
कविता
कान्छा दाइ र दशैँ
दिपक चौलागाईँ
सप्तरङ्गी सपनासँगै
कान्छा दाइ
हाम्रो घरमा
दशैँ लिएर आउनुहुन्थ्यो
र ओसारामा
आसन जमाएर बस्नुहुन्थ्यो ।
राती अबेरसम्म
मट्टितेलको मीठो गन्ध
र टुकीको मधुरो उज्यालोसँगै
लुगा सिलाउने कलको
’खिटखिट’ आवाज
लोरीझैँ कानमा गुन्जिरहन्थ्यो ।
सहरबाट
बुबाले पठाउनु भएको कपडा
उहाँले नै सिलाउनु हुन्थ्यो ।
बचपन न हो—
नयाँ लुगाको रहर,
त्यसमाथि पनि दशैँतिहार !
हामी केटाकेटीहरू
कान्छा दाइलाई
चारैतिरबाट घेरा हाल्थ्यौँ ।
जब
नयाँ कपडा तयार हुन्थ्यो,
हामी
आग्रहपूर्वक
कान्छा दाइको अनुहार हेर्थ्यौँ ।
कान्छा दाइ
अर्को कपडाको कुनै टुक्रा टिपेर
धागोको रंगसँग
जोडा मिलाउन थाल्नुहुन्थ्यो,
सियोमा
धागोको टुप्पो
बडो मुस्किलले छिराउनुहुन्थ्यो,
र हामीमध्ये
कसैको जिउको नाप लिनुहुन्थ्यो ।
जसको नाप लिइएको थियो—
ऊ दङ्गदास हुन्थ्यो,
बाँकी हामी जिल्ल पर्थ्यौँ ।
आमा
खान खान बोलाउनु हुन्थ्यो ।
हामी
पस्केको खानाको थाल बोकेर
सिलाउने कलको छेउमै पुग्थ्यौँ
र आ-आफ्नो सिट सुरक्षित गथ्यौँ ।
हामी नजिक आउँदा
उहाँ परपर सर्दै भन्नुहुन्थ्यो—
’बिष्ट, यता नआउनुहोस् न,
अनिष्ट हुन्छ’ ।
अनि उहाँ
माथि आकाशमा
मडारिएको कालो बादल हेर्दै
’खुइय’ गर्नुहुन्थ्यो ।
हामी भने
झन्—झन् नजिकिन खोज्थ्यौँ ।
उहाँसँगै बसेर खाँदा
हामीलाई अपूर्व आनन्द लाग्थ्यो ।
हामीलाई
दशैँ र कान्छा दाइ
एकअर्काका परिपूरक लाग्थे ।
दशैँको बेला
उहाँको अनुपस्थिति
बुबाको अनुपस्थितिझैँ
खल्लो लाग्थ्यो ।
त्यतिबेला
मस्तिष्क भर्जिन थियो—
न छुवाछुतको शब्दकोश,
न उचनिचको व्याकरण ।
किन कान्छा दाइले
मूलढोकाको लक्ष्मणरेखा
नाघ्नु भएन ?
मलाई सहजै छुनुहुन्थ्यो
तर
किन मेरो खाना छुन मान्नुहुन्नथ्यो ?
काटेको सुँगुर छुँदा
कसरी म अपवित्र भएँ ?
किन मलाई घरभित्र छिर्न
सफा पानीले नुहाएर
सुनपानीले चोख्याउनु पर्यो ?
बालापनमा
यी जिज्ञासाहरू
जिज्ञासाकै रूपमा थाँती रहे ।
पछि
समाजको किताब पढ्दै जाँदा
कान्छा दाइ र मबीच
सामाजिक व्याकरण हाबी हुँदै गयो—
विभाजनको
एउटा अग्लो पहाड बनेर ।
