
काठमाडौं।काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध सिर्जना भएको छ।
स्थानीय बासिन्दाको अवरोधका कारण बञ्चरेडाँडामा बुधबारदेखि फोहोर विसर्जन प्रभावित भएको छ।
नुवाकोटको ककनी र धादिङको धुनबेंसीस्थित बञ्चरेडाँडामा फोहोर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै अवरोध गरेका हुन्। स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर आएका गाडीलाई काठमाडौँ फिर्ता पठाइएको हो।
फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए। फोहोर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता पूरा नभएको भन्दै फेरि अवरोध गरिएको स्थानीयले बताएका छन् ।
सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको समक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। मागको सम्बोधन र सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धताको साथमा जिम्मेवार प्रतिनिधि प्रभावित क्षेत्रमा आउनुपर्ने भन्दै सिसडोल, कुँडुले, ढाँडेका सडकमा स्थानीय शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन्।
स्थानीयको मागमा नुवाकोटको ककनी र बेलकोटगढी तथा धादिङको धुनबेँसीका जनप्रतिनिधि, दलीय प्रतिनिधिलगायतले समर्थन जनाएका छन्।



