटा अद्भूत उपायकौशल्य मात्र हुन् ।
यसरी मन्त्रयानले पनि पारमितानयले जस्तै संवृत्तिसत्य र परमार्थ सत्यकै आधारमा मनुष्यलाई यो संसारको सत्य तथ्य बोध गराउन, उपदेश दिन प्रयत्न गरे । यही तथ्यलाई व्यक्त गर्न कालचक्रको टीका विमलप्रभाले आफ्नो अभिव्यक्ति यसरी दिएको छ९ –
“इद लोके संवृत्या विचार्यमाणः सर्वदर्शन सिद्धान्त समानौ लौकिक सिद्धये तद्यथा–
येन येन हि भावेन मनः संभुज्येते नृणाम् ।
तेन तन्मयंता याति विश्वरूपो मणिर्यथा ।।
इति भाव संकल्प समान” ।
अर्थात् लोक व्यवहारका कुरालाई नियालेर विचार गर्दा संसार भरिका सबै दर्शन, सिद्धान्त समान नै छन् । किनभने इह लोकका काम कुरा, इच्छा आकांक्षा पुरा गर्न, सिद्ध गर्न, फल प्राप्त गर्न सम्पूर्ण धर्म दर्शनले आ–आफ्नै तरिकाले ध्यान भावना गरी पूजा पाठ गरी सफल भएका छन्, फल प्राप्त गरेकै छन् । आ–आफ्ना सिद्धान्त तथा भावना अनुरूप मन्त्र र मूर्तिहरू कल्पना गरी त्यसमा मन लगाउँदा मन तन्मय हुने हुन्छ । जब मनुष्यको मन एकदम तन्मय हुन्छ तब मणि वा ऐनामा जुन वस्तु वा व्यक्तिको छाँया पर्छ त्यही रूप मणि वा ऐनाले लिए जस्तै मनमा जुन कुरालाई तन्मयपूर्वक एकचित्त गरिएको छ त्यो वस्तुले पनि ठीक त्यस्तै मनमा प्रतिबिम्ब र छाया पार्छ र मनले विश्वरूप उत्पत्ति गर्न सफल हुन्छ । भन्ने यही सिद्धान्तका आधारमा लोक व्यवहार मिलाउन, कार्य सिद्धि गर्न, मनमा तन्मयपूर्वक सोचेका मन्त्र मूर्ति आदिहरू मन्त्रयानीहरूले आविष्कार गरेका हुन् । यस कुरामा कुनै सन्देह छैन भन्ने विद्वान्हरूको विचार छ । अतः यसरी फलको अपेक्षा, आशाले चल्ने हुनाले मन्त्रयानलाई फलात्मक नय पनि भनिन्छ ।
यसरी बुद्ध वचनकै आधारमा सर्वशून्यतावादी महायानीको उदय भए भने मनवादी महायानीको सिद्धान्त पनि बुद्ध वचनकै आधारमा फस्टाएको कुरा नितान्त बुझ्नु आवश्यक छ । परन्तु मनवादी योगाचार दर्शनकै सिद्धान्तको आधार शिलामा नै मन्त्रयानको उत्पत्तिमा अत्यन्त महत्वपूर्ण मल–जलको मात्रा पुग्न गई मन्त्रयानको प्रादुर्भाव सहज भएको तथ्य पनि हामी महायानीले किमार्थ बिर्सनु हुँदैन ।
एवं प्रकारले सम्यक् सम्बुद्धयान वा महायान कहलिएको यो बुद्ध दर्शनमा “बुद्धो भवेयम् जगतो हिताय” को लक्ष्य लिएका विविध दृष्टिकोण र विचारधाराको उदय हुँदै जाँदा मूर्ति पूजाका विरोधि एवं दुःख सत्यका अभियन्ता अर्थात् “कोनु हासो किमानन्द नित्यं प्रज्वलिते सति” भनी वैराग्य उत्पत्ति गरी मोक्ष, निर्वाणका लागि प्रयत्न गर भन्ने प्रेरणा दिने भगवान्को दर्शनमा मनलाई आनन्दित र सुखानुभूति दिने विविध उपायहरूको तर्जुमा पनि गया मन्त्रयानले ग¥यो । “सुखेन साधयेत बोधिम्” सुखपूर्वक बोधिज्ञानको साधना गर भनेका छन् त कतै “सुखितस्य चित्तं समाधियते समाहितश्च यथाभूतं प्रजानाति”१० भनी चित्त सुखी छ भने मात्र मनुष्यको मन एकाग्र (समाहित) हुन्छ । एकाग्र भएमा मात्र सत्य कुराको ज्ञान हुन्छ भनी मनुष्यको मनलाई हरतरहले संघर्ष, अशान्ति, झैं–झगडा कलहबाट टाढा राखी सुखमय परिवेशमा ध्यान समाधि लाभ गराउन मन्त्रयानका सिद्ध आचार्यहरूले सोचेको र तद्अनुरूप नै प्रयास गरेको विदित हुन्छ ।
वास्तवमा मन्त्रयानीहरूले पनि शून्यतावादीले जस्तै यो संसारलाई संवृति सत्य र परमार्थ सत्य (निर्वाण) कै आधारमा बोधि ज्ञान प्राप्त गर्नका लागि उपदेश दिएका, बुझाएका हुन्छन् । अतः यहाँ निर फलात्मक महायान (मन्त्र महायानीले) लौकिक सिद्धि साधना गर्न रातो, सेतो, कालो आदि वर्ण भएका देवता तथा द्विभूज, चतुर्भुज आदि भएका देवताहरू र भुजहरूले धारण गरेका डमरू, खटवाङ्ग, त्रिशुल, वज्र, खड्ग आदि चिन्ह तथा आलिढ, प्रत्यालिढ पद जस्ता संस्थान (आकार) लक्षण आदि सबै काल्पनिक हुन् संवृत्ति (व्यावहारिक) सत्यका आधारमा मात्र आविष्कार गरिएका हुन् तथा चिन्ह, रंग, भुज, संस्थान (आकार) का कुरा नभएको बोधि ज्ञान लोकोत्तर फल सर्वाकारवरोपेत, महामुद्रा सिद्धि (बुद्धत्व) साधना गर्न वर्णन गरिन्छ भनी कालचक्र तन्त्रका टीका विमलप्रभामा पुण्डरिक भन्ने टीकाकारले मन्त्रयानमा पनि लौकिक सिद्धि र लोकोत्तर महामुद्रा सिद्धि (बुद्धत्व) को लागि कसरी बेग्लाबैग्लै तरिकाले भावना गरिन्छ भन्ने महत्वपूर्ण विचारधारालाई औंल्याएको छ ।
११ मन्त्रयानमा मुद्रा– यहाँ निर फलात्मक मन्त्रयानले मुद्रा शब्दको निरूक्ति कसरी व्यक्त गरे भन्ने कुरा अत्यन्त रोचक छ । “मुदं हर्ष विशेषं राति ददातीति मुद्रा”१२ भन्ने निरूक्ति प्रस्तुत गरी आनन्द, हर्ष, सुख अनुभूति दिने तत्वलाई नै मुद्रा भनिन्छ भन्ने कुरा मन्त्रनय (मन्त्रयान) ले प्रष्ट्याएको छ । मन्त्रयानी सिद्ध आचार्यहरूले केवल महामुद्रा मात्र होइन व्यक्ति विशेषको चरित र शारीरिक अवस्था, स्वभाव, अनुरूप समयमुद्रा, कर्ममुद्रा र ज्ञानमुद्राको साधना गराउन प्रेरित गर्छ भन्ने कुरा नामसङ्गीति कृत्यानुष्ठानगाथामा भगवान् बुद्धलाई “चतुमुद्रार्थोपदेशक” भनी सम्मान गर्नुबाट व्यक्त हुन्छ ।
पं दिव्यवज्र वज्राचार्यले “वज्र महायान वज्रयान” भन्ने आफ्नो लेखमा व्यक्त गरेका मुद्राहरूको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक नै होला । उपर्युक्त चार मुद्रामध्ये कर्ममुद्रा भनेको यौन क्रिया सम्बन्धी उपायद्वारा धर्मदेशना गर्नु हो । यो कर्ममुद्रा कामी पुरुष एवं नारीहरूलाई बुद्ध धर्ममा विशेष गरेर आकर्षित गरी विस्तारै बुद्ध धर्मको ज्ञान दिई जगत्सत्व उद्धार गराउने उद्देश्यले साधना गर्न लगाएका हुन्छन् । त्यसैले चण्डमहारोषण तन्त्रमा “अत्यन्तकामीनामर्थे मया बुद्धेन देशित”१३ अर्थात् अत्यन्त कामीमनुष्यहरूको निमित्त यो कर्ममुद्राको उपदेश म बुद्धले दिएको हुँ भनी स्पष्ट गरेको छ । यो कर्ममुद्रालाई हेतु
भनिन्छ ।
ज्ञानमुद्रा अर्थात् आफ्नो मनले कल्पना गरेका विश्वमाता आदि देवीहरूको मूर्ति तथा युगल मूर्ति ध्यान गर्ने विधि यस अन्तर्गत वर्णन गरेको हुन्छ । सहधर्मीणी साथमा नलिईकन केवल पूर्वानुभूत सुखलाई सम्झी गरिने मुद्रालाई ज्ञानमुद्रा भनिन्छ । यो मुद्रालाई भाव्या पनि भनिन्छ ।
त्यस्तै समयमुद्रा भनेको महामुद्रा सिद्धि प्राप्त गरेकाहरूको समय (सिद्धान्त) अनुसार उत्पन्न भएका वैरोचन आदि तथागतहरूको मूर्ति, मण्डल, पूजा, उपासना आदिका विधि हुन् । त्यसपछि महामुद्रा भनेको सर्वाकारवरोपेत (शून्यता भावना) को साधना हो । तसर्थ यो परमार्थ सत्य (निर्वाण) को कुरा हो । अतः यसलाई स्वप्न, इन्द्रजाल (चटक) समानको कुरा हुन् भनी उल्लेख गरेको छ ।
अतः मन्त्रयानले वैराग होइन सुख, महासुख, आनन्द, परमानन्द, विरमानन्द सहजानन्दको भावनाद्वारा चित्त समाहित गरी यही जुनीमा लघु बुद्धत्व लाभ गर्न सकिन्छ भन्ने आफ्नो गम्भीर विचार पस्केको छ । निर्वाण प्राप्त गरे भने जगत् सत्व उद्धार गर्छु भन्ने प्रणिधान खेर जान्छ, अतः निर्वाण भन्दा संसार ठूलो, सत्वप्राणीहरूको उद्धार गर्नु ठूलो भन्ने उच्च विचार यिनीहरूले पनि लिएका हुन्छन् । यसरी मन्त्रयानले अनित्य, दुःख अनात्मको भावना गर्दैन बरू सुख महासुखको भावना गर्ने हुन्छ भन्ने कुरा स्पष्ट हुन आउँछ ।
मन्त्रयानमा मण्डल –
जसरी मुद्राबाट सुखानुभूति हुने कुरा माथि व्यक्त गरेको छ त्यस्तै मण्डल शब्दको निरुक्ति दिने क्रममा “मण्डं सुखं सारं लतिति महाविपुल मण्डलम्” भनी नामसंगीतको टिकामा उल्लेख गरिएको छ । अर्थात् सुख र सारपूर्ण ज्ञान दिने मण्डल नै हो भन्ने भाव व्यक्त गरेको पाइन्छ । ठीक यस्तै विचार गुह्य समाज तन्त्रको पृष्ठ ८९ मा “मन्डं सार परमार्थ सत्यम् लाति गृहणतीति मण्डलं” भनी मण्डलको निरूक्ति दिएको छ । यसरी मन्त्रनय (फलात्मक महायान) को उद्देश्य हरतरहले सुखानुभूति गराई चित्त समाहित पारी लघु बुद्धत्व वा महामुद्रा सिद्धि लाभ गराउनु नै प्रमुख उद्देश्य रहेछ भन्ने कुरो व्यक्त
हुन्छ ।
वज्रयान र मन्त्रयान–
वज्रयान के हो ? यसको उद्देश्य के हो ? भन्ने खुल्दुली, कौतुहलता बुद्ध धर्मको सम्यक् सम्बोधि मार्ग (वज्रयान) अध्ययन गर्न चाहने जिज्ञासुमा परापूर्वकालदेखि रहिआएको कौतुहलता हो । त्यसैले हेवज्रतन्त्रको विनय पटलमा वज्रयान बुझ्न चाहने, अध्ययन गर्न चाहनेले निम्न श्लोकमा बताए जस्तै क्रमशः अध्ययन गर्नुपर्छ भन्ने महत्वपूर्ण ज्ञान दिइएको छ–
पोषधं दीयते प्रथमं तदनु शिक्षापदं दशं ।
वैभाष्यं ततः देशेत सूत्रान्तं वै पुनूतथा ।।
योगचारं तत पश्चात् तदनुमाध्यमिकं दिशेत् ।
सर्वं मन्त्रनयं ज्ञात्वा ततो हेवज्रमारभेत् ।।
गृह्णीयात् सादरं शिष्य सिद्धयते नात्र संशय ।
अर्थात् वज्रयान अध्ययन गर्ने हो भने सर्वप्रथम अष्टाङ्ग उपोषध मार्ग सहित दश शिक्षापदको ज्ञान हुनु नितान्त आवश्यक छ । त्यसपछि स्थविरवाद अन्तर्गत वैभाषिक दर्शन अध्ययन गर्नुपर्छ । अनि सौत्रान्तिक दर्शनको ज्ञान लाभ गर्नुपर्छ । यति ज्ञान भएपछि योगाचार (विज्ञान÷मन) वादी दर्शन स्पष्ट बुझ्ने हुन्छ । त्यसपछि माध्यमिक (सर्वशून्यतावादी) दर्शनको ज्ञान गर्नुपर्छ । अनि मन्त्रयानको ज्ञान बुझ्ने हुन्छ । अतः उपर्युक्त दर्शन सिद्धान्तहरूको क्रमशः साधारण ज्ञान भएको व्यक्तिले मात्र वज्रयानका कुरा बुभ्mन समर्थ हुन्छ भने यो श्लोकको आशय हो ।
उपर्युक्त हेवज्रतन्त्रको अभिव्यक्ति अनुसार वज्रयानमा दिक्षित हुनु भनेको साधारण र कम महत्वको कुरा होइन भन्ने विदित हुन्छ । हिजो आज मन्त्रयान सम्बन्धी तन्त्र ग्रन्थ उपलब्ध नहुनु र प्रबुद्ध गुरुहरूको गुरूपरम्परा पनि टुट्दै जानाले पारमितानय (हेत्वात्मक महायान) र वज्रयानका बीच सेतु (पुल) का रूपमा रहेको मन्त्रयान (फलात्मक महायान) लाई राम्ररी नबुझ्दा वज्रयान बुझ्न कठीन भएको कुरा सर्वविदितै छ । मन्त्रयानको महत्व र उद्देश्य तथा वज्रयान के हो भन्ने कौतुहलता स्पष्ट पार्न कालचक्र तन्त्रले पनि हेवज्रतन्त्रले जस्तै वज्रयानको लक्षण एवं समीकरण यसरी अभिव्यक्त गरेको छ भन्ने कुरा पं. दिव्यवज्र बज्राचार्यले मन्त्रयान के हो ? भन्ने आफ्नो लेखमा व्यक्त गरेको छ –
“तस्मात् श्री वज्रयाने प्रवृत्ति ः वज्रमभेमच्छेद्यं महदिति, तदेव यानं मन्त्रनयं पारमितानयं फलहेत्वात्मक मेकलोलिभूतं तस्मिन् प्रवृत्ति वज्रयाने प्रवृत्ति ।”१४
अर्थात् अरू विविध दर्शन सिद्धान्तले फोड्न, काट्न र खण्डन गर्न नसकिने भएकाले वज्रलाई महान् भनिएका हुन् । त्यस प्रकारको यान (मार्ग) लाई वज्रयान भनिन्छ । यो वज्रयान फलात्मक मन्त्रनय र हेत्वात्मक (पारमितानय) यी दुवै महायानका कुरा पानीमा पानी मिलाए जस्तै मिलेर एकलोलिभूत (एक ढिक्का भई बनेको) वज्रयानमा लाग्नु हो भनी वज्रयानको लक्षण स्पष्ट पारेको छ । तसर्थ फलात्मक महायान (मन्त्रनय) र हेत्वात्मक महायान (पारमितानय) नै वज्रयान हो भन्ने स्पष्ट रूपले सिद्ध हुन आउँछ । यसकारण वज्रयानबाट हेत्वात्मक महायान झिक्दा विशुद्ध मन्त्रयान (फलात्मक मन्त्रनय) मात्र बाँकी हुन आउँने कुरा स्वतः स्पष्ट रूपमा सिद्ध छ । अत मन्त्रयानले शून्यता भावना पनि गर्दैन, पारमिताहरू पनि भावना गर्दैन । हेतुप्रत्यय आदिमा पनि विश्वास गर्दैन । पञ्चस्कन्ध, पञ्चबुद्ध आदिका प्रतीक केवल मण्डल, मूर्ति आदि इत्यादिमा मात्र विश्वास गर्ने हुन्छ भन्ने कुरा पनि यही समिकरणबाट सिद्ध हुन्छ ।
हेत्वात्मक महायान अर्थात् पारमितानयको आधारभूत कुरा र लक्षण माथि नै उल्लेख गरिसकेको भए पनि वज्रयानको सिद्धान्तलाई अझ बढी स्पष्ट पार्ने उद्देश्यले फेरि एकपल्ट प्रज्ञापारमिता पिण्डार्थ संग्रहको पहिलो श्लोकमा उल्लेखित भएको वाक्य यहाँ स्मरण गर्नु उचित छ “प्रज्ञापारमिता ज्ञान मद्वयं सा तथागत” अर्थात् अद्वय ज्ञानलाई नै प्रज्ञापारमिता भनिन्छ । प्रज्ञापारमिता नै तथागत बुद्ध हुनु हुन्छ । यही अद्वय अर्थात् छ छैन, शुद्ध अशुद्ध, लामो छोटो आदि आपेक्षिक ज्ञान वज्रयानबाट झिक्दा मन्त्रयान बाँकी हुन्छ भने जस्तै मन्त्रयानका – मन्त्र, मण्डल, मूर्ति, मुद्रा, वज्रनृत्य, वज्रगीत (चर्चा) आदि समस्त पूजा शून्य हुन्, निःस्वभाव हुन् भनी मान्ने बित्तिकै वा भावना गर्ने बित्तिकै वज्रयानमा परिवर्तन हुने हुन्छ भन्ने तथ्य र विशुद्ध वज्रयान मात्र बाँकी रहन आउने कुरा पनि स्मरणीय छ ।
वज्रयानको मुख्य उद्देश्य निःस्वार्थ भावना
यसरी कालचकतन्त्र, अष्टसाहसिक, प्रज्ञापारमिता, बसन्ततिलक आदि ग्रन्थहरूलाई विचारधारा केलाएर हेर्दा, मनन गर्दा निःस्वभाव (शून्यता) ज्ञानलाई नै विशेषता प्रश्रय दिएको कुरा स्पष्ट हुन आउँछ । मन्त्र, मण्डल, मुद्रा, पञ्चस्कन्ध रूपी पञ्चबुद्धका विविध चरित्र, कुल, चिन्ह, मूर्तिहरू र मूर्तिका कुल (वर्ग) हरू एवं वज्रगीत वज्र नृत्य आदि केवल आदिकार्मिक (नव सिकुव महायानी) लाई बुद्ध धर्ममा आकर्षण गर्नका लागि मात्र वज्रयानले अपनाएका हुन्, प्रयोग गरेका हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ ।
यही उपर्युक्त तथ्यलाई अझ राम्ररी सुबोध गर्न वसन्ततिलका भन्ने तन्त्रमा कृष्णाचार्य सिद्धले व्यक्त गरेको कुरा पं. दिव्यवज्र वज्राचार्यले यसरी उल्लेख गर्नुभएको छ “मण्डलाधिमुक्ताः प्रवर्तन्तां तावत्तत्करण भावनायाम् पश्चात्तद्वारेणैव तेषं निस्वभाव सिद्धनिति बहयाभिनिवेश त्यजयित्वाध्यात्मेश्वरावतार्यते इति” अर्थात् मण्डलमूर्ति आदिमा श्रद्धा भक्ति एवं दृढ विश्वास गर्नेले मण्डल मूर्ति आदिका पूजा गरून् त्यसमा केही आपत्ति छैन ।१५ तर त्यही पूजाद्वारा सबै चल–अचल वस्तु परमार्थ सत्यका आधारमा निःस्वभाव शून्य हुन् भन्ने कुरा सम्झाई, बुझाई बाह्य पूजा, होम, जप, तप आदि प्रतिको आसक्ति छुटाई आध्यात्ममा (सम्यक् सम्बोधि ज्ञानमा) लगाइनु पर्छ ।
यसरी सिद्ध कृष्णाचार्यले जुनसुकै पूजा कर्मकाण्ड गरे पनि तथा अरू धर्मका नाना प्रकारका देव देवीका मूर्ति पूजाहरू वज्रयानमा भित्र्याएर पूजा गरिए पनि ती सबै केवल अरू विविध धर्म एवं मतावलम्बीहरूलाई समेत बुद्धधर्ममा विस्तारै अवतरण वा (आकर्षण) गर्नका लागि मात्र हुन् भन्ने कुरा बुझ्नु आवश्यक छ । वास्तवमा शून्यता (निःस्वभाव) भावना अर्थात् प्रज्ञापारमिता भावना गराउनु नै वज्रयानको एक मात्र विशेषता हो, मुख्य उद्देश्य हो । यति मात्र होइन, वसन्ततिलकाको टीकाद्वारा पारमितानय र मन्त्रनयलाई वज्रयानले कसरी एकलोलिभूत पार्ने प्रयास गरे भन्ने कुरा निम्न श्लोकबाट स्पष्ट व्यक्त हुन्छ ।
निःस्वभाववपदाभ्यासात् देवता रूप भावना ।
सामता महती पूजा सर्वबुद्ध प्रसाधनी ।।
अर्थात् जुनसुकै देवताका रूप कल्पना गरी पूजा भावना गरे पनि निःस्वभाव (शून्यता, अद्वय र भूतकोटी) लाई हरदम एक साथ भावना गर्नु, अभ्यास गर्नु आवश्यक छ भन्ने यिनीहरूको विचार हो । यसरी देव देवी तथा मूर्तिहरूलाई निःस्वभाव सम्झी पूजा गर्नु नै बुद्धहरूलाई प्रसन्न पार्ने महान पूजा हो, वज्रयानी पूजा हो । किनकी वज्रयानले यही तथ्यको अनुसरण गरी शिव, राम, गणेश, विष्णु, ब्रम्हा सबैलाई समान रूपले पूजा गर्छन् । निःस्वभाव (शून्यता) दर्शन अनुसार यी सबै एकाकार नै हुन्, फरक छैन, शून्य नै हुन् भनी पूजा गरी आएका हुन् । वज्रयानले कसैलाई विरोध गर्दैनन् । यही वज्रयानका विशेषता हो तथा धर्म समन्वयको मार्ग पनि यही हो ।
यही उपर्युक्त भावना र पूजालाई निरन्तरता दिन वज्रयानीहरू हरेक पूजा आजा गर्दा “स्वभाव शुद्धा सर्वधर्मा स्वभाव शुद्धोऽहं शून्यता ज्ञानवज्र स्वभावात्मकोऽहम्” अर्थात् संसारका समस्त पदार्थहरू स्वभावैले शुद्ध छन्, अत म पनि स्वभावैले शुद्ध छु, साथै शून्यता ज्ञान रूपी अच्छेद्य, अभेद्य वज्र स्वभावको पनि म छु भनी सम्पूर्ण विश्वलाई शून्यता भावना गर्ने हुन्छ । अतः यी उपर्युक्त निःस्वभाव भावनाको गुढ रहस्य कुनै सम्प्रदाय तथा मत मतान्तरसँग विरोध नगरीकन समन्वयपूर्वक सबैलाई आत्मसात् गरी आएको हुनाले वज्रयान आजसम्म जीवन्त रहन सकेको हो । वज्रयानले संघर्ष, झै झगडालाई कोशौं दूर फ्याँक्न सफल भएको हो । तर वज्रयानको यो महत्वपूर्ण कुरा हिजोआज धेरैले बुझ्न छोडेको देखिन्छ ।
वज्रसत्व पराशुखम् –
मन्त्रयानले आदि बुद्धको परिकल्पनाद्वारा मञ्जुश्री ज्ञानसत्वको परिकल्पना गरे एवं रितले पञ्चबुद्धको कल्पना तथा देव देवी र मनुष्यका चरितलाई चिन्न कूल (वर्ग) को विवेचना आदि समेत गरेको छ । मन्त्रयानका समस्त कुरालाई आत्मसात गरी विविध मण्डल नृत्य, गीत, संगीत (चर्चा) आदि समेत वज्रयानले आफ्नो लक्ष्य प्राप्तिका लागि मन्त्रयानी सिद्धान्तलाई अनुशरण गरेको देखिन्छ । तर मन्त्रयानले अभिव्यक्त गरिएका पञ्चस्कन्धका प्रतीक पञ्चबुद्ध माने पनि यी मूर्ति, मण्डल आदिलाई अन्तमा शून्य
(निःस्वभाव) भावना गर्न सिकाई “वज सत्व परं सुखं” भनी पञ्चस्कन्धका प्रतीक पञ्चबुद्धको महत्व होइन वज्रसत्वको महत्व उजागर गर्नतिर वज्रयान लम्केको पाइन्छ । वज्रयानले वजसत्व भनेको चित्त नै हो । यो वज्रसत्व भनेको महासुख रूपी तत्व हो भन्ने सिद्धान्त प्रचार गरी मन्त्रयानले जस्तै सुख विपश्यनाको प्रचार गरेको प्रस्ट हुन आउँछ । हुन त सातौं शताब्दीको आचार्य शान्तिदेवले आफ्नो कृति शिक्षा समुच्चयको क्षान्तिपारमिता नवौं परिच्छेदमा वज्रयानीहरूले जस्तै सर्वधर्म सुखाक्रान्त समाधिको कुरा व्यक्त गरेको पाइन्छ । यहाँ निर हेवज्रतन्त्रले पनि वज्रसत्व परंसुख भनी सुख विपश्यनाको कुरा यसरी उल्लेख गरेको छ – यो एकदम नौलो प्रकारको सकारात्मक सोचका रूपमा पनि मान्न सकिन्छ ।
सुखं पीतं, सुखं रक्तं, सुख कृष्णं, सुख सितम् ।
सुखं श्यामं, सुखं सर्वं सुखाकारं महज्जगत् ।।
अर्थात् पहेंलो, रातो, कालो, सेतो, हरियो आदि जति पनि वस्तुहरू छन् ती सबै सुखै सुख हुन् भनी भावना (अभ्यास) गर्ने बानी गर्दा यो महान जगत संसार नै सुखाकारको अनुभूति विस्तारै हुने हुन्छ भनी वज्रयानी विपश्यना गर्ने तरिका हेवज्र तन्त्रले उल्लेख गरेको छ । साँच्चै भनु भने वज्रयान दर्शनले एकदम सकारात्मक सोंच नै सुखको पहिलो पाइलाका रूपमा व्यक्त गरेको आभास हुन्छ । मन पर्ने, मन नपर्नेको द्वयभाव रहेसम्म सुख सम्भव छैन । मन पर्ने र मन नपर्ने भन्ने द्वयभाव छोडे पछि प्रज्ञापारमिता ज्ञान अनुसरण गरेपछि सुख त्यसै त्यसै उपलब्ध हुन्छ भन्ने यो श्लोकको भाव हो । ल्भनबतष्खभ बउउचयबअज नै दुःखका कारण हुन् भन्ने सन्देश यसबाट प्राप्त हुन्छ । यही विचारधारालाई नामसङ्गीतिको टीका अमृतकणिका द्योत पृष्ठ ८१ मा पनि यसरी उल्लेख गरेको छ –
सुखं नीलं सुखं पीतं सुखं सर्वचराचरम् ।
सुख भाव, सुखाभाव वज्रसत्व परं सुखम् ।।
अर्थात् नीलो पनि सुख, पहेंलो पनि सुख, चर अचर सारा संसारै सुख हो । सुख भाव पनि हो, सुख अभाव पनि हो वज्रसत्व भने परं सुख हो । यसरी वज्रयानले समस्त जगत्लाई सुख सम्झने भावना (विपश्यना) सिकाएको छ । भाव र अभावलाई समान रूपले सुख सम्झने सकारात्मक सोंचलाई आत्मसात् गर्न सिकाइ निराश र दुःखी नहुने उत्प्रेरणा जगाएको छ । अतः मन्त्रयानको सुख भावना भन्दा वज्रयानको सुख भावनाले सर्वव्यापी, उदारतापूर्ण विचारको सञ्चार गर्दाेरहेछ भन्ने महत्वपूर्ण कुरालाई औल्याउँ छ ।
वज्रयान र मन्त्रयानको भिन्नता
प्रज्ञापारमितामा विश्वास गर्ने हेत्वात्मक पारमितानयका प्रचारकहरूले पनि पञ्चस्कन्धमा आशक्त नभइकन, भावना गरेको भावना नै प्रज्ञापारमिता भावना हो भनी पञ्चस्कन्धको प्रतीक पञ्चबुद्धको सिद्धान्तका पृष्ठ पोषक मन्त्रयानलाई निषेध गरेको पाइन्छ । बरु पारमितायानीले पञ्चस्कन्ध र षड् इन्द्रिय भनेको एउटै हो भनी पञ्चस्कन्धबाट मोडी षड् इन्द्रियको व्याख्या गर्न तिर लम्केको देखिन्छ । त्यति मात्र होइन, गुह्य समाजतन्त्र जस्तो विशुद्ध वज्रयानी तन्त्रले पृष्ठ १९९ मा स्पष्टसँग भनेको छ– योगीजनहरूले पञ्चस्कन्ध आदि छैन भन्ने वचनलाई सधैं सम्झी अभ्यास गर्नुपर्छ । यसकारण पञ्चस्कन्धलाई भन्दा वज्रसत्वलाई वज्रयानले महत्व दिन थालेको कुरा बुझ्नु आवश्यक छ ।
वज्रयानमा काय, वाक् र चित्तको भूमिका –
पञ्चस्कन्धको सट्टा वज्रयानले काय, वाक् र चित्तको उपस्थिति र यसको भूमिकालाई व्याख्या गरे । चित्तको आधारमा कायको उत्पत्ति र कायको आधारमा नै वाक् उत्पत्ति हुने भएकाले यी काय वाक् चित्त अन्योन्याश्रित छन् । यी तीन तत्वको सन्तुलित क्रियाकलाप नै स्वस्थ जीवनको आधार हो भन्ने दृष्टिकोण अपनाई कायको प्रतीक वीजाक्षर ॐ, वाक्को प्रतीक वीजाक्षर आ, र चित्तको प्रतीक बीजाक्षर हूँ निर्माण गरियो । हरेक पूजा तथा वली पूजाआजामा यी तीन वीजाक्षर ॐ आ हूँ लाई वज्रयानीले अनिवार्य रूपले प्रयोग गरेको छ जस्तै कि ॐ आ हूँ वज्रोदके स्वाहा, ॐ आ हूँ वज्र सिन्दूर तिलक, भूषणे स्वाहा भनी काय वाक् चित्त रूपी सिन्दूर वा तिलक लगाउने, टिका एक प्रकारको भूषण हो । यो अर्पण गर्छु भन्ने यसको भाव हो । यसरी हरेक कुरा भगवान्लाई अर्पण गर्दा ॐ आ हूँ र वज्रलाई प्रयोग गरियो । यो काय वाक् चित्तलाई वज्रयान दर्शनले त्रिगुह्य भनेर नामाकरण पनि गरे । यसलाई वजयानको ट्रेडमार्कका रूपमा प्रचार गरी हरेक पूजा, अर्चना अर्पण गर्दा यी तीन बीजाक्षरको प्रयोग अनिवार्य बनाइयो । यहाँ वज्रलाई सुखको प्रतीकको रूपमा प्रयोग गरेको छ भन्ने पं. दिव्यवज्र वज्राचार्यको विचार छ ।
महायानी ग्रन्थ दशभूमिक सूत्रको प्रभाव वज्रयानमा –
यसरी मन्त्रयानको केही सैद्धान्तिक कुरालाई नकारे पनि वज्रयानले मन्त्रयानको महत्वपूर्ण पक्ष मन्त्र, मुद्रा मण्डल, गीत, संगीत (चचा) नृत्य आदिलाई नकारेको छैन । चर्या, नृत्य र चचा आदि विषयमा मनुष्यको अभिरुची दिनानुदिन बढ्दै गइरहेको पनि यसैको प्रतिफल हो । महायानी सूत्र ग्रन्थ “दशभूमीक सूत्रमा” पनि अत्यन्त दुःखींपीडित मनुष्यहरूलाई एक क्षण मात्र भए पनि सुख संचार गरी आनन्दित तुल्याउन काव्य, नाटक, आख्यान, गन्धर्व (गीत, संगीत, वाद्य, वादन) र प्रहसन आदि गर्नुपर्छ भन्ने कुरा सुदुर्जया नामको पञ्चम् भूमिमा पदार्पण गरेको बोधिसत्व त्यसलाई सिकाएको छ । बोधिसत्वले सर्वसत्वलाई एकक्षण भए पनि हित सुख दिन समय समयमा यस्तो आयोजना गर्नुपर्छ भन्ने महत्वपूर्ण कुरा उल्लेख गरेको पाइन्छ । यही उद्देश्य अनुरूप वज्र महायानीहरूले नै महाकाली नाच, गथु प्याखं, कार्तिक प्याखं, कुमो प्याखं, गण नृत्य (गंप्याखं), प्रहसन (श्रावण महिना जनैपूर्णिमा पछि ख्याल भनी जन समुदायको व्यंग गरी हंसाउने लघुकाव्य, नाटक आदि) र दीपंखा, लाखे नाच आदि इत्यादिका साथै गीत संगीत वाद्य बादन पनि गरिन्छ र ताः को स्वरमा चर्या नृत्य र गीत (चचा) को प्रयोग गरी विविध पूजा गर्ने प्रचलन वज्रयानामा अद्यापि प्रचलित नै छन् । यसरी महायान दर्शनले जनताको सुख समृद्धिका लागि “सर्वप्रकारं जगतो हिताय” का लक्ष्यलाई कार्यान्वयन गर्दै अघि बढी रहेको कुरा अत्यन्त स¥हानीय छ । हुन त दशभूमिक सूत्रमा जगत् उद्धारका लागि बोधिचित्त उत्पन्न गरेका महायानीहरूले ग्राम नगर बनाउने शिल्प, गणित, ज्योतिषशास्त्र, चिकित्साशास्त्र आदि र विविध धातु विद्या, सुन चाँदीका गरगहना बनाउने आदि शिल्प विद्या जान्नु पर्छ र आफूले जानेका यी विद्याहरू दुःखी प्राणीहरूलाई आत्मनिर्भर बनाउन सिकाइदिनुपर्छ भनी स्वस्थ समाज बनाउने प्रेरणा पनि दिएको छ ।
उपर्युक्त दशभूमिक सूत्रको प्रेरणाले नै वज्राचार्यहरूले गुह्य पूजामा मात्र होइन देवाली आदिमा चर्या गीत (चचा) गाउँछन् भने अरू विविध सामाजिक उत्सवमा पञ्चबुद्धको चर्या नृत्य, वज्रदेवीको चर्या नृत्य आदि गरी आनन्दित भई सुखानुभूति गर्दै आइरहेको पनि पाइन्छ ।
वज्रयानको व्यावहारिक पक्ष –
समाजमा वज्रयानको व्यवहारिक पक्षलाई केलाउँदै जाँदा वज्रयानले प्राणी मात्रलाई उपायकौशल्यद्वारा सांसारिक दुःखबाट मुक्ति दिई, आत्मनिर्भर गर्न निरन्तर प्रयास गर्दै आइरहेको छ । दशभूमिक सूत्र मात्र होइन बोधिसत्व भूमि नामक ग्रन्थमा पनि प्राणीलाई आत्मनिर्भर बनाउन निम्न लिखित शिल्प विद्याहरू सिक्ने, सिकाउने व्यवस्था गर्नुपर्छ भनी उत्प्रेरित गरेको छ –
“आध्यात्मिक ज्ञान, कारण ज्ञान, शब्द ज्ञान, रोग निको पार्ने ज्ञान, शिल्प” स्थान ज्ञान, च । इतिमानि पञ्च विद्यास्थानानि यानि बोधिसत्वेन पर्येषते । एवमनेन सर्व विद्यास्थानानि पर्येषितानि भवन्ति ।”
अतः यिनै ग्रन्थ रत्नहरूको उत्प्रेरणाले गर्दा महायानीहरू यी विद्यामा सिद्ध हस्त छन् । महायानी बौद्धमार्गीहरू अद्यापि चिकित्सा शास्त्र शिल्पकला, साहित्य आदि क्षेत्रमा एकाधिकार जमाउँदै आएको छ । बहुसंख्यक वज्राचार्यहरू आयुर्वेद जस्तो चिकित्सा पद्धतिमा संलग्न छन् भने प्रायः धेरै जसो शाक्यहरू गरगहना बनाउने, मूर्ति बनाउने, धातुका भाडाँकुडा बनाउने काममा विश्व विख्यात छन् । त्यस्तै प्रस्तर मूर्ति, चैत्यहरू बनाउन पनि यिनीहरू अत्यन्त निपूर्ण छन् । चित्रकारहरू चित्रपट (पौभा) र विविध देवदेवीको चित्र बनाउन सिपालु छन् भने मालाकार आदिहरू नृत्य गीत संगीतमा सिद्धहस्त छन् । त्यस्तै तुलाधर, स्थापितहरू गृह निर्माण, मठ, मन्दिर, पाटी पौवा निर्माणमा दक्ष छन् । कंसाकारहरू काँसका भाँडा बनाउन दक्ष छन् । महर्जन आदि महायानीहरू कृषिमा निपूर्ण छन् । यी हुन् महायान र वज्रयानका महत्वपूर्ण व्यवहारिक क्रियाकलापहरू ।
वज्रयान का धार्मिक पक्ष –
वज्रयानले जनमानसलाई सम्यक् सम्बोधि ज्ञान तर्फ आकर्षित गर्न विविध उपायकौशल्य गरी समय समयमा सम्यक् भोजन, पूजा, पञ्चदान, नवदान (नराँ) लक्षाहूति, सख्वापा (सुधावलेपन) सी स्वाँछा (मदन पुष्पारोहन), बाहापूजा (विहारपूजा) अवलोकितेश्वर पूजा (करुणामय पूजा) आदि गरी आएका छन् । यसप्रकारका पूजा आजा चाडपर्व आदिको आयोजनाले गृहस्थीहरूलाई नयाँ स्फूर्ति र जाँगर दिइरहेको हुन्छ । साथसाथै मनुष्यमा सकारात्मक प्रवृत्तिको विकास र भाइचारा एवं मेलमिलाप पनि यस किसिमका आयोजनाहरूले दिइरहेको हुन्छ । वर्ग संघर्ष हटाई समन्वय कायम गर्न पनि यस प्रकारका धार्मिक कृयाकलापको आवश्यकता वज्रयानीहरू महशुस गर्छन् । जसको ज्वलन्त प्रमाण हुन करुणामयहरूको रथजात्रा एवं वार्षिक महास्नान (न्हवं) आदिमा र उपर्युक्त पूजाआजामा के वैदिक, के शाक्त के शैव, के नाथ सम्प्रदाय समस्त नेपाली जनसमुदाय भेला हुने र हर्षाेल्लास गरी मनाउने हुन्छ । केवल बौद्ध मात्र होइन सबै जनमानसलाई एक सूत्रमा बाँध्ने काम वज्रयानले गर्दै आएको पाइन्छ । साँच्चै भनु भने अरू मतावलम्बीहरूले खासै यस प्रकारका जात्राको आयोजना गरेको नगण्य नै छन् ।
वज्रयानको दैनिकी त्रिस्कन्ध –
वज्रयान दर्शनले त्रिस्कन्ध भावनालाई अंगाली बुद्ध, धर्म, संघको शरणगमन गरी पाप देशना गर्ने, पुण्यानुमोदना गर्ने, पुण्यपरिणामना गर्ने यी तीन वटाको स्कन्ध (समूह) लाई त्रिस्कन्ध भनी नाम राखी दिनको तीन पटक, रातीको तीन पटक मन मनै भए पनि बुद्ध, धर्म, संघको शरणमा गई, जानी नजानी गरेका दश अकुशल पापहरू सम्झी बुद्ध धर्म सघंको अगाडि निवेदन गर्ने र आइन्दा यसप्रकारको पाप गर्ने छैन भनी प्रतिज्ञा गर्ने र संसारमा जगत् उद्धारका लागि भए गरेका ठूलठूला आश्चर्यका काम देखि लिएर स–सानो जनहितका काम समेत सम्झी ती पुण्यात्माहरूको गुण (पुण्य) लाई अनुमोदन मुक्त कण्ठले तथा मनमनै भए पनि हर्षित भई तारिफ गर्ने नियम बनाइ दिएको छ । यही त्रिस्कन्धको नियमलाई नेवारी भाषामा न्हिस्वक अर्थात्, विहान, दिउँसो, राती गरी तीन पटक गर्नुपर्छ भन्दा भन्दै छोटकरीमा न्हिस्वकको छोटकरी रूप न्हिक हुन गएको हो । वज्रयानले आफ्नो दैनिकीमा मात्र होइन साधारण देवदेवीको पूजा आजा गर्दा मूर्ति कल्पना गर्दा तथा बुद्ध बोधिसत्वहरूको मन्दिर जाँदा पनि यो दिइएको न्हिकं पाठ गर्नुपर्ने नियम बनाई दिएको छ । जुन पाठ गुरुमण्डल समाधिमा यस प्रकार छन्ः
रत्नत्रयं मे शरणं सर्वं प्रतिदिशाम्यघम् ।
अनुमोदये जगदपुण्यं बुद्ध बोधौ दधे मन ।।
आबोधात् शरणं यामि बुद्ध धर्म गणोत्तमे ।
बोधिचित्तं करोम्येष निमन्त्रयामि अहुसर्वसत्वान् ।।
उत्पादयामि वरबोधिचित्तं निमन्त्रयामि अहुसर्वसत्वान् ।
इत्थं चरिष्ये वर बोधिचर्यां बुद्धो भवेयं जगतो हिताय ।।
भावार्थः त्रिरत्न (बुद्ध, धर्म, संघ) को शरणगमन पूर्वक आफूले जानी नजानी गरेका समस्त पाप (अघ) लाई सम्झी फेरि गर्दिन भन्ने प्रतिज्ञाका साथ पापदेशना पाप निवेदन गर्ने, संसारमा भए गरेका पुण्य (जगत हितका कार्य) लाई अनुमोदन (तारिफ) गर्ने बुद्ध बोधि (बुद्धोभवेयम् जगतो हिताय) भन्ने प्रतिज्ञामा मन लगाउने र बोधि ज्ञान लाभ नभएसम्म त्रिरत्नको शरणमा परी आफ्नो तथा अरूको प्रसिद्धि (भलाई) हुने काम गर्ने । यस्तो भावको यो श्लोक सधंै मनमनै भए पनि पढी भगवान्को नित्य प्रार्थना गर्ने गर्नुपर्छ भनी वज्रयानले आफ्नो पूजा पद्धति सम्बन्धि पुस्तक गुरुमण्डल समाधिमा यो कुरा समावेश गरेको छ । यो साह्रै स¥हानीय वज्रयानाचर्या मान्नु पर्छ । हेर्दा साधारण कुरा भए पनि नित्य त्रिरत्नको शरण जानाले मनमा सद्धर्मको उदय हुन्छ । पाप देशना गर्ने बानीले नित्य आफ्नो समीक्षा गर्ने बानीको विकास भई जानी नजानी आवेशमा आइ गरिने दश अकुशल पाप घट्दै जाने हुन्छ, पुण्यानुमोदन गर्ने बानीले आफ्नो अघि पछि लाग्ने परिवार एवं भाईबन्धुहरूसँग मेलमिलाप बढ्छ, राम्रो कामको मुक्तकण्ठले तारिफ गर्ने बानी बढ्छ । यो संसारमा मनुष्य तारिफ र अनुमोदनको भोका हुन्छन् । तारिफको एक शब्द सुन्न मनुष्यले धेरै दुःखका काम गर्नु परे पनि पछि नहट्ने हुन्छ । तर एक थरी मनुष्य तारिफ त परै राखूं खुट्टा तान्ने नकारात्मक सोंचको अन्त्य गर्ने तरिका वज्रयानले अपनाएको छ नभनी बस्नु उपर्युक्त हुँदैन । वज्रयान दर्शनले उपायकौशल्यद्वारा सकारात्मक सोचलाई हरतरहले बढावा दिएको छ । समृद्ध घर परिवार मात्र होइन, समृद्ध समाज र संसार निर्माण गर्न पुण्यानुमोदन जस्तो सकारात्मक सोंचको अत्यन्त खाँचो छ । अतः पुण्यानुमोदन महायान बुद्ध धर्मको एउटा अति मूल्यवान पक्ष हो । यो त्रिस्कन्धको अभ्यासले नै मनुष्यमा अद्भुत जागरण आउँछ, धर्म समन्वय बढ्छ, हिंसा अत्याचार पनि विस्तारै घट्छ, मेलमिलापको वृद्धि हुन्छ । यही वज्रयानको मननीय विशेषता हो ।
अस्तु
१ सम्पादक – पं. दिव्यवज्ज वजाचार्य – अद्वय परमार्थ नामसंगिति पृ.२६, दोस्रो संस्करण दिव्य केशरी परिवार २०७४ साल चैत
२. अनुवादक – दिव्यवज्र वज्राचार्य – अष्टसहस्त्रिका प्रज्ञापारमिता सूत्र – प्रकाशक लोटस रिसर्च सेन्टर ल.पू. पृष्ठ ११२–२०
३. सम्पादक – राहुल सांस्कृत्यायन – धम्मपद – प्रकाशक – महाबोधि सभा सारनाथ (बनारस) – यमकवर्ग
४. अनुवादक पं. दिव्यवज्र वज्राचार्य श्री आचार्य शान्तिदेव विरचित्त – बोधिचार्यवतार –प्रकाशक ल.पू. पृष्ठ–२०
५.अनुवादक – पं. दिव्यवज्र वज्राचार्य –आर्य अष्टसहस्रिका प्रज्ञापरमिता सूत्र – प्रकाशक लो.रि.से. ल.पू. पृष्ठ–२०
६. अनुवादक दिव्यवज्र वज्राचार्य प्रज्ञापारमिता – पिण्डार्थ (आचार्य दिङ्नागकृत) पृ. –१ श्लोक १ दोस्रो संस्करण – प्रकाशक – अखिल नेपाल महायान बौद्ध समाज २०७५
७. संकलक – सुमती वज्राचार्य –“बुद्ध बोधि” पं. दिव्यवज्ज वज्राचार्य लेखे संग्रह – पृ. ३५ प्रकाशक – दिव्य केशरी परिवार २०६३
८. अनुवादक – पृ. दिव्यवज्र दिव्यवज वज्राचार्य – आर्य गुह्य समाजतन्त्र पृष्ठ ९२, प्रकाशक लो.रि.से.लपू
१०. आर्यमञ्जुश्री नामसंगिती – अमृकणिका द्योता टिका पृ. १२७
११. टीकाकार पुण्डरिक – कालचक्रको टीका विमालप्रभा – पृ. ४२ लोक धातु पटल
१२ संकलन – सुमतिवज्राचार्य बुद्धबोधि – पं. दिव्यवज्र लेख संग्रह – पृ. २० प्रकाशक दिव्य केशरी परिवार २०६२ साल ।
१३. सुमती वज्राचार्य – बुद्ध बोधि पं.दिव्यवज्र वज्राचर्या लेख संग्रह – पृ. २०
१४. संकलक – सुमती वज्राचार्य – बुद्ध बोधि – पं. दिव्यवज्र वज्राचर्याका लेख संग्रह – पृं १४ – प्रा. दिव्यकेशरी परिवार प्रकाशक अखिल नेपाल महायान बौद्ध समाज दोस्रो संस्करण २०७४
१५. संकलक समति वज्राचर्या – बुद्ध बोधि – पं. दिव्यवज्र वज्राचर्या लेख संग्रह – पृ १० – प्रकाशक, दिव्य केशरी परिवार २०६३ ।