लघुकथा
संस्कार
“अब नेपालीमा बोल् त फेरि ? अङ्ग्रेजी मात्रै बोल् भनेर कतिपल्ट भनिसकें ? नेपालीमा बोलिस् कि पिटाइ खाइस् ! ” बुथुरी जैसीले छोरीलाई डर देखाउन हात उज्याई !
ऊ छोरीलाई पढाउँदै थिई ! उसले पतितर्फ हेरेर भनी,” हेरिस्यो न कालु ! अहिलेको स्कुलमा पनि नेपाली पढाउँदो रहेछ ! यसरी त हुँदै भएन ! छोरीलाई अर्को स्कुलमा सारौं न के ! ”
अव उसले छोरीलाई जोडतोडले राजसी भाषामा बोल्न सिकाइरहेकी थिई ! यस्तो भाषामा बोले मात्रै मानिस संस्कारित मानिन्छ भन्ने उसमा अटल विश्वास थियोे ! तँ, तिमी, तपाईं जस्ता शव्द प्रयोग गर्ने वरिपरिका मान्छेहरुलाई ऊ पाखे भन्थी ! उनीहरूले शहरिया संस्कारको बर्को ओढ्न थाले पनि गाउँले मजेत्रोलाई पूर्णरूपले त्याग्न सकेका थिएनन् ! उनीहरू गाउँले परिवेश र शहरिया संस्कारको दोसाँधमा उभिएका थिए !
एकैछिनमा साइकलमा तरकारी बेच्दै आएको ब्यापारीलाई आफू बस्ने छेउको गल्लीमा रोकेर हप्काउँदै सोधी,” ए भैया, आलु प्याज कति रुपैयाँ किलो दिन्छस् ? ”
तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरवेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी,” आज पनि यो ह्यान्सी डगले बिस्कुट, मिट खाइसेनछ दाइ ?”