
काठमाडौं।नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध मंगलबार प्रहरीलाई बुझाएको उजुरीमा उनीहरूले ‘राज्यविरूद्ध जासुसी गरेको’आरोप पनि लगाइएको छ।
अनेरास्ववियुले भदौ २४ गते सार्वजनिक सम्पत्ति आगजनी लगायतका आपराधिक गतिविधि गर्न उक्साएको भन्दै मेयर शाह र गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर उजुरी बुझाएको हो।
क्त उजुरी दर्ता गर्न प्रहरीले २४ घन्टाको समय मागेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडालले बताएका छन्।
अनेरास्ववियुका महासचिव दिपक धामीका नाममा दिइएको उक्त उजुरीमा मेयर शाह र गुरूङविरूद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५६ मा उल्लिखित ‘राज्यविरूद्ध जासुसी’को आरोप पनि लगाइएको छ। उजुरीमा उनीहरूले दफा ५६ बमोजिम राज्यका महत्त्वपूर्ण तथ्यांक, गोप्य राख्नुपर्ने विषय माग गरी जासुसी गरेको उल्लेख छ।
बडालले भने – ‘उजुरीमा उल्लिखित अरू विषयमा जाँचबुझ आयोगमार्फत छानबिन गरिए पनि राज्यविरूद्ध जासुसी गरेको विषयमा प्रहरीबाटै अनुसन्धान होस् भनेर हामीले भनेका छौं।’
‘प्रहरीले २४ घन्टाभित्र जबाफ दिन्छौं भनेको छ। त्यो अवधिमा जबाफ नआए हामी अन्य कानुनी बाटो खोज्ने तयारीमा छौं।’बडालले बताएका छन्।


