
संस्मरण
बिचरा मृगको काल !
उद्धव सापकोटा
नेपाली सेनाको जागीरे जीवनबाट बिदाई भएको दश बर्ष लामै अवधि हो । त्यहि सैनिक जीवनकालका आरोह अवरोह शृङखलाको तरेली भने यो मनको कुनामा बस्दा रहेछन् । अनि त्यहि कुरा आँखाको नानीमा पर्दा बनेर आउदो रहेछ । यो प्रसङ्ग एउटा तालिमको हो । त्यतिबेला पुरानो गोरख गण (पि.जी) छाउनी व्यारेकको बसाई थियो हाम्रो । म फष्ट रैफल गण शिवपुरी व्यारेकबाट सेमु हतियार तालीमको लागि त्यस गणमा रमाना भएको थिए । सेनाको जागीर अवधिमा बिभिन्न किसिमका अभ्यास र तालिमहरु गरिरहनुपर्छ । सेनालाई फूर्सद नै हुँदैन । पृथ्वीनारायण शाहको दिव्य उपदेश जस्तै सिपाही भन्याका तिषारी राख्न्या हुन । त्यसै भएर सेनाको जागीरबाट पेन्सन भई घरमा बसेका हाम्रा दाजुभाइहरु पनि फूर्तिला हुन्छन । व्यारेकमा एकथरी सिपाही हुन्छन् तालीम गरेर दुख किन गर्नु भन्ने खालका ? अर्कोथरी सिपाही चाहिँ आफुलाई आवश्यक पर्ने तालिम बेलैमा गरेर आफ्नो बृत्तिविकाशको ढोका खोल्छन । जागीरको अनुभवले यहि भन्छ ।
हाम्रो तालिमे टोली तीन सेक्सन जतिको थियो । एक सेक्सनमा एघार जनाको दरवन्दी हुन्थ्यो त्यतिबेला । यो तालिम प्राप्त गरेपछि सेनामा हुने सबै किसिमका हतियारको बिषयमा जानकार भईन्छ । यी हतियारका सबै विशेषता अंग्रेजी भाषामा हुन्छन् । पढ्न लेख्न धेरै मिहेनत गर्नुपर्छ । बाहिर स्कुलमा पढ्न गाह्रो लागेर सेनामा जागीर खाने साथीहरुलाई झनै गाह्रो हुन्छ । सेनाका तालिमहरुमा झन धेरै पढ्नु र लेख्नु पर्दा दिक्क पनि मान्थे कति साथीहरु त ।
यो हतियार सम्वन्धित तालिम बाह्र हप्तासम्म चल्छ । एघार हप्तासम्म बिभिन्न किसिमका सेमुमा हुने सबै हतियारहरुको सैद्धान्तिक बिषयको ज्ञान सिकाईन्छ । यसै ज्ञानको आधारमा एक हप्ता जंगलमा गएर यिनै हतियारबाट फायरिङ गराईन्छ । यसलाई सेनामा बाहिरी अभ्यास भन्छन् ।
कुरा यस्तै पच्पन्न छपन्न सालतिरको हो । हाम्रो बाहिरी अभ्यासको एरिया थियो थानकोट । अन्तिम अभ्यासमा जानलाग्दा मन खुशी हुन्छ । हामीहरु अघिल्लै दिनबाट अभ्यासमा जान तयारी हुन्छौ । आफूले लैजानै पर्ने सामानहरु मिलाउछौ ठुलो झोलामा । आफ्नो नाममा दर्ता भएको व्यक्तिगत हतियार निरिक्षण गरेर राख्छौ । हतियारको साथ ठुलो झोला बोक्नु छ । सेनामा जागिर खाए पछि दु:ख त हुन्छ । तर यत्तिलाई दु:ख मानेर पनि भएन ।
अभ्यासमा जाने दिन बिहानैदेखि होहल्ला अलि बढी नै हुन्छ । हामीहरुले अनुहारभरी क्यामोफ्लाज गरेका छौं । अनुहार चिम्पाञ्जीको जस्तो कसैले नचिन्ने भएको छ । हाँस्दा दाँत मात्र देखिने । सुडानमा देखिने कालाजाती जस्ता । पिठ्यूमा ठुलो झोलाको भार गतिलै छ । एलर्ट पोजिसनमा पर्सनल हतियार छ । अर्डर अफ मार्चमा छौ हामी । अब हाम्रो मार्च छाउनी गेटबाट गिन्तिका साथ शुरु हुन्छ ।
छाउनी म्यूजियम, किमडोल, सितापाईला, नैकापभन्ज्याङ्ग, दहचोक हुंदै थानकोट जाने रुट तय भएको छ हाम्रो । दहचोकको त्यो पारिलो फाँटमा तरेली परेको आलुखेतीको हरियाली । हिउँदकोे याममा थानकोटका बासिन्दाहरु सर्दै सर्दै घाम ताप्न दहचोक पुग्थे बुढापाकाले भन्थे । यो फाँटको सौन्दर्य देख्दा कसको मन प्रफुल्ल नहोला र । सायद हामी सबै किसानको छोराछोरीे भएर होला । अहिले यो फाँटमा कंक्रिटका भवनहरु फलेका छन । यो देख्दा दुस्ख लाग्छ । तर के गर्नु समयले ल्याएको परिवर्तन हो ।
यसरी बाहिरी अभ्यासमा मार्च हुदाँ एकआपसमा साथीहरुसंग बोल्न पाईदैन । प्रत्येक चालीस मिनेटमा दश मिनेटको ब्रेक हुन्छ । यो समयमा केहिक्षण आराम गर्न र बोल्न पाईन्छ ।
बेलाबेलामा वस्ताजहरुले हाम्रो हालत देखेर ब्यङ्ग पनि गर्छन – ‘घरमा बाउले तह नलगाएको छोरो राजाले तह लगाउछ भनेको यहि हो देखेउ ।’
हामीहरु त्यहि कुरा निरिह भएर सुन्छौं । यसो समयले बिश्राम दिएको बेला साथीहरु पनि ख्यालठट्टा, जोक, हाँसो गर्न पछाडि पर्दैनथे ।
यो अवस्थामा बोल्ने भनेकै आफ्नै मनसंग हो । कहिले त्यसै उत्साहित हुन्छ यो मन । कहिले निरास हुन्छ आफ्नै पारामा । आफ्नै मनसंग भित्रभित्रै कल्पनाको सागरमा डुबुल्की मार्न पुग्छ । त्यस्तो बेलामा घरपरिवारको औधी सम्झना आउछ । सोच्न थाल्छु साथीभाइहरुसंग बिताएका ती पलहरु । हामीहरुसगै खेलेका साथीहरु एसएलसी परिक्षा समाप्त भएसगै हराएका छन आजभोली । अब कहिले भेट हुने हो पत्तो छैन । अझै यस्तो अभ्यासमा मार्चको समयमा त के के आउँछ आउँछ यो मनभित्र । खुल्ला आकाशमा उड्ने पंक्षी जस्तै स्वतन्त्र हुन्छ मन । अनि आफ्नै बृत्तिविकाश र भविष्यको चिन्ताको मुना पलाउन थाल्छ । यस्ता अनगिन्ति आरोह अवरोहहरु मनभित्रभित्रै मडारिन थाल्छन । चैत्र, बैशाखको बादल आकाशमा मडारिए जस्तै ।
दहचोकको सम्मफाँटलाई छोडेर केहि उकालो लाग्दा अलि कता गाह्रो भएको अनुभव गर्छ शरीरले । केहि गलेका छन पयरहरु । साथीहरु पनि केहि थाकेका देखिन्छन । हामीहरु एक सुरमा अगाडि बढीरहेका छौ । हाम्रो आवागमनलाई बाटोमा बस्ने कुकुरहरुले केहिबेर भुकेर स्वागत गरिरहेका छन । केहि उकालो चढेपछि जंगलकै किनारामा पुग्छौं । जुरेली चराले बुट्यानका पातपातमा नांचेर स्वागत गर्छन् । लाग्छ हामीहरु आएकोमा खुशी छन उनिहरु पनि । भाषा नबुझे पनि चरीको चिरबीर संगित बनेर कामसम्म ठोकिन पुग्छ । उत्तीसको रुखको नाङ्गो हाँगामा बसेर तामे ढुकुर ढुकुरकुर गरेर आफ्नै बेदना पोखिरहेछ ।
हामी सैनिक जंगल र जमीनसंग सरोकार राख्छौ । हाम्रो अभ्यास हुने जंगलमा बिभिन्न प्रकारका जीवजन्तुहरुको वासस्थान छ । यस्ता प्राकृतिक छटा देख्दा अति रमाईलो लाग्छ मलाई । उत्तरतर्फ फर्किएको पानी ढलो परेको जमीन छ त्यो चन्द्रागीरी पहाडको काखमा । पृथ्वीनारायण शाहले यसै पर्वतको टापूबाट काठमाण्डौ उपत्यकालाई नजर लगाएका थिए रे । कस्तो राम्रो देखिएको थियो होला त्यो भूधरा त्यति बेला ? त्यहि औधी राम्रो लागेर त उपत्यकालाई कर्लप्पै खाने योजना बनाएका थिए ।
त्यहाँ थानकोट तालिम एरियामा पुगेपछि हाम्रो केहि अभ्यास हुन्छ । ठुलो झोलासहित फायरिङ्ग गर्ने बिभिन्न पोजिसनहरु सिकाउछन वस्ताजहरुले । त्यहि समयमा अचानक थानकोटको माथि आकाशमा कालो बादल मडारिन थाल्छ । सायद हाम्रो उपस्थितिलाई प्रकृतिदेवीले पनि कडै किसिमले स्वागत गर्दैछिन् । क्षणभरमा नै भारी बर्षा गराउँछिन त्यो धर्तीमा । तालीमको समयमा घाम, पानी, बर्षा केहि भन्न पाईदैन । त्यहि नै सिपाहीको सहनशीलता जाँच्ने परिक्षा हो । भन्छन् –‘बगाए पसीना तालिममा बग्ने छैन रगत रणभूमिमा ।’
त्यो दिन शरीरका सबै लुगा भिजेर मुसो बनेका छौ हामी । तर पनि केही चिन्ता छैन । कुनै परिस्थितिमा त शरीरमा भिजेका लुगा शरीरमा नै सुक्छन । अहिले सूर्य चन्द्रागिरी पर्वतको पछाडि लुकिसकेको छ । सायद हाम्रो दुस्ख देख्न नसकेर होला । बिस्तारै दिन साँझमा र साँझ रातमा ढल्दैछ ।
हाम्रो भान्छामा त्रिपाल टाँगिएको छ । पानी परेको भएर मौसम अलि चिसो चिसो नै छ । हामीलाई खाना खुलाउने आदेश हुन्छ । पल्टनमा हरेक काम आदेशमा हुन्छ । तातोतातो भात, दाल, तरकारी अचार र त्यसमा खशीको मासु अरु के चाहियो र ? बाउबाजेले दालभात तरकारी मान्छे सरकारी त्यसै भनेका होइन रहेछन् जस्तो पनि लाग्छ ।
त्रिपालको सुताई छ । एउटा पालमा दुईजना । सेनामा जहिले पनि जोडीमा काम हुन्छ । रातमा डिउटी । हे तेरिमा टोक्ने कडा जागीर पो खाईएछ जस्तो लाग्छ मनमा । दुस्खको पहाडबाट कहिले सुखको चुचुरो चढ्ने होला त ? गन्तव्य टाढा भएजस्तो लाग्छ ।
साँझमा लुकेको सूर्य बिहान सातआठ बजेतिर अल्छी गरी देखा पर्छ थानकोटको डाँडाभूमिमा । हाम्रो नित्यकर्म भने उज्यालो नहुँदै सकिन्छ । छरिदारी पल्टनको उच्च शिर भन्छन । हामीसंगैका राई, मगर, गुरुङ जस्ता मतवाली साथीहरुको दाह्रीजुङ्गा त्यति हुदैन । उनीहरुलाई सफा गर्ने झन्झट पनि हुदैन ।
आज हामीहरु फायरिङको लागि तयारीमा छौं । फायरिङ्ग पोजिसनहरु सबै मिलाउँछौ । स्याण्डव्याक बोरीको आड बनाउछौ । बिहानको खाना पनि पालैपालो मिलाएर खान्छांै । यो टीमले सेमुमा हुने सबै हतियारबाट पालैपालो फायर गर्छन । पारीपट्टी भित्तामा तार्गेटलाई गाडेका छौ जसलाई सेनामा हामीहरु शत्रु मान्छौ । शत्रुको मुटुलाई (बुल) भन्छन । त्यसमा ताकेर गोली हान्न सिकाएका छन वस्ताजहरुले । जस्ले बुलमा फायरिङ्ग गर्छ उ राम्रो मार्कस म्यान बन्छ ।
फायरिङ्ग शुरु भएको र सकिएको बिगुलको आवाजले संकेत गर्छ । हाम्रो फायरिङ्ग सकिएको संकेत बिगुलले गरेको छ । हामीले अगाडि गाडेका तार्गेटहरुलाई केहि साथीहरुले निकाल्न गईरहेका छन । केहि साथीहरु भने गोलीका खोका खोजिरहेका छन ।
ठिक यहि समयमा पारीपट्टीको नाङ्गो भित्तामा एउटा जनावर देखा पर्छ । यस्तै तीनसय गजको दुरीमा होला त्यो । हाम्रो कमाण्डर थिए क्याप्टेन धनबहादुर थापामगर । उनले पनि त्यो जनावरलाई देखे । बिस्तारै हल्ला नगरिकन सिपाहीको राईफल मागे । म्यागाजीनमा केहि राउण्ड गोली लोड गरे । सुस्त तरिकाले राईफल कक गरे । राईफलको व्यारोललाई त्यो जनावर भएतिर तेस्याए । ट्रेगरमा चोरी औंला राखी बिस्तारै दवाए । ड्याम्म फायर भएको आवाज आयो ।
क्याप्टेनसावबाट आदेश आयो –’त्यसलाई लिएर आओ ।’
केहि साथीहरु मृगलाई लिन दौडेर त्यहां पुगे । यताउति हेरे छैन त जिनिस ! उनीहरुलाई मरेनछ कि भन्ने भयो । तर त्यहां वरिपरी हेर्दा केहि रगत देखा पर्यो । त्यो रगतलाई पछ्याउँदै जाँदा मृग एउटा झाडीमा फेला पर्यो ।
आजको दिन त्यसलाई काल नै आएको रहेछ । हिन्दीको कहावत जस्तै दानेदाने पर लिखा है खानेवालोका नाम गोलीगोली पर लिखाहै मर्ने वालोका नाम । बिचरा मृगले पानी पनि पिउन पाएन । यो घटना भने मेरो मनमा बसी रह्यो ।







