
बाल्यकालदेखि नै म अरुभन्दा फरक स्वभावकी थिएँ । कक्षा ८ मा पढ्दा मैले पहिलो पटक आफ्नै विचारहरुलाई अवलोकन गर्न थालेकी थिएँ । उमेर सँगसँगै विचारहरु पनि हुर्किदै गए । विचारहरु नै मेरा साथी बन्न पुगे । कल्पनाको संसार अर्कै थियो तर वास्तविक संसार त्योभन्दा नितान्त भिन्न थियो । यो तादात्म्य नहुनाले मलाई जिन्दगी उजाड लाग्दैथियो । आफ्नो मन आफैलाई बोझ भएको थियो । सोच्थें जिन्दगी त रङ्गीन हुनु पर्ने तर मलाई फिका लाग्दैथियो । हरेक पल भित्रभित्रै छट्पट्टि भईरहेको थियो । कुनै यस्तो कल्पनाको राजकुमार थियो जसलाई देख्न समेत नपाए पनि गहिरो मोह थियो । सायद यही कारणले म भित्रभित्रै भौतारिरहेकी थिएँ । मलाई कुनै कुराले मन छुँदैनथ्यो । म कहाँ अल्मलिएकी थिएँ, आखिर म भित्रको कुन तत्वले के खोजिरहेको छ भन्ने लाग्दथ्यो तर उत्तर भेटिएको थिएन ।
म मामाको क्लिनिकमा पुगें उहाँले विपस्सना ध्यान शिविरमा जानु भनेर सल्लाह दिनुभयो । म बुढानीलकण्ठस्थित धर्मशृङ्गमा विपस्सना शिविरमा गएँ । त्यहाँको सुन्दर र रमणीय वातावरणले मन प्रफुल्ल भयो । सेवामा उपस्थित सेवक सेविकाहरुको निःस्वार्थ आतिथ्यले मनलाई विभोर बनाउँदै शीतलता प्रदान गरिरहेको थियो । उहाँहरुको आतिथ्यले अहंकार क्षीण भएर गयो । ध्यानकेन्द्रको भौगोलिक अवस्था र व्यवस्थित माहोल नै साधनामय हुँदोरहेछ । मनका विकारहरु त गेटबाट भित्र पसेपछि नै कम भएर जाँदा रहेछन् । साँझको अभिमुखीकरण कक्षा पछि १० दिनको विपस्सना शिविर शुरु भयो । तीन दिनको आनापानासतिमा श्वासलाई नियाल्ने क्रममा मनको चञ्चलता देख्न सकिंदो रहेछ । मनको यस्तो अस्थिरता देख्दा मन भन्ने मुटु-कलेजो जस्तै देख्न सकिने अङ्ग भएको भए सायद मैले अपरेशन गरेर निकालिदिन्थें होला । तर मन कहाँ छ भन्ने पत्तो नपाइने हुँदा यसलाई वशमा गर्नु कठिन कार्य रहेछ । यतिबेला मलाई श्रीमद्भागवदगीताका मुख्य पात्र अर्जुनको मनको अवस्थाको याद आउँछ ।
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद् दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।।
अर्जुनले कृष्णसँग मन निकै चञ्चल भएको र यसलाई वशमा गर्नु भनेको जोडसँग लागेको हावालाई वशमा गर्नु भन्दा पनि कठिन भएको बताएका थिए ।
बौद्धिक रूपमा थाहा भएपनि मनलाई वशमा गर्न निकै कठिन हुँदोरहेछ । ओशो रजनीशको एउटा भनाइ छ – ‘इससे बुरा क्या होगा कि मन मेरा हे और मेरे वश मे नहीं हे ।’ मेरो अवस्था पनि यस्तै भएको थियो । सत्यनारायण गोयन्का गुरुजीको साँझको प्रवचनमा मनका अनेक समस्याको समधान मिल्थ्यो । मेरै मनका जिज्ञासा सम्बोधन गरेर प्रवचन गर्नुहुँदा मलाई अचम्म लागेको थियो । प्रवचनबाट थाहा भयो विचारलाई रोक्न खोज्नु नै गल्ती रहेछ ।
विचारको मत रोको देखो पर मत डुबो
भविष्यका कल्पना मत करो वर्तमानमे जिओ
खुब जियो इतना जिओ कि वर्तमानमें डूबो
खुश रहो ध्यान करो अपनेको पहचानो ।
मनसँग झगडा नगर, गफ पनि नगर, हेर मात्र । प्रतिक्रिया गर्न थाले बन्धनमा परिंदो रहेछ भन्ने थाहा भयो । मनभन्दा अशान्त यस जगतमा अरु केही छैन तर पनि साक्षी भएर मनलाई नियाल्दै जाँदा विचारहरु शान्त भएर जाँदा रहेछन् । जब मनको मृत्यु हुन्छ तब ध्यान शुरु हुँदोरहेछ ।
महाकारुणिक बुद्धले पहिल्याउनुभएको विपस्सना ध्यान मनको चिकित्सा गर्ने सुन्दर विधि हो । वि र पस्सना दुइ शब्द मिलेर विपस्सना शब्दको निर्माण भएको हो । वि भन्नाले विशेष रूपले र पस्सना भन्नाले हेर्नु या अवलोकन गर्नु भन्ने बुझिन्छ । शरीर र चित्तका गतिविधिलाई साक्षी भाव विकसित गरेर जस्ताको त्यस्तै प्रतिक्रिया नगरी हेर्नुलाई विपस्सना भनिन्छ ।
विपस्सना ध्यानमा शरीरका हरेक अङ्गलाई नियाल्दै जाँदा तरंगहरु मात्र देखें अनि सम्प्रज्ञानद्वारा नियाल्दै जाँदा ती तरंगहरु पनि विलीन हुँदै गएको पाएँ । त्यसैगरी चित्तलाई साक्षी भएर हेर्दै जाँदा जुन विचार वा वस्तुको उत्पत्ति हुन्छ त्यो विलीन भएर जाँदोरहेछ, सबैकुरा अनित्य, दुःख र अनात्म हुँदोरहेछ भन्ने अनुभूति भयो ।
विपस्सना शिविरमा साँझका प्रवचनहरू ज्ञानदायी थिए । पञ्चशील, चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पादको दार्शनिक विवेचना धेरै महत्त्वपूर्ण रहेछ । नयाँ संस्कार नबनाउने र पुराना संस्कारलाई निवारण गर्ने तरीका विपस्सनाले सिकाउँदो रहेछ । भौतिक र आन्तरिक सुख-दुःख, माया-प्रेम, मान-सम्मान सबै अनित्य हुन् भन्ने बुझेर इन्द्रियातीत अनुभूतिमा पुग्ने अवसर ध्यानले दिंदोरहेछ । संसारबाट केही पाउने आशा र गुमाउने डर हराए जस्तो लाग्यो । अनित्य बोधले म र मेरो भन्ने भाव मेटिएर गयो । सबैमा आफू र आफूमा अनन्तको अनुभूति भयो ।
आफैले आफूलाई चिनेर अनित्य, दुःख र अनात्मको बोध गराउने कला नै विपस्सना ध्यान हो । विपस्सनाद्वारा आफ्नो दुःख अन्त्य गर्न सकिन्छ र अन्य दुःखी प्राणीहरूप्रति करुणा पैदा हुन्छ । भगवान् बुद्धको ध्यान करुणाबाट आरम्भ हुन्छ र महाकरुणासम्म पुग्छ । करुणा पैदा गर्न प्रयास गर्नुपर्छ, महाकरुणा ज्ञानोदयपश्चात् स्वतः उत्पन्न हुन्छ । बुद्धत्व महाकरुणाको अवस्था हो । त्यसैले बुद्धलाई महाकारुणिक पनि भनिन्छ । विपस्सना साधकहरू सबै महाकरुणासम्म पुग्न सफल होऊन् । भवतु सब्ब मंगलम् ।








