
गंगा खतिवडा (थपलिया)
त्यसरी नचल्नुहोस् जसरी डरले तपाईलाई चलाउँछ । त्यसरी नै चल्नुहोस् जसरी प्रेमले तपाईलाई चलाउँछ । त्यसरी नै चल्नुहोस् जसरी खुशीले तपाईलाई चलाउँछ ।
ओशो एक युगपुरुष हुन्, जसले अध्यात्म र आधुनिकतालाई एउटै फोल्डरमा फोल्ड गरेर मानिसका मन मस्तिष्कमा सेन्ड गर्ने उपक्रम रचेका छन् ।उनको सिद्धान्त र विचार यथार्थ परक छन् जुन हरेक जनमानसका हृदय छामेर भनिएका वाणी झै लाग्छन् । मानिसलाई आध्यात्मिक चेतना सँग सँगै अधिकतम सन्तुष्टिमा बाँच्न उत्प्रेरित गर्ने सन्देश बाहक एक महामानव मात्र हुन् उनी कुनै भगवान होइनन् ।
अध्यात्ममा झुम्न चाहनेका लागि ध्यान, योग र शारीरिक अभ्यासको माध्यमबाट भगवानप्रतिको समर्पणलाई मार्ग खुलस्त गरेका छन् भने सांसारिक माया, ममता र भुलभुलैयामा भुल्न चाहनेका लागि वैयक्तिक स्वतन्त्रता र स्वाधिनताकासाथ बाँच्न पाउने मानवीय अधिकारको पक्षमा पनि उत्तिकै सशक्त तर्क प्रस्तुत गर्न सफल छन् । प्रत्येक धर्मले यौनिकतालाई आ-आफ्नै तरिकाले विश्लेषण गरेको पाइन्छ । यौन र सेक्सका विषयमा खुलेर कुरा गर्न नचाहने, लाज र पापको रुपमा हेरिने समाजमा अरुको नजरबाट लुकीछिपी गर्नुलाई पुरुषार्थको संज्ञा दिने धर्मग्रन्थ पनि हामीले नपढेका होइनौ । आफ्नो खुशीको लागि सहमतिमा गर्छ भने त्यो कसरी पाप हुन्छ ? अरुले गर्दा एउटा निश्चित नियम र अनुशासनको सिमा हुनुपर्ने आफुले गर्दा त्यही महान् कार्य ठहरिने हाम्रा धार्मिक ग्रन्थका ऋषी, महर्षी र महान् देवी देवताहरुको किंवदन्तीहरु विरोधाभासपूर्ण लाग्छन् । अप्सरा देख्दा ऋषिमुनीहरुको ध्यान भंग हुनु, आशुतोष भगवान् मन परेकी स्त्री नपाउँदा पागल हुनु, विष्णु भगवान्ले जालन्धरकी श्रीमती देख्दा भोग्ने लालसा राख्नु । धर्मग्रन्थहरुमा महिलालाई झुक्काएर वा जबरजफ्ती गरेका यस्ता थुप्रै किस्साहरु नभएका होइनन् तर तिनलाई भगवान् भनेर पुज्ने समाजले तिनै विषयवस्तुलाई सहमतीमा प्रेमपूर्वक गर्नु पाप होइन शरीरको आवश्यकता हो भनी यथार्थताको वकालत गर्ने ओशोको विचारलाई समर्थन गरेको पाइन्न ।अपराधिक मानसिकतालाई हटाएर समुन्नत समाजको निर्माण गर्न खोज्ने व्यक्ति कसरी व्यभिचारी र विवादास्पद बन्न पुगे बडो आश्चर्यको कुरा छ यहाँ । प्रत्येक मन्दिर परिसरमा जाँदा कही न कही रासलिलामा लिप्त मूर्तिकलाहरु कुदिएका पाइन्छन् तिनलाई हेरेर मानिस रोमाञ्चित बन्छन् । तर ओशो तपोवनमा त्यस्तो चित्रकला कही कतै राखिएको देखिदैन । ओशोले शरीरको अश्लिल विज्ञापन होइन जीवनको आवश्यकता र सन्तुष्टी बुझाउन खोजेका हुन् भन्ने सजिलै बुझ्न सकिन्छ । माया, प्रेम र यौनको चक्रमा संसार चलेको कुरा सबैलाई चेतना छ । संसारमा प्रेम नचाहने र यौनमा आनन्दित महसुस नगर्ने प्राणी अपवादमा पाइएला । यति मात्र होइन प्रेम र यौन बेगर जीवको अस्तित्व नै असम्भव छ भनिरहनु आवश्यक छैन । यही यथार्थता र सत्यताको धरातललाई दृष्टिगोचर गर्दै मानवीय भावना बुझेर मानिसका आन्तरिक खुशी र सन्तुष्टीमा जोड दिने युगपुरुष केवल ओशो हुन् भन्दा उनी माथि न्याय होला । ओशोको वाणीले मानिसलाई विचलित बनाउँछ, अनुशासनहीन बनाउँछ र समाजलाई नकारात्मक दिशातिर लैजान्छ भन्नु असान्दर्भिक हुन्छ ।
चराहरुको चिरबिर, किराफट्याङ्ग्राको किरिङमिरिङ, नानाथरीका फूलहरुको नाकमै ठोसिन आउने सुगन्ध, झरनाको छङछङ सुसेली, साना-ठूला रुखहरुले ढकमक्क ढाकिएको जंगलबिचको रमणीय स्थल ओशो तपोवन । प्रकृतिले हदैसम्म लोभ्याउने रहेछ मानवीय मनलाई ओशो तपोवन पुग्नेले सहजै अनुभूत गर्न सक्छ । ओशो तपोवन जाने निर्णय गर्दा मनमा एक किसिमको बेचैनी र कौतुहलता थियो ।ओशो भन्ने बित्तिकै मानिसको हेर्ने दृष्टि र बुझ्ने विवेक अलि भिन्न छ ।ओशो को हुन् भनेर बुझ्नेले सजिलै जाने अनुमति दिन्छन् अन्यथा भ्रम र झुठा प्रचारका पछि लाग्नेले आज पनि छोरी चेलीलाई ओशो साधनामा गएर बस्न दिन मुश्किल नै पर्छ त्यो अवसर मैले प्राप्त गरेँ । मेरो निर्णयलाई सहजै स्वीकारेर जान हौसला दिने छोरी शीलाष्मी र बहिनी (नन्द) सुनयनालाई हृदयबाट आभार व्यक्त गर्दछु ।
टेन्सन, तनाव, पीडा, कुण्ठा हुनेहरु भौतारिदै पुग्ने ठाउँ भनेर एकपक्षले सोच्दा रहेछन् जुन केही प्रतिशत सत्य पनि छ । अर्को पक्षले रासलिला रचाउने व्यभिचारी ठाउँ भनेर बुझ्दा रहेछन् यो बुझाइ भ्रामक छ । म जाने निर्णय लिदा जंगलमा गएर साधु भएर बस्न लागी भन्ने डर भनौ वा भ्रम थियो आफन्तजनमा । वर्षौ पहिले त्यस स्थलमा जाने र त्यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्ने हुटहुटी मेरो मनले बोकिसकेको थियो । मैले सुनेको थिए- एक निश्चित अनुशासन र नियममा ध्यान गर्ने उत्तम ठाउँ, दिमागलाई रिफ्रेसमेन्ट गराउने ठाउँ, विशेषगरी बौद्धिक व्यक्तित्व र साहित्यिक अनुरागीहरुको रोजाइको केन्द्र । जहाँ नेपाली भन्दा विदेशी नागरिकहरुको उच्च आकर्षण रहन्छ भन्ने सुनेको थिएँ ।नेपाली भन्दा विदेशीलाई आकर्षित गर्ने कस्तो ठाउँ रहेछ एकदिन हामी पनि जानुपर्छ भन्ने सल्लाह थियो मेरो प्यारो जीवनसाथी (यादव थपलिया)सँग । यादवजीको ओशो गएर एक महिना बस्ने र एउटा नोबेलको स्क्रिप्ट तयार गर्ने तीव्र इच्छा हुँदा हुँदै समय अनुकुल कहिल्यै हुन सकेन र संसारबाट बिदा हुनुभयो ।उहाँको इच्छा अधुरै रह्यो । आखिर जीवन एउटा भ्रम न रहेछ । आज छ भोली नहुन पनि सक्छ । इच्छाएको कुरा गरिहाल्नु पर्ने रहेछ भोली, पर्सी वा समय अनुकुल हाम्रो वशमा हुँदोरहेनछ आफुले बनाउनुपर्ने रहेछ । जीवन भोगाइले बुझायो । त्यसैले त्यहाँको परिवेश, ओशो विचारधारा, र दृष्टिलाई नजिकबाट बुझ्ने चाहनाले मलाई ओशो समाधिस्थलतर्फ आकर्षित गरेको थियो ।
सुनिरहु, हेरिरहु, झुमिरहु झै वातावरणमा नरमाउने मन कुन मानवको होला र ? प्राकृतिक सुन्दरतामा रम्नु, रमाउनु र साक्षात्कार हुन जानुपर्ने काठमाडौको चक्रपथबाट करिब १४ किलोमिटर टाढा त्रिशुली राजमार्गको नागार्जुन जंगलको बिचमा रहेको छ ओशो तपोवन । बालाजु चक्रपथबाट गाडीमा ३५ मिनेट र पैदल साढे २ घण्टामा पुग्न सकिन्छ । ओशोको वाणी र दृष्टिमा जसरी तानिन्छ मानिसको मन तपोवनको सुन्दरताले त्यसरी नै आकर्षित गर्छ । साच्चिकै त्यहाँ पुग्ने जो कोहीलाई पनि चुम्बकले ताने झै तान्ने ऊर्जा छिपेको महसुस हुन्छ । एकदिन बस्छु भनेर गएका मानिस हप्तौसम्म रम्न र भुल्न लालयित हुन्छन् । समय र परिस्थिति अनुकुल हुँदा बस्ने समय एक्सटेन्ड गर्दै अलिदिन तपोवनको छहारीमा लुटपुटिन चाजोपाजो मिलाउने सोच जाग्नु स्वभाविक मानिन्छ ।
तिम्रो दिमागले राम्रो सोच्नु नराम्रो सोच्नु तिम्रै अनकन्सियस दिमागको उपज हो । यसको जिम्मेवार मात्र तिमी हौ । तिमीलाई अरुले न हसाउन सक्छ न सताउन सक्छ । तिम्रो सोचाइले मात्र सञ्चालित हुन्छ सबै कुरा ।
आजका मानिस व्यस्त छन्, उकुसमुकुस छन्, पीडा, तनाव, नैराश्यता, टेन्सनले ग्रसित छन् । यति धेरै बेफुर्सदीला छन् की आफूले आफैलाई नियाल्ने समयको सधै अभाव हुन्छ । म के चाहन्छु भनेर बुझ्न नसक्ने महामारीबाट ग्रसित छन् । सगरमाथा चढ्नु छ पीठ्यूमा ढुंगाको भारी बोकेर हिडेजस्तै हो आजको मानिस । व्यर्थको ढुङ्गा बोकेर सगरमाथाको चुचुरोमा पुग्ने अभिलाषा पुरा त होला तर सकसपूर्ण हुनेछ । ओशो तपोवनमा दिइने मेडिटेशन क्लासको आशय पनि यसकै पेरिफेरीमा घुमेको हुन्छ । दिमागमा अनावश्यक डर, चिन्ता, आशा, अभिलाषा बोकेर जीवनलाई बोझिलो बनाउँदै अटस मटससाथ लतारिदै हिड्नुमा जीवनको सार्थकता सम्झिदा रहेछौ भन्ने भ्रमबाट बाहिर निकाल्ने एक मात्र माध्यम मेडिटेशन रहेछ ।
बिहान गराइने डाइनामिक मेडिटेसन, योगा, एक्सरसाइज, सभासनले शरीरलाई स्वस्थ र स्फुर्त राख्न सहयोग गर्दछ । ब्रेकफास्टपछि दुईघण्टाको खाली समय प्राकृतिक सुन्दरताको छहारीमा टहरिनु, साथीभाइसँग कुरा सेयरिङ गर्नु वा आफूलाई ध्यानमा भुलाउनु व्यक्तिगत स्वतन्त्रता छ । दिउँसो १२ बजेबाट दोस्रो सेसन मेडिटेसन सुरु हुन्छ ।जसमा संगीतको तालमा झुम्दै, नाच्दै, उफ्रदै दिमागमा मेडिटेशनको तरङ्ग तरङ्गित गराउँदै अर्कै संसार अर्थात् अलौकिक स्वर्गीय आनन्दमा लिन भएको आभास गर्न सकिन्छ। दिमागलाई केन्द्रीकृत गरेर उच्चतम सन्तुष्टी लिन सकिन्छ भन्ने ज्ञान पाउन मेडिटेशनको गहिराइमा पुग्नु आवश्यक छ । सुख-दुःखको स्रोत, पहिचान र कार्यान्वयनको प्रभाव स्वयं व्यक्तिमा निहित हुन्छ । अरुलाई दोषारोपण गर्नु मूर्खताको एक बहाना भन्दा केही होइन । दोस्रो ध्यान बैठकपछि खाजा र आरामको समय डेढ घण्टा हुन्छ ।
पुरुष जातीलाई स्वामी’ जी र महिला जातीलाई मा’ जी भनी सम्बोधन गर्नु ओशो केन्द्रको औपचारिक शिष्टाचार हो । स्वामीजीको अर्थ मालिक र माजीको अर्थ पृथ्वी अर्थात् जननी भनिएको रहेछ । पुरुषलाई स्वामी’ जी र अविवाहित नारीलाई पनि मा’ जी सम्बोधन गर्दा सुरुमा असहज महसुस हुन्छ । मेललाई स्वामी’ जी र फिमेललाई मा जी बाहेक अरु सम्बोधन गर्न नपाइने नियम अनौठो लाग्छ । प्रत्येक स्वामी जी, माजीहरु प्रकृति जस्तै निश्चल, शान्त, सुन्दर र सधै मन्द मुस्कानमा देखिन्छन् । मुहारमा चमकता, भावुकता, आत्मियता, मिलनसारीता, सहयोगी र प्रेमिल त्यहाँको विशेषता भन्दा फरक पर्दैन । सायद योग, ध्यान र प्राकृतिक वातावरणले हुनुपर्छ मानिस-मानिस बिचमा आत्मियता र प्रेमील व्यवहारको ऊर्जा थपिएको। साँझ ६ बजे हल्का खाना खाएर नुहाइ वरी No mind meditation session सुरु हुन्छ ।
No mind meditation अर्थात् माइन्ड खाली गर्ने, दिमागलाई शून्य बनाउने, दिमागमा भएका राम्रा नराम्रा सबै कुरालाई बाहिर निकालेर खाली गर्ने एक किसिमको थेरापी हो । दिमागमा गुम्सेर बसेका दुःख, पीडा, समस्या, चिन्ता, तनाव, रीस- राग, घमण्ड, गुनासोलाई आ-आफ्नो तरिकाले व्यक्त गर्ने स्वतन्त्रता नै यसको मुख्य उद्देश्य रहेछ । त्यो देख्दा एक पागल खाना भन्दा कम लाग्दैन । पहिलो दिन यति अचम्म लाग्छ कि पागल खानामा आएछु भागी हालु झै लाग्छ । आँखामा पट्टी बाँधेर पागलझै क्रियाकलापहरु गर्नुपर्छ । कोही चिच्याउने, कोही कराउने, कोही रुने, कोही कुशन तकिया फ्याक्ने, बजार्ने, आफूले आफैलाई हिर्काउने, वालमा कोपर्ने, लात्ताले हान्ने, हाँस्ने गित गाउने, नाच्ने, मनमा जे आउँछ त्यही निर्धक्कसँग आँखामा पट्टी बाँधेर ब्याकग्राउण्ड न्वाइजी म्युजिकको साथमा गराइन्छ । एक अर्काको क्रियाकलापले डिस्टर्व नहोस् भनेर ठूलो स्पिकरमा न्वाइजी म्युजिक लगाइन्छ ।जसले गर्दा नजिकै साथीले गाली गरेको, गुनासो पोखेको, भनेको कुरा राम्ररी नबुझिने र नसुनिने व्यवस्थापन मिलाइएको हुन्छ ।मनमा जे आउँछ त्यही बोलेर, क्रियाकलाप गरेर दिमागलाई जसरी हुन्छ खाली गराउन लगाउने उत्तम थेरापी रहेछ नो माइन्ड मेडिटेशन । सकारात्मक ऊर्जा प्रवाहको लागि एक किसिमको स्वेच्छिक पागलखानाको नाम दिन्छु त्यसलाई म । वास्तवमा मानिस भित्रको पागलपन हेर्न र बुझ्न त्यो मेडिटेशन काफी हुन्छ ।यसले मानिसभित्र गुम्सिएर रहेका विकारलाई फ्याकेर नयाँ ऊर्जा भर्न सहयोग गर्दछ यो प्याकेज वास्तवमा व्यवहारिक रुपमा अनौठो लागे पनि सान्दर्भिक रहेछ भन्ने कुरा त्यसबाट निस्किनेको अनुभवले बताउँछ ।
सन्यास लिदाका क्रियाकलाप भने असुहाउँदो र अव्यवहारिक लाग्छन् । सन्यास अर्थात् एक किसिमको संकल्प हो । ओशोप्रति आफूलाई समर्पित गर्नु सन्यास हो । सन्यास लिने क्रममा स्वामीज्यूले निधारमा छोएपछि रुदै ढल्नु हास्यास्पद लाग्छ । त्यहाँको म्युजिकमा पागल झै उफ्रदै, नाच्दै, झुम्नुमा मानसिक आनन्द भएपनि सन्यास लिने क्रममा रुदै ढल्नुमा के रहेछ त्यस्तो भन्ने प्रश्न मनमा उब्जिरहेको हुन्छ । ओशो जाने र बस्नेलाई सामान्य लागे पनि युटुबका भिडियो मात्र हेर्नेलाई यो एक किसिमको अराजक गतिविधि लाग्छ । भिडियोको आधारमा असान्दर्भिक, वाइयात लाग्नु स्वभाविक देखिन्छ वास्तवमा अस्वभाविक देखिने गतिविधि नै मानिसको खोजी र चासोको विषय बन्छ । यो एउटा ओशोप्रति आकर्षित गराउने टेक्निकको रुपमा लिदा वेफाइदा भन्दा फाइदा नै होला ? यसले मानिसलाई ओशो प्रति नजिकाउन सहयोग पुग्छ भन्ने लाग्छ ।
दुःख र सुखलाई सन्तुलनमा राख्न सिक । दुःखले तिमीलाई गहिराइमा डुब्न सिकाउँछ भने सुखले उचाइमा पुग्न सिकाउँछ । दुःख जरा हो, सुख हाँगा हो । सुख एउटा रुख जस्तै हो जुन आकाशिदै जान्छ भने दुःखले पृथ्वीको गहिराइमा जरा फिजाउँदै जान्छ । जति जरा गाडिदै जान्छ उति रुख बढ्दै जान्छ ।








