
लेख
क्रुर कु-प्रथा : छाउपडी
गंगा खतिवडा
निर्दयी सामाजिक प्रथा अनि स्वीकारी रहने हाम्रो मानसिकता । बाध्यता विवशता र प्रचलनका नाममा भोगिरहेका यातना दिनहुँ सामाजिक सन्जालबाट समाचारका लाइन बनिरहनु मानवीय निरिहता हो । छाउपडीका कारण महिलाको मृत्यु हुनु अत्यन्त दुखद, लज्जास्पद र अमानवीय घटना हो । यो केवल व्यक्तिगत क्षति होइन यो समाज संस्कार र राज्यको असफलता हो । कैलाली कृष्णनगर नगरपालिका १ निगाली गाउँ निवासी २८ वर्षकी कमला दमाइको मिति २०८२्-०३्-२८ गते रजश्वला भई छाउगोठमा राती सुतेको समयमा विषालु सर्पको डसाइबाट भएको मृत्युको घटनाले सामाजिक मर्यादा, परम्पराका नाममा अंगालीरहेका कुसंस्कारजन्य कुरीतिको अन्त्य कहिले हुन्छ गम्भीर हुनु आवश्यक छ । कलिला तीन सन्तानलाई पक्की घरमा सुताएर आफू अरुको छाउगोठमा सुत्न जादा सर्पको डसाइबाट भएको मृत्युलाई ती कलिला सन्तानले आमाको ममताबाट वन्चित हुनुपरेको कारुणिक घटना सुन्दा जति दुख लाग्छ त्यो भन्दा बढी हाम्रो सामाजिक चेतनाको उघ्रिन नसकेको घैटोले निसासिन्छ मन ।
हाम्रो समाजमा धर्म, संस्कृति, रितिरिवाज, संस्कार र देउता रिसाउने बहानामा महिलामाथि गरिने विभेद, महिलालाई सुत्केरी र मासिक श्रावको अवस्थामा गरिने भेदभाव, छुवाछुत सँगै छाउपडी प्रथाले निम्ताउने अप्रिय घटना दुर्घटनाले प्रत्येक वर्ष अकालमा ज्यान गुमाइरहनु परेको घटनाले आधुनिक समाजमा हाम्रो अवस्था अत्यन्तै लज्जास्पद र दुखद हो भनी स्वीकार्नुपर्छ । यस्ता विभेदजन्य कार्य प्रचलित कानुन २०७४ अनुसार दण्डनीय अपराध भनिएतापनि कानुन कार्यान्वयन प्रभावकारी नहुदा कुसंस्कारको अन्त्य हुन नसकेको कुरा राज्यले जिम्मेवारीबोध गर्नुपर्ने हुन्छ ।
नेपाल मानव अधिकार सम्बन्धी महासन्धिको पक्ष राष्ट्र समेत रहेको र अन्तराष्ट्रिय फोरमहरुमा नेपालले महिला भएकै आधारमा हुने भेदभाव अन्त्यको लागि गरिएका वाचा कबुलहरु तथा नेपालको संविधानमा महिला हकलाई मौलिक हकको रुपमा अंगिकार गरेको यथार्थता सबैमा सर्वविदित नै छ । छाउपडी कुप्रथा अपमानजनक भेदभावपूर्ण दण्डनीय अपराधको रुपमा प्रचलित कानुनले अंगिकार गरेतापनि दोषीलाई प्रभावकारी रुपमा दण्डित नगरिदा सचेतनाका लागि राज्यबाट भएको अर्बौ लगानी समेत बेकार भएको प्रष्ट छ ।
देशभरका महिलामाथि कुनैपनि बहानामा गरिने छुवाछुत, विभेद तथा छाउगोठमा बस्न बाध्य पार्ने दोषीहरु उपर प्रभावकारी कानुनी कारवाही गर्न र कमला दमाइ घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर छाउपडी प्रथा अन्त्य गर्नका लागि कठोर कदम चाल्न नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायहरु जाग्नुपर्ने समय आएको छ । महिनावारी भएकै कारण छाउपडीमा बसेका बेला सर्पले डसेर मृत्यु हुनु एउटा सामाजिक हत्या हो ।
२०८० मा बैतडीकी १६ वर्षीय किशोरीले छाउपडीमा बसेका बेला अकालमै ज्यान गुमाएकी थिइन् । पन्चेश्वर गाउँपालिका प्याउलेकी १६ वर्षीय अनिता चन्दको सर्पको डसाइबाट मृत्यु भएको थियो । सरकारले सुदुरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथा निर्मुल गर्ने नीति अनुसार छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । अभियान पश्चात प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सुदुर पश्चिमका सात जिल्लामा ७ हजार ५ सय ४५ छाउगोठ भत्काइएको थियो । अभियानका क्रममा कन्चनपुरमा मात्र २३० घर छाउगोठ भत्काइएको थियो । अछाममा ५ हजार ८ सय १३ छाउगोठ भत्काइएको थियो । बाजुरामा ५ सय ५७ डोटीमा ३ सय ९३, कैलालीमा ३८६ र डडेलधुरामा २३ छाउगोठ भत्काइएको थियो । स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा गृह मन्त्रालयसँग समन्वय गरी प्रहरी प्रशासन मार्फत छाउगोठ भत्किएपनि अभियानले सार्थकता पाउन नसकेको ज्वलन्त उदाहरण कैलालीको पछिल्लो घटनालाई लिन सकिन्छ । एकातिर छाउपडी प्रथा उन्मुलन गर्न कानून बनेपनि सुदुर पश्चिममा भने कानुन विपरित छाउपडी प्रथा मान्दै छाउगोठमा महिलाहरुलाई राख्ने गलत परम्पराको अन्त्य हुन सकेको छैन । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमान जनक व्यवहार सम्बन्धी कसुर शिर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजश्वला र सुत्केरीको अवस्थामा महिलालाई छाउपडीमा राख्न वा त्यस्ता अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुदैन भनिएको छ । यस्तो ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था उक्त ऐनले गरेको छ । सार्वजनिक ओहदामा बसेको व्यक्तिले यस्तो गरेको खण्डमा अन्य व्यक्तिलाई भन्दा दोब्बर सजाय हुने व्यवस्था गरेको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुरबाट पीडितलाई पुगेको क्षति र पीडाबापत मानसिक क्षति भराइ दिनुपर्ने व्यवस्था गरेको छ । तर त्यहाँ भने कानुनले अपराध मानेको छाउपडी प्रथा जकडिएर बस्दा समाजमा महिलाले आज पनि अकालमै मृत्युवरण गरिरहनु सामाजिक र राजनीतिक असफलताको रुपमा लिन सकिन्छ । यो केवल कानुनको विषय होइन चेतना र सामाजिक परिवर्तनको विषय हो । कमला दमाइको मृत्यु कुनै प्राकृतिक विषय मान्न सकिदैन सामाजिक हत्या हो अब पनि मौन बस्ने हो भने भोलीका खबरमा फेरी पनि अर्को घटना बारम्बार आइरहने छ ।
नेपालको ग्रामीण समाजमा अझैपनि केही यस्ता कुप्रथाहरु जीवित छन् जसले महिलाको जीवनलाई प्रत्यक्ष रुपमा असर पारिरहेका छन् । तिनैमध्ये एउटा गम्भीर हानिकारक प्रथा हो छाउपडी । छाउ (महिनावारी) र पडी (बस्नु) मिलेर छाउपडी प्रथा बनेको हो । महिनावारी भएको बेलामा अलग बस्ने भनेर बनाएको सानो झुपडी हो छाउपडी ।आफ्नो रगत पसिनाले बनेको घरमा बस्न नपाएर छाउगोठमा वा खुला स्थानमा बसेर जंगली जनावर, मानिस, किराफट्याङ्ग्रा र सर्प दंसको शिकार हुनुपर्ने यो कस्तो व्यवस्था हो ? महिलाको बाच्न पाउने मौलिक हकमाथिको आक्रमण हो । यो एक पुरातनवादी सोच र हानिकारक अभ्यास हो भन्ने कुरा आजको समाजले अझै बुझ्न नसकेको देख्दा लाज लाग्छ । यो प्रथाले महिलालाई रजश्वलाका समयमा मानसिक, शारीरिक, सामाजिक र भावनात्मक रुपमा पीडित बनाउँछ ।
यद्दपि सरकार र विभिन्न संघ संस्थाहरुले यसको अन्त्यका लागि प्रयास नगरेका भने होइनन् तर प्रभावकारी कार्यान्वयनको पाटो फितलो देखिएको छ ।अझ भन्नुपर्दा नेपालको पश्चिमी तथा सुदुरपश्चिमका जिल्लाहरुमा उखेलिन नसकिने गरी गडेको यो प्रथाले महिलामाथि धेरै प्रकारका नकारात्मक असरहरु पार्दछ । जस्तैः
१ शारीरिक स्वास्थ्यमा असरः महिलाहरु चिसो, लामखुट्टे, झिंगा, उडुस, उपिया, सर्पको डसाइ, झाडापखाला, निमोनिया तथा अन्य संक्रमणबाट पीडित हुन्छन् । कमजोर पोषणको कारण कुपोषण भइ कमजोरी हुने र बढी रक्तस्राव हुने जस्ता समस्या हुन्छन् ।उचित सरसफाइको अभावमा यौन र प्रजनन स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
२ मानसिक स्वास्थ्यमा असरः एक्लोपना, डर, अपमान, पूर्वजन्मको श्राप भन्ने मान्यता, आत्मग्लानी र न्यून आत्मविश्वासको विकास हुन्छ । बालिकाहरुमा आत्मसम्मान घट्ने डर लाग्ने र आफूलाई छोरी भएकैमा हीन ठान्ने भावना पैदा हुन्छ ।
३ सामाजिक असरः महिलाहरुलाई अशुद्ध मान्ने सोचले समाजमा भेदभाव र बहिष्कार हुन्छ ।छाउपडीले लैंगिक विभेदलाई थप बल दिन्छ ।महिलाहरु सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधिबाट अलग पारिन्छन् ।
४ शिक्षा र अवसरमा असरः किशोरीहरु महिनावारी हुदा विद्यालय जान पाउँदैनन् जसले गर्दा नियमित सिकाइमा असर पर्छ ।आत्मविश्वास र अभिव्यक्ति क्षमतामा ह्रास आउँछ ।
५ आर्थिक असरः कामकाजी महिलाहरु महिनावारीमा काम गर्न नपाउँदा आर्थिक घाटा हुन्छ । घरेलु तथा कृषि काममा सहभागिता घट्दा परिवारको उत्पादनशीलता प्रभाव पर्दछ ।
६ हिंसा र दुर्व्यवहारको जोखिमः एक्लै झुपडीमा बस्दा यौन दुर्व्यवहार बलात्कार वा हिंसाको शिकार हुने खतरा बढ्छ । छाउपडीकै कारण मृत्युका घटनाहरु बारम्बार भइरहेका छन् ।
समाप्तीका उपायहरुः
शिक्षा र जनचेतना फैलाउनेः विद्यालय मिडिया र समुदायस्तरमा खुला छलफल गर्ने ।
कानुनी कार्यान्वयनः २०७४ सालमा छाउपडी रोक्ने ऐन अनुसार सजाय कडाइका साथ लागू गर्ने ।
महिला सशक्तिकरणः आर्थिक शैक्षिक सामाजिक रुपले महिलालाई सक्षम बनाउने कार्यक्रम तर्जुमा गर्ने ।
स्थानिय नेतृत्वको सक्रियताः स्थानीय नेताहरु शिक्षक धर्मगुरु आदिले निर्मुलनका लागि भूमिका खेल्नुपर्ने ।
सुरक्षित र स्वच्छ मासिक धर्म व्यवस्थापनः प्याड सफा पानी सुरक्षित ठाउँ उपलब्ध गराउनुपर्ने ।
निष्कर्षः
छाउपडीको असर केवल महिलामाथि मात्र सिमित छैन यो समग्र समाजको विकासमा बाधक बनिरहेको छ । छाउपडी केवल एउटा संस्कार होइन। मानव अधिकारको उल्लंघन हो । यसले महिलाको जीवनका हरेक पक्षमा नकारात्मक असर पार्दछ । अहिलेको शिक्षित र समावेशी समाजमा यस्ता कुप्रथाको कुनै स्थान हुनु हुँदेन । छाउपडी अन्त्यको लागि हामी सबैले आ आफ्ना स्थानबाट सचेत, जिम्मेवार र क्रियाशिल हुनुपर्दछ । तबमात्र हामी समावेशी, समानता र सभ्य समाजतर्फ अगाडि बढ्न सक्छौ । यसको अन्त्यका लागि कानुनी कदम मात्र होइन सामाजिक सोचमा परिवर्तन अति नै आवश्यक छ ।







