यो कस्तो बिडम्वना होला जावो दुइटा गणना परीक्षा गर्न सक्ने मानिस यो मुलुकमा छैनन् । गणितको सामान्य ज्ञान भएका मानिसले पनि गणना बुझ्न सकून् भन्दै गणना गरेर त देखाइयो परन्तु ती दुइटा गणितको परीक्षा गर्ने त परै जाउन् ती गणित बुझ्ने सामथ्र्य भएका मानिस वि.सं २०४३ देखि हालसम्म कोही पनि देखा परेनन् । नेपालको अवस्था त्यही भएकोले “लिच्छविसंवत्को निर्णय”को पृष्ठ ८ मा हाँकदिएर लेखिएको प्रकार छ:—
“गणितको सामान्य ज्ञान भएका मानिस पनि गणना बुझ्न सकून् तथा भविष्यमा आफै पनि गणना गर्न सकून् भन्ने भावले यहाँ सबै गणना दिइएका छन् । यसलाई परीक्षा गर्ने अधिकार सबैलाई छ ।”
गणितको सामान्य ज्ञान भएका मानिसले पनि गणना बुझ्न सकून् भनेको हुनाले गणना बुझ्ने प्रयत्न त गर्नै पर्ने भयो । त्यस निर्णय नामक पुस्तकमा गणना दिइएको मतलव पनि भविष्यमा आफै पनि गणना गर्न सकुन् भन्ने पनि हो । सामान्य बुझाई त यो हो तर यसमा दोहोरो अर्थ लागेको देखिन्छ किनभने त्यहाँ दिइएका गणना त सबै कैफियतपूर्ण मात्रै देखिएका छन् । त्यही भएर भविष्यमा त्यो गणना सिक्ने विद्यार्थीले पनि त्यसरी नै कैफियत गर्ने तरिका सिक्यो भने त भविष्य बरबाद नै हुन जान्छ ।
यसलाई परीक्षा गर्ने अधिकार सबैलाई छ त भनियो तर कैफियत मुक्त गर्ने भावले परीक्षा गर्न पाउने कि नपाउने मुख्य प्रश्न यहाँ अडिएको छ । यदि कैफियत औंल्याई दिऊँ भने यस पुस्तकलाई मदन पुरस्कार लगायत अरु पुरस्कार दिलाउने मानिसहरु सबै रुष्ट हुने पो होकि भन्ने डर देखियो र यही पुस्तकलाई आधार बनाएर प्राध्यापन गर्दै आएका सबै गुरुजनहरु समेत पनि रुष्ट हुने पो होकि भन्ने डर पनि देखियो । कथंकदाचित् कैफियत औंल्याइ दिएन भने यो मुलुकमा सामान्य गणना बुझ्ने मानिस पनि रहेन छ भन्ने कालान्तरसम्म सिद्ध भइरहने देखियो । तब यसआधारले यो मुलुक साह्रै गएगुज्रेकै ठहरिन जाने भय देखिन थाल्यो । त्यही भएर मुलुक गएगुज्रेको ठहरिन चाहिं नपरोस् भन्ने आकाँक्षा राखेर ती दुईवटा गणनाहरुको अक्षरसः केलाएर परीक्षा गर्नु परेको हो । ती दुइटा मितिको गणनाका परिणामहरु यसरी दिइएका हुन्
(१)
एकत्रिंशत्तमे वर्षे वर्तमाने स्वसंस्थया
माघशुक्लत्रयोदश्याम्पुष्येण सवितुर्दिने
(लिच्छविकालका अभिलेखको ३१७ पृष्ठ)
(संवत् ३१ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार )
यसको गणनाको परिणाम
अभिलेखको संवत्(मानदेवसंवत् )३१ विक्रमसंवत् ६६४ शाके ५२९ माघशुक्ल
वार आदित्य तिथि त्रयोदशी घडीपला ३९।२ नक्षत्र तिष्य घडीपला ९।४७
यसरी चाँगुको अंशुवर्माको अभिलेखमा लेखिएका तिथिवार,नक्षत्र सवै ट्वाक्क मिल्न आए ।
१) सर्वप्रथमतः अभिलेखमा भएको संवत् ३१ मानदेवसंवत् नै होइन अर्को गणना गर्दा त्यहाँ विक्रमसंवत्को कुनै चरण नै आवश्यक छैन र शक ५२९ लाई शाके ५२९ भन्नु पनि गलत नै हो । गणना भनेको इमान्दारी पूर्वक गर्नु पर्ने विषय हो । कुनै कैफियत गरेर ट्वाक्क मिल्यो भन्न पाइने होइन ।
२) गणना गरिएका चरणहरु:—
अभिलेखको संवत् ३१ मा ६३३ जोडेर वि.सं ६६४ बनाउनुको कुनै औचित्य नै छैन । यदि साँच्चै सुमतितन्त्रको सहारा लिइएको भए पनि सुमतितन्त्रमा विक्रमसंवत्को कुनै बिउको पनि उल्लेख छैन र प्रस्तुत गरिएका गणनाका चरणहरुमा पनि विक्रमसंवत्को एक चरण पनि उल्लेख छैन । तब ६३३ उल्लेख गर्नु भनेको नै कैफियत गरिएको प्रमाण हो । अर्को ६६४ बाट तुरुन्तै १३५ घटाएर शक ५२९ मा गएको प्रष्ट छ । यदि सुमतितन्त्रको सहारा लिएको मानिसले संवत् ३१ मा ४९८ सोझै जोडे पनि शक ५२९ आउने हो त्यसरी ६६४ बाट १३५ घटाएर आउनु कुनै प्रयोजन नै छैन । यसको मतलव कैफियतको माहिर खेलाडी हुन खोजेको प्रमाणित हुन्छ ।
३) संवत् ३१ पौषमा अधिकमास भएको अभिलेख प्राप्त भएको अवश्य हो । गणना गर्नको लागि शकसंवत्को सिद्धान्तमा बनेको रीत मुताविक जानु पर्ने बाध्यता पनि सबैलाई थाहा भएकै कुरा हो । तब शक ५२९ को वर्षमा अधिकमास नभए पनि अधिकमास राखेर जोड्ने कुरा गणनाको रीतमा दिइएको छैन । त्यसैले अधिकमास सहित चैत्रादि गतचान्द्रमास समेत गरी ११ महिना र माघ शुक्ल त्रयोदशी १३ गरेर गणना गर्नु त्रुटि भएकै हो । त्रुटि किन त भन्दा माघ शुक्ल त्रयोदशीसम्म ३४३ दिन गरेपछि चैत्र शुक्ल प्रतिपदासम्म पुग्न थप ४७ दिन गर्दा त्यो वर्ष ३९० दिन हुन पुग्छ । त्यसरी ३९० दिन वा तिथि देखाउने कुनै शास्त्र प्रदत्त कुरा होइन र संसारमा त्यति दिन भएको पञ्चाङ्ग कतै छैन । यसरी पञ्चाङ्ग मै नभएको कुरा ल्याई गणना गर्दै ट्वाक्क मिल्यो भन्नु भनेको कैफियत हो ।
४) सौरार्यब्राह्मपक्षीय तिथिगणितमा शकसंवत् १८००(वि.सं १९३५) देखि वर्षगण उठाइएको छ भनी दिइयो । संवत् ३१ भनेको लिच्छविकालको मिति हो तद्नुसार शक ५२९ गर्दा अंशुवर्माको पालाको संवत् पनि कार्तिकादि र मानदेवको पालाको संवत् पनि कार्तिकादि मान्ने गणकले शक ५२९ र शक १८०० कार्तिकादि कि चैत्रादि त्यो नै पहिले स्पष्ट पार्नु पर्दथ्यो तर गरेनन् । गणनामा त्यो चरण कतै पनि खुलाइएन र लिच्छविकालमा शकसंवत् पनि कार्तिकादि मानेको व्यक्तिले के कति कारणले यहाँ शकसंवत् चैत्रादि हुनआयो त्यो चरण इमान्दारीका साथ खुलाउनु पर्दथ्यो तर खुलाइएन । तब सोह्रैआना गणनामा कैफियत गरेको स्पष्ट रुपले प्रमाणित हुन्छ ।
५) सुमतितन्त्रको रचनाकाल शीर्षकीय अध्याय पृष्ठ १३६ देखि १५३ सम्ममा अयनाँश जोड्ने चलन वि.सं ९६१ मा आएर बल्ल वटेश्वरले पहिले उल्लेख गरेको थियो भनेर व्याख्या गरिएको छ । उनै गणकले वि.सं ६६४ को गणनामा अयनांश समेत जोड्ने कुरा कहाँबाट आयो यसको कुनै खुलासा छैन । पुस्तकको पृष्ठ १७ मा सायनस्पष्टसूर्य ल्याउँदा अयनाँश भनेर १.दशमलव४(१.४) पनि जोडी गणना गरेको छ । इमान्दार भएर गणना गर्नेले त्यसको खुलासा अवश्य गर्छ तर यहाँ कुनै खुलासा नगर्नु भनेको कैफियत गरेको प्रमाण हो ।
६) गणनाको अन्तअन्तमा आएर त्रिफल संस्कार भनेर रेखान्तर,भुजान्तर र चर गरेर त्रिफल संस्कार गर्नु पर्नेमा रेखान्तरको घडीपला +१।९ लाई दुइचोटी जोडेर गणना पूरा गरेको छ । यहाँ भन्ने बेला त्रिफलसंस्कार भन्ने तर जोड गर्दा चतुफल गरिएको छ र चतुफल बाट आएको नतिजालाई नै त्रिफलसंस्कारबाट आएको भनी —०।२९ दिइयो तर गणनाको रीतमा त्यसरी चतुफलसंस्कारको चरण छैन । त्यसरी मनोमानी तवरले गणना गर्नु कैफियत नै हो ।
७) यसरी कैफियत तरिकाले गरिएका गणनाबाट चाँगुको अंशुवर्माको अभिलेखमा लेखिएका तिथि,वार नक्षत्र सबै ट्वाक्क मिल्न आयो भन्नु दुनियाँको आँखामा छारो हाल्ने कार्यमा उनी सफल भए भन्ने बाहेक अर्को कुनै अर्थ लागेको होइन ।
(२)
वर्षे चैकोत्तरस्मिंस्त्रितयशतगते माधवे मासि शुक्ले
सप्तम्यां पुष्यऋक्षे दश(श)तकिरणे वासरे सिद्धयोगे ।।
(लिच्छविकालका अभिलेखको ५९९पृष्ठ)
(संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार सिद्धयोग )
यसको गणनाको परिणाम
अभिलेखको संवत्(मानदेवसंवत् )३०१ विक्रमसंवत् ९३५ शाके ८०० वैशाखशुक्ल
वार आदित्य तिथिसप्तमी घडीपला ३३।१३ नक्षत्र तिष्य घडीपला ३७।१४
यसरी सौश्रुती संहिता सहोत्तरामा लेखिएका तिथि,वार,नक्षत्र योग सवै ट्वाक्क मिले ।
(लिच्छविसंवत्को निर्णय २७ पृष्ठ )
१) यहाँ पनि संवत् ३०१ मानदेवसंवत् नै होइन अर्को गणनाका सबै चरण नियाल्ने हो भने विक्रमसंवत्को कुनै चरण नै दिइएको छैन र शक ८०० लाई शाके ८०० भन्नु पनि गलत नै हो । गणना गर्ने व्यक्तिले आफु इमान्दार भएर प्रस्तुत हुनु पर्दछ कैफियत गरेर ट्वाक्क मिल्यो भन्न पाइने होइन ।
२) गणना गरिएका चरणहरुः—
अभिलेखको संवत् ३०१ मा ६३३ जोडेर वि.सं ९३४ र ९३४ बाट १३५ घटाउँदा शक ७९९ मात्र आउँछ । सुमतितन्त्रको सहारा लिएपनि अभिलेखको मितिमा ६३४ र ४९९ जोडेर वि.सं ९३५ र शक ८०० आयो भन्न पाइने होइन ।
लिच्छविसंवत्को निर्णयको पृष्ठ १९ पल्टाएर हे¥यौं भने यस्तो उल्लेख पाइन्छ ।
अभिलेखको संवत् कार्तिकादि हुनाले विसं ९३४(शकसंवत् ७९९)को कार्तिकदेखि वि.सं ९३५(शकसंवत् ८००) को आश्विनसम्म अभिलेखको संवत् ३०१ रहन्छ । अभिलेखमा दिइएको तिथि वैशाखशुक्लको हुनाले त्यसबेला वि.सं ९३५ ( शकसंवत् ८००) हुन्छ ।
सुमतितन्त्रको सहारा लिएको मानिसले ४९८ को सट्टा ४९९ जोड्न पाउने रीत कहाँबाट पायो ? र ६३४ जोड्ने रीत पनि कहाँ छ ? देखाएर खुलासा गर्नु पर्दथ्यो तर गरेनन् भने पछि कैफियतको माहिर खेलाडी हुन खोज्दैमा पाइने छूट कसैलाई छैन । रेल आफनो लीग छोडेर हिंड्यो भने दूर्घटना हुन्छ भने झै गणितमा दिइएको रीत र पद्धतिबाट बाहिर गएपछि मनोमानी गणना गरेको ठहरिन्छ ।
अभिलेखको संवत् ३०१ कार्तिकादि भएपछि कार्तिकमा वि.सं ९३४ र वैशाखदेखि ९३५ हुने त होनि भन्ने कुनै उपबुज्रुक अवश्य निस्केला । उपबुज्रुकले सुमतितन्त्रले अभिलेखको संवत् ३०१ लाई मानदेवसंवत् मानेको त हो नि पनि भन्ला । त्यही सुमतितन्त्रले मानदेवसंवत् ३०४ वर्ष चल्यो भनेका कुरा कहाँ लगेर सम्बोधन गर्ने त ? त्यसको हेक्का पनि गणकले राख्नु पर्दथ्यो राखिएन भने पछि कैफियतको माहिर खेलाडी बन्न खोजेको त उल्टो आफै बेबकूफ पो सिद्ध हुन पुगेको चाल नै पाएनन् ।
किनभने नेपालसंवत् उठेको त वि.सं ९३६ कार्तिक( शक ८०१ कार्तिक)मा हो । तब गणकलाई वि.सं ९३५ ( शक ८०० ) वैशाखमा अभिलेखको संवत् ३०१ मात्रै छ भनेर थाहा हुने व्यक्तिले वि.सं ९३६ (शक ८०१) कार्तिकमा मानदेवसंवत् ३०४ सकेर नेपालसंवत् उठान भएकै हो भनीरहँदा पनि त्यो कुरा पत्याउने खालका वर्ग नेपालमा छन् ती कस्ता खालका रहेछन् त भनेर नाङ्गिएको देख्नु परेको छ । फेरि सुमतितन्त्रले शक ४९८ सम्म चल्यो त्यसपछि ३०४ वर्ष मानदेवसंवत् चल्यो भनेको कुरा साकार गर्ने तिर लाग्दै गर्दा त नेपालसंवत् उठेको वर्षलाई ९३६ बाट धकेलेर ९३८ पु¥याउनु पर्ने नौबत आइरहेछ भने ४९९ सम्म शकसंवत् चलेको गणकले देखाइरहँदा ३०४ वर्ष चलेको मानदेवसंवत्लाई साकार देखाउन वि.सं ९३८ लाई पनि धकेलेर ९३९ पु¥याउनु पर्ने नौबत आउने कुरा गणितका माहिर खेलाडीले अलिकति सोच्न सकेको होइन । भनिन्छ अन्याय गर्नु पाप हो र अन्याय सहनु पनि पाप हो भने झैं कैफियत गर्नु गलत हो भने कैफियत गर्नेहरुलाई उल्टो साँच्चै उद्भट गणितज्ञ नै रहेछ महामानव नै रहेछ आकाशको शुक्रतारा भनेर तारिफ गरिरहनु भनेको झन घोर कैफियत ठहर्ने हो ।
३) निर्णयको पृष्ठ २० मा आउँदा मध्यम गणना सकियो भनेको ठाउँमा नक्षत्र ७ र त्यसको कला ६०६.६ देखाइएको छ । नक्षत्रको ८०० कला पूरा नभएसम्म एकनक्षत्रबाट अर्को नक्षत्रमा सर्दैन त्यो कुरा सामान्य ज्योतिषलाई पनि थाहा भएको कुरा हो । नक्षत्रको क्रममा आठौं अंक पुष्य(तिष्य) ठहरिने हो भने सातौं अंक त पुनर्वसु नक्षत्र हुन्छ भन्ने कुरा पात्रो हेरेरै थाहा हुने कुरा हो । अभिलेखमा पुष्य नक्षत्र उल्लेख छ र गणना भनेर देखाइएकोमा भने पुनर्वसु मात्र देखाउन सक्दा पनि तिथि,वार,नक्षत्र योग सवै ट्वाक्क मिल्यो भन्नलाई अलिकति त लाज भन्ने कुरा हुनु पर्ने हो ।
४) गणनाको अन्तअन्तमा आएर त्रिफल संस्कार भनेर रेखान्तर,भुजान्तर र चर गरेर त्रिफल संस्कार गर्नु पर्नेमा यहाँ चाहिं भुजान्तरको घडीपला — । १८ लाई दुइचोटी घटाएर गणना पूरा गरेको छ । यहाँ भन्ने बेला त्रिफलसंस्कार भन्ने तर संस्कार गर्दा चतुफल गरिएको छ र चतुफल बाट आएको नतिजालाई त्रिफलसंस्कारबाट आएको भनी + १।४७ दिइयो तर गणनाको रीतमा चतुफल संस्कार छैन । त्यसरी मनोमानी तवरले गणना गर्नु कैफियत नै हो । त्यो भन्दा पनि मनोमानी अघिल्लो गणनामा रेखान्तरलाई दुईचोटी संस्कार गरेको देखिन्छ भने यसमा दुइचोटी भुजान्तरसंस्कार गरिएको छ । गणितको सिद्धान्तले रेखान्तर संस्कार गर्नु पर्ने भए रेखान्तर र भुजान्तरसंस्कार गर्नु पर्ने भए भुजान्तर संस्कार गर मात्रै भन्छ । यहाँ अघिल्लो गणनामा चाहिँ रेखान्तरलाई दुइचोटी संस्कार गरेको देखाइयो भने पछिल्लोमा चाहिँ भुजान्तर दुइचोटी संस्कार गरेको देखाउँदा गणकले गरेको कैफियत देख्न नसक्नु बिडम्बना नै मान्न सकिन्छ ।
५) यसरी कैफियतै कैफियतको तरिका अपनाई गरिएका गणनाबाट चाँगुको अंशुवर्माको अभिलेखमा लेखिएका तिथि,वार नक्षत्र र सौश्रुती संहिता सहोत्तरामा लेखिएका तिथि,वार, नक्षत्र योग सवै ट्वाक्क मिले भनेर देखाउनु केवल दुनियाँको आँखामा छारो हाल्ने कार्यमा भरपूर सफलता मिलेको मात्र हो । अब पनि यस प्रकारको कैफियत पूर्ण गणनाको पक्षमा नै मानिसहरु वकालत गरिरहन्छन् भने त्यो साँच्चै अभिशाप नै सिद्ध हुने हो ।
शकसंवत् र शाकेसंवत् बारेको स्पष्टीकरण
माथि शक ५२९ लाई शाके ५२९ भन्नु र शक ८०० लाई शाके ८०० भन्नु पनि गलत नै हो भनेको देख्ने बित्तिकै शक र शाके एउटै हो भनी मान्दै आएकाहरु खित्का छोडीछोडी हास्नेहरु पनि होलान् । त्यसरी सूझनबूझ हाँस्नु पनि कुनै जरुरी छैन ।
हो जसको दिमागमा शक र शाकेसंवत् भनेको एउटै त हो नि भन्ने लागेको छ उसले सोच्ने पनि अवश्य नै यही होला । तर नेपालमा लिच्छविकालमा चलेको संवत् शकसंवत् पनि होइन र शाकेसंवत् पनि होइनन् भन्ने ज्ञान नभएर नै तिनीहरुको दिमागमा त्यो कुरा जरा गढेर बसेको हुनुपर्छ ।
अन्यत्र हेर्नै पर्दैन लिच्छविकालमा चलेको संवत् ८०३ (३०३) हुँदा नेपालसंवत् कहलिएको संवत् १ भएर नयाँ क्रम शुरु भएको हुनाले नेपालसंवत्मा ८०२ जोडेपछि लिच्छविकालमा चलेको संवत् आउने भएको हो । नेपालसंवत् वि.सं ९३६ मा शुरु भएकोले ९३६—१३५ गर्दा शक ८०१ आउँछ त्यहाँ ८०२ कदापि आउँदैन । जसरी नेपालसंवत् १ भनेको वि.सं ९३६ को कार्तिकदेखि वि.सं ९३७ को आश्विनसम्म रहन्छ भन्न सकेको हो त्यस्तै गरी शकसंवत् पनि ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहने भएको हो । त्यही भएर शकसंवत् र नेपालसंवत् बीच ८०० र ८०१ मात्र अन्तर देखिने गर्छ भने लिच्छविकालमा व्यवहार भएको संवत् चाहिँ ८०२ मात्रै अन्तर देखिने हुन्छ । यस प्रकार शकसंवत्मा भने कार्तिकदेखि फागुनसम्म ८०० फरक र चैत्रदेखि ८०१ फरक देखिने स्पष्ट भएको हो ।
त्यस कारण लिच्छविकालमा चलेको संवत्लाई शक र शाके भन्नु हुँदैन भन्न खोजेको हो । फेरि माथि उल्लेख भएको ५२९ र ८०० लाई किन शाकेसंवत् भन्न नहुने हो त ? भनेर प्रश्न अवश्य उठाउला । हो बोध गराउनु पर्ने वा स्पष्टीकरण दिनु पर्ने भएको पनि यही नै कारण हो ।भारतको इतिहासका पानाहरु पल्टाउने हो भने शकसंवत् भारतीय प्रायद्वीपमा मात्रै प्रचलित भएको संवत् हो भनिएको छ । यो संवत् कसले चलाएको हो रु भन्ने विषयमा भारतीय इतिहासकारहरु बीच पनि एक मत रहेको देखिंदैन किनभने कोही भन्छन् शकजातिको विदेशी राजाले चलाएको याने संभवतः कनिष्क प्रथमले शकसंवत् चलाएको भन्नेहरु छन् भने कोही सातवाहन९शालिवाहन०ले चलाएको संवत् हो भन्दै आएको पाइन्छ । यसको निक्र्यौल अझै हुन सकेको छैन ।
पश्चिमका क्षत्रपहरुले राखेको शिलालेखहरुमा संवत् ३१० सम्म केवल वर्षे भनेर उल्लेख भइ आएको देखिन्छ । यसको मतलव त्योबेलासम्म संवत्को नाममा शक शव्द जोडिएको थिएन । पछि संस्कृत साहित्यहरुमा यो सम्वत्मा शक शव्द जोडिन थालेकोले गर्दा शक ५०० देखि १२६२ को अभिलेखहरुमा शकराजाद्वारा चलाएको भन्ने अर्थमा “शकनृपतिसम्वत्सर” भन्न थालेको देखियो र यही शकलाई उच्चारणको फरकले कसैले शाक पनि भन्ने गरे । यसको अर्थ शक १२६२ पुग्दासम्म पनि शकमा शालिवाहन शव्द चाहिं जोडिएको थिएन । विजयनगरको यादव राजा बुक्कराय प्रथमले शकसंवत् १२७६ मा आएर शालिवाहन शक भन्न थालेको देखिन्छ । यसको मतलव चौधौं शताव्दीमा आएर मात्र शालिवाहन शक वर्ष भनेर परिचय दिन थालिएको प्रष्ट हुन्छ ।
त्यसपछि यो शकसंवत्मा पूर्णिमान्त सिद्धान्त लागू हुन्थ्यो कि अमान्तमान लागू थियो भन्ने प्रश्नका सम्बन्धमा भारतका इतिहासकारहरुले उत्तरी भारतमा पूर्णिमान्त र दक्षिण भारतमा अमान्त भएर प्रचलन रहेको खुलाएको पाइन्छ । साथै इतिहासकारहरुले शकसंवत् प्रायः जैनहरुले व्यवहार गरेको संवत् भनेर पनि खुलासा दिएको देखिन्छ । सोमराजले रचना गरेको काव्यमा शकसंवत्लाई शाके ११४४ भनेर उल्लेख गरेको देखिनु र यादव नरेश कृष्णको अभिलेखमा भने शक ११७२ भनेर उल्लेख भएको कारणले गर्दा शक र शाकेसंवत् भनेको एउटै संवत् हुन् यी दुई नामले फरक भएपनि एकैसंवत् हुन् भनी भारतीय प्रायद्वीपमा प्रचार प्रसार भइ रहेको व्यापक देखिन्छ ।
नेपालमा पर्न आएको प्रचारको प्रभाव
भारतमा पानी पर्दा नेपालमा छाता ओेढ्ने चलन अहिले त छ भने उहिले पनि नभएको भन्न सकिन्न । किनभने भारतमा चलेको शकसंवत् र नेपालमा लिच्छविकालमा चलेको संवत् उही होइन भन्ने ज्ञान नभएर नेपालसंवत्संग ८०२ वर्ष अन्तर रहेको संवत्लाई लगेर शकसंवत् भनी अभिलेखमा समेत जनाउन पनि कोही हिच्किचाएको देखिएन भन्ने कुरा पाटन उवावहीको संवत् ५११ तद्नुसार इस्वी १३९० को तामापत्र अभिलेखमा ८०२ अन्तर रहेको लिच्छविकालमा चलेको संवत् १३१३ लाई नै शकराज वर्ष भनेर जनाउन पुगे । नेपालमा शक संवत् र विक्रमसंवत् उल्लेख हुन थालेको पहिलो अभिलेख पनि अहिलेसम्म प्राप्त देखिएको पहिलो यही नेसं ५११ को अभिलेख देखिन्छ । यो क्रम काठमाडौं उपत्यकामा मल्लकाल भरी कहीं शकसंवत् र कही शाकेसंवत् जनाएर त्यही क्रमलाई निरन्तरता दिइ आएको देखिएको हो ।
काठमाडौं उपत्यका भन्दा बाहिर परेको प्रभाव
काठमाडौं उपत्यकामा नेपालसंवत्को प्रारम्भ भएपछि लिच्छविकालमा व्यवहार भएको संवत् प्रयोग बन्द हुन गयो तर उपत्यका भन्दा बाहिर भने निरन्तर चली रह्यो । भारतमा चौधौं शताव्दीमा आएर शकसंवत्लाई कसैले शाक र कसैले शाकेसंवत् भन्न थालेपछि त्यसको प्रचार नेपालसम्म आइ पुगे । त्यसपछि काठमाडौं उपत्यकामा नेपालसंवत्संग ८०२ वर्ष अन्तर भएको लिच्छविकालमा व्यवहार भएको संवत्लाई नै शकसंवत् मान्न पुगे भने उपत्यका बाहिर त्यही लिच्छविकालमा चलेको संवत्लाई शाकेसंवत् मान्न पुगे । पछि काठमाडौ उपत्यका भित्र खसजाति जतिले शाकेसंवत् भन्नमा जोड दिए भने उपत्यकाका नेवार समुदायले शकसंवत् भन्नमा जोड दिए । यसको ज्वलन्त उदाहरण एउटै अभिलेखमा कलिगत, विक्रम, शक (शाके) र नेपालसंवत् उल्लेख भएका अभिलेखहरुमा तड्कारो रुपले देख्न सकिन्छ ।
तर अफसोच यही छ कि नत शकसंवत् भन्नेहरु, नत शाकेसंवत् भन्नेहरु ती दुवै थरिले यो कुरा बुझ्न सकेनन् कि शकसंवत् र नेपालसंवत्मा ८०० र ८०१ को अन्तर हुनेगर्छ भने नेपालसंवत् र लिच्छविकालमा चलेको संवत् बीच जहिले पनि ८०२ मात्र अन्तर हुनेगर्छ । प्रतापमल्लको रानीपोखरीको अभिलेखमा नेपालसंवत् ७९० छ भने शाके १५९२ भनेर उल्लेख छ । यो १५९२ वास्तवमा शक र शाके दुवै होइनन् भन्ने बुझेनन् । मल्लकालको अन्तमा आएर नेपालसंवत् ८८८ हुँदा गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर जितेर लिएपछि उपत्यकाबाट चाँदीको मोहर प्रसारित गर्दा १६९० भनेर अंकित गरेको देखेपनि कसैले चाल पाउन सकेनन् कि शाहवंशी राजाले व्यवहार गर्दै आइरहेको शाकेसंवत् भारतको शकसंवत् होइन यो लिच्छविकालदेखि नेपाल मै चलेको शकपूर्व २ को लिच्छविसंवत् हो भन्ने कुरा हेक्का राख्न सकेनन् । यो नै हाम्रा पूर्खाहरु मात्र होइन अहिलेसम्म पनि इतिहासकारहरुले हेक्का राख्न नसक्नु भनेकै ठूलो कमजोरी र दूर्भाग्य भइरहेको हो ।
निष्कर्ष
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जहाँ जहाँ शाकेसंवत् उल्लेख भएको अभिलेख भेटिन्छन् त्यहाँ त्यहाँसम्म लिच्छविकालमा नेपालको सरहद कायेम रहेको थियो भन्ने प्रमाणित हुन्छ । वास्तवमा नेपालमा देखिएको शाकेसंवत् भनेको भारतको शकसंवत्संग मिल्दैन । यो केवल भारतबाट नेपाल छिरेको दूषित हावाको प्रभाव मात्र हो यसले गर्दा लिच्छविकालमा चलेको गौरवमय हाम्रो आफनो संवत्लाई चिन्न नसकेर चामल दिएर पीठो साटे सरह हुन पुगेको हो । लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् र शाकेसंवत्को नामबाट खोज्नु परेको बाध्यता आइपर्नु भनेको हाम्रो पहिचान मेटेर बाहिरको पहिचान दिलाउन पुगेको बिडम्वना बन्न पुगेको हो ।
यहाँ भने खाली कैफियतै कैफियत भएको गणनालाई आदर्श मानेर बस्नेहरुको बाहुल्यताले गर्दा सत्यतथ्य जहिलेपनि ओझेलमा पर्न गएको छ । ती वर्ग अझै पनि मेरो गोरुको बाह्रै टक्का भन्दै आइरहेका छन् । त्यसैले यो लेखले लक्षित गर्न खोजेको पाठक समूह त्यो वर्ग होइन । कैफियत गणनालाई आदर्श मान्नेहरुले नेपालसंवत् पनि कार्तिकादि र लिच्छविकाल मा चलेको संवत् पनि कार्तिकादि भएकोले ती दुवै एउटै हुन् र यी दुबै हाम्रो देशको प्राण हुन् अलंङ्कार हुन् भन्ने कुरा बुझ्दैनन् । ती वर्ग बाहेक सम्पूर्ण नेपालीको एउटै धुकधुकी हुनसके भने कार्तिकादि संवत्लाई आफनो धरोहर मानेर आत्मसात् गर्ने र चैत्रादि वैशाखादिलाई आजैका दिनदेखि बिदा दिएर पठाउनमा अब बिलम्ब नगरौं ।