
काठमाडौँ।वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता’ शृंखलाको चौथो संस्करण वरिष्ठ कवि अविनाश श्रेष्ठको सहभागितामा कोटेश्वरमा सम्पन्न भएको छ।
कार्यक्रममा कवि श्रेष्ठको जीवन, साहित्यिक यात्रा तथा नेपाली साहित्यमा उनको योगदानबारे संवाद गरिएको थियो।
समसामयिक समाज, श्रमिक वर्गको जीवन, मानवीय पीडा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर लेख्दै आएका श्रेष्ठले नेपाली कवितामा प्रगतिशील तथा यथार्थवादी चेतनालाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएको चर्चा गरिएको थियो।
कार्यक्रममा कवि श्रेष्ठले असममा बिताएका प्रारम्भिक साहित्यिक जीवन, वरिष्ठ कवि हरिभक्त कटुवालसँगको भेट, भारतीय भूमिमा नेपाली भाषी समुदायका अनुभव तथा नेपाल आएपछि साहित्यिक क्षेत्रसँग जोडिएका विभिन्न संस्मरण सुनाएका थिए। उनले नेपाली साहित्यको समकालीन अवस्था, नयाँ पुस्ताको सम्भावना र समालोचना विधाका चुनौतीबारे पनि धारणा राखेका थिए। सो अवसरमा उनले आफ्ना कविता ‘आफ्नै भाषामा फर्क’ र ‘कुन्नी कुन अपरिचित गाउँकी नैनतारा बरुवा’ वाचन गरेका थिए।
कार्यक्रमको सुरुवातमा वर्तमान कविता समूहका विश्व सिग्देलले शृंखलाको उद्देश्यबारे जानकारी गराउँदै यसअघि स्नेह सायमी, श्यामल र लक्ष्मी माली सहभागी भइसकेको बताए।
विशेष अतिथिका रूपमा नेपाल भ्रमणमा रहेकी बंगलादेशकी कवि तथा कथाकार सेँजुती बरुवाको पनि उपस्थिति रहेको थियो। उनले नेपालीमा अनुवादित कविता ‘महासागर’सहित बंगाली र अंग्रेजी भाषामा आफ्ना रचना वाचन गरेकी थिइन्। त्यसैगरी, वरिष्ठ कवि विष्णुविभू घिमिरेसहित विभिन्न कविहरूले आआफ्ना कविता वाचन गरेका थिए।
