सम्राट् अशोकले भगवान्प्रतिको यही अपार श्रद्धा एवं भक्तिपूर्ण अभिप्रायलाई बुझी ती आठवटा मध्ये सातवटा स्तूपहरूबाट भगवान्को अस्थिधातु निकाली टुक्रा टुक्रा पारी चौरासी हजार धातुगर्भ स्तूपहरू बनाएको हुनु पर्दछ । यहाँ विचारणीय र अनुसन्धेय कुरा के छ भने यी स्तूपहरूलाई चैत्य भन्ने नामाकरण सम्राट अशोककै पालादेखि मात्र भएको हो कि भन्ने तर्क उठ्नु युक्ति संगत छ । किनभने सम्राट् अशोकले चौरासी हजार चैत्य बनाएपछि मात्र ती स्तूप (चैत्य) हरूको नाम स्वत: अशोक चैत्यका नामले प्रसिद्ध भएको देखिन्छ । उक्त समयभन्दा अगाडि चैत्य शब्दको अर्थले स्तूप भन्ने बुझिदैन । अर्थात् पाली वाङ्मयअनुसार चैत्य शब्दको प्रयोग हिजो आज हामीले देखेको स्तूप वा चैत्यको अर्थमा प्रयोग हुँदो रहेनछ भन्ने कुरा महा परिनिर्वाण सूत्रबाट उद्धृत भगवान्कै बोलीमा यसरी प्रस्तुत गर्न सकिन्छ- “एकमन्तं निसन्नं खो आयुस्मन्तं आनन्द भगवा एतदवोच:- ” रमणीया आनन्द वेसाली । रमणीयं उदेन चेतियं, रमणीयं गोतमक चेतियं, रमणीयं सप्तम्वक चेतियं, रमणीयं बहुपुत्त चेतियं, रमणीयं सारन्दद चेतियं, रमणीयं चापाल चेतियं””
अर्थात् भगवान्ले आनन्दलाई बोलाएर आज्ञा भयो- हे आनन्द ! वैशालीको उदयन चैत्य, गोतमक चैत्य, सप्तम्बक चैत्य, बहुपुत्रक चैत्य, सारन्दद चैत्य, चापाल चैत्यहरू रमणीय छन् । राजगृहको गृधकूट पर्वत, कपिलवस्तुको न्यग्रोधाराम, चोरप्रपात, वैभारगिरिको कालशिला, शीतवनको सर्पशोण्डिकपहाड, तपोदयाराम, वेणुवनको कंलन्दक-निवाप; जीवकको आम्रवन, मद्रकुच्छिको मृगदाव (संरक्षित वन ) अतिरमणीय तथा प्रिय छन् ।
उपर्युक्त पाली ग्रन्थका पंक्ति अनुसार तत्कालीन समाजमा चैत्य भनेको रमणीय अर्थात् मनलाई आनन्द दिने शान्त, सुन्दर, मनोरम आरामगृह, पर्यटन स्थल, आरक्षण स्थललाई नै चैत्य भनी पुकार्दो रहेछ भन्ने कुरो स्पष्ट हुन्छ ।यतिमात्र होइन, एउटा उल्लेखनीय कुरो के छ भने भगवान् बुद्धले बुद्धत्व प्राप्तिपछिको द्वितीय सप्ताहको पहिलो दिन बोधिवृक्षको पूर्वोत्तर दिशा भागमा उभी मनमनै भन्नुभयो– अहो ! यो बोधि वृक्षले मलाई धेरै ठूलो उपकार गरेको छ । यही रुखमुनि बस्दा बस्दै मलाई बोधि ज्ञान लाभ भयो । मैले यो वृक्षप्रति ठूलो श्रद्धाभाव गर्नुपर्छ भनी निश्चय गरेर एक साता भर भगवान्ले आँखा झिमिक्क नगरिकन अनिमिस बोधिवृक्षलाई हेरी नेत्रपूजा गर्नुभयो । यही कारणले गर्दा सो बोधिवृक्षलाई ” अनिमिस चैत्य”” भनी नामाकरण गरी ठूलो श्रद्धाभाव गरे ।
अनि यसरी सप्ताहव्यापी नेत्रपूजा पश्चात् भगवान् आफू उभिरहेको ठाउँ र बोधि वृक्षको बीचमा पूर्व र पश्चिम दिशा तर्फ हेरी फेरि अर्को एक हप्तासम्म चंक्रमण (हिंड्नु ) गर्दै मनमनै सोच्नुभयो र यो चंक्रमणले मलाई बोधिलाभ गर्न ठूलो मद्दत गरेको छ भन्ने सोची सम्वोधि लाभ गरीसकेपछि उक्त चंक्रमण स्थलको पनि ठूलो श्रद्धा गरी चंक्रमण गरेको स्थानलाई ” चंक्रमण चैत्य”६ भन्ने नाम राखियो ।
यस्तै श्रद्धेय, वन्द्य स्थानलाई त्रिपिटकमा चैत्य भनेर उल्लेख गरिएको अर्को सन्दर्भ हो “कन्थक निवर्तन चैत्य” । श्री भगवान् बुद्धले आफ्नो अति प्रिय घोडा जसको सहयोग बिना महाभिनिष्क्रमण, गृहत्याग गर्नु असंभव थिए, सोही कन्थक घोडाको सहायताले राजदरवारका अग्ला अग्ला पर्खाल नाघेर रातारात महाभिनिष्क्रमण गरी अनोमा नदी पार गरी केश मुण्डन गरी प्रवज्जित हुनुभयो । त्यसपछि भगवान्ले आफ्नो लुगा र सुवर्ण आभुषणहरू सारथि छन्दकको हातमा सुम्पी अब तिमीहरू दरबार फर्क भनी आज्ञा भयो । तर भगवान्को आज्ञा सुनी उत्तिनैखेर त्यहाँ प्राण त्याग गरे । अनि भगवानले कन्थक घोडाप्रति अत्यन्त श्रद्धा गरी कन्थकलाई फर्काएको उक्त स्थानलाई “कन्थक निवर्तन चैत्य” भनीनामाकरण गर्नुभयो ।
यसरी यी तीनवटै पाली ग्रन्थबाट उद्धृत उदाहरणहरूले बुद्ध कालीन समाजमा पवित्र र पूजनीय एवं श्रद्धेय चौतारा आदि स्थानलाई तथा वृक्षलाई चैत्य भनिंदो रहेछ भन्ने कुरा एकदम स्पष्ट हुन आउँछ । त्यतिबेलासम्म चैत्य शब्दले स्तूपलाई बुझाएको देखिदैन ।
यति मात्र होइन, भगवान् बुद्धले यमक प्रातिहार्य गरी देवलोकमा वर्षावास सिध्याई संकाश्य नगर ( श्रावस्ती देखि तीस कोस टाढा अवस्थित ‘शहर) मा देवलोकबाट वर्ली दाहिना खुट्टाले सबभन्दा पहिले टेकेको स्थानलाई “अचल चैत्य”5 नामाकरण गरेको पाइन्छ ।
अनि फेरि बज्जी गण राज्यको हितका सन्दर्भमा कुरा गर्दा एकदिन भगवान्ले आनन्दलाई आज्ञा भयो- हे आनन्द ! “जबसम्म बज्जीहरूले सहर भित्रका र बाहिरका चैत्यहरूको पूजा, सत्कार गर्छन् तथा चैत्यहरूलाई दान गर्छन्, चैत्य तथा चैत्यका गुठीलाई सुरक्षा गर्छन् तबसम्म बज्जीहरूको हित सुख नै भइरहनेछ ।”९ यसरी आज्ञा भएका यी बुद्ध वाक्यले तत्कालीन समाजमा चैत्यप्रति अपार श्रद्धा जागे होला चैत्यको गौरव पनि बढे होला । तर अन्वेषण र अध्ययनका कमीले त्यसबेलाको चैत्यको खास प्रारुप कस्तो रहेछ भन्ने कुरा अहिले हामीलाई गहन अन्वेषणको विषय बनेको छ ।
हुनत बौद्ध दर्शनका मान्य एवं भरपर्दो ग्रन्थरत्न त्रिपिटकको आधारमा स्वयं भगवान् बुद्धको जीवन कालमा चैत्य एवं स्तूप शब्द कुन-कुन ठाउँमा प्रयोग भएका छन् नहडवडाइकन ध्यानपूर्वक गहिरिएर ग्रन्थहरू अध्ययन गर्न सकेको खण्डमा हामीलाई चैत्य एवं स्तूपको तत्कालीन प्रारूप स्पष्ट अवगत हुन आउने कुरा निर्विवाद छ । यसै शिलशिलामा बौद्ध धर्मको ग्रन्थ त्रिपिटकबाट उद्धृत गरिएको केही चैत्य सम्बन्धी सन्दर्भ यहाँ उल्लेख गरिन्छ ।
एकदिन प्रसेनजित महाराज आफ्नो जीवन सन्ध्यामा यानी एकासी वर्षको वृद्ध उमेरमा अलि खिन्न र दिक्क हुँदै सन्ध्याकाल तिर घुम्दा घुम्दै भगवान् कहाँ आइपुगे र परस्परमा भला कुसारी गरीसकेपछि वहाँले भगवान्लाई प्रश्न गर्नुभयो- हे भगवन्। हजुरको संघमा जस्तो शान्त वातावरण कुनै श्रमण संघमा देखिदैन, विना दण्ड, विना शस्त्र अस्त्र यहाँ हजुरको संघ सुविनित छ, धर्म सुविख्यात छ, संघ सुप्रतिपन्न छ आदि इत्यादि आफूले अनुभव गरेको कुरा गरेर प्रसेनजित महाराज त्यहाँबाट विदा भए । तदनन्तर त्यहाँ उपस्थित सबै भिक्षुहरूलाई बोलाएर भगवान् बुद्धले आज्ञा भयो- हे भिक्षुहरू हो । प्रसेनजित महाराजले धर्म चैत्यको भाषण गरेर जानुभयो, धर्म चैत्य बारे बोलेर जानुभयो । “हे भिक्षुहरू हो तिमीहरूले पनि धर्म चैत्य बुझ (जान), धर्म चैत्य पूरा गर, धर्म चैत्य धारणा गर, यो धर्म चैत्य सार्थक र आदि (शुद्ध) ब्रम्हचर्य सम्बन्धी हो भनेर बोध गर ।” यसबाट शुद्ध ब्रम्हचर्यलाई समेत “धर्मचैत्य”१० भनिंदो रहेछ भन्ने महत्त्वपूर्ण कुरा ज्ञात हुन्छ ।
यस्तै अर्को स्तूप सम्बन्धी सन्दर्भ छ- जैन तीर्थङ्कर महावीरको मृत्यु पावामा भयो । तीर्थङ्कर महावीरको मृत्युपछि वहाँका शिष्यहरू दुई भागमा विभाजित भए । एउटाले भनेको कुरा अर्कोले नमान्ने अर्कोले भनेको फेरि अर्कोले नमान्ने परिस्थिति सिर्जना हुनथाले । हुँदा हुँदा वादविवाद र कलहले ठूलो रूप लिए । यस्तो दुःखपूर्ण खबर सुनेर भगवान्ले भिक्षुहरूलाई भन्नुभयो- ‘निगंथनाथ महावीरको धर्म ” प्रतिष्ठा (नीव, जग) नभएको भिन्न स्तूप, फुटेको स्तूप जस्तै भयो ।” यस पंक्तिमा स्तूप शब्दको प्रयोग एउटा बलियो जग वा आधारयुक्त वस्तुको अर्थमा भगवान् बुद्धले प्रयोग गर्नुभएको बुझिन्छ ।
यी भगवान्को जीवनकालमा भएको उपर्युक्त स्तूप र चैत्यको सन्दर्भले पूज्य र श्रद्धेय कुरालाई चैत्य भनिन्छ भन्ने स्पष्ट हुन्छ भने स्तूप शब्दले कुनै खास जग हाली आधार मजबूत हुनेगरी निर्मित कुरालाई स्तूप भनिन्छ भन्ने पनि स्पष्ट हुन आउँछ । अथवा चैत्य पूज्य वस्तु हो भने स्तूप प्रतिष्ठायुक्त वा मजबूत आधारयुक्त वस्तु रहेछ भन्ने बोध हुन्छ ।
‘शायद पूज्य ‘वन्द्य’ रमणीय एवं शान्त आरक्षित स्थानहरू र चौताराहरू, चौवाटोहरूलाई सुरक्षित गर्नुपर्छ भन्ने भगवान्को आज्ञा अनुरूपनै कालान्तरमा यस्ता रमणीय स्थानहरूमा स्तूप बनाउने प्रचलन तथा परिपाटी बढ्दै गएकाले सम्राट अशोकका पालादेखि मात्र स्तूपलाई नै चैत्य भनिएका हुन् कि यो विचारणीय छ । स्मरण रहोस् स्वयं भगवान् शाक्यसिह गौतम बुद्धको दाहसंस्कार पनि मल्लहरूको मुकुटवन्ध नामको चैत्य (चौतारा) को अगाडि गरिएको कुरा महापरिनिर्वाण सूत्रमा वर्णित तल दिइएको महापरिनिर्वाण उद्धृत वाक्यबाट स्पष्ट हुन आउँछ ।