
कविता
एक प्रेमको अनौठो प्रतिक्षा
अनुपमा भुजेल , आभा
तिमी नाम नभएको एक प्रेम पत्र हौ
र म प्रेम भित्रको त्यही पूरानो चिठी
जहाँ पोखिएका शब्दहरू लेखिएका छन्
लेखिए पनि,पठाउने ठेगाना नभएको
हराइसकेको छ हुलाक र हुलाकीहरू
यो कस्तो माया हो न सम्पूर्ण छ
न अधूरो,कसरी बुझ्ने अस्तित्वमै
अनौठो प्यार नत अँगाल्न सकिन्छ
न नकार्न नत ललकार्नु सकिन्छ
समय हरू कति फेरिए ॠतुहरू
परिवर्तन भए बर्षा आयो हिँउद आए
तर म त्यही पूरानै जक्सनमा जहाँ तिमी
आउने आशामा मौन छु संघारमा
कति दिन बित्यो कति रात बित्यो
कुर्दा कुर्दै, झ्याबाट देखिने त्यो
प्रत्येक विम्ब हावासँगै हल्लिदा
आभास हुन्छ कि ? तिमी आएकाछौ !
कस्तो अनौठो प्रेम हो यो ?
प्रेम छ जहाँ तर स्पर्श छैन
सम्बन्ध छ जहाँ तर नाम छैन
प्रतिक्षा छ जहाँ तर आश्वासन छैन,
र त, म त्यहीँ उभिएकी छु
आगन र मझेरिमा त्यही ठाउँमा
बर्षौँदेखिको पर्खाइमा
जहाँ तिमी फर्केर आउँछौ कि ? भन्ने आशामा
तिम्रो त्यो अनौठो मायाको अनन्त प्रतिक्षामा ।







