
काठमाडौँ । नेवार समुदायका मानिसले बुधबार (कात्तिक ४) खड्ग जात्रा अर्थात् ‘पाया’ मनाएका छन् । दसैँ टीकाको दिन साँझ तान्त्रिक विधिबाट खड्गको पूजाआजा र परम्परागत पहिरनमा खड्गधारण गरी जात्रा मनाउने गरिन्छ ।
शक्तिपीठबाट खड्गधारण गरी यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको जित भएको खुसियालीमा खड्ग जात्रा मनाउने गरिएको नेवार समुदायका अगुवा बताउँछन् ।
काठमाडौंमा कंकेश्वरी, टेःबहाल, बटु, भद्रकाली, कोहिति, नीलबाराही र हनुमानढोका दरबारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा छ ।
जात्राका क्रममा नगर परिक्रमापछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी खुसियाली मनाउने गरिन्छ ।
