
विचार
भूराजनीतिको भुँवरीमा राष्ट्र : शक्ति, स्वार्थ र सार्वभौमिकताको संघर्ष
शशीश्री आचार्य
विश्व–नक्साको सतहमा देखिने सीमारेखाहरू केवल भूगोलका रेखा चित्र मात्र होइनन्; शक्ति, स्वार्थ, रणनीति र प्रभुत्वका अदृश्य तन्तुहरूले कोरिएका राजनीतिक शिरा–धमनी हुन्। यही शक्ति–सन्तुलन, प्रभाव–विस्तार र सामरिक हितको बहुआयामिक खेललाई भूराजनीति भनिन्छ।
भूराजनीति केवल नक्सा माथिको राजनीति होइन, यो महासागरको गहिराइ देखि हिमालको शिखर सम्म फैलिएको सामरिक चेतना हो; यो बन्दूकको आवाज भन्दा अघि चल्ने कूटनीतिक चाल हो; यो मुस्कान भित्र लुकेको शक्ति–प्रतिस्पर्धाको सूक्ष्म नाट्य हो।
जब कुनै राष्ट्रको भू–अवस्थिति, प्राकृतिक स्रोत, सामरिक मार्ग, समुद्री पहुँच वा वैचारिक प्रभाव विश्वशक्तिहरूका लागि महत्त्वपूर्ण बन्छ, तब त्यो राष्ट्र भूराजनीतिको केन्द्रबिन्दु बन्न पुग्छ। साना राष्ट्रहरू प्रायः दुई विशाल चट्टान बीच च्यापिएको नदीझैँ हुन्छन्—एकातिर आर्थिक सहयोगको सुनौलो वाचा, अर्कोतिर सैन्य प्रभाव र वैदेशिक हस्तक्षेपको अदृश्य जाल। यहीँ बाट सुरु हुन्छ शक्ति–सन्तुलनको गुप्त युद्ध।
भूराजनीतिको मूल क्रियाकलाप प्रभाव विस्तार गर्नु हो। शक्तिशाली राष्ट्रहरूले आर्थिक सहायता, सैनिक सम्झौता, व्यापारिक निर्भरता, सांस्कृतिक हस्तक्षेप, कूटनीतिक दबाब, वैचारिक प्रचार तथा प्रविधिक नियन्त्रण मार्फत आफ्नो प्रभाव क्षेत्र विस्तार गर्छन्। कहिले विकासको नाममा ऋणको पासो बुन्छन्, कहिले सुरक्षाको नाममा सैन्य अड्डा स्थापना गर्छन्, कहिले मानव अधिकारको भाषण भित्र राजनीतिक स्वार्थ लुकाउँछन्।
यसरी भूराजनीति कहिलेकाहीँ मुस्कुराउँदै आउने उपनिवेशवाद बन्छ—जहाँ बन्दूक देखिँदैन तर निर्णयहरू परनिर्भर बन्छन्।
भूराजनीति सञ्चालन हुने तरिका अत्यन्त सूक्ष्म र बहुआयामिक हुन्छ। यो प्रत्यक्ष युद्ध भन्दा बढी अप्रत्यक्ष नियन्त्रणमा आधारित हुन्छ। शक्तिशाली राष्ट्रहरूले छिमेकी वा रणनीतिक राष्ट्रहरूमा आफ्नो पक्षधर सरकार निर्माण गर्न चाहन्छन्। उनीहरू सञ्चारमाध्यम, आर्थिक लगानी, अन्तर्राष्ट्रिय संस्थाहरू, सैनिक सहयोग, वैदेशिक नीति तथा कूटनीतिक दबाब मार्फत आफ्नो हित सुरक्षित गर्छन्।
कहिलेकाहीँ एउटा राष्ट्र दुई विश्वशक्ति बीचको प्रतिस्पर्धाको रंगमञ्च बन्छ, जहाँ जनता केवल दर्शक होइनन्—बल्कि पीडित पात्र बन्छन्।
भूराजनीतिको अन्तिम परिणाम प्रायः अस्थिरता, ध्रुवीकरण र परनिर्भरता हुन सक्छ। राष्ट्र भित्र वैचारिक विभाजन बढ्न थाल्छ। राजनीतिक दलहरू राष्ट्रिय हित भन्दा बाह्य शक्तिप्रति नतमस्तक हुन थाल्छन्। विकासका योजना पनि राष्ट्रिय आवश्यकता भन्दा विदेशी रणनीति अनुसार बन्न थाल्छन्। जनताको मनोविज्ञानमा अविश्वास, असुरक्षा र राजनीतिक वितृष्णा फैलिन्छ।
देशको सार्वभौमिकता विस्तारै कागजको घोषणामा सीमित हुन सक्छ, जहाँ झण्डा आफ्नै हुन्छ तर निर्णयको छायाँ परदेशी दरबार बाट निर्देशित हुन्छ।
यदि आफ्नो राष्ट्रमा तीव्र भूराजनीति सुरु भयो भने राष्ट्र दुई धारको तरबार माथि उभिन्छ। एकातिर वैदेशिक लगानी, पूर्वाधार विकास, रणनीतिक साझेदारी र आर्थिक अवसर आउन सक्छन्; अर्कोतिर राष्ट्रिय अस्मिता, नीतिगत स्वतन्त्रता र आत्मनिर्णय क्षीण हुन सक्छ। यदि नेतृत्व दूरदर्शी, सन्तुलित र राष्ट्रवादी चेतनायुक्त भयो भने भूराजनीति अवसर बन्न सक्छ; यदि नेतृत्व स्वार्थ, भ्रष्टाचार र दलगत लोभमा डुब्यो भने यही भूराजनीति राष्ट्रको नियति–विनाश बन्न सक्छ।
नेपाल जस्ता भौगोलिक रूपमा संवेदनशील राष्ट्रहरू भूराजनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण हुन्छन्। दुई विशाल शक्तिहरूको बीचमा अवस्थित राष्ट्रले सधैँ सामरिक सन्तुलनको कठिन परीक्षा दिनुपर्छ। यहाँ प्रत्येक सडक, प्रत्येक सम्झौता, प्रत्येक वैदेशिक भ्रमण र प्रत्येक आर्थिक परियोजना समेत भूराजनीतिक दृष्टिले हेरिन्छ। यस्तो अवस्थामा राष्ट्रले आत्मसम्मानयुक्त तटस्थता, सन्तुलित कूटनीति र राष्ट्रिय एकता कायम राख्न सकेन भने बाह्य शक्तिहरूको प्रभाव विस्तारै राष्ट्रिय संरचना भित्र जरा गाड्न थाल्छ।
भूराजनीतिको प्रतिफल द्वैध हुन्छ। सही नेतृत्व र स्पष्ट राष्ट्रिय दृष्टिकोण भए यसले व्यापारिक मार्ग खोल्न सक्छ, पूर्वाधार निर्माण गर्न सक्छ, कूटनीतिक महत्त्व बढाउन सक्छ, विश्वमञ्चमा राष्ट्रको प्रभाव विस्तार गर्न सक्छ। तर गलत नीति, कमजोर नेतृत्व र आन्तरिक विभाजन भए यसले गृहकलह, आर्थिक निर्भरता, राजनीतिक अस्थिरता, वैचारिक द्वन्द्व र राष्ट्रिय अस्मिता माथि संकट निम्त्याउन सक्छ।
त्यसैले राष्ट्र निर्माणका लागि भूराजनीति न पूर्ण रूपमा ठिक हो, न पूर्ण रूपमा बेठिक। यो आगोझैँ हो—सही रूपमा उपयोग गरियो भने उज्यालो र ऊर्जा दिन्छ, गलत रूपमा खेलियो भने सम्पूर्ण संरचना खरानी बनाउँछ।
राष्ट्रका लागि सबै भन्दा महत्त्वपूर्ण कुरा शक्तिशाली राष्ट्रहरूसँगको सम्बन्ध होइन, आफ्नै राष्ट्रिय चेतना, आत्मनिर्भर अर्थतन्त्र, दृढ कूटनीति र जनताप्रतिको उत्तरदायित्व हो।
अन्ततः भूराजनीति संसारको अपरिहार्य यथार्थ हो। तर कुनै राष्ट्रको वास्तविक शक्ति बाह्य गठबन्धनमा होइन, आफ्ना नागरिकको आत्मविश्वास, राष्ट्रिय एकता र स्वाधीन निर्णय क्षमतामा निहित हुन्छ।
जब राष्ट्र आफ्नै विवेकमा उभिन्छ, तब भूराजनीति उसको नियति हुँदैन—उसको अवसर बन्छ।
तर जब राष्ट्र आफ्नै छायाँ देखि डराउन थाल्छ, तब भूराजनीति केवल कूटनीति रहँदैन, त्यो सार्वभौमिकताको मौन शवयात्रा बन्न पुग्छ।




