
कविता
युद्धमा जन्मिएको छोरो
दिनेश खरेल
मेरो नागरिता कहिले बन्छ ?
बीस वर्ष नाघिसकेको छोरोले सोध्छ- आमालाई ,
अब बनाउनु पर्छ- दबिएको स्वरमा जवाफ आउँछ ।
कसको नामबाट बन्छ ?
मेरो नामवाट बनाउनुपर्छ ।
छोराले भन्छ-किन बुबाको नामबाट बन्दैन?
अंह बन्दैन ।
तिमी युद्धको बीचमा अंकुराएको प्रेमको नतिजा हौ,
अचानक पेट दुखेपछि चरम प्रसवपीडावाट बिउँझदा
तिमी जन्मिएछौ छोरा
संसारमा अर्को नागरिक बिना बाउको छोरो भएर,
तिमीले नाम, थर, जात र धर्म-केही नसोध।
दश महिनापछि तिमीले यो धर्तीमा
च्याँ च्याँ गर्दै शंखघोष गरिरहँदा
तिम्रो वा बेपत्ता भएको दशै महिना भएको थियो ।
तिम्रो ञबाझ अलप भए- छोरा,
अहिले ज्यूँदो छन् कि, मरे थाहा छैन
न चिठी-पत्र, न फोन-खबर छ,
न देखिन्छन् फेसबुक, युटुव, ट्युटर र इन्ट्यागामका वालहरूमा आजसम्म केही खबरै छैन।
सायद बेपत्ता नागरिकको सुचीमा होला
तिम्रो बाबाको नाम-सूचना पाटीमा हेर त !
संविधानले अधिकार दिएपछि सन्तान,
स्वतः आमाको अधिकार भयो
त्यसैले मेरै नामको अधिकार सुरक्षित छ-अहिले नागरितामा ।नयाँ संविधानले पठाएको उपहार ,
सिंहदरवारले दिएको जनयुद्धको बकस ।
हो छोरा ।
तिम्रो नागरिकता मेरै नामबाट बन्छ-
अब तिमी बिना नागरिकता,
अनागरिक बन्नु पर्ने छैन-नयाँ नेपालमा ।

