
सबै पहेंलो धातु सुन हुँदैन । सुनको लेनदेन व्यवसाय गर्ने व्यापारीले सुनै भए पनि कसिमा घोटेर हेरे बिना त्यो वस्तु सुनै हो भन्दैनन् । त्यस्तै प्रतिष्ठित व्यक्तिले भनेको भनाइ भन्दैमा सबै कुरा सत्यतथ्य ठहर्नै पर्छ भन्ने हुँदैन । उनीहरुको भनाइ पनि तथ्य प्रमाणको कसिमा घोटेर हेर्दा प्रमाणले पुष्टि गरेको कुरा मात्र ग्रहण गर्ने हो बाँकी सबै फाल्ने गर्नु पर्छ । जसरी ऊखू खाँदा रस मात्र लिन्छ छोक्रा जति थुकेर फाल्छ भने झैं हुनुपर्दछ ।
राजनीति गर्दै आएका व्यक्तित्वहरुले आफनो विषयगत कुरा होस् या नहोस् भाषणमा बुझेको बुझक्कड जस्तो बनी गफ ठोकी हाल्ने उनीहरुको बानी नै परीसकेको हुन्छ । त्यति मात्र होइन हरेक विषयलाई राजनीतिक दृष्टिले ओतप्रोत गराई लेख्ने बोल्ने गरिरहेका पनि देख्दैसुन्दै आएकै हो । त्यस्तै मध्येबाट एकपूर्व मन्त्रीले लेखेको लेख इन्टरनेट सञ्जालमा प्रचार भइरहेको देखियो । पूर्व मन्त्री भएकोले उनी प्रतिष्ठित व्यक्तित्व ठहर्नु स्वभाविक हो । उहाँले पनि अरुले जस्तै इतिहास भनेर त्यसमा माथि तैरिएर रहेका कुरा मात्र टिपेर बोल्नु त जानेकै देखियो तर विशुद्ध प्राविधिक कुरा समेत नबुझे पनि बुझे जस्तो गरे पछि उहाँका कुराहरु अनर्गल र बकम्फुस रहेछ भनी बुझ्न पाठकहरुलाई कुनै गाह्रो परेन ।
उहाँका लेखबाट उधृत गरिएका अनर्गल कुराहरु
१. कुन सालमा असारमा ३२ दिन हुन्छ भन्ने कुरा निक्र्याैल नहुने मात्र होइन त्यसमा अधिक वर्ष कहिले पर्छ भन्ने पनि थाहा हुँदैन । यसको गणना नमिल्दा असोजमा मनाउनु पर्ने चाडवाडहरु समेत कार्तिकमा पर्न थालिसक्यो । असारे गीत जेठमा गाउनु पर्ने भइसक्यो ।
२. विक्रमसंवत् सुधारका अभियन्ताहरुले अव चाडपर्व १ महिना अगाडीसार्नु पर्ने बताउन थालेका छन् । उहाँहरुको तर्क अनुसार विक्रमसंवत् २४ दिन ढीला भइसकेको छ । यसरी हेर्दा सौरमासका क्यालेण्डरमा पनि सुधार आवश्यक छ ।
३ अर्को कुरा चान्द्रमासका तिथि संवत्मा सौरमासका गते थप्दा आउने समस्या ज्यूँकात्यूँ छन् ।
४ विक्रमसंवत्मा चान्द्रमासको तिथिसँगै सौरमासको गते थपेर प्रयोग गर्दा यस संवत्मा कुनै वर्ष चैत दशैं नै नहुने कुनै वर्ष २ पटक चैतदशैं पर्ने समस्या पनि छ ।
५.प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने अधिकमासको समस्या त कुनै पनि चान्द्रमासको क्यालेण्डरमा हुन्छ नै । यसको कुनै हल निकाल्न सकिंदैन ।किनकि चान्द्रमासको क्यालेण्डरको सैद्धान्तिक अवधारणा सौरमानको भन्दा फरक छ ।
६. चन्द्रमा पृथ्वीको एक मात्र उपग्रह हो । यसले सूर्यको विपरीत पृथ्वीको फन्को मार्दछ । यसले हरेक २७.३ दिनमा पृथ्वीको परिक्रमा पूरा गर्छ । पृथ्वीको गुरुत्वाकर्षण शक्तिले चन्द्रमालाई प्रभाव पारिरहेको हुन्छ ।
७. प्रत्येक २९.५ दिनको चन्द्रमा पुनः यथास्थितिमा फर्किन्छ । चन्द्रमासको संवत् चन्द्रमाको यहि घुम्ने चालमा आधारित हुन्छ ।यसरी हेर्दा १ वर्षमा २९.५ गुणा १२ बराबर ३५४ दिनहुन्छ । त्यसैले ४ वर्षमा अधिकमास हुन्छ । यो कुरा विज्ञान संगत कुरा नै हो ।
८. आजभोलि नेपालसंवत्मा पनि सौरमास क्यालेण्डर निकाल्न थालिएको छ । त्यसमा ग्रेगोरियन क्यालेण्डर जस्तै प्रत्येक ४ वर्षमा छैठौंमहिना अर्थात् चउला(महिना) मा १ दिन थपी अधिकवर्ष मिलाइएको छ ।
यस्ता अनर्गल कुराले कुनचाहिँ नेपालीको शिर ठाडो हुने होला ? त्यसमाथि यी अनर्गल कुरा गर्ने उहाँ नेवार समुदायको प्रतिष्ठित व्यक्ति भएकोले हामी नेवार समुदाय लज्जित हुनु परेको छ । विशेषगरि हामी नेवार समुदाय सचेत रहौं भन्ने अभिप्रायले यो लेख तयार गर्नु परेको हो ।
पूर्व मन्त्री महोदयले लेख्नु भएको “नेपालसंवत्, यसको गरिमामय इतिहास र वर्तमान अवस्था” शीर्षकको लेखमा शुरुदेखि अन्त्यसम्म आद्योपान्त नै जगत हाँस्ने खालको हास्यास्पद भाषण जस्तो लेखले गर्दा आउने भविष्यमा भ्रम सृजना भइ नेपालसंवत्मा नराम्रो आँच नल्याउला भन्न सकिन्न । किनभने यो लेखमा एकदुइवटा होइन अनगिन्ती भ्रमोत्पादक कुरा प्रस्तुतीकरण भइरहेका छन् । जस्तै
१. नेपालमा धेरै संवत् प्रचलनमा आएका भेटिन्छन् । इस्वी ग्रेगोरियन, शक मानदेव,विक्रम हेब्रु हिजरी चिनियाँ(नङ्ली) कलिगत लगायत अरु थुप्रै संवत् हामीकहाँ चलनचल्तीमा देखिन्छन् ।
२.गोर्खाराज्य बिस्तारको माध्यमबाट आजको आधुनिक नेपालको स्थापना गरेपछि नेपालसंवत्लाई हटाएर शकसंवत् प्रयोगमा ल्याउने काम भयो ।
३ नेपालमा शकसंवत् दुईपटक प्रयोगमा आए पहिलो पटक लिच्छविकालमा शकसंवत् प्रयोग भयो । पछि फेरि शकसंवत् हटेर मानदेवसंवत् र त्यसपछि नेपालसंवत् प्रयोगमा ल्याइएको देखिन्छ । दोस्रोपटक वर्तमान आधुनिक नेपाल निर्माण पश्चात् पृथ्वीनारायण शाहले पुनः शकसंवत् प्रयोगमा ल्यायो । यसरी पुनः शकसंवत् प्रयोगमा आउनाको कारण केलाउँदा पृथ्वीनारायण शाहले आफनो पूख्र्यौली राज्यमा प्रचलित संवत् भित्र्याएको देखिन्छ ।
४.नेपालसंवत् फेरि शकसंवत् कै परिमार्जित र विकसित रुप पनि हो । किनकि नेपालको तिथिमिति र चाडपर्वलाई निरन्तरता दिने मात्र होइन त्यसलाई क्रमबद्ध रुपमा मनाउने पद्धति यसमै निहित छ ।
५. पृथ्वीनारायण शाहबाट आधुनिक नेपाल निर्माण भएपछि जुन कारणले हटाइसकेको शकसंवत् नेपालमा पुनःचलाए । राणाहरुले सत्ता हातमा लिएपछि त्यसैको हूवहू नक्कल गरेर शकसंवत् हटाएर वि.सं १९६२ (ने.सं १०२६) मा तिनीहरुले पनि आफ्नै पूर्खासंग जोडेर विक्रमसंवत् भित्र्याए ।
६.चन्द्रसमसेरको पालामा आएर तत्कालीन उज्जैन राज्यमा प्रचलित विक्रमसंवत् लाई नेपालमा प्रचलनमा ल्याउने घोषणा गरे ।
७.नेपालमा विक्रमसंवत् चलाउनु पर्ने पक्षमा तर्कदिंदा अघि सार्ने एउटा मुख्य तर्क त्यतिवेलासम्म नेपालमा प्रचलनमा रहेका संवत्हरु तिथिमा आधारित भएकोले प्रत्येक चारवर्षमा १२ महिनाको सट्टा १३महिना हुनेहुँदा अतिरिक्त एक महिनाको तलव भत्ता बढी खुवाउनुपर्ने बाध्यता हो भन्ने गरेको छ । तर विक्रमसंवत् भित्र्याएको बखत त्यससंवत्मा पनि त्यही समस्या थिए । उज्जैनमा प्रचलित विक्रमसंवत् पनि तिथिसंवत्(लुनार क्यालेण्डर) अर्थात् चन्द्रमास मै आधारित थिए ।
८.नेपालमा भित्र्याइएका बेला श्री ३ चन्द्रसमसेरले संवत्मात्रै भित्र्याएको नभइ केही ब्राह्मण र ज्योतिषले पनि भित्र्याए र त्यसमा गते थप्ने निर्देशन दिए । अहिलेपनि भारतमा राजस्थानका केही भागमा चान्द्रमास मै आधारित विक्रमसंवत् प्रचलनमा छ । अहिले पनि शुक्लपक्ष कृष्णपक्ष गरिन्छ त्यहाँ ।
९. नेपालमा गते थप्ने निर्णय चन्द्रसमसेरको पालामा भएपनि गते थपेर सरकारी कामकाजमा प्रयोगमा ल्याउने काम भीम समसेरको पालामा भएको कुरा प्रो. माणिकलाल श्रेष्ठले उल्लेख गरेका छन् ।
१०.सौरमासको क्यालेण्डरको सैद्धान्तिक अवधारणा भनेको मेषरासि देखि १२ रासिको सूर्यको भोगावधि हो । जसको अवधि ३६५.२५ दिन हुन्छ । अर्को भाषामा भन्दा पृथ्वीलाई सूर्यको परिक्रमा गर्न लाग्ने समय ३६५ दिन र ६ घण्टा हो । त्यसैले सौरमासको क्यालेण्डर भनेको वर्षमा ३६५.२५ दिनको व्यवस्थापन हो । सौरमासको पात्रो भएपनि विक्रमसंवत्मा पनि धेरै खोटहरु छन् । यी सबै उहाँका लेखबाट उधृत गरिएका कुरा हुन् ।
उहाँको अध्ययनको नतिजा
१. त्यसअनुसार नेपालसंवत्को पहिला पाँच महिना अर्थात् कला थिंला गर्दै चिल्लासम्मको पाँच महिना ३० दिन हुने छैठौं महिना अर्थात् चउलामा प्रत्येक वा २९ दिन र ४ ले भाग जाने प्रत्येक वर्ष ३० दिन हुने र सातौं महिना बछला तछला गर्दै कौलासम्म ३१ दिन हुने प्रवन्ध गरेको छ ।
२.यसरी पहिलो ५ महिनाको १५० दिनछैठौं महिनाको २९दिन रपछिल्लो ६ महिना १८६ दिन गरेर ३६५ दिनहुन्छ ।अव ४ वर्षमा एकचोटीचौला महिना को २९ लाई ३०गरिन्छ । त्यसो गर्दा३६६ दिनहुन्छ । यस हिसावले प्रत्येक४ वर्षमा त्यसलाई व्यवस्थित गरेर जान्छ । यो गर्नुपर्नाको कारण सूर्यलाइृ पृथ्वीले परिक्रमा गर्दा लाग्ने ३६५.२५को जुन पद्धति छ त्यो ०.२५ लाई मिलाउने चौथो वर्ष १ दिन बढाइएको हो ।
३. यसरी नेपालसंवत्लाई सारमासमा आधारित बनाएर लाने प्रयत्न गरेको छ । नेपालसंवत्को सौरमास प्रणाली पछिल्लो विज्ञान र प्रविधिको प्रयोग गरी विकास गरेकोले विक्रमसंवत् भन्दा वैज्ञानिक र स्तरीय देखिन्छ । यसलाई कतिपय व्यवसायीहरुले आफनो आन्तरिक कामकाजमा प्रयोग गर्न पनि शुरु गरेका छन् ।
४. नेपालसंवत्का तिथिमितिहरु प्रयोग गर्दा हाम्रो देशको संस्कृति रितिथिति रपरम्पररा अनुसार चाडपर्वहरुमा तिथिटूट(तुथ) नहुने गरी क्रमशः मनाउने घडिपला नहेरी दिनभरी एउटै तिथि प्रयोग गर्ने जस्ता सौरमासका विशेषताहरुलाई चान्द्रमासकै तिथिमा समायोजन गरी नेपालसंवत्को तिथि प्रयोग गर्ने प्रचलन छ ।
५. नेपालसंवत् प्रयोग गर्दा यस्तो समस्या नहोस् भन्नाका लागि नै शकसंवत्को तिथि मितिहरुमा आवश्यक स्तरीयकरण सहित प्रयोग गरिएको हो भन्ने यसका विज्ञहरुको दावा रहेको छ ।
६. भुवनलाल प्रधानका अनुसार साखवाल भनेको ऋण लिने र दिने एउटा कारोवार गर्ने समुदाय हो ।
७. नेपाल मण्डलको तत्कालीन मूलराजा राघवदेवले आफना जनताको भलो हुने देखी इस्वीसंवत् ८७९ अक्टोवर २० का दिन देखि सम्पूर्ण तिथिहरु शकसंवत् र मानदेवसंवत्कै प्रयोग हुने गरी त्यसलाई यथावत् नै राखेर कछलाथ्व पारुदेखि नेपालसंवत् शुरु गरिएको देखिन्छ ।
स्पष्टीकरण
१. बाह्रवटा संक्रान्तिको गणना गर्दा जेठ,असार र साउन यी तीन महिना मध्ये दुईवटा महिनामा ३२ दिन पर्छ भने पुस,माघ र फागुन यी तीनवटा महिना मध्ये दुइवटा महिनामा २९ दिन पर्न आउने हो । यो कसैको इच्छाले भएको होइन । असोजमा मनाउने चाडवाड कार्तिकमा परेको मतलव असारमा ३२ दिन भएर होइन । अधिकमास भनेको विषय र अधिकवर्ष भन्ने विषय एउटै होइन । असारे गीत जेठ मै गाउनु पर्ने बाध्यता कहिले आयो , कसरी आयो ?केही कारण नबताइ हावादारी कुरा गरिएको छ ।
२. विक्रमसंवत्का अभियन्ताहरुले एकमहिना अगाडि सार्नु पर्ने सिफारिस गरेको थियो र संस्कृति मन्त्रालयले निर्णय गरेको पनि हो तर लागू गर्न सकेको होइन भन्ने कुरा सर्बविदित नै छ । यदि लागू भएको भए असारे गीत जेठमा गाउनु पर्ने हुन्थ्यो होला ।
३ं चान्द्रमासको तिथिसंवत् भन्ने हुँदैन तैपनि चान्द्रमासमा सौरमासको गते थपियो भन्ने जस्ता उट्पटाङ् कुरा कसैलाई पनि सुहाउने कुरा होइन ।
४.चान्द्रमासको तिथिमा सौरमासको गते थपेकोले कुनै वर्षमा चैत दशैं नहुने कुनैवर्षमा दुइचोटी परेकोले समस्या भनियो । वास्तवमा अधिमास परेको वर्ष यस्तो हुने हो । यसको मतलव १३ महिना भएको होइन तिथि सरेको मात्र हो ।
५. अधिकमास भनेको ४ वर्षमा एक चोटी पर्ने होइन । हरेक अढाई वर्षमा एक चोटी आउँछ । त्यतिवेला दुइवटा संक्रान्तिको बीचमा एक वटा चान्द्रमास पर्न आउँछ । त्यसरी चान्द्रमासले संक्रान्ति नदेखेको महिनालाई अधिकमास अनला भन्छ । त्यही भएर चान्द्रमासको तिथिसंवत् हुदैन भनिएको हो । यदि चान्द्रमास मात्रै लिइयो भने अधिकमास पत्ता लाग्दैन । त्यसकारण हरेक क्यालेण्डरमा चान्द्रमास र सौरमास दुइटैको उपस्थिति चाहिएकोले यो अपरिहार्य सिद्ध भइरहेको हो ।
६. यसरी अधिकमास कसरी पर्छ भन्ने ज्ञान नभएको मान्छेले चान्द्रमासको सैद्धान्तिक अवधारणा र सौरमासका अवधारणामा फरक छ भनेर अपरिपक्व कुरा गर्नु सुहाउने कुरा होइन ।
७. चन्द्रमा पृथ्वीको उपग्रह हो तर उसले सूर्यको बिपरीत दिशामा पृथ्वीको फन्कोमार्छ भन्ने कुरा शास्त्र अघिसारेर भन्नुपर्ने कुरा हो गफ गरेर होइन । २७ं.३ दिनमा पृथ्वीको परिक्रमा गर्छ र पृथ्वीको गुरुत्वाकर्षणको शक्तिले चन्द्रमालाई प्रभाव पार्छ भन्ने कुरा पनि शास्त्रको कुरा उधृत गरेर अघिसार्नु पर्ने कुरा हो त्यसरी गफ छाँटेर गर्ने विषय बिल्कूल होइन ।
८. फेरि प्रत्येक २९.५ दिनमा चन्द्रमा पुनः यथास्थितिमा फर्कन्छ भने पछि २७.३ र २९.५ बीचको अंकगणितीय अन्तर के हो ? वैज्ञानिक उपपत्ति दिएर भन्नु पर्ने हो । एकजना पूर्वमन्त्रीले विरुवाले कार्वन डाइअक्साइड दिन्छ भने जस्तो खालको गफ गर्ने विषय यो होइन ।
९. हरेक चारवर्षको एक चोटी लीपयर आउने इस्वीसंवत्को रीत हो । यसलाई अधिकमास भन्दैन । लीपयर र अधिकमासको परिभाषा उहाँले एउटै देख्नुभयो त्यो उहाँको नजरको दोष हो । हरेक ४ वर्षमा १३ महिना भएको एउटा क्यालेण्डरको नमुना देखाउन नसके पनि भाषण गर्दा भाषणमा ठोक्ने कुरा अर्कै हो । बौद्धिक जगतमा लिखित कुराको मूल्यांकन हुने हो । हावादारी लेख्नु हुँदैन भनेर अलिकति आफुलाई संहाल्नुपर्ने हो ।
१०. ग्रेगोरियनमा जस्तै चैत्रमा १ दिन थपेर अधिक वर्ष मिलाइएको छ भनियो । त्यो पनि हावादारी कुरा मात्र हो । ग्रेगोरियनको हिसावसंग हाम्रो पंचांगको हिसावमा के संगति छ के विसंगति छ त्यो पनि विज्ञहरुबाट आउनु पर्ने हो उहाँको गफबाट आएर हुँदैन ।
११. इस्वीसंवत्मा साधारण वर्षमा ३६५ दिन र अधिकवर्ष(लीपयर) मा ३६६ दिन हुन्छ । यो हरेक ४ वर्षमा आउँछ भने अधिकमास नेपाल पंचांगमा अढाइअढाइ वर्षमा आउँछ । अधिकमास परेको भन्दैमा १ महिना थप हुने होइन । ३६५ दिनमा १ महिना थपेर ३९५ दिन हुने पनि होइन । गत वर्ष २०८० सालमा श्रावणमा अधिकमास पर्दा भाद्रलाई पनि श्रावण भनेको हो तिथि सर्दै जाँदा २०८०सालको चैत्रमा रामनवमी चैतदशै परेन र २०८१ को वैशाखमा चैतदशैं रामनवमी परेको क्यालेण्डर मै देखिन्छ । त्यसरी २०८१ सालमा वैशाखमा पनि चैतदशै र २०८१ चैतमा पनि चैतदशै रामनवमी देखिनुबाट आकासै खसेको जमिन नै भासेको समस्या होइन । २०८० सालको चैतदशै २०८० साल मै मनाउने इच्छा गरेर हुने कुरा पनि होइन र तिथिहरु सर्दै जाँदा ३६५ दिन उप्रान्त अर्को सालमा पर्न गएको हो । यसबाट पनि अधिकमास भएको वर्ष भन्दैमा १३ महिना हुँदैन भनेर बुझ्नुपर्ने भएको हो ।
१२. नेपालमण्डलका तत्कालीन मूलराजा राघवदेव भन्नासाथ जुंगा चल्यो कुरा बुझ्यो भने झैं हो । यसको मतलव नेपालमण्डलमा अरु पनि थुप्रै राजा थिए त्यसमध्ये मुख्य राजा राघवदेव हो भन्न खोजेको स्पष्ट बुझिन्छ । राघवदेवको पालामा शुरु भएको नेपालसंवत् इस्वीसंवत् अनुसार ८७९ अक्टोवर २० पर्न आउँछ भनेर २१ सौं शताव्दीमा आएर कीलहर्न भन्ने विदेशी लेखकले भनेको मात्र हो यो पनि मिल्छ कि मिल्दैन कसैले परीक्षण गरिएको छैन र उनले हिसाव गरेको हिसावको चरण कतै प्रकाशित भएको पनि छैन । फेरि ८७९ अक्टोवर २० पर्छ भन्ने कुरा राघवदेवलाई कुनै अत्तोपत्तो पाएको कुरा पनि होइन ।
निष्कर्ष
हुनत भाषण गर्दा पनि तौलेर सटिकसटिक मात्र बोलेको राम्रो हो तर नेताहरुले प्राय गर्दैनन् । जे होस भाषण गर्दा त्यसको कुनै लिहाज राखेनन् भने पनि लिखित रुपमा आएको कुरा बौद्धिक जगतमा मूल्यांकन हुन जाने हुन्छ र त्यो परन्तुसम्म फलानाका अनुसार भनेर अभिलेखांकृत भएर रहन्छ ।
जसरी उहाँले फलाना लालले भनेको धिस्काना लालले भनेको भनेर आफुले कुनै तौलेर परख गरेर नहेरीकन लेख्दा उहाँको स्तर ती लालहरुभन्दा पनि खस्कन पुग्योे । उहाँका बकम्फुसे कुरा भविष्यमा अरुले साभार दियो भने उहाँको मात्र बेइज्जत हुने होइन सिंगो नेवारसमुदायको बेइज्जत हुने हुन्छ । त्यही भएर बकम्फुस हावादारी कुरा लेखियो भने अरु तथ्य कुरा लेखियो भने पनि सबै अपत्यारिलो भएर जान्छ । पूर्व मन्त्रीले लेखेको उक्त लेख आद्योपान्त मनगढन्त बकम्फुस मात्रै देखिएकोले हामी नेवारसमुदायको शिर त्यसले गर्दा लज्जित भइ निहुरेको छ । अब उप्रान्त यस प्रकारको हावादारी कुरा पस्किने काम उहाँबाट नहोस् भन्ने चाहन्छु । किनकि नेवारसमुदायको लागि उहाँ आशा लाग्दो र भरपर्दो नेता हुनुहुन्छ ।







