
कथा
कुमारी
रेजिना पाण्डे
हजुरबुवालाई खाना खान बोलाउन म कोठामा छिरे । हजुर बुवा नाङ्गो शरीर धोती बेरेर लम्पसार बिछ्याउनामा पल्टिरहेका थिए ।
लुला तथा सबै ज्यान सुकेका नशै नशा देखिएको शरीर हड्डीमा झोलिएका छालाले बेरीएको शरीर मात्रै थियो । हजुरआमा हजुरबुवालाई बिस्तारै सुकेको ज्यानमा मालिस गदै थिईन ।
हजुरबुवा – ‘अलि बेस्कन मालिस गर्न धेरै दिनपछि हिजो दुई घण्टा हिडेको थिए । आज त गलत्तै पो गले तिघ्रा पनि बेस्कन दुःखेको छ । कुर्कुच्चा पनि चलाउनै नहुने भएको छ ।’
‘अलि मज्जाले मिच, जवानीको बल देखा न ! जवानी उमेरकै बल निकालेर ।’
हजुरआमा जवानीको जस्तो जोस निकाल्दै थिइन् सकि नसकि । उनी लम्पसार परेको श्रीमानलाई चिल्लो बनाउदै थिइन ।
कतिखेर छाती,तिघ्रा लगायतका स्थानमा उनी मिचिरहेकी थिईन् ।
बल त अझै ताजै रहेछ । यसको हजुर आमालाई मख्ख पादै मीठामीठा कुरा गदै मख्ख पार्दै थिए ।
हजुरबुवा- ‘जवानीमा त तैले खुबै तेल लगाईस । मलाई मालीस पनि खुबै गरिस ।लोग्नेलाई खुशी नै पारिस । जति पिडा भए पनि लोग्नेले भनेको कहिल्यै इन्कार गरिनस् । घर व्यवहार सबै मिलाएर नै बसिस । कहिल्यै तेरो गुनासो सुनाईनस । मन दह्रो भएकै आईमाई रहिछेस तँ बुढी । ’
हजुरआमाले जवाफ दिइन् – ‘तिमी पनि के कम थियौ र ! फुर्सद भएको बेला तिमी पनि मालिस गर्दिहाल्थौ नि!’ मुसुक्क हाँस्दै उनि लजाउँछिन ।
दाँत सबै झरेको, भित्र गाला पसेको अनि चाउरिएको अनुहारमा उनको हाँसो हिमाल जस्तै सुन्दर थियो र देखिन्थ्यो पनि ।
‘चौरासी मनाउन छोराहरुले आफन्त ईष्टमित्र छिमेकीहरु सबै जमघट गराएका छन मेरो पर्सी । मेरो बुढो हेरन मात्तिएर जोस निकालेको ! माया पिरती लगाउन त अजै ताजै रहेछौ । ’
चाउरिएको शरीर, रातो धोती हातभरी राता चुरा लगाएकी, स्तनहरु झोलिएका मेरी हजुरआमा हजुरबुवाको हात समाउँदै हत्केला सुम्सुमाईन । हेर ! कस्तो शरीर कस्तो भयो । कस्ती थियौ, अहिले त कस्ती भयौ ।
चारदिन अगाडिमात्र नङ काटिदिएको फेरी पलाएछ । खानाहरु नङभित्र अडकिएका । कस्तो फोहोर देखिएको हेर त । आफनो त स्याहार नै गर्दैनौ । म बुढीले तिम्रो स्याहार कति गरौं ? म भइन भने के गर्छौ कुन्नी ?
‘मतलव नै छैन बुढालाई ! नाती,नातिनीहरु डाक्टर छन् । रिसाउँछन् । फोहोरी भएर बसेको भनेर नाती तेल गनायो भनेर अगाडि आउँदैन । म आँखा देख्न छोडिसकें । भोली छोराले काटिदिन्छ अव ।’
‘हातहरु पनि सुकेछन् । कति पुष्ट थियो शरीर अहिले सबै झोलिएछन ।’ हाँसो गरिन् हजुरआमाले । सिंगान पनि बगाएका छन्। रुमालले पुछ त । नातिले देख्यो भने घीन मान्छ भिक्स दलिदेउ । रुघा पनि लाग्न थालेको जस्तो छ ।
हजुरबुवा बिस्तारै उठछन् । अचानक हजुरआमाको छातीमा उनको हात पर्छ । उनी हाँस्दै जिस्काउँदै भन्छन– ‘हेर सबै झोलिएछ ।’
हजुरआमा रिसाएझै गरेर भनिन् –‘सधै कसिलो त कहाँ पाउँछौ ? तिम्रा चार छोरा र दुई छोरीहरुले लुछेको शरीर कस्तो हुन्छ तँ ! तिमी आफै भनत । तिमी त काममा सधै बाहिर हुन्थ्यौ । सुत्केरीमा राम्रो खाना पनि पाईन । माईती बलियो थिएन के गर्नु ।’
‘हो रहेछ ।’
‘हजुरआमा अव त बल पनि सिद्धियो तिम्रो पनि ।’
हजुरबुवा निराश श्रीमतीको अनुहार हेदै जिस्किदै भन्छन् ।
‘कहाँ सिद्धिनु नि ! अझै चारवटा भ्याउँछु । म कहाँ बुढो भएको छु त ?’
हजुरआमा रिसाईन् । र भनिन् – ‘हो नी छोरीको घरमा सप्ताहमा गएको बेला म भजनमा बस्दै थिएँ । उ त तरुनीको अघिपछि लागेछन् । आफैं जानीजानी ठेस लगाउदै हिडेको पनि देखेको थिएँ । नदेखेको जस्तो गरे मैले । धैरै उत्ताउलो हुँदैछौ तिमी । बैश चढ्दै छ तिमीलाई मार्लान नी ?’
अलिकति रिसाएझै गरी व्यङ्ग कसिन् ।
‘धोती उचाल्न नसक्ने भैसक्यौ । अझै खोज्दैछौ होईन ? अव नाकमा भीक्स पनि आफैं दल । म सक्दिन् ।’
‘हेर न रिसाएकी । आफनो बुढालाई कसैले चोरेर लैजान्छ भन्ने डरपनि अझै लाग्दोरहेछ यसलाई । न डरा, म सौता हाल्दिन बरु अलि नजिक आइज न ।’ हजुरबाले फकाउने पाराले भने ।
हजुरआमा हलचल नगरी बसिन् । हजुरबुवा उनको नजिक गएर धोते मुखले म्वाँई खाईदिए ।
‘हरे ! र्याल नै र्याल मुखभरी पारिदिए । कस्तो बुढो !’
मलाई पनि लाज लाग्यो । मैलै ढोकाबाटै हेरें सबै दृष्य । भित्र जाने आँट पनि गरिन्। उनीहरुलाई बोलाउने साहास पनि गरिन । त्यो मिठास, प्रेममय अनुभूति म गरिरहेको थिएँ । यो उमेरमा यस्तो मिलन र प्रेम साँच्चै उदाहरणिय जोडी थिए ।
हामीले कति जोडीहरु तितरवितर भएको देखेका थियौं । आफनै घरमा काकाकाकीको पनि दुई बर्षमा नै डिर्भोस भएको थियो । धैरै श्रीमानश्रीमतीका कथाहरु कठोर र भयभित थिए । न उनीहरुलाई वरीपरीको संसार रमाईलो थियो न त कुनै भीडको नै चाह ।
उनीहरुलाइ कुनै भोग थिएन शान्त र आनन्द थिए । मैलै पनि बोलाईन । त्यो शान्त जोडीलाई चलाईन पनि ।
हजुरआमा भन्दै थिइन –‘मेरो शरीर दुःखेर छिया छिया परेको छ । सबै अँगहरु फुत्केला जस्तो भएको छ । मलाई पनि यो तोरीको तेल शरीरमा हालेर मिचिदिने मान्छे भए पनि हुन्थ्यो नि ! जतिखेर पनि धोती उचालेर मैले मात्र यिनलाई स्याहार्न पर्ने । कसलाई भनुँ म ?’ बुढोसँग रिसाईन ।
हजुरबुवा: – ‘पहिले त तेल दलिदिन्थे नि । अहिले सक्दिन् त के गर्नु ?’
‘खुव अर्की तरुनी ल्याउछु भन्थ्यौ त !’ हजुरआमाले मजाक गरिन् ।
‘जवानीमा त दल्यौ नि । अहिले दल्दैनौ ? बदाम किसमिस खान दिएर बलियो बनाएँ के काम लाग्यो ।
? ’ हजुरबुबाले मुन्टो बटारे ।
माया गरेझैँ गरेर टेवुलको बायाँतिर भएको बटृाबाट काजु,किसमिस निकालेर बुढीको मुखमा हलिदिन्छन् । उनी सकिनसकि गिजाले चपाउँछिन । भयोभयो फकाउनु पदैन् ।
हजुरबुवा अगाडि भएको रेडियो बजाउँछन्।
तेलको कटोरीलाई आफुतिर तान्दै भन्छन् – ‘अलि वर आईज म दलिदिन्छु तेल।’
हजुुरआमा मख्ख पर्दै भन्छिन् –‘पर्दैन् पर्दैन् तिमी पनि कहाँ सक्छौ त ? भैगो भैगो ।’
‘म बिस्तारै आफै दल्छु । भोली साहिली बुहारीले पनि घाममा बसेर तेल लगाईदिन्छु भनेकी छे ।’ हजुरआमाले भन्छिन् ।
‘हिजो तिम्रो लगौटी,धोती कमि, सुरुवाल धोईदिएको थिएँ । आफना दुई धोती पनि धोएँ । हात झर्लाजस्तो गरेर दुःखेको छ । साह्रै नै बुढेसकाल लागेछ ।’
‘हुन त बुहारीले धोईदिन्छु पनि भनेको थिई बिचरी फुर्सद नै छैन । मलाई काम छैन । तिम्रा लगौटी बुहारीलाई कसोरी धुन दिनु ? बुहारीहरु भाग्य राम्रै लिएर आएका रहेछौ। तर यसो समय बिताउन भए पनि काम हुन्छ भनेर लुगा धोएँ । बुहारी रिसाउदै थिई । आज हात नै दुख्यो । ’
‘आईज न वर म तेल लगाईदिन्छु ।’ अझै हजुरआमा नमाने झै गरि हजुरबुवाको नजिक पुगिन् । हजुरबुवाले कोल्टे सुत्न आग्रह गरे । उनले आफनो फुस्रो हातले आङ्ग बिस्तारै बिस्तारै मुसारिदिए ।
हजुरआमाले आनन्द लिंदै भनिन् –‘तपाईको हात मेरो खुट्टामा चै नलगाउनु नि पाप लाग्छ है । उनले बिस्तारै सबैतिर मुसारी रहे । आज बुढालाई औषधि पनि खान नपर्ने रहेछ क्यारे ।
‘पहिले औषधि खाउन ।’
‘खुट्टामा तेल नलगाउनु भनेको त झनै खुटृा नै माड्नुहुन्छ । बुढो नचलाउनु न पाप लाग्छ भन्या ।’ हजुरआमा खुुटृा खुम्चाउँछिन ।
‘केही हुदैन् । मिचिदिन्छु नि । अस्ति त भनिरहेको थिईस त घँुडो दुखेर चल्न पनि नहुने भएको छ भनेर । मिचिदिन्छु भन्दा पनि नहुने । आईमाईको नाटक नै बढी हुन्छ भन्थें हो रहेछ । यसलाई देखेर पनि थाहा भयो ।’
मिचे पछि अलि कम भयो होईन् ?
औषधी गरेपछि निको भईहाल्छ नि बुढो पनि ।
कति छिटो टुक्का आउछ यसलाई । जे भने पनि टपक्कै उत्तर दिईहाल्छे । यसको यो पहिले देखिकै बानी हो ।
हजुरबुवा हजुरआमाको औलाऔला सबै मुुसारी रहन्छन्।
‘६५ बर्ष त सगै बितेछ तँ सँग पनि । कति सेवा गरिस । कति तैले मेरो निस्वार्थभावले प्रेम गरिस मैले सबै बुझेको छु । ’
‘कहिल्यै अईयासम्म भनिनस । पीडा पनि सुनाईनस । जे भनेपनि हस मात्र भनिस। केहिपनि मागिनस । तँ आधारातसम्म भोकै मेरो प्रतिक्षामा पनि बसेकी थिइस् । आधादर्जन छोराछोरी आफंै हुकाईस । त्यहीपनि सुन्दर भएर बस्थिस । मलाई नि लठ्ठै पार्थिस । जानेकी मेरो बुढी बाँधेर राख्नलाई । कति सिपालु कति !’
हजुरआमाले मख्ख पर्र्दै– ‘मलाई धैरै नफुलाउ है बुढा’ भन्दै कर्के आँखाले हेरिन् ।
‘तिमीले पनि त नमागी मलाई धैरै चिज दियौ नि । हजुरआमाले पनि हजुरबुवालेलाई मख्खै पारीदिईन । के दिएँ भन त?’
‘सबै दियौ नि । माया दियौं । सन्तान दियौ ।’
हजुरबुवाले हजुरआमाको छाती समाते । नवयुवती झस्के उनी झस्किन् ।
हजुरबुबा ः ‘किन झस्केकि तरुनी को जस्तै पो व्यहोरा देखाउँछेस त ?’
‘िचसोले छाती दुख्यो भनेकि थिईस तातो तेल यसो दलिदिए । आराम हुन्छ कि भनेको । झस्किन्छे आफनै बुढाले चलाउँदा पनि हरे ! अरुले छोए के गर्ली यसले ? कति डराएकी हो के ? ’
‘डराउँनु परेन त । उमेर पुगेको छोराबुहारी नातीनातिनी छन वरीपरी । कसैले देखे भने बुढेसकालमा पात्तिन्छन बुढाबुढी भन्दैनन् ?’ हजुरआमाले अलिक अप्ठ्यारो मानिन् ।
‘के भन्यौ रे,अरुले छोए के गर्छेस पो भन्छौ मसँग यस्तो शव्द पनि भन्ने हो ? बुढो मलाई स्राहै चित्त दुख्यो है । यसो नभन । ’ हजुरआमाले चित्त दुखाईन् ।
‘मेरो यो शरीर कसैले छोएको छैन् । जे गर्नु छ तिमीले मात्र हो । आज म धर्म साछी राखेर बोल्न सक्छु कि तिमीले जुनदिन सिउँदोमा सिन्दुर हालेर ल्यायौ आजसम्म यो सिन्दुरको लाज राखेकी छु ।’ बुढीले आखाँभरी आशु पादै भनिन ।
हजुरबुवाले हजुरआमाको हात टमक्क कसेर समाते । हेरर न् केहि भन्न नहुने कति मोटो आँसु निकालेकी । भित्र टाँसिएको गालालाई तान्दै उनले हजुरआमालाई फकाए ।
‘मन पो चोरेको ।’
‘बाठो बुढो मेरो ।’
हजुरआमाले मीठो अनुभूति गरिन । उनी शान्त थिईन् । उनलाई भोग केहि थिएन् । न्यानो स्पर्शमा उनी रमाईरहेकी थिईन् । केहि समय अघिसम्म ममीलाई तातोपानी भनेर गनगन गरिरहेकी हजुरआमा शीतल बनेकीछिन् ।
धोतीले पटुका बाँध्दै ‘अलिकति घुमाई देउ तँ बाह्र हाते पटुका रहेछ। सकिन घुमाउन। मद्धत गर त बुढा ।’
हाँसो गर्दै हजुरबुुवाले भने–‘यसलाई त यो पटुकी त धोती पनि लगाउन पुग्ने भएछ ।’
‘मलाई खिल्ली नउडाउ है । आफनो चै ज्यान । हेर न मलाई मात्र भन्छौ ।’
थपक्क गाला समाते हजुरबुबाले । हजुरआमाको हात समाए । सधंै एउटै कोठाको बिपरित दिशातिर फर्कको घाटमा बसिरहने देखिरहेको मैले बर्षाैं उनीहरुलाई खोलाको दुईकिनारा झंै लाग्दथ्यो । तर उनीहरु खोला थिए एउटा बन्द कोठा भित्रको ।
उनीहरुलाई डिस्टृर्व नगरि म जरुक्र्क आफनो कोठामा आए मलाई आन्नदको अनुभुति भएको थियो ,मैले पनि मेरो शररीहरु हेरे छाति हेरे । म मा लज्जा थियो । पुरुष देखेर घृणा लाग्ने मलाई म स्वयं स्वाबलम्बी भएर हिड्छु भन्थें म कुमारी नै बस्छु भन्थें । पुरुषलाई हेर्ने मेरो दृष्टि फरक थियो । समाजमा काका मामा र भिनाज्यु जस्ता पुरुष मात्र होइन् असल पुरुषहरु पनि हुदा रहेछन ।
उमेर पुगेको यौवनहरु लुकाएर मलाई सबै असल केटाहरु लाई पनि बहिस्कार गरिदिए । ममीले विवाह गर गर भनेर कर गर्दा पनि म हाँसेर उडाउर्थे । मैले बिषिएको रहेछु संसार त मायामा चलेको रहेछ ।
आज यो उमेरमा पनि हजुरबुवाले हजुरआमालाई कति माया गरेको देख्दा अचम्म लाग्छ । यो उमेरमा पनि जवान नै । कति खुशी राख्न सकेको हजुरबुवाले यो उमेरमा पनि माया कम छैन । मलाई अचम्म लाग्छ । हजुरआमाको लज्जापन अजै जवानै देखिन्छ । मलाई पनि कता कता तृष्णाहरुले सताईरहेका छन आज भोली मलाई मेरो उमेरको माया लाग्न थालेको छ । म साँच्चै नै कुमारी बस्न सक्छु र ? मेरो मन उडिरहेको थियो ।








