
कविता
स्मृतिको छनोट
विश्व सिग्देल
मलाई अचेल
देखिने नामहरू पत्यार लाग्दैन
लेखिने नामहरुको भरोसा हुन्न
आफ्नो इतिहास बताउन सुरु गर्ने मान्छेले
जसरी छोड्छ जगको थापना गर्ने कर्ता
र भन्छ,
बाउ, बाजेले आफ्ना पाखुरीले फाँडेको खोरिया
वा भन्छ
बाउ बाजेको कमाइ !!!
र, छुट्छन् आमाहरु, बज्यैहरु
मानौँ
यो हाम्रो संसार
पुरुषको पाखुरीले मात्रै सिर्जेको हो
खोजी हिंड्दा भेटिन्नन् कतै
सम्पदाहरुमा आमाहरु , बज्यैहरु
अनि लाग्छ
सम्पदामा नाम कुँदिने रहेनछन्
सामाजिक अनुमती कुँदिने रहेछन्
ओठमाथिका जुँघा कुँदिने रहेछन्
बा र हजुरबाका नामहरु
इतिहास मात्र हैन रहेछन्
अक्षरभित्र लुकेको सामाजिक स्वीकृतिका विषाक्त भाषा रहेछन्
साँच्चै,
सम्पदाका ढुङ्गामा कुँदिएका नाम
ढलौट वा ताम्रपत्रमा कुँदिएका नाम
स्मृति मात्र हैन रहेछन्
स्मृतिका विषाक्त छनोट रहेछन्

