
लघुकथा
हरिभक्त सिग्देल ‘महेश’
आयुद्रोण सुते !
चच है चच है पल्लो गाउँको ठूले, पीपलको बोटमा डोरेपिङ्ग खेलिरहेका केटा, केटी र बच्चाहरू पनि थिए। सँगै रोटे पिङग र जाँते पिङ पनि घुमिरहेका थिए।
बच्चाहरू आत्तिएर आफ्ना आमाहरूलाई आँखा चिम्लेर अँगालो मार्थे । तीनै वटा पिङहरूमा आलोपालो बच्चा बच्ची र केटा केटीहरु रमाउँदै थिए।
भोलिपल्ट बडा दशैंको टिकाको दिन कार्तिक ४ गते ११:५६ बजेको शुभ साइतमा मेरा सन्तानब्बे वर्षका हजुरबुबाले टिका लगाइ दिँदै जमारा शीरमा राख्दै हात कमाउँदै भन्दै हुनुहुन्थ्यो, ‘आयु द्रोण सुते श्रेयं दशरथे शत्रु क्षयम राघवे’ । म झल्यास्स बिम्झिए। म त अरबको दूर देशमा सुतिरहेको पो रहेछु ।



