काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ । यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ । १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब २० करोडको शेयर कारोबार भएकोमा आज एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।