
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्।
सप्तकोशी नदीको बाढी पसेर तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ वटा घर डुबानमा परेका हुन्। घर–घरमा एक्कासि बाढी पसेपछि खाद्यान्नमा समेत क्षति पुगेको छ। बाढी घरमा पसेपछि वृद्धवृद्धा र बालबालिकालाई कोशीको पश्चिमी तटबन्धमा सुरक्षित स्थानमा राखिएको छ।
बोदेबरसाइनस्थित सशस्त्र प्रहरीको बीओपीसमेत कोशीको बाढीले डुबानमा परेको छ।
बाढीका कारण खानपिनदेखि बस्नसमेत समस्या भएको बाढी पीडित जलेश्वर मुखियाले दुस्खेसो गरे । स्थानीय जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पीडितलाई सुरक्षित स्थानमा राख्नेदेखि खानपिनको व्यवस्थापन गरिरहेको जनाएका छन्। बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको र आवश्यक राहत सामग्री उपलब्ध गराउनेतर्फ जुटेको तिलाठी कोईलाडी ५ का वडाअध्यक्ष ललनप्रसाद राउतले बताए।
यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित कोशी तटीय क्षेत्रमा ८० वटा घरमा बाढी पसेको छ। वडा १३ स्थित गोबरगाढाका ६० वटा घरसमेत डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए। घर–घरमा बाढी पसेपछि स्थानीयलाई खाना पकाउनदेखि बस्नसमेत समस्या भएको छ। पीडितहरू अग्लो स्थानमा आश्रय लिएर बसिरहेका छन्।
कोशी नदीमा प्रतिसेकेन्ड ३ लाख क्युसेक बहाव पुग्नेबित्तिकै यस क्षेत्रमा बर्सेनि बाढी पस्ने गरेको छ।
