
कविता
इतिहासका दुई काला दिन
ध्रुवराज थापा ‘पुरूष‘
भ्रष्टाचार अन्त गर्न र बेथिति बढारेर
देशको मुहार फेर्न
कस्सिएका अनमोल
हिराहरुको टाउको,
आततायीहरुको बन्दुकले
ताकीताकी उडाएको दिन ।
इतिहासमा कालो दिनको रुपमा
दर्ज भएको छ ।
शान्तिपूर्ण प्रदर्शनमा जेन्जीले
अश्रुग्यास र पानीको
फोहोराको पर्वाह गरेन
न त बन्दुक,न त गोलीदेखि डरायो ।
शासकले हतियारको
दुरुपयोग गरेको दिन,
रक्त पिपाशुहरुले
रगतको होली खेलेको दिन
स्कुले बालकको घाँटी निमोठीएको दिन
युवाहरूको रगतले संसदभवन लत्पतिएको दिन ।
हो यो कालो दिन
म कसरी बिर्सन सक्छु र ?
एकैदिन १९ जेन्जीको
आम कत्लेआम भएको दिन,
सुन्दर नेपालको आवाज बोकेका
कर्णाधारले बली चढेको दिन
नेपाल आमा आफ्ना सपूतको
बेदनाले धरधरी रोएको दिन,
सम्झदै कहालीलाग्दो
सेप्टेम्वर ८, भदौ २३
त्यो कालो दिन ।
ति महान सपूतहरुलाई
हार्दिक श्रद्धाञ्जली!
त्यसैगरी
विक्षिप्त,क्षतविक्षत, धुजाधुजा मुटुहरु
सम्हालिन नपाउदै भोलिपल्टै
हो भोलिपल्टै !
हजुरबा हजु्आमा,वुबाआमा,दाजु दिदीबहिनी
र भाइबैनाहरु पनि जुर्मुराए
अर्थात्
बेबी बुमर्स,जेन एक्स,मिलिनियल्स
मात्र हैन जेन अल्फाको पनि
जेन्जीले साथ र समर्थन पायो
उनिहरु माथिको ज्यादतिको
सर्वत्र बिरोध भयो ।
प्रतिशोधले उम्लिएको
जेन्जी रगतले आगो ओकल्यो ।
आक्रोश पोख्यो
सिँहदरबार र नेताको महलमा ।
तर
अपसोच !अविश्वसनीय !
अर्को विध्वंस मडारियो!
हेर्दा हेर्दै
देख्दा देख्दै
अवसरवादीले जेन्जीलाई उकास्यो
काँधमाथि बन्दुक राखेर
सामरिक महत्वमाथि निशाना दाग्यो ।
सिँहदरबारमा आगो झोसेर
स्वार्थको रोटी सेक्न थाल्यो ।
एकाथरी धमिलो पानीमा
माछा मार्दै थिए ।
सुरक्षाकर्मीको हंसले ठाउँ छोडेको थियो
सेना मौन बस्यो ।
कसैसे संसद भवन निशाना बनाए
कसैले सर्बोच्च ताके,
कसैले प्रहरी चौकी ।
न जेल बचे, न पालिका
भ्रष्टाचारी भन्दै नेताका महल जले !
ब्यापारिक र व्यावसायिक केन्द्र पनि अछुतो रहेन ।
आगोको लप्काले कतै छोडेन
लुटपाट मच्चियो
लुट्नेको बिरोध गर्नेहरु
आफै लुट्नमै तल्लिन भए
आकाशमा धुवाँको मुस्लो मडारीयो
क्षणभरमै देश जल्यो, खरानी भयो ।
जनधनमात्र डढेन, तथ्य तथ्याङ्क डढे
इतिहास डढ्यो, परिचय डढ्यो
खण्डहर बन्यो, सम्पदा समाप्त भयो ।
नागरिकको मन डढ्यो ।
आसा र भरोसा डढ्यो ।
भविष्य खरानी भयो !
अघिल्लो दिन
सन्तान गुमाउँदाको पीडाले
विक्षिप्त बनेकी नेपाल आमामाथि
फेरि अर्को बज्रपात पर्यो ।
उनी अहिले खरानीको थुप्रो माथि
सन्तानको भविष्य खोज्दै छिन् ।
यो विपत् यो दुर्दशा
नेपालको इतिहासमा
काला अक्षरले लेखिने छ।
त्यसैले नेपालको इतिहासमा
२०८२ को भदौ २३,२४
अर्थात
२०२५ सेप्टेम्वर ८ र ९
कालो दिनको रुपमा चित्रण भएको छ ।
कपन,काठमाडौँ







