साताको कविता
कृष्ण बाउसे
भोलि साउनको १५ गते ।
नजाओस् आजको रात कहिल्यै ।
भोलि हुनासाथ
मेरा बा युवा रहेको निस्सा
सुतीसुती डेट एक्सपायर्ड हुन्छ ।
हुनसक्छ
भोलिदेखि मकैभटमासको खाजाको बिरोधमा
बाको मुखले
दाँत दुखेको सूचना गर्छ ।
हुनसक्छ
आमैले बोलाउँदा आफ्नो छोरोलाई माया गरेर
बाका कानहरूलाई सुन्न असहज पर्छ ।
तर खुशीको कुरा
रात अझै बाँकी छ
र
बा अझै युवक हुनुहुन्छ ।
आजसम्म त
बाका खुट्टा चलेका छन् जवान दौंतरीहरूसँगै
तर भोलिदेखि
उमेर समूहमा हुलेर
प्रौढले सुस्तरी पाइला चाल्नू आदेश हुनसक्छ ।
आजसम्म त
हाँसेकै छन् ती बासँगै
भोलि बिहान दाह्री काट्ने बेलामा
ऐनामा छिरेका बाका आँखाले
बासँग चालिसे प्रौढ भनेर ठट्टा गर्दै
चस्मै किनिन माग्लान् भनेर कसले भन्नसक्छ
तर खुशीको कुरा
रात अझै बाँकी छ
र
बा अझै युवक हुनुहुन्छ ।
अरू त त्यस्तै हो
भोलि दुई हजार सत्ताइसको साउन पन्ध्र
बाको मनले
कागतमा मिति गुज्रिएको यथार्थलाई शिरोपर गरेर
आफैं भित्रको साहसलाई नथ्थी लगाइदिन सक्छ ।
त्यसैले
मेरो भाइ
बालाई आजको जस्तै सकृय बनाइराख्न
जिजुबाले त्यहीँ दिन रोपेको पिपललाई साक्षी राखेर
बाको चालीसौ जन्मदिनको उपलक्ष्यमा
तिम्रो तेह्रको र मेरो चौधको
चञ्चल मन उपहार दिनुपर्नेहुन्छ ।
जे होस् खुशीको कुरा
रात अझै बाँकी छ
र
बा अझै युवक हुनुहुन्छ ।
( वि सं २०२७ साउन १५ गते बुवा चालीस वर्ष पुग्नै लाग्दा त्यसको अघिल्लो रात लेखिएर हालसम्म अप्रकाशित रहेको कविताको सामान्य परिमार्जित स्वरूप )