
प्रेरक प्रसङ्ग
हाँसेरै जीवन जिउने भिक्षु बुडाइबाट सिक्नुपर्ने पाठ
राजीव श्रेष्ठ
धेरै कालखण्ड अघिको कुरा हो, चीनको पछिल्लो लियाङ वशँमा बुडाइ उपनामले चिनिने एउटा बौद्ध भिक्षु बस्थे। उनलाई जापानीहरु होताइ वा पुताइ भनेर सम्बोधन गर्छन । उनी असाधारण थिए किनकी अन्य गम्भीर स्वभावका भिक्षुहरुको तुलनामा उनी सधैं हाँस्थे सबैसित । जो अरू भन्दा फरक थिए। उनको नाम किचे थियो, तर उनलाई मायाले ‘बुडाई’ भनिन्थ्यो, जसको अर्थ ‘कपडाको बोरा’ हो। उनले आफ्नो काँधमा बोकेको ठूलो कपडाको झोला जसमा विभिन्न स साना वस्तुहरु, खेलौना र साधारण उपहारहरूले भरिएको हुन्थ्यो, त्यही झोलाबाट आएको हो उनको उपनाम बुडाइ । उनी एक शहरदेखि अर्को शहर वा गाउँमा घुम्दा बच्चाहरू र गाउँलेहरूलाई ती उपहार बाँड्थे। आफ्नो युगका कठोर र अनुशासित भिक्षुहरू भन्दा फरक बुडाइ आफ्नो लापरवाह,असीम हाँसो र जहाँ गएपनि उनीपछि आउने आनन्दको लागि परिचित थिए।
उनी संसारमा चिन्ता बिना बाँचेको जस्तो देखिन्थे। बुडाई धार्मिक अनुष्ठान वा नियमहरूको कडाईका साथ पालना गर्ने भिक्षु थिएनन्। बरु, उनी एक सरल दर्शन अनुसार जीवन बिताउँथे । उनको त्यो दर्शन थियो-खुशी एक छनौट हो र वर्तमान क्षणलाई कदर गर्नुपर्छ। उनी प्रायः रूखको छहारीमुनि केटाकेटीहरूले घेरिएर बस्थे,मन खोलेर हाँस्थे,कथाहरू सुनाउँदै र आफ्नो चंचल एवं रमाइलो तरिकाले ज्ञान फैलाउँदै।
त्यसरी घुम्दै दिनचर्या बिताउने क्रममा एउटा गाउँमा स्थानीय विद्वानहरूको एउटा समूहले उनलाई सोध्यो- “तपाईं,एक भिक्षु,संसार दुःख र पीडाले भरिएको बेला कसरी सधैं यति खुसी हुन सक्नुहुन्छ?” उनीहरूको गम्भीर प्रश्नमा बुडाइको पेट हाँसोले काँप्यो र उनले जवाफ दिए-“यदि तपाईंले भोलिको बारेमा चिन्ता गर्दै आफ्नो समय बिताउनुभयो भने, तपाईंले आजको सुन्दरतालाई बुझ्न सक्नुहुन्न,आफ्नो वरिपरि हेर्नुहोस्, फूलहरू फुल्छन्,चराहरू गाउँछन्,र सूर्य चम्कन्छ। के यो मुस्कुराउन पर्याप्त कारण होइन?”
उनका शब्दहरू सरल भएपनि, सुन्नेहरूलाई त्यो गहिरो प्रतिध्वनित भयो। उनीसँग मानिसहरूलाई सम्झाउने एक अनौठो तरिका थियो । बुडाइ भन्थे ( यदि मानिसले आफैलाई बुझ्न र नियाल्न सक्यो भने सबैभन्दा सानो क्षणमा पनि आनन्द पाउन सकिन्छ।
बच्चाहरूले घेरिएको रूखमुनि बसेर हाँस्दै बुडाइ उनीहरुलाई खेलौना, चकलेट वा मिठाइ बाँडेर ती अबोध बालबालिकालाइ खुशी तुल्याउँथे । त्यही भएर उनका कतिपय मूर्तिमा उनको जीउभरी बच्चाहरु झुम्मिएको भेट्टिन्छ । मानिसहरु कोहीं बुडाइको झोला जादुमय थियो र त्यसमा आफै सामान भरिन्थ्यो भन्थे भने कोहीं उनी दयावान भएकाले अरुले ती वस्तु दिन्थे भन्छन । हुनपनि केही नभएको बेलामा उनी स्यानो ढुँगा भएपनि दिन्थे । यसबाट अरुलाई दिनुको महत्व कति छ भन्ने झल्काउँछ ।
उनका बारेमा यस्ता किंवदन्ति अनेक छन । तर बुझ्नुपर्ने कुरो चाहिं एउटै हो कि हाँसेर जिउनुमा नै जिन्दगीको सार छ । वास्तवमा, दुई दिनको जीवनमा दया, करुणा, हाँसो र अरुको लागि के गर्न सकिन्छ भन्ने सेवा भावनाको कमीले मान्छेलाई सधैं असन्तुष्ट राख्छ।
आफुभित्र नीहित खुशी पहिचान गर्न नसकेर अरुको प्रगति देखेर मान्छेमा चरम निराशा छाउँछ । यहीं निराशा र असन्तुष्टिका कारण मान्छेले भ्रष्टाचार तथा चोरी जस्ता अनैतिक कुकर्म गर्छन। अरुको डाह र ईर्ष्यामा अरुको सम्पतिमाथि आगजनी, लूटपाट एवं डकैतीसम्म गर्छन ।
यस्ता अराजक गतिविधिले न त समाज न मान्छे स्वयमको उथान हुन्छ। बुडाइले देखाएको सरल ज्ञान मार्गतिर हिंदन सकिए शान्तिको अनुभुति गर्न सहज हुन्थ्यो।
यसरी घुम्दै फिरन्ता जीवन बिताएका बुडाइ स्वयंले लेखेको आफ्नो मृत्यु सम्बन्धी पत्र जुन ९१७ को २८ मार्चको मिति उल्लेख गरिएको छ, उक्त पत्रमा दाबी गरिए अनुसार बुडाइ भविष्यका बुद्ध मैत्रियका स्वरुप हुन । उनको मृत्युपछि शरीरलाई सुरक्षित सरंक्षण गरी चीनको फेङगुवा जिल्लाको युलिन मन्दिरमा राखियो।






