
चर्चामा पुस्तक
प्रवासीको देश हुन्न
पंचम अधिकारीको कथा कृति हो ।विभिन्न चौध थान कथाहरु समावेश यो कथाकृतिभित्र घरदेश र परदेशका परिवेशमा बुनिएका कथाहरु परेका छन् ।ज्यादात्तर युरोपको सेरोफेरोमा लेखिएका यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्य र सप्तरंगी समग्रताको निष्ठामा बाँच्नेहरूको कथा छ ।
पारम्परिक रूपमा लेखिंदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरीत अधिकारीका कथाहरू अति यथार्थवाद र यदाकदा जादुयी यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै कथाहरु सृजना भएका छन्। कृतिले पप-संस्कृति र मिडियाको व्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मावीय विडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को गरेको छ ।
प्रवासीको देश हुन्न कथाकृतिलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य रु.४२५। रहेको छ ।
सीमान्त सम्झना
वीरगन्जको सामाजिक र आर्थिक इतिहास समेटिएको कृतिलाई गणेशप्रसाद लाठले लेखेका हुन् ।सीमान्त सम्झना एउटा उत्सुक बालक–किशोरले देखेको आफ्नो घर –समाजको रुपान्तरणको संस्करण हो । विज्ञान र प्रविधिका आविष्कारहरुले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरुको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएनस यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पुरा हुँदैन भन्ने कुरालाई कृतिले प्रष्ट्याएको छ । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ ।
एउटा उत्सुक मनको बालकले देखेको आफ्नो घर समाज यहाँ छ ।सरल कथ्य शैलीमा आएको यो संस्मरणले उतिबेलाको विरगञ्ज बुझाउँछ ।
सीमान्त सम्झना लाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो । तीन सय ३२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ४५ रुपियाँ रहेको छ ।







