काठमाडौं। भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो । टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मुर्छा परेको देखाइएको थियो ।
राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका बताएका छन् ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भागदौडमा मूच्र्छा परेपछि केही मानिसलाई अस्पताल पुर्याइएको बताए । उनले नजिकका जिल्लामा कार्यरत चिकित्सकबाट थप सहयोगका निम्ति अनुरोध गरिएको पनि बताए ।
स्टालिनले मृतकका परिवारलाई १०र१० लाख भारु क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिए ।
आफ्ना परिवारका सदस्य कार्यक्रममा उपस्थित भएका एक पुरुषले अस्पतालबाहिरबाट भारतीय समाचार एजेन्सी एएनआईसँग भने, “मेरो भाइका दुई छोराहरू त्यहाँ थिए । त्योमध्ये जेठो बित्यो, कान्छो बेपत्ता छ । मेरा आफन्त, मेरी भाउजू, आईसीयूमा हुनुहुन्छ ।”
अभिनेता विजयले अनलाइन बयान जारी गर्दै घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् ।
बीबीसीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।