
निबन्ध
दशैँ चङ्गा र पिङको सङ्गीत
ज्ञानेन्द्र विवश
दशैँ, चङ्गा र पिङको सन्दर्भ र त्यसले छोडेको प्रभाव यतिबेला मालसिरी धुनजस्तै भएर गुञ्जिरहेको छ । यो गुञ्जनको साङ्गीतिक तरङ्ग यति गहिरो, यति प्रिय र यित श्रुतिमधुर छ कि जसलाई सुन्न कान मात्रै होइन मनभित्रैबाट उत्सुकता लालायित भएर आउँछ ।
हाम्रो लोकजीवनमा उत्सवहरू केवल पर्वको परिधिभित्र कैद रहने साधारण औपचारिकता मात्र होइनन् । ती त स्मृति, संवेदना र भावुकताका बहुरङ्गी अध्यायहरू हुन्, जहाँ बाल्यकालका निश्चल खुसीहरू मगमगाउँछन् । विशेष गरी दशैँ, केवल नवदुर्गाको पूजाअर्चना र दही–अक्षताको सेतो–रातो आशीर्वादमा मात्रै सीमित कहाँ रहन्थ्यो र ? यसका त आफ्नै पृथक् रङ्गहरू थिए, आफ्नै मिठा धुनहरू थिए । अनि आफ्नै उन्मुक्त शारदीय आकाशहरू थिए ।
वस्तुतः दशैँ आउनु भनेको शरदको नीलो आकाशमा उन्मुक्त भई उड्नु पनि त थियो ।
त्योबेला गाउँघरमा आजको जस्तो रङ्गीचङ्गी चङ्गा कहाँ पाउनु र !? बनीबनाउ चङ्गा हुँदैनथ्यो । आफ्नै सीपले जानीनजानी एउटा बाँसलाई सिधा पारेर अर्को बाँचलाई बङ्ग्याएर भातको माडले टाँसी काम चलाउ चङ्गा बनाइन्थ्यो । धागोको सन्तुलन मिलाएर त्यसलाई उडाइन्थ्यो । तर त्यो चङ्गा आकासिएर उठ्थ्यो । त्यस्तो चङ्गा प्रायः पुराना पत्रपत्रिका वा नेपाली कागजको बनाइन्थ्यो ।
यसरी आफूले बनाएको चङ्गा आकाशमा उडेको देख्दा आफू पनि सानोतिनो आविष्कारै भएझैँ भान हुन्थ्यो । मनको खुसी चङ्गासँगै आकाशिन्थ्यो । त्यो खुसी चङ्गा चेट भएर खस्दा डङ्गरङ्ग भुईमा ढलिन्थ्यो । त्यो ढलाईमा छिनभरको खुसी पलभरमै समाप्त हुन्थ्यो । फेरि केहीबेरपछि मनलाई धामथुम पारी सम्झाएर अर्को चङ्गनाइन्थ्यो । मायाले सुम्सुम्याएर त्यसलाइ लट्टाइको धागोले बाँधेर फकाउँदै आकाशतिर पठाइन्थ्यो । मनको अपूर्व खुसी बोकेर चङ्गा उड्थ्यो ।
दशैँको बिहानीपख जब सिरेटोले छाला छुन्थ्यो, तब घरका आँगन, बारीका पाटाहरू, बाटोका छेउ, चौर आदि चङ्गा उडाउने साना–साना मञ्चहरूमा परिणत हुन्थे । लट्टाईमा जेलिएको धागोलाई छाड्दै र तान्दै गर्दा आकाशमा फुक्का भएर बहने त्यो कागजको चङ्गा उडाउनुको आनन्द साँच्चै बेग्लै हुन्थ्यो ।
हावाको बेगलाई समातेर चङ्गालाई फकाई फुलाई गरी आकाशमा त्यसलाई उडाउनु र त्यो उडाउनुको खुसीलाई आफूभित्र आनन्दले आत्मसात गर्नुको पल कति अल्हादकारी हुन्थ्यो ! आज सम्झँदा पनि मन तिनै दिनहरूतिर फर्किएर एकछिन भएपनि रमाउन पुग्छ । यसरी पुराना दिनलाई सम्झनु भनेको आफू स्वयम् ती बाल्यकालीन दिनतिर फर्किनु पनि हो ।
नीलो क्षितिजमा जब आफ्नो चङ्गा अरूका चङ्गाहरूलाई उछिन्दै अझ माथि, अझ माथि पुग्थ्यो, तब मन पनि त्यसैगरी कुनै अनाम उचाइतिर उचालिन्थ्यो । सानो खिनौटे धागोको चलाखीपूर्ण धक्का र तानमा जब अर्को चङ्गाको धागो छिन्थ्यो अनि पारदर्शी आकाशमा ‘चेट’ ‘चेट’ को गुञ्जन गुञ्जिन्थ्यो । मनभित्र एउटा महायुद्ध जितेजत्तिकै विजयोल्लास छाउँथ्यो । साथीहरूको भीडमा त्यो शान, त्यो अहम् र त्यो चमक शब्दमा वर्णन गर्न असम्भव लाग्थ्यो ।
परन्तु, सधैँ विजयको उत्सव मात्र कहाँ आइरहन्थ्यो र ! जिन्दगीको गतिजस्तै आकाशको खेल पनि अनिश्चित थियो । भर्खरैसम्म आफ्नो सामीप्य र नियन्त्रणमा रहेको त्यो रङ्गीन चङ्गा जब अरू कसैले चेट पारिदिन्थ्यो, तब मन हठात् खिन्नताको कालोमुस्लो बादलले ढाकिन्थ्यो । धागोबाट अलग्ग भएर हावाको साहरामा असहाय बनी आकाशबाट खस्दै गरेको त्यो चङ्गासँगै आफ्ना सम्पूर्ण खुसी र कौतुकहरू पनि भुइँमा पछारिएझैँ लाग्थ्यो । त्यो क्षण आफ्नै पराजयको एउटा मर्मस्पर्शी परिदृश्य बन्थ्यो ।
अनि सुरु हुन्थ्यो, त्यो चेट भएको चङ्गापछाडिको एउटा जीवन्त र रोमाञ्चक दौड । त्यो चङ्गा खोज्न र त्यसलाई हात पार्न ज्यान नै फालेर कुद्नुको बेग्लै मात थियो । काँडेझारी फाँड्दै, बाटाका ढुङ्गामा ठेस लागेर लड्दै, खुट्टामा काँडाले घोचेको पीडालाई समेत बिर्सिएर चङ्गा भेट्ने एउटै मात्र हतारो हुन्थ्यो । कान्लाहरूबाट निर्भीक भएर फाल हालिन्थ्यो, ज्यानको बाजी लगाएर डरलाग्दा र अग्ला रुखहरूमा चढिन्थ्यो ।
रुखका हाँगाहरूमा अल्झिएर झुन्डिएको त्यो चङ्गा सुरक्षित हात पर्दा लाग्थ्यो– संसारकै सबैभन्दा बहुमूल्य खजाना हात प¥यो । चङ्गा प्वाल परेको ठाउँमा कापीका पाना वा पुराना कागजका टुक्राले टाँस्टुस पारेर, फेरि लट्टाईमा बाँधेर आकाशतर्फ उडाउनुमा जुन पुनर्जन्मको अनुभूति हुन्थ्यो, त्यसले हारलाई जितमा बदल्ने अनौठो पाठ सिकाउँथ्यो ।
गाउँका चौतारा र डाँडाहरूमा हालिएका लिङ्गे र रोटेपिङहरूको कथा पनि त उस्तै रोमाञ्चक थियो । पिङमा बसेर गगन छुने गरी मच्चिँदा ओर्लिने सिरिङ्ग हावाले मनमा बेग्लै उत्साह भथ्र्यो । अरूभन्दा धेरै माथिसम्म मच्चिन सक्दा र आकाशलाई नजिकबाट छुन पाउँदा छाती गर्वले फुल्थ्यो ।
आहा ! ती साना–साना बाल्यकालका प्रतिस्पर्धाहरू ! जहाँ ईष्र्या थिएन, केवल क्षणिक रिस थियो; जहाँ कृत्रिमता थिएन, केवल निश्चल खुसी थियो । हार र जितका ती आफ्नै मौलिक र मिठा स्वादहरू थिए । आज समय फेरिएको छ, कौसीहरू सुनसान छन् र आकाशमा चङ्गाका रङ्गहरू पातलिएका छन् । तर पनि, दशैँको आगमनसँगै स्मृतिमा तिनै पुराना लट्टाई, टाँस्टुस गरिएका चङ्गा र पिङका मच्चाइहरू आज पनि उत्तिकै ताजा र आत्मीय भई गुञ्जिरहन्छन् ।
दशैँको टिका, भेटघलाकुसारी, चङ्गा, पिङ र मेवामिष्ठान्नको कुरा केही दिनमै बिसिसक्दा मन पुनः खिन्न हुन्थ्यो । दशै जानुसँगै कानमा मालसिरीको राग प्रतिध्वनित भइरहन्थ्यो । त्यो सङ्गीत दशैँलाई सम्झाउने परम्परागत धुन थियो । त्यही धुनले दशैँलाई चलायमान पारिदिन्थ्यो ।

