
हामी कता जाँदैछौं ?
प्रदीप सापकोटा
प्रकरण नं.१ :
म बाइक चलाएर मूल सडक निस्कँदै थिएँ । मेरो अगाडि केही बाइकहरु थिए । मैले यात्रा गरिरहेको बाटो एकतर्फी थियो । विपरित दिशाबाट बाइक हुइकिँदै आयो । त्यसले पुरै बाटो जाम भयो ।
म भन्दा अगाडिका सज्जनले भाइले भने, ‘यो बाटो त वान वे हो नि । हजुरलाई हेक्का भएन् र ?’
त्यो भाइले ती सज्जनलाई आँखा तर्यो । त्यति त ठीकै थियो । अर्का मभन्दा अघिका सज्जनलाई त्यो भाइले घुरेर हेरेको जस्तो लाग्यो ।
उनले पनि प्रतिक्रिया दिइहाले –‘बाटोमा अरुको पनि सुविस्ता ख्याल गर्नुपर्छ नि । लु हेर्नुस त तपाई एकजना गलत दिशाबाट आइदिनाले जाम भयो ।’
त्यो भाइले असाध्यै रिसाएर भन्यो–‘के भन्न खोजेको?’।
मलाई पनि ती सज्जनहरुलाई हेपेर थर्काएको मन परेन् । पुरै जाम थियो । निस्कन सकिने अबस्था थिएन । ‘भाइ, तपाई आफैं गल्ती गर्नुहुन्छ । अनि अरुसँग रिसाउनु हुन्छ । कम्तिमा आफ्नो गल्ती त महसुस गर्नुस् । ’
‘आगो लाग्ला है । चुप बसेकै राम्रो । अनावश्यक कुरामा ध्यान दिने होइन् । आफ्नो बाटो चुपचाप लाग ।’ यति जवाफ दिएर अलिकति खुकुलो भएको ठाउँबाट उ हुइँकियो । म अवाक भएँ । सँगै ती सज्जन पनि ।
प्रकरण नं २:
म दाँत बनाउन भनेर दन्त क्लिनिकमा गएँ । नजिकै पार्किङ थियो । पार्किङतर्फ बाइक छिराएँ । दुई जना नयाँपुस्ताका केटाहरु त्यहाँ बसिरहेका थिए । पार्किङमा बाइक राख्दासम्म कसैले केही प्रतिक्रिया दिएनन् । जब मैले हेलमेट खोले,पन्जा खोले। त्यतिउञ्जेल पनि केही कसैले बोलेन् । तर म बाहिरिंए पछि ती दुई मध्येको एक केटाले अलिक अपाच्य शब्द बोल्यो ।
‘कसले राख्न भन्यो यहाँ बाइक ?’
‘भाइहरु तपाईँहरुले अघि त केही भन्नु भएन् नि ।’ सकेसम्म नरम भएर भनें।
‘तेरो बाऊको घरको पार्किङ हो र यो ?’
अलिक तल्लोस्तरको जवाफ पाएँ । जुन मेरो अपेक्षा थिएन् ।
‘मैले भने १० मिनेटको लागि राखेको हुँ । शुल्क कति लाग्छ तिरी हाल्छु । ’
‘कस्तो मुर्ख रहेछ यार । मिल्दैन भनेपछि मिल्दैन् ।’
मैले अलिक असहज महसुस गरें । भो राख्दिन । यस्ताहरुसँग के गलफती गर्नु वित्थामा,मनमनै सोचें । चुपचाप अघि पार्किङ गरिराखेको आफ्नो बाइक फर्काएँ र त्यहाँबाट निस्किएँ । मेरो कानमा पर्यो– ‘कस्तो पाखे रहेछ । हिहिहि । ’
असाध्यै दिक्क लाग्यो मलाई । आज नै मैले अप्वाइन्टमेन्ट लिएको थिएँ । आ जेसुकै होस । यहाँ बस्दिन भन्ने सोचेर निस्कें । त्यो एरियामा अहिले पनि मलाई जान मन लाग्दैन् ।
प्रकरण नं. ३
बागबजार जान त्रिचन्द्र कलेज साइटको पेटीबाट गुज्रँदै थिएँ । घण्टाघर नजिकको जेव्राक्रसको लाइट रातो बलिरहेको थियो । शनिवार भएकोले होला,खासै सवारी चाप पनि थिएन् । म सडकको बीच पुगेंपछि दुईवटा बाइक झण्डै मलाई हानुँला गरेर आए र बालबाल रोकिए ।
एउटा बाइकको पछाडि बस्ने अन्दाजी २०/२२ को केटाले भन्यो, ’मर्लास । आँखा छैन् ?’
यसो हेरें अझै लाइट ३० सेकेण्डबाट तलतिर झर्दै थियो ।
मैेले विनम्रताका साथ सोधें ‘सवारी साधन चलाउनेले ट्राफिक नियम पालना गर्नुपर्दैन् बाबु ?’
जवाफमा उसले भन्यो ‘तेरो बाउको बाटो हो यो ।’
मनै कस्तो भो । मैले सोचेथें कम्तिमा सरी भन्लान । तर उल्टै नराम्रो बोल्छन् । खै के के । म चूपचाप रोड पार भए । ती बाइकका पछाडि बस्नेहरुले घुरेर हेरिरहेथे मलाई । कस्तो जमाना आयो उफ् !
प्रकरण नं.४
सार्वजनिक बसमा यात्रा गर्दै थिएँ । कोचाकोच गाडी । म बीचमा उभिएको थिएँ । भीडमा एक गर्भवती महिला पनि सकिनसकि उभिएकी थिइन् ।
एक जना सज्जन प्रौढले नजिकै सिटमा बसिरहेका ठिटाप्रति लक्षित गर्दै भने, ‘बाबुहरु हो, उहाँ बैनीलाई सिट छोडिदिनुस न ।’
तर अहँ । प्रतिक्रियाविहिनताको स्थिति । चालै नपाएजस्तो । सुन्दै नसुने जस्तो गरेर कतै नहेरी मुन्टो निहुर्याएर बसिरहे तिनीहरु । यस्तैमा एक अर्धबैश्य महिलाले ती गर्भवती महिलालाई बस्नको लागि अनुरोध गर्दै आफ्नो ठाउँ छोडिदिइन् ।
माथिका प्रकरण त केही उदाहरण हुन । यस्ता उदाहरणहरु धेरै छन् । अरुको सुखसुविस्ताको चासो र चिन्ता नलिने,आफ्नोमात्र स्वार्थ सिद्ध गर्न उद्यत हुने नवयुवा कम छैनन् । हरेक घट्नालाई नकारात्मक रुपमा लिने पनि छन् । अरुको कुरा नसुन्ने,नबुझ्ने र के भन्यो राम्रो या नराम्रो भन्ने कुराको रत्तिभर हेक्का समेत नराखी उत्तेजक भएर प्रतिक्रिया दिने युवाबाट समाजले के आशा राख्ला । अरुलाई अनादार गर्नेबाट अपेक्षा के हुन्छ ? किन हाम्रो समाजमा नयाँ पुस्ता यस्तो भएको होला ? आचरण विग्रदों, अनुशासनहीनता बढ्दो अबस्था आउनमा को जिम्मेवार होला ? किन भैरहेछ नकारात्मक सोच र धारणाको विकास उनीहरुमा ? पुराना त पुराना भैहाले । तर नयाँमा पनि यस्तो भावना पलाएपछि कता जाला समाज ?
अरुको निन्दा र तिरष्कारमा समय बढी खर्चिने आजको पुस्ता । म को हुँ भन्ने विर्सने आजको पुस्ता । हामीलाई लाग्नु स्वभाविक हो –पुरानो सोच भन्दा फरक होस शिक्षामा । पुराना भन्दा नबीनता आओस चिन्तनमा । अरुप्रतिको श्रद्धा र आदरभावमा । विचारमा उस्तै परिष्कृत भएर आऊन आजका युवा । आधुनिक हुन्,तर चरित्रवान । चलाख हुन,तर भद्र र शालीनपन होस । चेतना, धारणा, सोचाई, भावनामा आधुनिकता होस । सबै कुरामा एक कदम अघि होस तव पो युवा । तर अरुलाई अनादर गर्ने,होच्याउने,आफ्नै मात्र स्वार्थसिद्धिको लागि मरिहत्ते गर्ने युवा के युवा । युवामा त सकारात्मक उर्जासहितको साहस हुनुपर्दछ नकि नकारात्मक भावको । खराव कुराहरुको रजगज भएको युवाबाट समाजले के अपेक्षा राख्नसक्छ । समाजका खराव कुराहरु चिर्नुपर्नेमा उल्टै आफैंले खराव चिन्तन पालेर हिड्ने युवाबाट के आशा राख्न सकिन्छ ।
मलाई ताजुब लाग्छ नेपाली व्याट्सम्यान जम्दैन् राजनीतिक नेतृत्वलाई गालीको वर्षा हुन्छ । कुनै खेलमा नेपाली खेलाडीले खेल्न सक्दैन् । सिधा दोष अन्तै ठोकिन्छ । कसले बनाइदिन्छ नयाँपुस्तामा यस्तो भाष्य ? दोषी को ? सायद नयाँपुस्तामा फैलँदै गरेको निराशावादी सोच होला । यसमा मलजल मुलुकको अस्थिर राजनीतिले पनि गरेको होला । हिजोका सत्तासीनहरुको कमजोरीको कारण पनि होला । शिक्षित युवामा झाङ्गिदो वेरोजगारीको परिणाम पनि होला यो । अर्कोतिर बढ्दो सामाजिक सञ्जालको अनावश्यक प्रयोग पनि कारण होला ।
जोशले सब हुन्छ भन्ठान्छ अहिलेको पुस्ता । तर विचार सहितको जोश भए पो त्यो जोशको सदुपयोग हुन्छ । तर आजको पुस्ता त कता कता कुहिरोको कागजस्तो लक्ष्य र उद्देश्यविहिन बनेर हराइरहेको छ । यसको दोष नयाँ पुस्तामा मात्र थोपरेर पनि हुँदैन् । नयाँ यस्तो हुनुमा पुरानाहरुको पनि नकारात्मक छाप भने पक्कै छ । समाजबारे पुरानाले सही चिन्तन गरेर त्यतातिर पहलकदमी नलिएपछि आएको अबस्था हो यो ।
नयाँपुस्ता पनि सकारात्मक कुराहरुमा अग्रसर हुनुपर्दछ । अवसरको निम्ति चनाखो उस्तै हुुनुपर्दछ । बेथितिको जड पहिचान गर्नुपर्दछ । तर आफैं बेथितिको पक्षधर हुनु चाहिं राम्रो हुँदैन् । सकारात्मक सोच,सिर्जनशील भावना र जिम्मेवारीबोध युवाहरुमा हुनु बान्छनीय छ । सकारात्मक परिवर्तनको उत्कट चाह हुनु राम्रो कुरा हो । राम्रा कार्यमा हस्तक्षेप गर्ने प्रवल इच्छाशक्ति हुनु त झनै राम्रो । तर यहाँ त अनावश्यक कुरामा,पालो मिच्ने कुरामा ,अरुलाई दुःखदिने कुरामा पो उद्दत्त देखियो त !
थाहा छ प्रविधिका अनेकानेक आविष्कारहरुले दुनियाँ साँघुरो भैसक्यो । त्यसैले भन्न सकियो–अबसर र चूनौतिको घेराबन्दीमा परेको छ आजको पुस्ता । प्रविधिको अनावश्यक र अत्याधिक प्रयोग जस्तै सामाजिक सञ्जाल र यो भित्रका अनावश्यक कुराहरुमा ध्यानमग्न हुनु आजको पुस्ताको सबैभन्दा नकारात्मक कुरा हो । प्रयोग गर्न जाने अवसर र ज्ञानको खानी हो– सामाजिक सञ्जाल,प्रयोग गर्न नजाने त्यो आजको पुस्ताको लागि मन्द विष हो । त्यसैले परिवर्तनको संवाहक पुस्ता यसतर्फ सचेत हुनु जरुरी छ ।
अघिल्लो पुस्ताभन्दा नयाँपुस्ताको सोचाई,मूल्य र मान्यता समेत फरक हुनुलाई अस्वभाविक मान्न सकिन्न् । तरपनि हाम्रो नयाँपुस्ता कता गइरहेको छ भन्ने कुरामा चिन्ता लागिरहेको छ । हामीले सोचेको भन्दा विल्कुल फरक छ अहिलेको पुस्ता । पढ्न दवाव दियो अर्काको लागि पढिदिनुपर्ने जस्तो ! आत्मनिर्भर कला र सीप सिक भन्यो अर्काकै निम्ति सिकिदिनुपर्ने जस्तो ! खराव गर्नेहरुकै हालिमुहाली र मानसम्मान देख्छ आजको पुस्ता । अपराधीकै अघिल्तिर सबै जना झुकेको देख्छ यो पुस्ता । अनि के होस् । नकारात्मक प्रचारवाजी,निराशा र कुण्ठा अस्वस्थ्य प्रतिस्पर्धा आजको पुस्ताका चूनौति हुन् । सत्यको खोजी, अन्वेषण, अनुसन्धानबाट प्राप्त निष्कर्षलाई आधार बनाउन छोडेर अल्गरिदमको पछि कुदेको छ आजको पुस्ता ।
सामाजिक सञ्जालमा रङ्गिएका वाहियात प्रचारवाजीमा भरोसा गर्छ यो पुस्ता ।सबैमा यो कुरा लागू हुँदैन् । तरपनि यस्ता दुष्व्यवहार वर्तमान पुस्ताको लागि सुहाउने कुरा हुँदै होइन । वर्तमान पुस्ताले त समाजमा विश्वसनीय वातावरण सिर्जना गर्नुपर्छ कि म यो देशको जिम्मेवार नागरिक हुँ र मेरै काँधमा छ देशको भविस्य।



