
कृति : फूलबिनाको शाखा
विधा : गजल
गजलकार: चंकी श्रेष्ठ
हिजोका चंकी श्रेष्ठ आजका अभय श्रेष्ठ अर्थात चल्तिका उम्दा कवि । उनको गजलसंग्रह फूलबिनाको शाखा विशिष्ट रत्यात्मक आनन्दले भरिपूर्ण छ । यसले मरुभूमीमा पानीको महसुस हुँदाको अनुभूति गराउँछ । कोमलता,शालिनताले लछप्पै भिजेका तर धारिला प्रहारले भरिएका कवित्व क्षमताको प्रभाव मज्जैले देख्न पाइन्छ यो कृतिमा । कविमा अनुभूतिलाई अभिव्यक्त गर्ने भरपूर क्षमता भएको संकेत गजलहरुबाट मिल्छ ।
प्रेम मात्र नभएर आम मान्छेका दुखपीडा,अनुभूति र समाजका उतिवेलाका वेथितीहरु यसमा अटेका छन् । तिनीहरु उपर दर्विलो हमला गरिएका छन् । गजलहरु सन्देशप्रद लाग्छन् । प्रेमभाव र शृँगारिकताभन्दा पर रहेर सामाजिक यथार्थवादलाई आफ्ना गजलहरुमा आत्मसात गरेका छन् ।
लालित्यपूर्ण भाषा शिल्पमा अभिव्यक्त गर्न सीपालु कवि हार्दिकताले भरिएका कोमलताले कोरिएका गजलतत्व रहेका गजल कोर्न रुचाउँने संकेत गजलहरुले पुष्टि गरेका छन् । गेयता,रदिफ काफियाको राम्रो प्रस्तुति ,मनहारिता,प्रतिकात्मकता,कलात्मक सुक्ष्मता उनका गजलका विशेषता लाग्छन् ।
यो सुन्दर गजलसँग्रह फूलबिनाको शाखालाई वि.सं.२०६० मा विवेक सिर्जनशिल प्रकाशनले बजारमा ल्याएको हो ।
कृति : एउटा फर्जी घोषणा विरुद्ध
विधा : कवितासंग्रह
कवि : नरेश शाक्य
नरेश शाक्य मानवीय संवेदनाले भरिएका कवि हुन् । जनताका पीर मर्कालाई शब्दमा बडो बिम्बात्मक रुपमा उधिन्न रुचाउँछन् । जनताका कवि शाक्य नवीन भाव,रचनात्मक दृष्ट्रिकोण,मान्छेका पीडा,भूइँमान्छेका सपना आदि विषयलाई कवितामा अनुदित गर्छन् । विचारका हिसावले प्रगतिवादी कवि हुन भन्न गाह्रो पर्दैन् ।
यस कृतिभित्र करिव एक सय थानको हाराहारीमा कविता समावेश भएका छन् । देशको बेथिती र अन्यौलताले कविमन दुख्छ र त्यस्ताका विरुद्ध आक्रोशको आँधी उराल्छन् कवि । नेताह्रुको नकारात्मक चरित्रमा आक्रोश ओकल्छन् । उज्यालोको प्रचुर चाहानाहरु मुखरित भएका कविता लेखेका छन् कवि शाक्यले । कविमन जहिल्यै सत्यको पक्षमा घोत्लिएको छ । भन्न सकिन्छ कविमन जस्तो छ उनका कविता त्यस्तै छन् । बिम्ब र प्रतिकहरुको सही सन्तुलनको प्रयोगले कविताहरु पठनीय लाग्छन् ।
एउटा फर्जी घोषणा विरुद्ध जनमत प्रकाशनले प्रकाशित गरेको हो ।
कृति : अप्रेशन थिएटर र अरु कविता
विधा : कवितासंग्रह
कवि : एसपी लोचन
चिकित्साशास्त्र पढेका कविले जिन्दगीलाई इन्द्रेणीको संज्ञा दिएर जीवनका विभिन्न पक्षहरुको उजागर गरेका छन् । प्रेमका सुन्दर भाव,मानवीय संवेदनाका विविध पक्ष,मान्छेका स्वार्थ लगायतका विषयमा कविता मार्फत कविको अभिव्यक्ति प्रकट भएको छ । कविताहरु विषयगत विविधताले भरिएका छन् । ३० वटा लामा छोटा कविताह्रु यस कृतिभित्र छन् । कवितामा सरलता र स्पष्ट वाणीहरु छन् । विद्रोहका,निराशाका,प्रणय भावका कविताहरुले कृति भरिएको छ । देशप्रेम र वलिदानका कविता पनि यहाँ छन् । समसामयिक चेतयुक्त र मानवीय संवेदनाका विषयले पनि स्थान बनाएका छन् । कविले भावुक हुँदै भोक र अभावले मर्नुपर्ने परिस्थितितिर संकेत गर्दै विगतको द्धन्दको घाउहरु औल्याएका छन् । समग्रमा भन्नुपर्दा समाजका विसंगतपक्षहरु कवितामा आएको छ ।
सरल,सुन्दर शब्दमा कविता आएका छन् । कविको बिम्बात्मक चेतलाई पाठकले मज्जैले स्पर्श गर्नसक्छ ।
अपरेशन थिएटर र अरु कवितालाई वाणी प्रकाशनले २०६५ सालमा प्रकाशनमा ल्याएको हो ।








