
यात्रा निबन्ध
हिउँमा चिप्लँदा स्वर्ग देख्नेहरू
ज्ञानेन्द्र विवश
हिउँमा चिप्लिँदा पनि स्वर्ग देख्नेहरू यात्रामा भेटिए । लडेर गुल्टनबाजी खाँदा पनि मज्जा मान्ने मान्छे देखिए । चिसोले कक्र्याँउँदा पनि सहन सक्ने मान्छे यही पदमार्गमा भेटिए । आफूले खुसी पाएपछि, मनको इच्छा पूरा हुन थालेपछि यात्रीले यात्रामा आउने अपठ्यारा पनि भुल्दारहेछन् । थकाइ पनि बिर्सिदारहेछन् । भोकप्यासको पनि खासै वास्ता नहुँदोरहेछ । मात्र हेर्न पाए पुग्यो, देख्न पाए भयो !
अन्नपूर्ण आधार शिविरको यो यात्रामा संसारका मानिस उकालो चढिरहेका हुन्थे । ओरालो झरिरहेका हुन्थे । दुःख बोकेर हिँडिरहेकाहरू आधार शिविरसम्म पुगेर अपार खुसी भेटेर फर्किरहेका थिए ।
‘ओ माई गड ! लुक, स्नो !’
देउरालीबाट उकालो लागेपछि एउटी सुनजस्ती केटी हर्षको चर्का स्वरमा चिच्याइन् । हिउँको पहिलो स्पर्शले उनको अनुहार उज्यालो बनायो– जस्तो आफ्नै आत्मामा पहिलो पटक सेतोपना भेटेजस्तो । उनको साथमा रहेका अन्य विदेशी साथीहरू पनि बालकझैं उफ्रिँदै, हाँस्दै, हिउँका गोलाहरू एक–अर्कामा हान्न थाले । कसैको नाक रातो, कसैको गालो गुलियो जस्तै गुलाफ ।
कसैले हिउँमा लड्दै भने– ‘नेपाल इज हेभन ! हेभन इज नेपाल !’
त्यो आवाज अन्नपूर्णको शान्त वातावरणमा टुङ्गिँदै गयो । तर त्यस प्रतिध्वनिले मेरो मनभित्र एउटा गहिरो तरङ्ग उठायो ।
मैले सोचेँ– कसरी हिउँको यो ठण्डा छालले उनीहरूलाई स्वर्गको अनुभूति दिलाउँछ ? चिसोले चिसिँदा पनि कसरी स्वर्ग देख्न सकिन्छ ?
शायद स्वर्ग त ठाउँ होइन, त्यो अनुभूति हो– जहाँ सौन्दर्य र सरलता भेटिन्छ ।
हिउँमा चिप्लिँदै, हाँस्दै, उनीहरू अगाडि बढ्थे– अन्नपूर्ण आधार शिविरतर्फ । उनीहरूको बुटमा टाँसिएको हिउँ, उनीहरूको अनुहारमा टल्किएको उज्यालो र आँखामा झल्किएको विस्मय– सबैले एउटा अद्भुत संयोजन बनाएको थियो । उनीहरू हिँडिरहेका थिए । मानौँ यात्रा होइन, जीवनकै नयाँ परिभाषाको अभ्यास गर्दै अनवरत ।
म उनीहरूतिर हेर्दै सोच्थेँ– कति सहज छन् यी पाहुना–पर्यटकहरू । न ठूला तर्क, न गुनासो । हिमाल देखेर रमाएका । हिउँमा हिँड्न पाएर खुसी भएका । हिउँमा लड्छन्, हाँस्छन्, फेरि उठ्छन्, अनि भन्छन्– ‘नेपाल स्वर्ग रहेछ ।’
तर, के उनीहरूलाई थाहा छ, यही हिउँभित्र कति जीवनहरू कठोर यथार्थसँग जुधिरहेका छन् ? यही बाटो हिँड्ने भरियाहरूका काँधमा संसारको भार छ, उनीहरूका गोडामा न त बुट छन्, न त हिउँको चिसो छेक्ने बाक्लो जुत्ता ।
तर त्यो पलमा, म पनि उनीहरूसँगै हिउँमा उभिएको थिएँ । उनीहरूको हाँसो मेरो पनि भयो, उनीहरूको विस्मय मेरो पनि । मैले महसुस गरें– नेपालको सौन्दर्य कुनै ‘पोस्टकार्ड’ मा होइन, ती क्षणमा लेखिन्छ, जहाँ मान्छे हिउँमा चिप्लिँदा पनि सक्कली हाँसो हाँस्न जान्दछ ।
अन्नपूर्णको एकदमै सफा हिमाली उचाइभित्र त्यो बिहान सायद संसारकै सबैभन्दा निष्कलङ्क रूप दृश्यमान भइरहेको थियो । अन्नपूर्ण श्रृङ्खलाका परिवेशमा सुनले लेपन गरिएको अपूर्व सौन्दर्य सार्वजनिक भइरहेको थियो । यस्तो दृश्यमा पर्यटकहरू झुम्मिएर लिनुसम्मको मज्जा लिइरहेका थिए । पाउनुसम्मको आनन्द पाइरहेका थिए । हिमाललाई भेट्नुको सबै प्राप्ति पाइरहेका थिए ।
पर्यटकहरू हिउँमा खेलिरहेका थिए– जसरी बाल्यकालमा आमाले बोलाउँदा पनि खेलमै हराउँछ बच्चा । त्यो हिउँभित्र न स्वर्ग थियो, त्यहाँ जीवनको सरलतम सौन्दर्य थियो । त्यसलाई अनुभूत गर्ने हृदय मात्रै चाहिने ।
म त्यतिबेला सोच्दै थिएँ– यदि हिउँमा लड्दै, हाँस्दै, निःस्वार्थ आनन्द पाउन सकिन्छ भने, साँचो स्वर्ग यिनै हिमालका फेदमा त रहेछ । जहाँ मानिस चिप्लिन्छ, तर हाँस्छ । जहाँ दुःखको स्पर्श पनि रमाइलोको अंश बन्छ; जहाँ नेपाल, स्वर्गको अनुभूति बन्छ ।
हिमालको काखमा यो एउटा अनन्त यात्रा बनिरहेको थियो ।
‘हिमाल हेरेर नथाकेका मेरा आँखाहरू । हिउमा टेकेर नथाकेका मेरा पाइलाहरू ।’ यो यात्राको सुरुवात मात्र थिएन, यो त जीवनले युगौँदेखि खोजिरहेको एउटा अनन्त गन्तव्य भेट्टाउनु थियो । मेरा यी आँखाहरू, जो धर्तीका अनेकौँ दृश्यहरू देखेर थाकेका थिए, ती आज अन्नपूर्णको असीम क्षितिजमा टक्क अडिएका थिए । हेर्नु कति, आँखाभरि हिमालै हिमालका सौन्दर्यमय छटाहरू !
जति–जति पाइलाहरू अगाडि बढे, त्यति–त्यति मनको अज्ञात तृष्णा मेटिँदै गइरहेको थियो । हिउँमा टेक्न पाउँदा यी पाइलाहरूले थकावट होइन, बरु नवीन ऊर्जा महसुस गरिरहेका थिए । हिउँको क्रन्दनयुक्त स्पर्शले मनमा एउटा शान्त र गम्भीर स·ीत बजाइदिन्थ्यो ।
‘पुग्नु अब गन्तव्य यहाँभन्दा उता छैन हिमालकै साध–सिमाना, पर्खाल कति, हिमालकै फेदीसम्म पुगेर कति हेर्नु हिमाल !?’ मनको एउटा कुनामा प्रश्न उठ्यो, भौतिक रूपमा यो यात्राको अन्त्य कहाँ होला ?
हिमालको यो विशाल पर्खालले कुन बिन्दुमा गएर भन्छ– ‘बस ! अब तिमी पुग्यौ !’ तर फेदीसम्म पुगेर माथि हेर्दा, त्यो पर्खाल होइन, त्यो त अखण्ड, अविचल आस्थाको प्रतीकजस्तो लाग्थ्यो । जति हे¥यो, उति नै नयाँपन भेटियो, उति नै नजिकिने इच्छा जाग्यो । तर ४१३० मिटरको आधार शिविरमा पुगेर हेर्दा पनि अन्नपूर्णको उचाइ त अझ दोब्बरै पो रहेछ ८०९१ मिटरमा अवस्थित ।

जताततै आँखाको वरिपरि सेताम्मे हिमालका कति राम्रा संरचनाहरू ! सूर्यको पहिलो किरण पर्दा हिमाल सुनजस्तै चम्किन्थ्यो, अनि बादलको छायाँ पर्दा गम्भीर, नीलो ध्यानस्थ योगीजस्तो देखिन्थ्यो । प्रकृतिको यो विराट कलाकृति हेर्दा लाग्थ्यो, यसभित्र कति गुह्य रहस्यहरू लुकेका छन्, जसलाई शब्दले बयान गर्न सकिँदैन, मात्र अनुभूति गर्न सकिन्छ ।
‘मैले हिमाललाई मुटुभित्र राखेँ । हिमाललाई काखैमा राखेँ ।’ हो, यो हिमाल मेरो बाहिरी दृश्य मात्र रहेन । यो मेरो अन्तरङ्ग साथी बन्यो । यो मेरो चेतनाको हिस्सा भयो । यसको विशालताले मेरो अहङ्कारलाई विलय गरिदियो र यसको शुद्धताले मेरो मनलाई पवित्र पारिदियो । चिसो हिमालले कक्र्याउनुपर्ने हो कति–कति, तर तातो कति न्यानो हिमाल !
हिमालको चिसोपनले शरीरलाई मात्र छुन्छ, तर यसको गहिराइ र निश्चलताले मनलाई अद्भुत न्यानोपन र सुरक्षा प्रदान गर्छ । सायद यही न्यानोपन हो, जसले मलाई यसको काखमै राखेको आभास दियो । अब यो यात्रा सकिएको छैन । हिमाल मेरा मुटुभित्र बाँचिरहेको छ, र मेरा पाइलाहरू जीवनभर यसैको पदचाप पछ्याइरहनेछन् ।
वाह ! अति सुन्दर हिमाल ! शायद यही हो, हिउँमा चिप्लेर लड्दा पनि स्वर्ग देख्ने ठाउँ ।







