
कृति :बोधिसत्वको मृत्युउत्सव
कवि : कृसु क्षेत्री
विधा : कविता
चालिसको दशकदेखि कविता लेखनीमा सक्रिय कवि क्षेत्रीको यो कविता कृतिका कविताहरुले पाठककयि मष्तिष्कलाई प्रभावित गर्नसक्छन् । परिवर्तनको दुन्दभिलाई आत्मसाथ गर्ने कविताहरुमा विभिन्न प्रतिकात्मक शब्दहरुको प्रयुक्तिले राम्रा लाग्छन् । द्धन्दकालीन परिवेशहरु चित्रण गरिएका कविता जहाँ आतंक,भय,हत्या र युद्धको विभीषिका देख्न पाइन्छ । त्यतिवेलाको परिवेशको यथार्थ चित्रण गरिएका कविता ओजनदार लाग्छन् । यसैगरी नारायणहिंटी राजदरबारको हत्याकाण्डले इतिहासमा पोतेको कालो,काजोल खातुनले जिउँदै जलेर मर्नुपरेको देशको लाजमर्दाे स्थिति जस्ता कुराहरुमा पनि कविको नजर परेको छ । कविताहरुले यथार्थवादी धरातल बोलेका छन् ।
समयको पक्षमा कवि दृढतापूर्वक उभिएको देखिन्छ । रमाईला प्रसंग सुहागरातको याद छ, पीडा र वेदनाको अनुभव छ । अनुभूति ,विद्रोह र संयमताको मिश्रण छ ।
बिम्ब र प्रतिकहरुको यथोचित शक्तिशाली प्रयोग गरी समकालीन भावहरु कविता मार्फत ओकल्ने सामथ्र्यले धनी लाग्छन् । उनी कविताहरुमा स्वभाविक प्रतिक प्रयोग गर्छन् । सरलता र सहजता उनका कविताका विशेषता लाग्छन् । प्रकृतिवादी,प्रेम र यौन,राष्ट्रवादी लगायतका बिम्बहरु र अनेकानेन प्रतिक प्रयोग गरिएका कविताले कृति भरिएको छ । मानविय मूल्य,राष्ट्रिय चेत,संवेदनाको गहिराई,प्रणयभाव भएका कविताहरुको प्रधानता पाइन्छ । मूल्यवोध,इतिहासबोध,वर्तमान परिवेशबोध र जीवनको साँचो अर्थबोध गराउने समकालीन यथार्थको चित्रण गर्न कवि क्षेत्री खप्पिस देखिएका छन् । कविताहरुमा बौद्धिक चिन्तनको प्रधानता छ । वहुलवादी दृष्ट्रिचेत छ । र अन्र्तमुखी यौनदृष्टि भएका कविताहरुको संग्रह सौन्दर्यले सुन्दर बनेको छ । पठनीय कविता कृतिलाई वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले जनवरी २००६ मा प्रकाशित गरेको हो ।
कृति : मानवीय संवेदनाहरु
विधा : कविता
कवि : मोहन दुवाल
मानवीय संवेदनाहरुमाथि कोरिएका,मान्छेका भित्री अन्तरतहका कविता,प्रकृतिप्रेम, मायप्रेमका प्रेमिल भाव अभिव्यक्त गर्ने,विभिन्न परिवेशमा लेखिएका मानवह्रदयका संवेदनाहरु झंक्रित गराउने कविताहरु यस कृतिमा परेका छन् । विचारको सुन्दर र कलात्मक अभिव्यक्तिजनित कविताहरु साँच्चे सुन्दर लाग्छन् ।मर्मस्पर्शीभावमा कविता कोर्नु कविको विशेषता लाग्छ ।
२०४१ सालदेखि २०४८ सालसम्मको समायावधीमा लेखिएका साना ठूला गरेर ९१ थान कविताहरुले कृति भरिएको छ । कुनैपनि कुरालाई प्रतिकात्मक रुपमा दर्शाउन सक्ने क्षमताका कवि हुन उनी । जनताका दुखपीडहरुलाई उजागर गर्ने,विकृति र विसंगति विरुद्ध चेतनाको उभार छर्ने कवि हुन मोहन दुवाल । प्रकृति प्रेमी कवि प्रकृतिको उच्छवासमा रमाउँछन् र त्यसको छायाँ मान्छेमा परोस भन्ठान्छन् माया प्रेम भनेको मान्छेको मनमा फुल्ने सुन्दर फूल रहेको ठोकुवा गर्छन् । जसलाई भावनाद्धारा मात्र अभिव्यक्त गर्न सकिन्छ । मानवीयतामा लाग्दै गरेको खिया देखेर उनलाई चिन्ताले सताउँछ र विद्रोही भावना जागृत हुन्छ अनि कविता कोर्छन् ।
कवितामार्फत मानवीय सत्य अभिव्यक्त गर्ने दुवाल कहरका पलहरुसँग जुध्नुपर्छ,अभावहरुलाई झेल्नुपर्छ,सत्यको पक्ष लिनुपर्छ भन्ने भावना पोख्छन् । लेखनीलाई सस्तो राजनीतिक नारामा मात्र लैजान नहुने कुरामा पनि उनी सचेत छन् । यस हिसावले हेर्दा उनी यथार्थवादी देखिन्छन् । मानविय मूल्य र मान्यताले उनलाई सदैव पथ प्रदर्शन गरिरहेको पाइन्छ । उनले जे देख्छन्,जे भोग्छन् राम्ररी पर्गेलेर कविताको रुप दिन्छन् यो उनको कवित्वको वैशिष्ठ्यता हो । समाजमा भैरहेका थिचोमिचो ,अन्याय,विभेद लगायतका विकृत अमानवीयताप्रति शब्दरुपी गोली प्रहार गर्न सक्षम दुवालका मानवीय संवेदनाहरु पनि त्यसैतिर लक्षित छन् । कृति जनमत प्रकाशन बनेपाले २०५५ सालमा प्रकाशित गरेको हो ।
कृति : बदनाम मेरा यी आँखाहरु
कवि : हरिभक्त कटुवाल
विधा : कविता र गीतहरुको संग्रह
कवि तथा गीतकार स्व.हरिभक्त कटुवाल कवितात्मक सुकोमलताले सुवासित,मिठासले भरिपूर्ण छन् । मर्मस्पर्शी भावले अभिव्यक्त,अनि भोगाइलाई कोरिएर त्यही भावव्यञ्जनामा कटुवालले कविता लेखेका छन् । यस कृतिमा उनीद्धारा विभिन्न समयमा लेखिएका तीस कविता र चालिस गीतहरु संग्रहित छन् । प्रायजसो कविता र गीतहरु रोमान्टिक प्रगतिवादतर्फ ढल्केका छन् । प्रेम र विरह बढी घन्किएको पाइन्छ । जीवनका यथार्थताको सामिप्यतामा रहेर रोमान्टिक गीत सृजना गर्न सामथ्र्य थियो उनको । कहि कहिं निराशाको कालो बादल पनि गीत कविताले देखाएको छ । यसले उनलाई निराशावादी पो हुन कि भन्ने तर्फ पनि सोच्न बाध्य गराउँछ ।
कुनैकुनै गीत र कविता सामान्य लाग्छन् । तर पछि पछिका गीत कविता स्तरीय छन् ।विशिष्ट छन् । उनका प्राय रचना महाकवि लक्ष्मीप्रसाद देवकोटाको रोमान्टिक भावसँग प्रभावित देखिएका छन् । यस कृतिमा समावेश भएका शिर्षक गीत ‘बदनाम मेरा यी आँखाहरु’ ‘मेरो यो गीतमा जुन मुर्छना छ ‘ आदिमा उतिवेला गरिएको प्रयोग हेदौ यी बौद्धिक लाग्छन् । तिनलाई उच्च कोटीमा दर्ज गर्न सकिन्छ । कटुवालका गीतहरुमा प्रयुक्त भएका शब्दहरु ठेट नेपाली छन् ।
प्रस्तुत कृति साझा प्रकाशनले वि.सं.२०४४ सालमा प्रकाशित गरेको हो ।








