
लघुकथा
कानुनको भाउ
प्रदीप सापकोटा
दसैँको टीकाको पारिलो घाम आँगनभरि पोखिएको थियो।
गाउँका साना बच्चाहरू लङुगुर बुर्जा खेलेर रमाइलो गर्दै थिए। कसैको पाँच रुपैयाँ जित्दाको खुसी थियो, कसैको दस रुपैयाँ हार्दाको अमिलो अनुहार। आँगन हाँसो र उत्सुकताले गुञ्जिरहेको थियो।
अचानक गाउँको बाटो हुँदै दुईजना प्रहरी गस्तीमा आए।
हातमा लट्ठी नचाउँदै एउटा प्रहरी कड्कियो, ‘ए के चलाको यहाँ ? दसैंमा लङुगुर बुर्जा खेलेर मति विगार्ने ? खुरुक्क जाओ त। ‘
बच्चाहरू अत्तालिए।
‘पाँच-पाँच रुपैयाँको मात्रै हो ‘ एउटा सानो बच्चाले रुञ्चे स्वरमा भन्यो।
‘कानुन सबैलाई बराबर हुन्छ, बुझिस्र’ अर्को प्रहरीले हप्कायो ।
लङुगुर बुर्जा थर्की र पाँच दशका केही नोट खोसेर प्रहरी बाटो लागे ।
साँझ पर्नै लागेको थियो। गाउँको अलि पर ठूलो साहुको घर बाहिर प्रहरीका तिनै दुई जवान खटिएका थिए। भित्रबाट कौडाको खट्खट र हजारका नोटका गड्डीहरू टेबुलमा बजारेका ठूला-ठूला आवाजहरू स्पष्ट सुनिन्थे।
घरको ढोका हल्का उघारियो। भित्रबाट एउटा मोटो घाँटीमा सुनको सिक्री झुन्ड्याएको मान्छे बाहिर निस्कियो।
उसले प्रहरीहरूपट्टि हेर्दै मुस्कुराएर भन्यो, ‘लौ हवल्दार सा’ब, भित्र पाँच लाखको खाल जमिरहेछ। बाहिरको जिम्मा तपाईंहरूको। कसैलाई यसतर्फ आउन नदिनु’
उताबाट एउटा प्रहरीले सलाम ठोक्यो र भन्यो, ‘हजुर ढुक्क हुनुस् सा’ब ! कानुनको रक्षा गर्न त हामी छँदै छौँ नि!’
साहुले सुटुक्क दुवै प्रहरीका खल्तीमा हजारका बाक्ला गड्डीहरू सरकाउँदै थप्यो, ‘अँ, दिउँसो बच्चाहरूबाट ल्याएको लङुगुर बुर्जा यतै छाडिदेऊ, भित्र ठाउँ नपुगेर केही मान्छेहरू भुइँमा कौडा हान्न खोज्दै छन्।’
प्रहरीले मुस्कुराउँदै दिउँसो खोसेको त्यही लङुगुर बुर्जाको कपडा साहुको हातमा थमाइदियो। बाहिर प्रहरीहरू सतर्क भएर पहरा दिइरहेका थिए। भित्र कौडा बज्न थाल्यो—
छक्का ! मार्यो !!
अँध्यारो भइसकेको थियो। गाउँको कुनामा ती साना बच्चाहरू अँध्यारैमा टोलाइरहेका थिए, र उता हवेलीको उज्यालोमा ‘कानुन’ले आफ्नो ठूलो मूल्य असुलिरहेको थियो।


