
काठमाडौँ । फ्रान्सका विभिन्न सहरमा भएका दंगा र लुटपाटपछि लागु गरिएको रात्रिकालीन कर्फ्युका कारण स्थिति शान्त बन्दै गएको प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार बताएका छन् । उनले आवश्यकताअनुसार कर्फ्युको अवधि थपिने जानकारी दिए ।
याहू न्युजका अनुसार, मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै लेकोर्नुले लक्षित क्षेत्रमा लगाइएको कर्फ्युका कारण राति शान्ति कायम गर्न मद्दत पुगेको बताए । जहाँ आवश्यक हुन्छ, त्यहाँ आज राति पनि कर्फ्यु लगाइने उनले बताए ।
स्थानीय प्रशासनका प्रमुखहरूले नगरप्रमुखहरूसँग परामर्श गरेर परिस्थितिअनुसार निर्णय लिने उनको भनाइ छ ।
पेरिससहित विभिन्न सहरमा सोमबार साँझदेखि सुरक्षा प्रतिबन्ध लागु गरिएको थियो ।
पेरिसमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म ‘प्लेस डे ला रिपब्लिक’ र ‘लेस हालेस’ आसपासका क्षेत्रमा मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाइएको थियो ।
त्यस्तै, सहरका केही क्षेत्रमा साँझ ८ बजेदेखि भेला हुन र प्रदर्शन गर्न रोक लगाइएको थियो । प्रहरी प्रशासनले सार्वजनिक शान्ति कायम गर्न यी उपाय आवश्यक भएको जनाएको छ ।
लियोनमा पनि प्रदर्शनमा प्रतिबन्ध लगाउँदै कर्फ्यु लागु गरिएको छ । निस तथा उत्तरी फ्रान्सका लिल, डुए, वाटिग्निज र डेनाइनमा पनि कर्फ्यु लगाइएको छ ।

