
सामान्यतः सबैले थाहा पाएको कुरा भनेको अधिमासलाई मलमास,अनला र पुरुषोत्तममास आदि इत्यादि भन्दै यो हरेक तीनतीन वर्षमा आउँछ भन्न जानेको छ । यो बाहेक अरु थप सोध खोज गर्ने चासो कसैले लिइ आएको देखिंदैन । वास्तवमा सोध खोज गर्न ,भारी बोकेर ज्याला मजदुरी गर्नेलाई यसमा कुनै चासो हुने भएन किनकि अधिमास भए पनि भारी बोक्नै पर्छ नभए पनिबोक्नै पर्छ ।
खेती किसानी गर्नेहरुलाई मलमास भने पनि मल सहजै पाउने होइन पैसा तिरेर पनि नपाउला भन्दै ज्यू हजूर गर्दै लाम लाग्नै पर्छ । जागीर खाने कर्मचारीहरुलाई महिना नमरी तलव आउने होइन, उनीहरुलाई पनि कुनै चासो हुने होइन किनकि दिन गन्तिले ३० दिन भुक्त नहुँदै महिना मर्दैन ।
शिक्षकहरु कोर्स बूकमा जे छ त्यही मात्र पढाए पुगी हाल्यो । चासो लिनु पर्ने बाँकी भनेको कर्मकाण्ड गर्ने पुरोहित ब्राम्हण, पञ्चाङ्ग बनाउने पञ्चाङ्गकार, ज्योतिष पेशागर्ने जोशी र इतिहास,संस्कृतिको बारेमा चर्चा गर्नेहरुले लिनु पर्ने हो । उनीहरुको माझमा पनि पुरुषोत्तम मासको महिमा बताऊनु प¥यो भने त्यसैको विषयमा सप्ताह नवाह नै गर्न सक्छु भने जस्तो कुरा गर्छन् तर सिद्धान्तको कुरा गर्दैनन् । मत्स्यनारायण स्थानमा त धूमधाम मेला नै लाग्ने हुनाले त्यहाँका मन्दिरको पुजारी मात्र होइनन् मत्स्यगाऊँ भरीका मानिसहरुको लागि त्यस्तो अधिमास त तीनवर्षको एक चोटी मात्र होइन वर्षै पिच्छे आइ दिए हुन्थ्यो जस्तो कुरा गर्छन् तर सिद्धान्तको कुनै मतलव छैन ।
अन्य नारायण मन्दिरहरुमा पनि भक्तजनको भीड लाग्ने भएकोले पुजारीहरुले दान दक्षिणादेखि लिएर अरु बेलाको दाँजोमा थुप्रै आम्दानी हुने भएर यस्तो पर्व त हरेक ६।६ महिनामा नै परेको भए धेरै जाती हुन्थ्यो भन्ने जस्ता कुरा गर्छन् तर त्यहाँ पनि सिद्धान्तको चर्चा हुँदैनन् ।
वास्तवमा यो अधिमासको सिद्धान्त के हो ? भन्ने बारे साँच्चै भन्नुपर्दा कसैले चासो राखेको देखिएको छैन । यदि अधिमासको सिद्धान्त बारे राम्रो चासो राखेको भए यसपालीको पञ्चाङ्गमा पनि गम्भीर भूल हुन नपर्ने हो तर भएकै छ ; किनभने यसपाली २०८३ को पञ्चाङ्ग पात्रोमा जेठको ३ गतेदेखि असारको १ गतेसम्म मलमास परेको देखाइएको हुनाले सोही मुताविक अधिमास मनाइरहेका छन् ।
वास्तवमा सिद्धान्तमा दुईवटा संक्रान्तिको बीचमा एक वटा चान्द्रमास पर्न आयो र त्यो चान्द्रमासले अगाडिको संक्रान्ति पनि देखेन र पछाडिको संक्रान्ति पनि देखेन भने मात्र अधिमास परेको हुनु पर्ने हो । तर असार १ गते सम्म अधिमास रहने जुन देखाइयो त्यो सिद्धान्त अनुकूल भन्न बिल्कुलै मिल्दैन । अझ त्यतिमात्र होइन अधिमास हुनका लागि त्यो शुक्लपक्षबाट शुरु भई कृष्णपक्षमा अन्त गराइएको हुनु पर्ने हुन्छ किनभने केरो लक्ष्मणछत्रेले शकसंवत् १ देखि २१०५ सम्म कुनकुन शकवर्षमा अधिमास पर्छ भनी दिइएको छ त्यसमा सबै अमान्तमानको सिद्धान्त अनुकूलका हुन् । अहिलेको पञ्चाङ्ग पात्रो अमान्तमान होइनन् ।
अझ त्यतिमात्र होइन अधिमास हुनका लागि त्यो शुक्लपक्षबाट शुरु भई कृष्णपक्षमा अन्त गराइएको हुनु पर्ने हुन्छ किनभने केरो लक्ष्मणछत्रेले शकसंवत् १ देखि २१०५ सम्म कुनकुन शकवर्षमा अधिमास पर्छ भनी दिइएको छ त्यसमा सबै अमान्तमानको सिद्धान्त अनुकूलका हुन् । अहिलेको पञ्चाङ्ग पात्रो अमान्तमान होइनन् । अर्को भनेको शकसंवत् र शाके संवत् एउटै पनि होइनन् तर कहिलेदेखि शकसंवत् र शाकेसंवत् एउटै ढुंग्रोमा अटाउन लगाइयो त्यसको खोजी हुनुपर्दथ्यो, तर अहिलेसम्म त्यसमा पनि कसैले चासो राखेको देखिएको छैन । अहिले त्यस्तै भूलभुलैयाबाट अधिमास यो अवस्थाबाट गुज्रिंदै आइरहेको छ ।
मान्छेले व्याख्या बखान जेसुकै गरुन् सूर्य पूर्वबाटै उदाउने हो अरु दिशाबाट होइन भने जस्तै शकसंवत् र नेपालसंवत् बीच ८०२ वर्षको अन्तर पनि कुनै हालतमा संभव हुने होइन , जतिसुकै लामो हिसाव देखाउन् ।यहाँ महान् महान् ज्योतिष, पण्डित,इतिहासकार र संस्कृतिविद्हरुको नजरमा अधिमास भएको वर्षमा १३ महिना हुन्छ र १३ महिनाको दिन गणना गर्दा त्यो वर्ष ३९० तिथिको दिन गन्ति हुने गर्दछ भन्ने गलत भाष्य बनेको मात्र होइन प्रशिद्ध इतिहासकार एवं गणितज्ञ कहलिएका पं नयराज पन्तको लिच्छविसंवत्को निर्णय नामक पुस्तकको पृष्ठ ११ पल्टाउँदा समेत संवत् ३१ माघ शुक्ल त्रयोदशी आदित्यबारको गणना गर्दा उक्त मितिको समानान्तर शक ५२९ माघ शुक्ल त्रयोदशी आदित्यबार भन्नुको साथै ३९० दिनको अवधारण समातिएको छ । स्वयं उनले आफनो पुस्तकको २९४ पृष्ठमा पस्केको अधिमास तालिकामा शक ५२९ को वर्षमा अधिमास नपर्ने देखादेख पनि जानीजानीकन अक्षम्य कैफियत कसरी गर्न सकियो ? त्यस्तो छूट कसैलाई हुने होइन , उनलाई मात्र छूट कसरी भयो ? यो नै आश्चर्यको विषय छ ।
पञ्चाङ्ग पात्रो हेर्न जान्नको लागि ज्योतिषै हुनुपर्ने भन्ने जरुरी छैन र पञ्चाङ्ग पात्रो हेर्न जान्दैमा त्यो ज्योतिष ठहरिने पनि होइन । पञ्चाङ्गलाई राम्रो सँग अध्ययन गरी हेर्ने हो भने तिथि दुई दिन पनि हुनसक्छ, तिथि टूट पनि हुनसक्छ । त्यस्तै गरी ३६५ दिनको वर्ष भित्र दुईवटा संक्रान्ति बीच एउटा चान्द्रमास पहिलो पक्ष शुक्ल दोस्रो पक्ष कृष्ण भएको चान्द्र महिनालाई अधिमास भन्ने हो र यसमा सौरमान र चान्द्रमान दुवै आकर्षित भइरहेको हुनु जरुरी छ त्यसकारण एउटा छुट्टै महिनाको परिकल्पना गर्नु सिद्धान्तहीन कुरा हो । यसलाई मलमास भन्नु पनि उचित होइन साथै १३ महिनाको गणना भई ३९० दिनको वर्ष हुने कल्पना गर्न पनि पाइने होइन । यहाँ इतिहासविद् तथा ज्योतिषविद् भनाउँदाहरु समेत १३ महिना र ३९० दिनको अवधारणा बनाई दुनियाँलाई उल्लू बनाउँदै आएका छन् ।
कुनै पनि पञ्चाङ्गमा केवल चान्द्रमासको मात्र गणना गरिंदैन, यो संभव पनि छैन । तिथिको उदय यही बेला यही समयमा हुनुपर्दछ भनी कसैले बाँध्न चाहेपनि सकिने कुरो होइन मतलव तिथि उदय जुनसुकै बेला हुने भए तापनि जुन तिथिले सूर्योदय देख्छ त्यो तिथि मात्र तिथि कायम हुन्छ भनाइको मतलव तिथि उदय मात्र भएर हुँदैन त्यहाँ तिथि उदयले सूर्योदयसित समाहित भइरहेको छैन भने त्यो तिथि कायम हुने नै होइन । कुनै बेला एउटै तिथिले दुई सूर्योदय छुन्छ भने त्यसलाई तिथि वृद्धि भन्छ मतलव एउटै तिथि दुई दिन हुन्छ । त्यस्तै गरी तिथि उदय त भयो त्यो तिथिले अगाडिको सूर्योदयलाई पनि छोएन र पछाडिको सूर्योदयलाई पनि छोएन भने त्यतिबेला तिथि टूट हुन्छ । विशेष गरी पण्डितहरुले सदियौं वर्षदेखि हेलचेक्र्याई गर्दै आइरहेको विषय नै यही हो ।
उनीहरु तिथि उदय र समय कतिवजेदेखि कतिवजेसम्म लाई मात्र ख्याल राखी सूर्योदयलाई ठाडै उपेक्षा गर्दै आएको छ र यसैलाई नै पञ्चाङ्ग बुझाईको आधारभूत धरातल मान्दै आएका छन् , जसले गर्दा अहिले तिथि विवाद निक्कै चुलिंदै आएको कारण नै यही हो । भनाईको मतलव एकसूर्योदयदेखि अर्कोसूर्योदयसम्म सूर्योदयले देखेको तिथि कायेम हुने भन्ने कुरा सिद्धान्त अनुकूल हो । जथाभावि लिग् छोडेर हिड्ने रेल कहाँसम्म पुग्न सक्छ त्यो हामी भन्न सक्दैनौं ।
तिथि उदय र समय यति वजेदेखि यति वजेसम्म रहने मात्र मुख्य कुरा होइन सूर्योदयले देखेको पनि हुन जरुरी छ त्यस कारण सूर्योदययुक्त तिथि मात्र वास्तविक तिथि कायम हुने हो अन्यथा सूयोदय विहिन तिथिलाई तिथि कहलिने होइन, त्यो सिद्धान्त अनुकूल होइन भन्ने कुरा बिर्सँदै आएको छ । यस प्रकार अधिमासको सिद्धान्त र तिथि कायम मान्ने सिद्धान्तलाई सबैले उपेक्षा गर्दै आएको हुनाले संस्कृति संस्कारमा पनि एकरुपता हुन नसक्नुको मुख्य कारण बनेको छ ।
अधिमासको विषयमा प्रमाणहरुले के भन्छ ?
केरो लक्ष्मणछत्रेले तयार गरेको अधिमास क्षयमास तालिकामा शकसंवत् १ को श्रावणमा अधिमास परेको देखाइएको छ । यही शक १ भनेको जयवर्माको संवत् १०७ र मानदेवको चाँगुको संवत् ३८६ को क्रमको शुरुको १ होइन भ्रममा नपरौं । किनभने जयवर्माको १०७ र मानदेवको ३८६ भनेको शकसंवत् चल्नु भन्दा डेढवर्ष अघि नेपालमा चलेको संवत् हो । यसलाई इतिहासकारहरुले नाम जेसुकै दिउन् तर शकसंवत् किमार्थ भन्न पाइने होइन । संवत् १०७ भनेको शक १०५को कार्तिकदेखि शक १०६को आश्विनसम्म रहने हो र संवत् ३८६ भनेको पनि शक ३८४को कार्तिकदेखि शक ३८५को आश्विनसम्म रहने हो ।
चाँगुको अभिलेखमा जेष्ठ शुक्ल प्रतिपदा समेत उल्लेख भएकोले शकसंवत् ३८५ जेष्ठ शुक्ल प्रतिपदाको समानान्तर दिन ठहरिने हो । अर्को कुरा मानदेव प्रथमकै पालाको बुढानीलकण्ठ विष्णुपादुकाफेदीको अभिलेखमा संवत् ३९८ प्रथमाषाढे शुक्ल दिव १२ दिइएको छ । कसैले यसलाई ३९५ त कसैले ३९६ भनेर मानेको गलत थियो भन्ने दावा अरु कसैको नभएर स्वयं पं नयराज पन्तको हो । यो कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ ५५८–५५९ पल्टाएर हेरे प्रतित हुने कुरा हो । यदि यो संवत् ३९८ शकसंवत् भएको भए शक ३९८ आषाढमा अधिमास परेको दृष्टान्त अधिमास तालिका पल्टाएर हेर्दा अवश्य त्यहाँ देखिनु पर्ने हो तर छैन । यसको मतलव संवत् ३९८ भनेको शक ३९६ को कार्तिकदेखि शक ३९७ को आश्विनसम्म रहने लिच्छविकालमा चलेको संवत् हो । यही मुताविक अभिलेखको संवत् ३९८ आषाढको अधिमास भनेको शक ३९७ को आषाढ हो । जुन कुरा हो होइन ठम्याउन अधिमास तालिका पल्टाएर हेर्दा शक ३९७ आषाढ मै अधिमास भेटिएबाट प्रमाणित हुन्छ ।
अर्को ख्याल राख्नु पर्ने कुरा भनेको शकसंवत्मा दुई संक्रान्ति बीच संक्रान्तिले नछोएको असंक्रान्ति चान्द्रमास जहाँ पर्न आयो त्यहीं मनाइन्थ्यो भने लिच्छविकालमा नेपालमा आषाढ र पौषमा लगेर मनाइन्थ्यो । यही नै एउटा जटिल समस्या थियो । त्यतिबेला नेपालको साँस्कृतिक प्रचलनलाई ख्यालमा राखेर कुनै नियम अवश्य बनाएको हुनुपर्दछ तर त्यो नियम खुलाइएको अभिलेख स्रोत भेटिएको छैन । नेपालमा प्रचलित संवत् कार्तिकादि छ भने शकसंवत् चैत्रादि छ ।
शक ३९७ आषाढ भनेको शकसंवत्को पूर्वार्ध हो भने हाम्रो संवत् ३९८ को उत्तरार्धमा पर्ने भयो । यसबाट शकसंवत्को पूर्वार्ध हाम्रो उत्तरार्धमा पर्ने भएको हुनाले शकसंवत्को पूर्वार्धमा (चै,वै,जे, आ,श्रा,भा) यी जुनसुकै महिनाको भए पनि त्यतिवेलाका हाम्रा पूर्वजहरुले आषाढ मै मनाइएको हुनुपर्दछ । संयोगवश नेपालमा पाइने धर्मनिर्णतिथिसार संग्रहमा यही रीत दिइएको छ । यो रीत अनुसार शकसंवत्को उत्तरार्धमा(आ,का,मं,पौ,मा,फा) यी जुनसुकै महिनामा परेपनि हाम्रो कार्तिकादि संवत्को पूर्वार्धमा पर्ने भयो तर शकसंवत्मा पौष,माघ र फागुनमा कहिल्यै पनि अधिमास पर्दैन । त्यसको पनि कारण छ ।
अधिमास भनेको दुई संक्रान्तिको बीचमा पर्न आउने असंक्रान्ति वाला चान्द्रमास हो । हरेक चान्द्रमासमा २९.५ दिन हुन्छ भने पौ,मा,फा प्रायः २९ दिनको महिना हुने गर्दछ त्यसैले गर्दा ३१ र ३२ दिने हुने सौर महिनामा मात्र अधिमास देखापर्ने संभावना हुन्छ । त्यसकारण धर्मनिर्णयतिथिसार संग्रहले बनाएको नियम पनि पूर्ण रुपले उपयोगी सिद्ध भएको देखिंदैन । जेहोस् आषाढ र पौषमा ल्याएर अधिमास मनाउन बनाइएका नियम राम्रोसँग पालना हुनसकेको देखिंदैन ।
हिन्दुस्तानका कतिपय स्थानमा शकसंवत्मा जुन महिनामा असंक्रान्ति चान्द्रमास प¥यो त्यही महिनामा अधिमास मनाउने भएर केही समस्या भएन । नेपालमा आषाढ र पौषमा ल्याएर मनाइने भएर हरहमेशा अन्यौलको शिकार भइरहेको तथ्य अभिलेखहरुले देखाउँछ ।
अधिमास उल्लेख भएको पहिलो अभिलेख विष्णुपादुकाफेदीको संवत् ३९८ को थियो भने दोस्रो अभिलेख पाटन वालुखाको संवत् ४३५ को अभिलेखमा देखापर्न आएको छ । यहाँ आएर हाम्रो संवत् शकपूर्व २ को भन्ने बिर्सेर अधिमास सारणीमा शक ४३५ मा अधिमास देखेर हाम्रो संवत्मा पनि ४३५ मा अधिमास मनाए तर शकसंवत्को पूर्वार्धमा पर्ने आषाढको अधिमासलाई हाम्रो कार्तिकादि संवत्को पनि पूर्वार्ध भित्र पौषमा मनाइ दिए । यो पनि एक प्रकारको अन्यौल कै नमुना हो ।
संवत् ४३५ मा राजा वसन्तदेव थिए भने त्यतिबेला शासन सत्तामा रविगुप्तको हालीमुहाली निक्कै बढ्दो थियो । संभवतः गुप्तहरुले हाम्रो संवत्लाई शकसंवत् प्रभावित बनाउने चेष्टा अवश्य गरिएको हुनुपर्दछ ।त्यसपछि देखा परेका अधिमास युक्त अभिलेखहरुमा पनि एउटै नियम आकर्षित हुन सकेको देखिंदैन ।
पछि अंशुवर्माका पालाको तीन वटा अभिलेखहरुमा अधिमास उल्लेख भएको अभिलेखहरु भेटिए । त्यो भनेको संवत् ३१,३४ र ५३६ का अभिलेखहरु हुन् । इतिहासकारहरुले अंशुवर्मालाई नयाँ संवत् चलाउने व्यक्तित्व मानेका छन् । हुनतः उनले नयाँ संवत् चलाएका होइनन् , संवत् व्यवहारमा सुधार ल्याएको अवश्य हो त्यो भनेको अधिमास मान्ने प्रचलन नै मुख्यतः देखिन्छ ।
चैत्रादि शकसंवत्को पहिलो पूर्वार्धमा जुनसुकै महिना होस् कार्तिकादि हाम्रो संवत्मा पनि पहिलो पूर्वार्धको पौषमा पर्ने गरी शक ५३० जेठको अधिमास हाम्रो संवत्३१(५३१) को पौषमा पारियो त्यस्तै गरी शक ५३३ वैशाखको अधिमास हाम्रो संवत् ३४(५३४)को पौषमा पारियो । यो कुरा भक्तपुर इनायचोको अभिलेख र पाटन सुनधाराको अभिलेखबाट प्रष्ट प्रमाणित हुन्छ । त्यो मात्र होइन संवत् ५३६ को गोकर्ण बालुवागाउँको अभिलेखमा पनि पौष मै अधिमास पारिएको छ । यो चाहिँ शक ५३५ भाद्रको अधिमासलाई हाम्रो कार्तिकादि संवत् ५३६ को पौषमा परेको पनि अभिलेख प्रमाण दृष्टान्त रहेको छ ।
यी प्रमाणबाट नेपालमा शकसंवत् चलेको र मानदेवसंवत् चलेको भनी आम इतिहासकारको बोली बुन्दै,फुँदा भर्दै आएको कुरा समूल जरैदेखि नष्ट हुन गएको अवस्था छ । शुरुमा शकसंवत् र मानदेवसंवत् चलेको हल्ला फिजाउन सुमतितन्त्रको सहारा लिएका थिए अहिले सुमतितन्त्रको नामोच्चारण गर्ने हिम्मत कोही इतिहासकारमा देखापर्ने अवस्था छैन । शकसंवत् र मानदेवसंवत् नेपालमा चलेको कुरा पनि सुमतितन्त्र सँगसँगै समूल नष्ट हुन गइसकेको छ ।
अंशुवर्माको पालामा तय भएको नियम मध्यकाल शुरु भएको पहिलो दोस्रो शताब्दीसम्म निर्धक्क सित पालना भइरहेको तथ्य मध्यकालीन अभिलेखहरुले बताउँछ । नेपालमा अंधकारयुगको कारण अधिमास मान्ने नियममा फेरि भद्रगोलको स्थिति देखापरेपछि चैत्रादि शकसंवत्मा जुनजुन महिनामा अधिमास पर्न आयो अहिले जस्तै त्यही त्यही महिनामा मनाउने गरियो । यसले एउटा राम्रो पक्षको शुरुवात भयो ताकि लिच्छविकालदेखि कायम भएर आएको आषाढ र पौषमा मात्र अधिमास मान्ने प्रथाको सदाको लागि अन्त्य भयो ।
यसको साथमा शुरु भएको असाद्धै नराम्रो एवं दूर्भाग्यको पक्ष भनेको नेपालसंवत् सित ८०२ वर्षको अन्तर देखिने लिच्छविकालमा प्रचलन भएको नेपालको प्राचीन संवत्लाई शकसंवत् मानेर अहिलेसम्म पनि ८०२ फरक भएको संवत्लाई शकसंवत् वा शाकेसंवत् संज्ञा दिंदै आए, जुन कुरा घातक सिद्ध छ । लिच्छविकालमा चलेको संवत् र शकसंवत् बीचमा २ वर्षको अन्तरलाई यही भित्रै अन्तर घुलन गराउन कोशिस भए । परन्तु पानीमा माटो र बालुवा मिसेको धूलो घुलाउँदा माटो मात्र पानीमा घुल्छ बालुवा घुल्दैन भने जस्तै शकसंवत् र लिच्छविकालमा चलेको प्राचीन अभिलेख बीच १ वर्ष ५ महिना अन्तर कहिल्यै घुल्न सकेन ।
यो कुरा चाल नपाउने जतिले, कसको कुरा ठीक कसको कुरा बेठिक भन्न नसकेर वाल्ल परेको छ भने चाल पाउने जतिले इतिहासमा एक दुई वर्ष तलमाथि पर्न सक्छ त्यो ठूलो कुरा होइन भन्दै बूझ पचाउन खोज्दै आएका हुन् । वास्तवमा शुद्ध इतिहास लेखनमा जोड दिनेहरुले एकदुई वर्ष तलमाथि पर्नेलाई किमार्थ मान्यता दिंदैन र कामचलाउ लटरपटर एवं अशुद्ध इतिहास लेखनमा जोड दिने जतिले मात्र एक दुईवर्ष तलमाथि परेकोलाई जायज मानी रहेको हो ।
निष्कर्ष
जसलाई उज्यालो प्रकाश भएतिर जानुपर्छ भन्ने चासो छैन । यो लेख उनीहरुको लागि लक्षित गरेको होइन भनाईको मतलव पहिलेदेखि जसरी त्रुटीपूर्ण थियो त्यसैको निरन्तरता दिएर जाने पक्षकालाई लक्ष्य गर्न खोजेको होइन । त्यसैले विगतमा जेजस्तो त्रुटी भएको भए पनि अब सुधारेर सिद्धान्त अनुकूल लिएर जाऔं भन्नेहरुको लागि मात्र लक्षित गरेको हो , यो आग्रह राख्न चाहन्छु र तिथिको सवालमा पनि सूर्योदय भएको तिथिलाई नमान्नेहरु पनि यता आकर्षित होलान् भनी आशा गरिएको छैन किनभने उनीहरुको बुझाइमा तिथि कतिबजे उदय भयो कतिबजेबाट कतिबजेसम्म रहन्छ त्यसको मात्र ख्याल गर्नेहरु यता आकर्षित हुँदैन र नमच्चिने पिङ्लाई सय झड्का दिइ रहन आवश्यक पनि ठान्ने पक्षमा छैन ।
समग्रमा यहाँ औंल्याउन चाहेको कुरा भनेको हरेक तीनतीन वर्षमा अधिमास परेको भनी मानी आएका छौं तर सिद्धान्त अनुकूल बिल्कूलै छैन । अधिमास तालिका प्रयोग भएको कुरा गरियो भने चैत्रादि शकसंवत्को शुरु संवत् १ देखि नै अधिमास पर्दै २१०५सम्मको तालिका छ । यसको सिद्धान्त विशुद्ध अमान्तमान हो , मतलव शुक्लपक्ष अघि र कृष्णपक्ष पछिको हुने गरी दिइएको छ । अहिले हाम्रो पञ्चाङ्ग पूर्णिमान्तमान छ र यसबाट अधिमास पहिचान स्वतः खलबलिएको देखियो । फलस्वरुप अधिमासले संक्रान्ति देखिनु हुँदैन अधिमास भनेकै असंक्रान्तिको मास हो भने पनि यसपालीको अधिमासले संक्रान्ति देखेको बनाइएको छ ।
यी सब सिद्धान्तको लिग्बाट नगई गलतबाटो अपनाइएको छ भन्न सकिन्छ ।
लिच्छविकालमा आषाढ र पौषमा मात्र अधिमास मनाउन परेको हुनाले अधिमासको सिद्धान्त जहिले पनि खलबलिएको अवस्था थियो । पछि मध्यकालको शुरुका एक दुई शताब्दी प्राचीन रीतबाट अघि बढे पछि आषाढ र पौषको बाध्यकारी प्रथाको अन्त गराइयो तर अर्को विकृति निम्त्याइयो । त्यो भनेको नेपालको प्राचीनकालदेखि निरन्तर चल्दै आएको संवत्लाई शकसंवत्को खोल ओढाइयो तर यस भित्र रहेको १७ महिनाको हिसाव सुपाच्य भने कहिल्यै हुन सकेन । इतिहासमा यो १७ महिनाको डल्लोले पिलो भएर दुःख दिएको दिए नै भइ रहे । यसरी पिलोको दुखाई यथावत् रहेकै कारण र सिद्धान्तको लिग् नसमाएको कारण हाम्रो इतिहास, संस्कृति, संस्कार परम्परा सबै बाहिरबाट हेर्दा केही नभएको भित्रभित्र कुहिएको फर्सी जस्तैको अवस्था छ भन्नु कुनै अन्यथा होइन ।