
निबन्ध
सम्झनामा आइरहने नाम्चेको रात
ज्ञानेन्द्र विवश
मेरो मानसपटलमा नाम्चेको एउटा अविस्मरणीय रातका तरेलीहरू सल्बलाउँछन्, जसको सम्झनाले मलाई आज पनि आनन्दित तुल्याउँछ । दिनभरिको लामो र थकाइलाग्दो यात्रापछि लखतरान ज्यानले केवल आरामको ओछ्यान, मीठो खाना र गहिरो निन्द्राको अपेक्षा गरेको थियो । तर, नाम्चेले मलाई त्योभन्दा बढी केही दियो– जीवनभरिका लागि एउटा अनौठो अनुभव, एउटा जीवन्त स्मृति ।
बल्ल–बल्ल नाम्चेको होटलमा बास बस्न आइपुग्दा साँझको नाम्चेबजारलाई नियाल्ने रहरले मलाई भित्रभित्रै घचेटिरहेको थियो । मेरा पाइलाहरूले त्यस दुर्गम हिमाली भेगका हरेक उकालो–ओरालो, कुनाकानी, ओल्लोटोल र पल्लोटोललाई स्पर्श गर्न आतुर थिए। मैले कल्पना गरेको थिएँ– यो उचाइमा एउटा सानो, सुस्त र एकान्त गाउँ होला । तर, मेरो त्यो कल्पना क्षणभरमै चकनाचुर भयो ।
नाम्चेले कुनै दुर्गम भेगको आभास दिँदैनथ्यो । यहाँ सुविधा सम्पन्न होटलहरू थिए । विभिन्न देशका पदयात्रीहरूको जमघटले एक उत्सवमय वातावरण सिर्जना गरेको थियो । पदयात्रीको चहलपहल बाक्लो देखिन्थ्यो । ढुंगाले छाएको बाटोमा अधिकांश विदेशी मान्छेको ओहोर–दोहोर भइरहन्थ्यो । साँझ छिप्पिँदै जाँदा पनि बजार, बाटो र पसलहरू चलायमान देखिन्थ्यो । आधा रातसम्म पनि यो रौनक कायमै थियो त्यसले मलाई साँच्चै अर्कै संसारमा पु¥याएको महसुस भयो ।
नाम्चेबजारको पुछारमा स्वयम्भू स्तुपा निर्मित थियो । रातको सन्नाटामा पनि शीतल उज्यालोसँगै त्यहाँ मानिसको आउजाउ रमाइलो लाग्थ्यो । ओछ्यानमा पल्टिसकेको म मलाई निद्रा कहाँ आउनु र ? बाहिरको यति मधुर दृश्य देख्न पाउँदा कहाँ आँखामा निद्रा आउनु ? साँझको नाम्चेलाई एक नजर तन्तनी पिएर फर्किएको केही समय व्यतीत भइसकेको थियो ।
एकछिन सुस्ताएर बाहिर नियाल्दा चहलपहलको दृश्यले मन त्यतै पुग्न आतुर भयो । होटल परिसर झिलिमिली बत्तीले झलमल्ल थिए । बाटो पनि त्यसरी नै बत्तीको मधुर किरणमा चम्चम चम्किरहेका देखिन्थे । खानपान, नाचगान, गफगाफ यौटा विछट्टकै दृश्य देखिन्थ्यो ।

मेरो होटल अगाडिको हरियो दुबो र त्यसमाथि फूलैफूलका गमलाले सजिएको बगैँचामा राखिएका कुर्सीहरूमा विदेशीहरूको हुल आरामले गफिइरहेको देख्दा म केहीबेर टक्क अडिएँ । उनीहरूको अनुहारमा सन्तोष र आनन्दको चमक प्रस्ट झल्किन्थ्यो । अर्को टेबलमा त्यसरी नै अर्को पर्यटकहरूको समूह आ–आफ्नै धुनमा गफमा भुलिरहेका थिए ।
पैसा भएपछि खानपानको स्वाद र परिकार त्यहाँ उपलब्ध थियो । के खाने ? कस्तो खाने ? ‘अर्डर’ पछि सबै परिकार खान पाइन्थ्यो । यति टाढाको हिमाली उचाइको बासमा भनेजस्तो खानपान खान पाउँदा र उस्तै सुविधाको ओछ्यान पाउँदा पाहुना पर्यटक रमाउनु स्वाभाविक थियो ।
कोही सगरमाथा आधार शिविर पुगेर फर्किएकाहरू आफ्नो साहसिक यात्राको कथा सुनाउँदै स्वर्गीय स्थलमा पुगेर फर्किएको खुसी बाँडिरहेका थिए । उनीहरूको आँखामा एउटा विशेष चमक थियो, जसले उनीहरूले भोगेको अद्वितीय अनुभवलाई प्रतिविम्बित गथ्र्यो ।
अर्काथरि भने आधार शिविर पुग्ने सपनाको धोको पूरा गर्ने ध्याउन्नमा चिन्तित देखिन्थे । उनीहरूको मौनतामा एउटा गन्तव्यप्रतिको दृढ संकल्प र त्यसका चुनौतीहरूको चिन्ता मिसिएको थियो । तर, मौनता भन्नाले चुपचाप होइन । वास्तवमा त्यहाँ कोही पनि नबोली बसेका थिएनन् । सबै बोलिरहेकाहरू थिए । बोलेको आवाजले शान्त सन्नाटालाई चिरिरहेको थियो । कोही गीतमा झुमिरहेका, त्यही गीतमा नाचिरहेकाहरू थिए । कोही खाइरहेकाहरू, खानाको वासनाले पर–परसम्म मीठो सुगन्ध फैलाइरहेको थियो । नबोली आँखालाई मात्र डुलाइरहेको मान्छे सायद म मात्रै थिएँ कि ?
कहिल्यै नदेखिएका मान्छे त्यहाँ देखिएका थिए । कतै नभेटिएका मान्छे त्यहीँ भेटिए र त्यहीँ छुटिए । यात्राले मान्छेलाई कहाँ–कहाँ पु¥याउँछ । को–कोसँग भेटाउँछ । कहिल्यै नबोलिएको, नचिनिएको मान्छेसँग चिनजान गराउँछ । बेग्लै आत्मिक मिलनको आभास गराउँछ । भाषा र भेषले फरक भूगोल भएर पनि सम्बन्धले नयाँ गति र नजिकको नाता कायम गरिदिँदोरहेछ ।
त्यो रात, नाम्चेले मलाई केवल शारीरिक विश्राम मात्र दिएन, यसले मेरो आत्मालाई पनि ऊर्जा प्रदान ग¥यो । यो यत्राले मलाई धेरै कुराको अनुभव गरायो । वास्तवमा यात्रा भनेको गन्तव्यमा पुग्नु मात्र होइन रहेछ । बाटोमा भेटिने हरेक क्षण, हरेक अनुहार र हरेक अनुभवलाई आत्मसात् गर्नु पनि हो ।
नाम्चेको त्यो अविस्मरणीय रात आज पनि मेरो स्मृतिमा ताजा छ । सम्झनाको ताजा र झरिलो, चखिलो स्वाद बनेर रहेको छ । र, यो सम्झना मेरो जीवनभरिकै लागि एउटा अमूल्य सम्झनाको रूपमा छ । यसले मलाई जीवनको विविधता र सुन्दरतालाई अझ गहिरो गरी बुझ्न सघाउँछ ।
तस्बिर सौजन्यःट्रेकिङ्ग नेपाल







