
काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधसभा सदस्य चुनावको मतदानलाई व्यवस्थित र मर्यादित बनाउन गाडीको आवागमन र नियमनसम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका दिन अत्यावश्यकबाहेकका गाडी सञ्चालनमा रोक लगाइनेछ । विशिष्ट परिस्थिति र सेवाका लागि गाडी पासको व्यवस्था गरिएको छ । आजदेखि नै आयोगले यस्ता पासहरूको वितरण प्रक्रिया शुरू गरिसकेको छ ।
प्रवक्ता जिसीकाअनुसार आयोगले गाडी दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ । पहिलो श्रेणीमा पर्ने गाडीहरूले अनिवार्य रूपमा पास लिनुपर्ने हुन्छ । यसअन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन् । कार्यविधिको दफा ५ मा उल्लेख भएबमोजिम प्रत्यक्षतर्फका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गर्नुपर्नेछ ।
यसैगरी चुनावको पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, कूटनीतिक नियोगका गाडी र सञ्चारकर्मीहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्ने व्यवस्था छ । संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगले जारी गरेको पासकै आधारमा मात्र आवतजावतको अनुमति दिइने सहायक प्रवक्ता जिसीले जानकारी दिए ।
पास नचाहिने अत्यावश्यक सेवाहरू
केही यस्ता सेवाहरू छन् जसलाई मानवीय र प्राविधिक संवेदनशीलताका कारण गाडी पासको अनिवार्यताबाट मुक्त राखिएको छ । एम्बुलेन्स, शव वाहन, दमकल र अस्पतालका गाडीहरू स्वतःस्फूर्त रूपमा चल्न पाउनेछन् । यस्ता गाडीहरूलाई निर्बाध सञ्चालनको वातावरण मिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको प्रवक्ता जिसीको भनाइ छ ।
यस्तै खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने गाडी, विद्युत् सेवा, दूरसञ्चार र सूचना सञ्चारसँग सम्बन्धित गाडीहरूलाई पनि पासको आवश्यकता पर्ने छैन । डाटा सेन्टर सञ्चालन गर्ने र अन्य प्राविधिक सेवामा खटिएका गाडीहरूलाई पनि अरू बेला जस्तै निर्बाध रूपमा चल्न दिइनेछ । सहायक प्रवक्ता जिसीकाअनुसार यस्ता सेवाहरू समाजको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले चुनावको समयमा पनि यिनलाई रोक्न नहुने आयोगको ठहर छ ।
ज्येष्ठ नागरिक र अशक्तलाई विशेष प्राथमिकता
निर्वाचन आयोगले यस पटकको मतदानमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त मतदाताहरूलाई विशेष प्राथमिकतामा राखेको छ । मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने यस्ता मतदाताहरूका लागि आयोगले सहजीकरणको विशेष व्यवस्था गरेको छ । मतदानका दिन यस्ता व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुर्याउन र फर्काउनका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सुविधा उपलब्ध गराइनेछ ।
आयोगले मतदान केन्द्रहरूलाई पनि अपाङ्गतामैत्री बनाउने प्रयास गरेको सहायक प्रवक्ता जिसीले बताउनुभयो । अशक्त मतदाताहरूले सुरक्षाकर्मीसँगको समन्वयमा गाडीको प्रयोग गरी मतदान केन्द्रको नजिकसम्म पुग्न सक्नेछन् । यसले गर्दा कोही पनि नागरिक आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने विश्वास आयोगले लिएको छ ।
कार्यविधि र कानूनी प्रावधानको स्पष्टता
गाडी आवागमनसम्बन्धी यो व्यवस्था निर्वाचन आयोगको कार्यविधिको परिच्छेद ३ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ । दफा ३ सम्मका व्यवस्थाहरू चुनाव प्रचारप्रसारको समयमा लागू हुने नियमहरू हुन् भने दफा ४, ५ र ६ मा मतदानको दिनको गाडी आवागमनसम्बन्धी कडा प्रावधानहरू राखिएका छन् । मतदानको दिन सार्वजनिक गाडी पूर्णरूपमा बन्द रहनेछन् ।
सहायक प्रवक्ता जिसीकाअनुसार यो कार्यविधि विगतका अनुभव र सरोकारवालाहरूसँगको व्यापक छलफलपछि तयार पारिएको हो । ‘हरेक कानून बन्दाखेरि कि समस्या आउनुपर्छ कि कतैबाट माग हुनुपर्छ । समाजले महसुस नगरेको विषयवस्तुमा सामान्यता कानून बन्दैन’, उहाँले भन्नुभयो ।
कार्यविधिमा सबै कुरा परिकल्पना नगरिएको भए पनि व्यावहारिक समस्याहरूलाई सुरक्षाकर्मी र स्थानीय प्रशासनको समन्वयमा समाधान गरिने उहाँको भनाइ छ ।
आपत्कालीन अवस्था र सुरक्षा समन्वय
यदि मतदानको दिन कसैलाई अचानक अस्पताल जानुपर्ने वा अन्य कुनै गम्भीर आपत्कालीन अवस्था आइपरेमा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सुविधा लिन सकिनेछ । कार्यविधिले परिकल्पना नगरेका तर व्यवहारमा आइपर्ने यस्ता मानवीय समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने आयोगले जनाएको छ ।
फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म देशभरका सार्वजनिक गाडीहरू बन्द रहने भएकाले सर्वसाधारणलाई त्यहीअनुसार आफ्नो योजना बनाउनसमेत आयोगले आग्रह गरेको छ ।