
संस्मरण
सृजना शर्मा
सीमातीत सम्झनामा सीमा
कुरो हो – १९९४-९६ ताका।
स्थान: न्यु क्यान्टोन्मेन्ट जोन, सिक्किम ।
बुबाले भरखरै नयाँ क्वाटर पाउनु भयो । हामी पनि उत्साहित थियौँ अब बस्तीको जीवनबाट क्वाटरमा गएपछि धेरै कुरा बद्लिन्छ भनेर । पुगेको भोलीपल्ट एउटी काली, खिन्यौरी, हड्डी र छालाको काया मात्रै देखिने, कालो कपाल तेलले लिछ्रिप्पै पारेर दुई चुल्ठा राता रिबनले बाँधेकी र कम्मरमा २ वर्ष जतिको एउटा सानो शिशु बोकेकी केटी टुलुटुलु हेर्दै मसक्क मुस्कुराइरहने हिस्सी परेकी केटीसित मेरो भेट भयो । उसको नाम सीमा विश्वास । उसका पिता उहिल्यै डिगबोयबाट गएका रे । तर मैले थाहा पाउँदा तिनीहरू कहिल्यै असम फिरेनन्, न त ‘देश’ नै गए । पछि भने सिलगढीतिर घर बनाएका छन् रे। तर २ दशक बित्यो ऊसित भेट भएको छैन ।
आज मेरी कथा नायिका सीमा विश्वास । मैले जीवनमा चिनेका दुईजना सीमा विश्वास छन् । एकजना यो खिन्यौरी मेरी किशोरी सखी तथा अर्की भने –ब्यान्डिट क्विन (Bandit Queen)की नायिका । ब्यान्डिट क्विन डेन्जोङ हलमा लाग्दा एउटा ब्यानर साथै लागेको थियो – त्यसले हामीलाई (म जस्ता किशोरीलाई) त्यसबेला उक्त फिल्म हेर्न प्रतिबन्धित थियो – हाम्रो उमेरले गर्दा । तर जिज्ञासा न हो, प्रतिबन्धनमा परेका यस्तै धेरै कुराप्रति किशोर मन अझ बढी तानिने रहेछ । यद्यपि जीवनमा मैले पनि केही यस्ता प्रतिबन्धनलाई तोडेकी छु । चाहे त्यो ब्यान्डिट क्विन हेर्ने प्रतिबन्ध होस् अथवा कुनै पुस्तक पढ्न लाइएको प्रतिबन्ध । यस्तै प्रतिबन्धित पछिल्ला पुस्तक पढ्ने र आफ्ना टेक्स्टबुक बाहिरका कुरा पनि थाहा पाउनै पर्ने जिज्ञासाले गर्दा नै मार्क्सवादी साहित्य हुँदै अध्ययन क्रममा पारिजात मेरो झोलामा परेकी हुन् । रातो खोल भएको चे ग्वेभेराको जीवनी र पारिजातका २ थान पुस्तक च्यापेर उत्तर बङ्ग विश्वविद्यालयको लाइब्रेरीबाट निस्कँदै गर्दा मेरा एमफिल पढ्ने एकजना दाजुले मलाई हेरेर व्यङ्ग्य गर्दै “तिमी त पारिजात पो बन्न खोज्दैछौ । नबन । तिम्रो वशमा यी सब छैनन् । भनेर नचाहिदो टिप्पणी गरेको र त्यसपछिका जम्काभेटमा सदैव मलाई व्यङ्ग्यात्मक मुस्कानद्वारा छेड हानेको म कहिल्यै बिर्सन सक्तिनँ । अझ हाम्रा गुरुदेव मोहन पी। दाहाल सरले एकपल्ट पारिजात पढाउने क्रममा पारिजातको महत्ताहीन, शिरीषको फूल र केही राता पुस्तक पढ्नेहरूले जीवनको व्यर्थता बोध गर्दै झुण्डेका प्रसङ्गहरू कक्षामा सुनाइरहँदा मेरा साथीहरू सबैले एकैचोटी मप्रति हेरिरहेको दृष्टिलाई पनि मैले भोगेकी छु । यस्ता प्रतिबन्धनहरू तोड्ने जाँगर सीमा विश्वासको फिल्मताका पनि थिएछ ।
आज भने अर्की सीमाको कुरा गर्न मन लागेको छ । यो सीमा मेरी सहपाठी होइन । ऊ त विद्यालय पनि जाँदैन थिई । २ क्लास पढेपछि उसकी आमा आर्मी स्कुलमा एउटा सहायक कार्यमा काम गर्न जाने भएका कारण उसको विद्यालय छुटेको रहेछ । आफूले ‘कान्हा’ भनिने कान्छो भाइको स्याहार संभार गर्नु पर्ने, दिउसोको खाना बनाउनु पर्ने, बेलुकीको खाजा पनि उसैको जिम्मामा । त्यो १३-१४ वर्षकी बालिकाले बाटुला पातला रोटी मजाले बनाउने गर्थी । दिउँसो भने ऊ कान्हालाई कम्मरमा गाग्री च्यापे जसरी च्यापेर हामीकहाँ आउँथी, विशेष म ४ बजे विद्यालयबाट फर्केपछि मसित गोटी, अम्बल डम्बल, बक्स अनि टोल वा गुच्चा खेल्न । म खोप्पी र टोलमा त्यसभेकमा डन । कसैले पनि जित्नै नसक्ने । टोल भनिने मार्बल त मैले एमए पढिन्जेल खेलेँ, गोटी पीएच डी गर्दासम्म नै यथावत् खेल्थेँ । तर अब भने छुटेका छन् ती चिप्ला साना गोटीका डल्ला । सीमा सदैव सेता दाँत देखाएर, कान्हाको पातलो कपाल पनि तिब्बती महिलाको केशविन्यासकै छाँटमा बाँटेर फिरिरि सेता-राता रिबनले चिटिक्क परेर मकहाँ धाउँथी । म मेरा विद्यालयका कविता र बालगीत सिकाउँथे । उसले टिप्थी । हिन्दीसितै नेपाली पनि बोल्थी, मैले बङ्ला उसैबाट सिक्ने अवसर पाएकी हुँ । यसरी हामी एकार्कालाई सिकाउथ्यौँ । म आठ क्लासमा पुग्दा भने सीमाका पापाले पनि एकदिन उसलाई रातो कालो टाइ र सेतो सर्ट अनि विद्यालयको युनिफर्म हालिदिए र आर्मी स्कुलमा ५ क्लासमा भर्ना गरिदिए । बिचरी, उसका समकालीन हामीहरूले हाइस्कुल सक्नै लाग्दा अङ्ग्रेजी मिडियममा ५ क्लास छिचोल्न उसले सकिन । ३ पल्ट फेल भएपछि उसको विद्यालय जीवन टुङ्गियो । तर यस अन्तरालमा मैले जानेका कुरा उसमा थुप्रै सारेकी थिएँ । सूर्य भनेको हिलियम र हाइड्रोजन ग्यासको गोलो हो भनेर मैले भनेका दिनदेखि उसको निद्रा हराएको थियो । उसलाई सूर्यदेव खुबै मन पर्ने । शुक्रबार ऊ सन्तोषी माताको व्रत बस्थी, आमाको अत्याचारी शासनबाट सन्तोषी माताले मुक्ति दिलाउने विश्वास थियो उसलाई । हुन पनि कर्कशा उसकी आमाको हात धेरै जसो उसको तेल लाएर सिपिक्क कोरेको चुल्ठोमै पुग्थे । त्यसपछि केही दर्जन लिखा, लिसा टासिएका कपाल आमाको हातमा पर्थ्यो । यसरी बाल्यकाल हाम्रो उत्ति रहरलाग्दो लाग्दैन । निकै नै हामीले अस्वस्थकर परिवेश पाएका छौँ, झण्डै आनी छोयङ्को बाल्यकाल जस्तै ।
सीमामा पनि एकदिन बैंस चढ्यो । उसले पनि कैशोर्यजन्य काउकुती अनुभव गर्न थाली । हामी ग्रोसरी, डिफेन्स हल आदि जाँदा उप्रति उठेका आँखाप्रति उ निकै सजग बन्न थाली । अनि हाम्रो अत्यन्त सुखद किशोरजन्य परिवेशमा एउटा हो – विश्वकर्म पूजा ।
हो !आज विश्वकर्म पूजाका दिन बिहानैबाट सीमा धेरै याद आइरही । यसैले ल्यापटपका यी अक्षरहरूमा मैले मेरो किशोरावस्थालाई सजीव तुल्याउन बाध्य बनेकी छु । त्यसताका हामी आजको दिनको धेरै पूर्वतयारी गर्ने गर्दथ्यौँ । हामीलाई खै किन हो कुन्नी विश्वकर्मा पूजाको निकै महत्त्व हुन्थ्यो । मानिसहरू आफ्ना औजार आदि पुज्ने गर्दथे । हामी एकदिन अघि नै किनमेल गर्न जान्थ्यौँ । बेलुकी साँझ नपर्दै रातको खाना बनाइसकेर विभिन्न किसिमका रङ्गी चङ्गी सारीमा आफूलाई सजाउथ्यौँ । हो, त्यसताका हामीलाई सारी लाउने खुबै रहर । अरूबेला करिश्मा कपुरका पुराना फिल्ममा देखिएजस्तै कुर्कुच्चा पुग्ने कुर्ता ह्याङ्गर झुलाएजस्तै फेसनमा रमाउने हामीले आजको दिनभने खुबै सजिएर पूजा घुम्न जान पाउने गर्दथ्यौँ ।
घरबाट आन्टी अङ्कल आदिको १५-२० जना छिमेकीहरूसितै जाने र उनीहरूकै हुद्दामा फर्किनुपर्ने उर्दी बुबाबाट जारी भइसकेपछि सारी लाएर जाने रहरले गर्दा राजी हुन्थ्यौँ । सारी लाएर, कानमा लुर्कना अनि घोडाको खुरजस्तो टप टप बज्ने हिलवाला स्यान्डलमा हामी बाङ्गा खुट्टा लाउँदै ६ बजे झमक्क पर्दा निस्किन्थ्यौँ । पहिलो गन्तव्य भनेको पावर हाउस वा पावर स्टेसन हुन्थ्यो । त्यहाँ मैले जीवनमा पहिलोपल्ट देखेको भव्य पूजा आयोजन हुने गर्दथ्यो । पर बाटैबाट झिलिमिलि टिमिक टिमिक बत्तीले सजाएऱ, रङ्गीन पेपर र ट्युबलाईटलाई मिलाएऱ बनाएको गेटले हामीलाई टाढैबाट प्रसन्न बनाउथ्यो । त्यसपछि ढोलक अनि चर्को आवाजमा मिसिएको भजन आदि अनि ८ बजेपछि भने कार्यक्रम आरम्भ हुन्थ्यो । त्यहाँ साना ठुला थुप्रै मानिसहरूले नाच्ने र बजाउने गर्दथ्ये । अन्तिमको आयोजन भनेको कोइला बल्दैगरेको धुपौरो मुखमा राखेर ढोलकको तेज थापमा नाच्ने नाच हुन्थ्यो । ओह ती दिन !! उठी उठी, घुमी घुमी हामी ती कार्यक्रम हेर्थ्यौ । फेरि एम.इ.एस, इ.एम.इ आदि वर्कसपमा आयोजन भएका पूजा पण्डाल हेरेर, प्रसाद लिएऱ हामी फर्कन्थ्यौँ र बाटोमा फेरि एउटा स्थलमा भने भिसिआरमा त्यससमयको प्रचलित फिल्म पनि देखाइन्थ्यो । हामी बालबालिकाहरू सिँढीमा बसेर, पाखामा बसेर अबेरसम्म ती फिल्म सकेर मात्रै उठ्थ्यौँ । आहा ती दिन । ब्ल्याक एन्ड वाइट टिभी हेर्न आइतबार नै कुर्नु पर्थ्यो । अझ चन्द्रकान्ता सिरियलको मोह र महाभारत, रामायणको मोहनी लाग्ने ती दिन कति रमणीय थिए । समय फर्किन्छ भनेको हो रहेछ । आजभोली लकडाउनमा पुनः महाभारत, रामायणको प्रसारण थालिएको छ । आजभोली पनि त्यसताकाका पुस्ताहरूको रूची अरुण गोभिल, नितिश भारद्वाज आदिलाई हेर्न उस्तै उद्दत देख्छु म । मैले कृष्ण भनेको नितिश भारद्वाज नै होलान्, गोभिल जस्तै थिए होलान् राम र रूपा गांगुली नै होलिन् ती दुखिया द्रौपदी भनेर निकै पछिसम्म यी अमर गाथाका पात्रहरूमा हाम्रा नायकलाई कल्पिरहन्थे । पछि पो थाहा भयो यी त त्यस महाकाव्यका कालजयी पात्रहरू पो रहेछन् । पछि भाषा विज्ञानमा अभिधा, लक्षणा र व्यञ्जना अनि भरतको नाट्यशास्त्रबारे पढ्दा र नाटकको साहित्य सिद्धान्त पढ्दा यी पात्रपात्राका माध्यमबाट साहित्य सूधाको मर्म अझ प्रष्टिएको हो । आज भने ती अमर पात्रहरू स्मृतिको एउटा पाना बनेका छन् । यस्तै स्मृतिमा हामी सबै किशोरीहरू खुब ठाँटिएर घुम्थ्यौँ पूजा, कोहीबेला गान्तोकको सिरेटो र सिमसिम पानीले हाम्रो सारी निथ्रुक्क भिज्थ्यो र पनि मैले बिए पढिन्जेल पूजा जाने अवसरमा गइरहेँ । आहा, ती उत्सव अनि त्यो कैशोर्य । यस्तै एउटा पूजामा आउने प्रणय निवेदनलाई हामीले धेरै पछिसम्म पनि हाँसेरै उडाएका घटना पनि याद आइरहेको छ । ती कैशोर्य अनि हाम्रा दाजुका साथीहरूको प्रणयशील निवेदनलाई हामीले राखीको परिधिमा बाँधेर निमोठेका घटनाहरू सम्झँदा मानवीय संवेदना र त्यसको कुटिलताप्रति एउटा जिज्ञासा जाग्दछ ।
त्यसबेलाका थुप्रै नो (NO)हरूले नै मेरो भविष्य निर्धारण गरेको जस्तो आज लागिरहेको छ । हो “थुप्रै नो (NO) र थुप्रै यस (YES)” को कुल संयोजन आजको मेरो वर्तमान हो । आज म जे, जस्तो र जहाँ छु ती सबै त्यसकालका नो र यसकै परिणति रहेछ जस्तो लाग्दछ । कैशोर्य प्रणयहरू साटासाट गर्ने अन्य किशोर किशोरीहरूको त्यो पूजाको समय हाम्रा लागि भने सारी लाउने, मीठा प्रसाद पाउने अनि खुब रोचकतासित भीडको अग्रपङ्क्तिमा बसेर नाच हेर्नमै सीमित रहन्थ्यो । यसकालमा मेरी अनन्य मित्र थिइ -सीमा । म बिए पढ्दासम्म उसित भेट हुन्थ्यो । त्यसपछि पातलियो भेट र २ दशक प्लस भएछ हामी नेदेखेको नभेटेको । खै किन हो, उसको बिहे गराएनन् उसका पिताले, सम्भवतः पैसा वा दाइजोको जोहो गर्न सकेनन् क्यार । बङ्गाली केटी, रूप साधारण तर हिसी परेकी, सीप भनेको घरेलु काम सबै जान्ने भए पनि शिक्षाको ज्योतिबाट वञ्चित उसले यो दाइजोको भूतले गर्दा होला उसको जीवनमा कुनै गुराँस फुलेन । बाबा आमाका जिम्मेवारी, भाइबहिनीको लालन पालनमा उसले सहकार्य गर्दा गर्दै उसको कैशोर्य बित्यो ।
त्यसपछि सम्भवतः उसको बिहे आर्थिक कारण नै पछि पर्दै ओझेल परेको छ । आज त्यही किशोरी सीमालाई सम्झिरहेकी छु । हाम्रा साना साना सिक्रेट किपिङ, साना साना उत्सव अनि उसका पिता आमाको कुटाइ, दाइको उत्पीडन सहन नगर्न मैले दिने गरेका घोट्टा जस्ता उपायहरू सम्झँदा आज ती दिन सम्झेर कल्पिरहेकी छु । सीमाको त्यो हिस्सी परेको मुहार र अर्धबङ्गाली मिश्रित नेपाली बोली पनि स्मरण भइरहेको छ । आज पनि विश्वकर्मा पूजा लिभिङतिर आयोजन गरियो होला, आज पनि विश्वकर्मा देवताको उस्तै भव्य आह्वान भयो होला, यद्यपि ती आयोजक एम.इ.एस.का कर्मचारी अङ्कल आन्टीमध्ये धेरैजना हामीमाझमा हुनुहुन्न । हाम्रै समकालीन साथीहरू पनि नहोलान्, अझ यो कोरोनाले गर्दा आज पनि त्यस्तै भव्यता भएन होला, भिसिआरमा सपने साजन के, हम हैँ राही प्यार के, अन्दाज अपना अपना, डिस्को डान्सर जस्ता फिल्म देखाइँदैनन् होला, तर पनि विश्वकर्मा भगवानको आह्वानले डिफेन्स एरिया र न्यु क्यान्टोन्मेन्ट जोन उस्तै देवप्रिय बनेको होला ।
लाग्छ- विश्वकर्मा भगवान साँच्चै हुनुहुन्छ – किनभने हामीले त्यहाँ त्यत्रो श्रम गरी उत्सव मनाउने भगवान नभएर सुख छ त रु आज मैले विश्वकर्मा पूजनका झलकहरू मोबाइलका पर्दामा महङ्गा गाडी पूजनमा उद्दत मेरा फेसबुके आफन्तजनकहाँ देखिरहेँ दिनैभरि । तर सम्झनामा भने त्यहीँ ख्याउटी काली केटी असरल्ल आइरही बिहानैदेखि । विश्वकर्मा पूजा र विश्वकर्मा भगवानले हामी सबैलाई सिर्जनशीलतातिर डोहोऱ्याइरहुन् । अस्तु:
१७-०९-२०२०







