
कविता
उसको अनुपस्थिति !
शुषमा चित्रकार
परेलीको डीलमुनि
सधैँ झैँ पर्खिबसेको थियो ऊ
मलाई मनाउँदै रातको एकान्तमा अङ्गालिन
तर मेरो ढिपिसँग लाचार
मन खुम्चयाएर
निकैबेर कुर्यो
उसले मतिर निर्निमेष हेर्दै टोलाउँदै
एक्लै त्यो चिसो ओछ्यानमाथि !
ऊप्रति लापरवाह
आफ्नो कल्पनाभित्र हराउँदै
म पानाहरूभित्र बगिरहेँ
अक्षरका ढिस्काहरूमा अल्झिँदै
उसका कैयन् निवेदनहरू उपेक्षापूर्वक
तह लगाइरहेँ
ती अग्ला सिरानीका चाङमुनि ।
झ्यालबाहिर तन्किरहेको अँध्यारो
र पातहरूको सरसराहटभित्र
कल्पनाले बिसौनी खोज्यो
अनि मेरा बिछयौना – कस्सिएका तन्नाहरू
खजमजिएका थिएनन्
प्रमाण थियो ती उसको अनुपस्थितिको
आत्तिँदै बोलाएँ-
कहीँकतै लुकेको भए जिस्किएर
अहँ ! ऊ आएन – आउँदै आएन ।
शायद साटो फेर्दैछ ऊ
मेरो उपेक्षाको
उसको आमन्त्रणप्रति बेवास्ताको
रात निख्रेर पातलिसक्दा पनि
आँखाहरू पर्खेकै छन् अपराधबोधमा
बिछयौनाको एकछेउ
सान्निध्यबाट एक्कासी हराएको
उसको पुनरागमनको कुनै छाँटकाँट छैन,
न कुनै पदचाप,
न इशारा,
न ढक्ढकाई
न प्रेमको नखरा
पर कतै
भालेको पहिलो डाँकपछि पनि
ऊ अझै फर्केको छैन
अनिँदा मेरा आँखाभित्र
अघिदेखि मसँग रिसिएको प्रिय ‘निद’ !!







