
दुई लघुकविता
रजनी खत्री
जीवन
अधरमा मुस्कान हराएको छैन
मनमा पीडा हराएको छैन
कति आउँछस् आइज समस्या
म अझै तसँग डराएको छैन ।
बुझिसकेको छु
जिन्दगी पीडैपीडाको खात हो,
चेतिसकेको छु
जिन्दगी विश्वासमाथिको घात हो,
थाहा पाइसकेको छु
आपतमा आफन्त पराई अनि
सुखमा आफन्त नजीक
त्यसैले
अधरमा सधैं मुस्कान अनि
मनमा पीडा लुकाई रमाउने गर्छु,
समस्या नै जीवन हो
बुझिसकेको छु ।
बसाईँ
आयो भन्छन् सबैले
देशमा विकास
पायो भन्छन् देशले
स्वतन्त्रताको निकास ।
द्यायाँ बस्ने दाइको घर
भूकम्पले खायो,
बायाँ बस्ने भाइको छोरो
कोरोनाले मा¥यो ।
वृद्ध थिए काकाबुवा
क्यान्सर रोगले पीडित
मेरा बुवाआमा पनि
त्यस्तै वृद्ध थिए
छोराछोरी पढाउँदैमा
घरबार सकिए ।
गरी खाने ठाउँ रहेन
कस्तो आयो बेला ?
प्रजातन्त्र भन्नु शायद
बसाईँ जाने होला ।






