
१.
माया सबैले गर्छन्, सबै माया साँचो हुँदैन
साथी सबै बन्छन्, सबै साथीको खाँचो हुँदैन
अमर भए साँचो प्रेम गर्नेहरू इतिहास बनी
माया बुझेर लगाए त्यो कहिल्यै काँचो हुँदैन ।
२.
मबिना तिमी पनि अधुरोअधुरो नै हुनेछौ
मेरो यादमा पलपल तड्पिँदै तिमी रुनेछौ
चोखो माया मन्दिरमा सजिन्छ मर्दैन कहिल्यै
मेरो जस्तो माया पाउन मठमन्दिर छुनेछौ ।
३.
जब यादहरूले सताउन थाल्छन्, तिमीलाई सम्झन्छु
जब अतीतले तड्पाउन थाल्छन्, तिमीलाई सम्झन्छु ।
न सम्हालिन्छ न जोडिन्छन् बिछोडले दुखेका घाउहरू
जब रातहरूले जलाउन थाल्छन्, तिमीलाई सम्झन्छु ।
४.
हाँस्न सिक्नुपर्छ जीवनमा, रुवाइ त आफैं आउँछ
नाँच्न सिक्नुपर्छ जीवनमा, दुखाइ त आफैं आउँछ
हुँदा हाँस्ने नहुँदा रुने कहिले गर्नु हुँदैन जीवनमा
बाँच्न सिक्नुपर्छ जीवनमा, भोगाइ त आफैं आउँछ ।
५.
किन हो कसैकसैको माया यति धेरै ला’को
एकैपल पनि उनीबिना बर्षौंबर्षझैँ भा’को
मरेपछि मात्र मान्छेले मान्छेलाई भुल्छ भन्थे
जिउँदै छु, कसरी बैगुनीले मलाई भुलेर गा’को ।









