भक्तपुर, १६ चैत । कथाकार रत्न प्रजापतिलाई एक समारोहबिच धनमान कथा पुरस्कार प्रदान गरिएको छ । लघुकथा समाजको आयोजना तथा सिर्जना अभियान समाजको संयोजनमा भएको सो समारोहमा भाषा आयोगका सदस्य तथा कथाकार मातृका पोखरेलले धनमान कथा पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा कथाकार प्रजापतिलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि पोखरेलले पुरस्कार लेखकको सम्मान र सिर्जनाको मूल्याङ्कन हो भन्नुभयो । उहाँले कथाकार रत्नका कथाले स्थानीय संस्कृति र भावनालाई पनि महत्व प्रदान गरेको बताउनुभयो ।
कथाकार ध्रुव मधिकर्मीले पुरस्कृत स्रष्टाको परिचय प्रस्तुत गर्दै प्रजापतिका प्रत्येकजसो कथामा रगिराग र प्रेमको अनुभूतिलाई विविध सन्दर्भमा प्रभावकारी रुपले चित्रण गरिएको पाइन्छ भन्नुभयो ।
पुरस्कारका दाता एवं वरिष्ठ कथाकार धनमान श्रेष्ठले कथाप्रति आफ्नो रुचि भएकाले स्रष्टाहरुको सम्मानको लागि पुरस्कार स्थापना गरेको बताउनुभयो ।समारोहमा पुरस्कृत स्रष्टा प्रजापतिले पुरस्कारले आफूलाई लेखनमा अझ जिम्मेवारीपूर्वक लाग्न प्रोत्साहित गरेको बताउनुभयो ।समाजका अध्यक्ष तथा समारोहका सभापति तुलसीहरि कोइरालाले समाजले पुरस्कारबाट स्रष्टा र सिर्जनाको सम्मान हुन्छ भन्नुभयो ।नेपाली साहित्यको कथा र लघुकथा विधाका स्रष्टाहरुको प्रोत्साहनको लागि स्थापना गरिएको सो पुरस्कार प्रत्येक वर्ष कथा र लघुकथातर्फ आलोपालो गरी प्रदान गरिँदै आएको छ






