
कविता
निरुपम श्रेष्ठ
दशैँ आयो, दशैँ आयो
दशैँ आयो दशैँ आयो,
सारा काँसघारी फुलेर आयो।
फाँटभरी धानको बाला झुलेर आयो,
दशैँ आयो दशैँ आयो।।।
मौसम सफा चम्किलो र न्यानो,
लाहुरेलाई आफ्नै गाउँघर प्यारो।
यताउता चहलपहल,
घर-आँगनी कमेरोले झलमल।
दशैँ आयो दशैँ आयो,
विशाल आकाश नीलो खुलेर आयो।
साथीभाइको जमघट र भेटघाट,
चोक-चोकमा खुसीको साटासाट।
नानीहरू नयाँ लुगामा गमक्क,
पिङ खेल्न हिँड्छन् दङ्ग र लमक।
दशैँ आयो दशैँ आयो,
नवदुर्गा भवानीको पूजा भयो।


