
अभिशप्त कुइनेटाहरु
जीवराज भट्टराई पत्रकारितामा राम्रो जमेका पत्रकार हुन् । उनले हालै अभिशप्त कुइनेटाहरु कथासंग्रह बजारमा ल्याए ।
नेपाली समाजका विभिन्न आयामहरुमा उनले लेखेका २२ वटा कथाहरु यस कृतिमा परेका छन् । यसमा गाउँका कथाब्यथा परेका छन् । शहरका मर्काका कथा पनि छन् । विभिन्न पात्रका मनोदशालाई मज्जैले चित्रण गरेर कथा बुन्न सिपालु भट्टराई नारीका पीडामा कथा मार्फत बोलेका छन् । कुनैकुनै कथाहरु बौद्धिक छन् । नेपाली समाजलाइ सन्देश दिने कथाहरु पनि छन् । उनी सामाजिक यथार्थवादी धरातलमा टेकेर कथा लेख्छन् । आर्थिक समस्याले ग्रस्त जीवन,पुरुष विदेशिएपछि महिलामा देख्रिएको मनोदशा,राजनीतिलाई ठगी खाने पेशा बनाउनेहरु चरित्र चित्रण,सामान्य पोष्टमा कार्यरत कर्मचारीको दैनिकी,वैदेशिक रोजगारका समस्या लगायतका यावत वर्तमान युगको यथार्थतालाई कथाहरुले सत्यापन गरेका छन् ।
कथाहरु आकारका दृष्टिले लामा छन् । विषयवस्तुका हिसावले आम समाजका विभिन्न विषयवस्तुहरुप्रति लक्षित छन् । पात्रहरुको उपयुक्त चयन छ । भाषाशैली सरल छ । छोटा र छरिता वाक्यहरु निर्माण भएको छ ।
अभिशप्त कुइनेटाहरुलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो ।
एक मुठी घाम
विभिन्न विधामा उत्तिकै कलम चलाउने स्रष्टा हुन् इन्द्रकुमार श्रेष्ठ सरित् । अहिलेको व्यस्त समयमा लघुकथा लेखनीम बाढी आएको छ । यहि बाढीमा मिसिएका सरित्को एक मुठी घाम भित्र विषयगत विविधताका ४१ थान लघुकथाहरु संगालिएका छन् । अन्याय अत्याचार विरुद्ध आवाज उठाउनु र समकालीन राजनीतिको विद्रुप चरित्रमाथि खवरदारी गर्ने लघुकथाहरु पनि यसमा समेटिएका छन् । यसमा व्यँगात्मक लघुकथाहरु पनि छन् । काठमाडौका पानी लगायतका यावत समस्याहरु पनि लघुकथाका विषयवस्तु बनेका छन् । द्धन्दकालीन कथा पनि छ । यस्तै विविध विषयवस्तुमाथिको कथानकतामा लघुकथाहरु बुनिएका छन्। यतिमात्र हैन् साहित्य पनि कथामा जोडिएका छन् । देशको अस्मिता संकट पर्दा उनी पनि यहि विषयमा लघुकथा लेखेका छन् ।
उनका लघुकथा राजनीतिक चतले ओतप्रोत छन् र राजनीतिकै सन्निकटमा धेरै थान लघुकथाहरु लेखिएका छन् ।
यथार्थपरक धारमा लघुकथाहरु लेखिएका छन् । यावत क्षेत्रका विकृति र विसंगतिमाथि चित्रण गरेर कथा लेख्नु सरित् को खुवी देखिन्छ । शिर्षकहरु बिम्बात्मक चयन गर्नु,प्रतिकात्मक हुनु उनका लघुकथाह्ररुको विशेषता लाग्छ । लघुकथाका पात्र चयन,घट्ना र परिवेश चित्रण बिच मज्जैको तालमेल छ ।
श्वेताम्बरा
भानुप्रकाश जोशीको कवितासङ्ग्रह हो ।
सरलता उनको कविताको विशेषता हो । १८ वटा छोटा कविताहरु समावेश गरिएको यो कृति बालकविता,बालगीत,मुक्तक,हाइकु गीत आदि समेत समावेश गरिएको मिश्रित काव्य कृति बनेको छ ।
यसमा नारीभावका कविता छन् । कोरोना कहरको पीडा बोलिएको छ। बालमनोविज्ञान राखिएको छ । शुभकामना र शुभेच्छाहरु कविता मार्फत गुञ्जाइएको छ । विभिन्न रुपमा पुज्ने देवताप्रतिका सम्बोधनहरुका भावहरु व्यक्तिएका छन् । जीवनको रंग,गरिवी हटाउन धनकी देवी लक्ष्मीको पुकार गरिएका छन् । साधारण लेखपढ गर्ने मान्छेले पनि कविताको भाव र मर्मलाई बुझ्नसक्छ ।गहिरिएर पढ्न पर्दैन् । साह्रै सरल शब्दहरुद्धारा कविता बुनिएका छन् ।
श्वेताम्बरा लाई नारी स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो ।









